लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
शुक्रबार दाहाल–नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको पत्रकार भेटघाटमा पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले एकअर्काको खुलेर ‘प्रशंसा’ गरे । उनीहरूले आपसमा लामो समयदेखि सहकार्य हुँदै आएको भन्दै पछिल्लो राजनीतिक अवस्थामा भएको सहकार्यलाई पुस्टयाउने र आधार दिने प्रयास गरे । पञ्चायतदेखि माओवादी युद्धकाल हुँदै गणतन्त्र स्थापनासम्मको लागि आपसमा भएको सहकार्यलाई दुवै नेताहरूले निकै स्वादका साथ चर्चा गरे । दाहाल र नेपालले एकअर्काको विषयमा यसरी खुलेर प्रशंसा गर्नु र आफ्नो सहकार्यको इतिहास खोतल्नुको मूल ध्येय भने ओलीको बदख्वाइँ गर्नु थियो । पत्रकार भेटघाटमा दुवै नेताले ओलीको बदख्वाइँ गर्न सक्दो मेहनेत गरे ।
यसअघि एमाले र माओवादी केन्द्रबीच भएको एकता सभामा पनि दाहालले केपी ओलीको प्रशंसामा त्यसरी नै लामो समय खर्चेका थिए । ओलीले पनि दाहालको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले पनि एकअर्कालाई प्रशंसाका शब्दले छपक्कै छोपिदिएका थिए । त्यसो त पुष्पकमल दाहाल कुनै पुस्तक विमोचन कार्यक्रममा मात्र जाँदा पनि लेखकको प्रशंसा गर्न भुल्दैनन् । जता पनि चोचोमोचो मिलाउन जान्ने पोख्त नेताको रूपमा दाहालले आफ्नो छवि बनाएकै छन् । त्यसकारण, केही समयअघि उनीबारे एउटा व्यङ्ग्य निकै चर्चामा थियो– ‘उनी बिहान एउटा, मध्याह्न अर्को, दिउँसो अर्को, साँझ अर्कै र राति फेरि बिहानकै कुरा गर्न सक्ने नेता हुन् ।’ यस्तो चरित्रका दाहाल एक्ला भने होइनन् ।
निकट इतिहास फर्केर हेर्ने हो भने नेपालका राजनीतिक दलहरूबीच विभाजन हुँदा यस्ता घटना भएका धेरै उदाहरण छन् । तत्कालीन एमाले विभाजन भई माले गठन हुँदा माले समूहका नेताहरूले खुलामञ्चबाट एमाले नेताहरूको भ्रष्टाचार काण्डको खुलासा गरेका थिए । माले नेताहरू एमालेका नेताहरूलाई संसारकै सबभन्दा भ्रष्ट मान्थे । समयान्तरमा दुई दलबीच पुनः एकीकरण भयो । जनतासामु खुलामञ्चबाट लगाएका आरोप पुष्टि गर्न मालेका नेताहरूलाई कुनै खाँचो परेन ।
२०४६ सालको जनआन्दोलनपछि एमाले देशको प्रमुख राजनीतिक शक्तिको रूपमा उदायो । नेपाली काङ्ग्रेसको वैकल्पिक शक्तिको रूपमा उदाएको एमालेलाई दाहाल र उनी सम्बद्ध तत्कालीन चौथो महाधिवेशन, मसाल र माओवादीले ‘संशोधनवादी’ भन्थे । २०५२ सालमा दाहालको दलले सशस्त्र विद्रोहको घोषणा ग¥यो । विद्रोहको क्रममा एमालेका कति नेता–कार्यकर्ताहरूलाई सशस्त्र माओवादी लडाकुहरूले ‘वर्गशत्रु’, ‘शत्रुको एजेन्ट’ जस्ता आरोप लगाएर कुटपिटमात्र गरेनन्, धेरैको हत्या पनि गरे । माओवादी युद्धकालको अधिकांश समय एमालेका तत्कालीन