भर्खरै :

रहनुभएन लेखक एवम् अर्थविद् गोविन्दप्रसाद लोहनी

काठमाडौँ, १२ पुस । लेखक, अर्थविद् र कूटनीतिज्ञ गोविन्दप्रसाद लोहनीको ९३ वर्षको उमेरमा शनिबार राति निधन भयो । केही समयदेखि विभिन्न रोगबाट ग्रस्त उहाँको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिबार राति ९ः५० मा उहाँको निधन भएको उहाँका कान्छा छोरा कपिल लोहनीले जानकारी दिनुभयो । लोहनीको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले माल्यार्पण गरी सम्मान व्यक्त गर्नुभएको थियो ।
विसं १९८५ को भाइटीकाको दिन काठमाडौँको न्हैकंतलामा जन्मनुभएका लोहनीको बाल्यकाल बनारसमा बितेको थियो । उहाँका पिता दीपकेश्वर शर्मा लोहनी संस्कृत, साहित्य र दर्शनशास्त्रका विद्वान् एवम् अनेक भाषाका ज्ञाता हुनुहुन्थ्यो । गोविन्दप्रसाद लोहनीले विद्यालय तहको पढाइ बनारसबाट आरम्भ गर्नुभयो । पछि काठमाडौँ फर्केर जुद्धोदय पब्लिक हाइस्कूलमा आफ्नो विद्यालय शिक्षालाई निरन्तरता दिनुभयो । उहाँले कलेजस्तरको अध्ययन बनारसबाटै गर्नुभयो र बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकोत्तर तह (एमए) सम्मको अध्ययन पूरा गर्नुभयो ।
लामो सक्रिय जीवनमा लोहनीले अध्ययन र अनुभवको आधारमा समाजवाद, राजनीति, साहित्य, दर्शनशास्त्र, अर्थशास्त्र, विकास योजना, बैङ्किङ आदि विषयमा गहिरो ज्ञान हासिल गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्क स्थापनाका तीन हस्तीमध्ये हिमालयशमशेर राणा र विश्वनाथ उपाध्यायसँगै लोहनीको नाम पनि आउने गरेको छ । नेपाल–भारत सीमा बजारको महिनौँको अध्ययनपछि भारु एक सयको नेरु १६० रुपैयाँ तय गर्ने प्रस्ताव लोहनीकै नेतृत्वमा भएको थियो । पञ्चायतकालमा उहाँ पाकिस्तानको लागि नेपाली राजदूत बन्नुभयो । उहाँले राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा नेपालको विकास क्षेत्रको रेखाङ्कन गर्नेदेखि विकास रणनीति, नयाँ शिक्षा योजना र प्रविधि शिक्षामा योगदान गर्नुभयो ।
२०४६ सालको जनआन्दोलनमा बहुदलको पक्षमा विभिन्न लेख, साहित्य र भाषणको माध्यमबाट लाग्नुभएका लोहनीले तत्कालीन नेता, साहित्यकार, पत्रकार र मानव अधिकारवादीहरूका विभिन्न भेलाहरू आफ्नै निवासमा राखेर बहुलीय प्रजातन्त्र ल्याउन सहयोग गर्नुभयो । कैयन् राजनीतिक बन्दीहरूलाई जेलमुक्त गर्ने काममा उहाँ सक्रियतापूर्वक लाग्नुभयो ।
लोहनीका विभिन्न साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँको ‘यो हो सोभियत रुस’, ‘चीनको कम्युन’ जस्ता पुस्तकले तत्कालीन समयमा समाजवादी देशहरूबारे नेपाली जनतालाई सरल भाषामा बुझ्न मद्दत गरेको थियो । उहाँले विभिन्न समयमा लेख्नुभएका दार्शनिक निबन्धहरूको सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ । लोहनीले विसं २०२० अघि लेख्नुभएका विभिन्न कथाहरूको सङ्ग्रह ‘नेतृत्वको भोक र अन्य कथाहरू’ गत भाइटीकाको दिन आफ्नो जन्म दिनको अवसरमा अस्पतालबाटै लोकार्पण गर्नुभएको थियो । समालोचना विधामा उहाँको कलम परिमार्जित मानिन्छ ।
लोहनीका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँ कान्छो छोरा लेखक कपिल लोहनीको साथमा काठमाडौँमा बस्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *