भर्खरै :

नागरिक आन्दोलनबारे केही कुरा

नेपालको नागरिक आन्दोलनबारे छलफलको क्रममा बरोबर उठ्ने प्रश्न हुन्– नागरिक को ? नागरिक आन्दोलनमा सहभागिताको योग्यता र आधार के ? नागरिक आन्दोलनका केही अगुवाहरूले यी प्रश्नको निकै आदर्शवादी उत्तर दिए पनि नेपालको नागरिक आन्दोलन खासमा राजनीतिक दलको छायाँ बन्दै आएको छ । त्यस अर्थमा नागरिक आन्दोलन राजनीतिक दलको साध्य पूर्ति गर्ने औजारमात्र हुने गरेको छ । नागरिक आन्दोलनको नाममा आयोजना गरिने प्रदर्शनहरूमा राजनीतिक दलका नेता–कार्यकर्ताहरूकै उपस्थिति बाक्लो हुने गरेको छ । त्यसकारण नागरिक आन्दोलन उसले भनेजस्तो राजनीतिक दल र स्वार्थबाट निरपेक्ष एवम् वस्तुगत हुने गरेको छैन । बरू, नागरिक आन्दोलन राजनीतिक दलकै फरक मोर्चामात्र बन्दै आएको देखिन्छ ।
नेपालको नागरिक आन्दोलनको यस्तो अवस्थाको निम्ति पद लोभी र सुविधाभोगी ‘नागरिक’हरू दोषी छन् । नागरिक आन्दोलनको अगुवा र अभियन्ताको परिचय बनाउने अनि मौका पाउँदा सत्ताको कुनै पनि लाभको पदमा लुसुक्क पदासीन हुने लोभीपापी ‘नागरिक’हरूको कारण आमजनताले नागरिक आन्दोलनलाई पनि राजनीतिक सत्ताको लागि लडिरहेका राजनीतिक दलकै जुम्ल्याहा दाजुभाइको रूपमा हेर्ने गरेको छ । सिंहदरबार पस्न दौरा सुरूवालको इजार कसेर बसेका मानिसहरू ‘नागरिक’ बनेर गरिएको स्वाङ पाखण्डमात्र हो ।
२०६२÷६३ सालको जनआन्दोलनमा नागरिक आन्दोलनको नाममा सडकमा देखापरेका अनुहारहरू पछि नेका, एमाले, माओवादी, मधेसवादी आदिका कोटामा सांसददेखि विश्वविद्यालयका पदाधिकारी तथा विभिन्न आयोग र निकायमा पदासीन भएको देख्दा खास नागरिकहरू जिल्ल परेका छन् । देशका एनजीओ र आइएनजीओहरूका जागिरेहरूको लागि नागरिक आन्दोलन मलिलो माटो बनेको थियो । विडम्बना त कतिबेला भयो भने जब हरेक राजनीतिक दलका अलग–अलग नागरिक समाजहरू बन्न थाले । राजनीतिक दलका अरू जनवर्गीय सङ्गठनहरूजस्तै नागरिक समाज पनि गठन भएर आ–आफ्ना दलको पक्षपोषण गर्न थालेपछि नागरिक आन्दोलनको हविगत कस्तो भयो होला ¤ राजनीतिक दलहरू आन्दोलनको लागि कस्सिएपछि मात्र ‘नागरिक’ पनि सडकमा आउनु संयोगमात्र पक्कै होइन ।
विभिन्न देशहरूमा नागरिक आन्दोलनले राजनीतिक नेतृत्व र व्यवस्थामा परिवर्तन गरेका मनग्य उदाहरण छन् । तर, त्यस्ता परिवर्तन सधैँ प्रगतिशील र उपयोगी नै हुने गरेको छैन । उदाहरणको लागि ट्युनिसिया, लिविया र सिरियामा ‘अरब वसन्त क्रान्ति’ को नाममा भएका ‘नागरिक आन्दोलन’ ले त्यहाँ गतिलो परिवर्तन ल्याउन सकेन । साम्राज्यवादी शक्तिहरूलाई हस्तक्षेपको लागि ती आन्दोलनहरूले ढोका खोले । त्यसकारण नागरिक आन्दोलन सधैँ राजनीतिक स्वार्थ र दलभन्दा माथि हुने गर्दैन भन्ने कुरा अन्तर्राष्ट्रिय र नेपालकै अनुभवबाट स्पष्ट हुन्छ ।
नागरिक आन्दोलन अराजनीतिक पक्कै हुनसक्दैन । तर, नागरिक आन्दोलनको लागि राजनीतिक दल र स्वार्थभन्दा अलग हुनु अनिवार्य शर्त हो । नागरिक आन्दोलनमा लाग्ने मानिसहरू राजनीतिक वा सत्ताको लाभबाट पर हुन जरूरी छ । नागरिक आन्दोलन न त भावुकताको अभिव्यक्ति हुन मिल्छ न देशकै दल र अन्तर्राष्ट्रिय शक्तिको औजार बन्न मिल्छ । नागरिक अगुवाको मुखुण्डो लगाएर कुनै एउटा राजनीतिक दल वा अन्तर्राष्ट्रिय शक्तिको नुनको सोझो गरिरहेका कथित नागरिकहरूले न जनताको सेवा गर्नसक्छ, न देशको भविष्यको ख्याल गर्नसक्छ । नागरिक आन्दोलन सस्तो लोकप्रियता कमाउने उपयुक्त बाटो पनि बन्ने गरेको छ । लोकप्रियतावादी चिन्तनबाट नागरिक आन्दोलन पर छैन । सारमा नागरिक आन्दोलनको नाममा हुने गतिविधि कुनै आकार र शुद्धता नभएको भीड बन्नु समाजको अग्रगतिको लागि थप हानिकारक हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *