भर्खरै :

भीमसेन थापाका अन्तिम दिन

नेपालको इतिहासका चर्चित व्यक्तित्वहरूमध्ये एक हुन्–भीमसेन थापा । उनले नेपालमा तीस वर्षभन्दा लामो अवधि प्रधानमन्त्रीको रूपमा शासन चलाए । उनको शासनकालमा एकातिर पृथ्वीनारायण शाहले थालेको ‘एकीकरण अभियान’ लाई अघि बढाउनुपर्ने जिम्मेवारी थियो भने अर्कोतिर भारतीय उपमहाद्विपका विभिन्न अधिराज्यहरूलाई आफ्नो उपनिवेशमा उन्दै गरेको बेलायती उपनिवेशवादको सामना गर्नुपर्ने परिस्थिति थियो । त्यस परिस्थितिमा नेपालको सार्वभौमिकता र भूअखण्डता जोगाउनु त थियो नै । साथै दरबारभित्रको लगातारको सत्तासङ्घर्षमा राजादेखि भारदारसम्म सबैलाई आफ्नो अस्तित्व रक्षाको स्पर्धामा थिए । राजा रणबहादुर शाहको शासनकाल नेपालको राजनीतिक इतिहासमा सबभन्दा अस्थिर कालमध्ये मानिन्छ । भीमसेन थापा त्यस्तो जेलिएको परिस्थितिमा नेपालको शासनको केन्द्रमा थिए । उनकै शासनकालमा बेलायती उपनिवेशवादबाट नेपालको सार्वभौमिकता र भूअखण्डतामाथिको दबाब उत्कर्षमा पुग्यो । तिब्बतसम्म पुग्ने योजनाका साथ अघि बढेको बेलायती उपनिवेशवादबाट नेपाल पराजित भयो र सुगौली सन्धि भयो । तथापि, नेपालले आफ्नो सार्वभौम अस्तित्व भने जोगाउन सफल भयो ।
इतिहासकै उथलपुथलपूर्ण समयमा नेपालमा राजाभन्दा बढी शक्तिशाली भएर भीमसेन थापाले शासन गरेका थिए । उनको शासनकालमा नेपालको सेना र कर्मचारी प्रशासनमा केही सुधार पनि भए । काठमाडौँलाई आज पनि परिचय दिइरहेका केही स्मारकहरू उनकै पालामा बने । तर, भीमसेन थापाको व्यक्तित्व र शासनकालबारे इतिहासमा धेरै विवाद र मतान्तर पनि मनग्य छन् । उनी असल शासक थिए वा थिएनन् ? उनी क्रुर शासक थिए वा थिएनन् ? आदि धेरै प्रश्नबारे इतिहासकारहरूका मत फरक फरक छन् ।

इतिहासकारहरू भीमसेन थापाको कारुणिक मृत्युमा भने एकमत देखिन्छ । तत्कालीन राजा राजेन्द्रविक्रम शाहका छोरा ६ महिनाका देवेन्द्रविक्रम शाहको हत्या गर्ने प्रयास गरेको अभियोगमा उनलाई कैद गरिएको थियो । एकपल्टको कारागार सजायबाट मुक्त भई आफ्नो गोरखास्थित घर बस्दै गरेको उनलाई बेलायतसँगको अर्को युद्धको अवस्था आएपछि पुनः काठमाडौँ बोलाई राजकीय जिम्मेवारी दिइएको थियो । तर, थापाका भतिजा माथवरसिंह थापालाई बेलायत पठाउने भीमको योजना असफल भएपछि बेलायतसँगको सम्बन्धमा उनी कमजोर भएको ठहर गर्दै त्यत्तिञ्जेल दरबारमा प्रभावशाली बनिसकेको पाँडेहरूले पुनः राजकुमार देवेन्द्रको हत्यासम्बन्धी मुद्दा ब्युँताउँछन् ।