महासचिव माधव नेपाल र एमालेले माओवादीको खन्नु खेदो खन्थे । उनीहरू माओवादीहरूलाई ‘आतङ्कवादी’ र ‘उग्रवामपन्थी’ भनेर थाक्दैनथे । तर, आज इतिहासका ती सबै कुरालाई पर्दा पछाडि लुकाएर एकअर्काको प्रशंसाको पुल बाँध्ने काम गरिरहेका छन् । यसको अर्थ के इतिहासका सबै घटना अब समाप्त भएर जाने हो ? अहँ, होइन ! फेरि अर्को विग्रहको समय नआउञ्जेल ती सबै हतियार गठ्ठाघरमा सुरक्षित राखिएको मात्र हो ।
एमाले र माओवादी केन्द्रबीचको एकता जसरी सैद्धान्तिक एकता थिएन, अहिलेको विभाजन पनि सैद्धान्तिक होइन । हिजो जसरी उनीहरूले बिनासैद्धान्तिक आधार ‘एकता’ गरेका थिए, आज उनीहरूको विभाजनमा पनि कुनै सैद्धान्तिक आधार छैन । मिलेर लडे चुनाव जितिन्छ र चुनाव जिते सत्ताभोग गर्न पाइन्छ भन्नेबाहेक एमाले र माओवादी केन्द्रबीच एकताको सेतु के थियो र ¤ आज पनि सत्ताभोगमा कसले कति भाग पाउने विषयमा झगडामात्र भएको हो । नेताहरूले केही शब्दावलीको प्रयोग गरेर यो झगडालाई भारी बनाउने प्रयास गरे पनि यसको मूल तत्व सत्ता नै हो किनभने उनीहरूबीचको एकताको आधार नै सत्ता थियो । त्यसकारण, विभाजनपछि दुवै पक्षका नेताहरूका भाषण सुन्दा यो कुनै कम्युनिस्ट पार्टीबीच विभाजन भएको जस्तो अनुभव हुँदैन । बरु राजनीतिलाई नाफा नोक्सान र सम्पत्तिको तुलोमा नाप्ने शासकहरूबीचको झगडाजस्तो सुनिन्छ । पँधेरामा पानी थाप्ने विषयमा झगडिने गाउँले महिलाहरूका संवाद र अहिले दुवै पक्षका नेताहरूका संवाद उस्तै सुनिन्छ । दुवै नेकपाका नेताहरू अहिले पार्टीको सम्पत्ति कसको भागमा पार्ने भन्ने होडबाजीमा लागेका छन् । बल्खु दरबारदेखि जिल्ला कार्यालयसम्ममा ताला लगाउने होडबाजी नेताहरूबीच चलिरहेको छ । यस्तो लाग्दै छ – यो झगडा राजनीतिक दलको होइन, सम्पत्तिको लागि दाजुभाइको झगडा हो ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पार्टीभित्रको मतान्तर र वैचारिक सङ्घर्षको क्रममा कम्युनिस्ट पार्टीका नेताहरूले गहन सैद्धान्तिक पुस्तकहरू मिहिनेतपूर्वक लेख्थे । ती पुस्तक कार्यकर्ता र जनस्तरसम्म पु¥याएर आफ्नो विचारले सुसज्जित बनाउँथे । एक जना नेताको त्यस्तो वैचारिक कृतिको प्रतिउत्तरमा अर्को नेताले पनि मिहिनेतपूर्वक लेख र पुस्तक लेख्थे । यस्ता गतिविधिले कार्यकर्ता र जनताको राजनीतिक चेतनास्तर उकासिन्थ्यो । कुन दिशा ठीक र कुन दिशा गलत भन्ने सैद्धान्तिक छलफल चल्थ्यो । तर, आज नेकपाको झगडामा के यस्ता रचनात्मक र सैद्धान्तिक गतिविधि कहीँ भएको कसैलाई थाहा छ ? नेताहरूबीच आपसमा आरोप–प्रत्यारोप, गाली गलौज र छिनाझम्टीमात्र भएको देखिँदै छ । ‘कार्यकर्ताहरू’ विपक्षीलाई सिध्याउन पाखुरा सुर्काइरहेका छन्, तेल मालिस गरिरहेका छन् । शुक्रबार निर्वाचन आयोगअघि जनप्रदर्शन गर्ने क्रममा दाहाल–माधव पक्षका एक नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले अहिलेको झगडाको मूल लक्ष्य पनि सरकार र मन्त्री बन्नु नै भएको प्रस्ट बोले । उनले भने, “अब केही समयपछि हाम्रो प्रधानमन्त्री हुनेछन् ।” त्यसकारण, नेकपाको यो झगडा संविधानमा लेखेको समाजवादको कार्यान्वयन, नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ गतिशील र सही दिशामा डो¥याउने विषयमा होइन । अब को प्रधानमन्त्री वा मन्त्री बन्ने भन्ने विषयमा नै हो । ओली पक्षले पनि अहिले आफ्नो सरकारकै प्रतिरक्षा गरिरहेको हो ।
राजनीतिमा मतान्तर स्वाभाविक विषय हो । संसारका जुुनसुकै राजनीतिक दलहरूबीच मतान्तर र मतभेद कुनै अनौठो कुरा होइन । मानिस विचारवान प्राणी हो । मानिसले सोच्ने क्षमता राख्दछ । राजनीतिक दलहरू विचारधाराको सङ्घर्ष र मेल हुने थलो हो । तसर्थ, त्यहाँ मतभेद र वैचारिक सङ्घर्ष हुनु स्वाभाविक हो । नेतृत्वको अध्ययन, पृष्ठभूमि, सम्पर्क, सोचाइ र उद्देश्यले यसमा अहम् भूमिका खेल्ने गर्छ । कति नेतृत्वले अघि सारेका विचार वा मत केही समय असान्दर्भिकजस्तो देखिए पनि समयान्तरमा सही प्रमाणित भएका उदाहरण पनि छन् भने कति नेताहरूका मत तत्काललाई सहीजस्तो देखिए पनि समयान्तरमा असत्य प्रमाणित पनि भएका दृष्टान्त छन् । त्यसकारण, राजनीतिक दलहरूमा कुनै बेला कारबाही भोगेका नेताहरू नै समयान्तरमा मूल नेतृत्व बनी उद्देश्यमा सफलता प्राप्त गरेका पनि छन् । कति नेतृत्व आफ्नो जीवनकालमा सफल र सान्दर्भिक देखिए पनि समयको लामो प्रवाहपछिको अध्ययनले गलत पनि पुष्टि भएका छन् । नयाँ पुस्ताको आलोचनात्मक अध्ययनले कुनै बेला वाहवाही कमाएका नेताहरू कालान्तरमा कमजोर र असत्य पनि प्रमाणित भएका उदाहरण छन् । कति नेतृत्वका विचार भने भौतिक शरीरको अवसानपछि पनि लामो समयसम्म विवादकै विषय बनिरहेको हुन्छ । इतिहासको पोथ्रा खोल्दै जाने हो भने विचार र मतमा यस्ता धेरै अन्तरका प्रशस्त उदाहरण होलान् ।
तर, नेकपाको असैद्धान्तिक झगडाले भने कुनै नयाँ बाटो देखाउने सम्भावना छैन । अहिलेको झगडा दुई महासामन्त (Feuds) हरूको मौजा कब्जा गर्ने झगडाजस्तो देखिएको छ । न जनतालाई यो झगडाबारे जानकारी दिन कुनै पनि खेमाले आवश्यक ठानेको छ, न जनतालाई कुनै चासो नै छ । जनतालाई हिजो उनीहरू किन मिले, मिलेर के लाभ भयो, त्यो पनि थाहा छैन । अहिले झगडा गरे, किन झगडिए, त्यो पनि थाहा छैन । अनि, नेकपाले यो विषय जनस्तरसम्म पु¥याउनुपर्ने कुनै आवश्यकताबोध पनि गरेको छैन । सैद्धान्तिक सङ्घर्षले समाज र देशलाई अगाडि बढाउन मद्दत गर्छ भने असैद्धान्तिक झगडाले भ्रममात्र सिर्जना गर्ने गर्छ ।
Leave a Reply