उदाहरणको लागि चित्तरञ्जन नेपालीले थापासम्बन्धी लेखेका लेख र पुस्तकमा उनलाई एक जना सक्षम शासकको रूपमा चित्रण गरिएको छ । तर, बाबुराम आचार्यलिखित भीमसेन थापाको जीवनी, सरदार भीमबहादुर पाँडेलिखित ‘त्यसबखतको नेपाल’ आदि पुस्तकमा भीमसेनलाई ज्यादै क्रुर शासकको रूपमा नकारात्मक चित्रण गरिएको पाइन्छ । स्तम्भकार सुजित मैनालीले केही साताअघि कान्तिपुर दैनिकमा छापिएको एउटा लेखमा भीमसेन थापालाई जङ्गबहादुर राणाभन्दा क्रुर शासक भएको दाबी प्रस्तुत गरेका छन् । रणबहादुर शाहको हत्यामा भीमसेन थापाको संशयपूर्ण भूमिका, पाँडे खलक र पृथ्वीनारायण शाहका सन्ततिमाथिको दमन, राजा रणबहादुरकी रानी ललितत्रिपुरा सुन्दरीलाई हातमा लिएर तीस वर्षभन्दा लामो समय राजा र राजपरिवारलाई बन्दक बनाएर सैनिक शासन चलाएको जस्ता आरोप पनि लाग्ने गरेको छ । तथापि, बेलायती साम्राज्यवादसँगको लडाइँमा भीमसेन थापाको भूमिकालाई त्यत्तिबेला बेलायतमा बस्दै आएका कार्ल माक्र्सले समेत प्रशंसा गरेको प्रसङ्ग पनि छँदै छ । बेलायती उपनिवेशवादी शासनसँग लड्न भारतका विभिन्न रजौटालाई गोप्य पत्राचार गरेको भन्ने सुइको चुहिएकैले काठमाडौँमै डेरा जमाएर बसेको बेलायती दूतावासले उनको निर्मम हत्या गर्न लगाएको धारणा पनि उत्तिकै चर्चा हुने गरेको छ ।
तर, इतिहासकारहरू भीमसेन थापाको कारुणिक मृत्युमा भने एकमत देखिन्छ । तत्कालीन राजा राजेन्द्रविक्रम शाहका छोरा ६ महिनाका देवेन्द्रविक्रम शाहको हत्या गर्ने प्रयास गरेको अभियोगमा उनलाई कैद गरिएको थियो । एकपल्टको कारागार सजायबाट मुक्त भई आफ्नो गोरखास्थित घर बस्दै गरेको उनलाई बेलायतसँगको अर्को युद्धको अवस्था आएपछि पुनः काठमाडौँ बोलाई राजकीय जिम्मेवारी दिइएको थियो । तर, थापाका भतिजा माथवरसिंह थापालाई बेलायत पठाउने भीमको योजना असफल भएपछि बेलायतसँगको सम्बन्धमा उनी कमजोर भएको ठहर गर्दै त्यत्तिञ्जेल दरबारमा प्रभावशाली बनिसकेको पाँडेहरूले पुनः राजकुमार देवेन्द्रको हत्यासम्बन्धी मुद्दा ब्युँताउँछन् । भीमसेनलाई त्यही मुद्दामा पुनः कारागारमा कैद गरिन्छ । कारागारमा छँदा भीमसेनको मनोबल कमजोर बनाउन पाँडेहरूले भीम पत्नी भक्तकुमारीलाई नाङ्गै सिपाहींहरूको अघि घुमाइने भनी झुटा प्रचार गरिन्छ । त्यही प्रचारले आहत भएर भीमसेनले कारागारमा भुत्ते खुकुरी (वा सिसा) ले सेरिएर मर्ने असफल प्रयास गर्छन् । उनलाई त्यत्तिबेला उपचारको बन्दोबस्त गरिएको भए बाँच्ने थिए । तर, भीमलाई सफाया गर्ने उद्देश्यले बुनिएको षड्यन्त्रको कारण उनलाई आत्महत्याको पापी कर्म गरेको भन्दै विष्णुमति खोलामा घिसारेर फाल्न लगिन्छ ।
नौ दिनसम्म विष्णुमतिको बगरमा भीमसेनको घाइते शरीरलाई त्यत्तिकै खुला आकाशमुनि बिनाउपचार राखिन्छ । कसैले पनि भीमसेनको उपचार नगरोस् भनेर आठै प्रहर सिपाही तैथान गरिएको थियो ।
कवि सिद्धिचरण श्रेष्ठले भीमसेन थापाको ज्यादै पाशविक हत्यामा आधारित खण्डकाव्य लेखेका छन्–भीमसेना थापा । सो ऐतिहासिक खण्ड काव्यलाई शोक काव्य पनि भनिएको छ । कविवरले सो काव्यमा भीमसेन थापालाई एक जना देशभक्त शासकले विष्णुमतिको बगरमा घाइते अवस्थामा भोग्नुपरेका अन्तिम समयको मनोवैज्ञानिक एकलापको काव्यिक चित्रण गरेका छन् । भीमको अन्तिम अवस्थाबारे काव्यमा लेखिएको छ–
विष्टा, राल, सिँगान, पीपहरूका खोला बडो भीषण
झमटा मस्तिर बाज, गिद्धहरूको टोक्ने किरा मुन्तिर
केही होश–हवास किन्तु नभई भोगिरहेका सब
यस्तोमा कसरी म मान्न सकुँला यो मृत्युको उत्सव ।
तत्कालीन भूराजनीतिक परिस्थिति र बेलायती उपनिवेशवादप्रति भीमसेनको प्रतिरोध भावनालाई कवि श्रेष्ठले बोझिलो शब्दहरूमा प्रस्तुत गरेका छन्–
घुम्छन्, बाजसमानमाथि नभमा साम्राज्यवादीहरू
निर्धो भारतमाथि झम्टन पुगी के के गरेनन् अरु ?
हाम्रो देशमहाँ सारपसरिका व्याधाहरू यी सब
खोज्छन् पस्न, त नौजवानहरूको आधार चाहिन्न र ?
…..
सेना नै नभए कहाँ मुलुकको स्वाधीनता ज्युँदछ ?
आली छैन त खेतको बीचमहाँ पानी कहाँ अड्दछ ?
भीमसेनले आफ्नो शासनकालमा गरेका महत्वपूर्ण कार्यमध्ये नेपाली सेनाको व्यवस्थापन हो । त्यसअघि सेना व्यारेकमा राख्ने चलन थिएन । उनकै पालामा सेनालाई व्यारेकमा राखेर तालिम दिने व्यवस्था गरिएको थियो । नेपाल सेनाको आजको व्यवस्थित तालिमको जग भीमसेनले नै राखेका थिए ।
कविले विभिन्न पङ्क्तिमार्फत भीमसेनको निर्दोषिता पुष्टि गर्न खोजेका छन् । देवेन्द्रको हत्यामा उपचार गरेका वैद्यको निर्मम हत्याप्रति पनि कविले अफसोस व्यक्त गरेका छन् । राजा राजेन्द्रले आफूमाथि थोपरेको दोषको जवाफमा भीमसेनले भनेका थिए, “सरकारले मेरो पोल्टामा हगिबक्सेको गुहुको दाग अझसम्म गएको छैन । मैले मार्न चाहेको भए उसैबेला सरकारलाई नै मार्न सक्थेँ । यस्ता थाङ्ने भुसुने बालकलाई मारेर मलाई के फाइदा ?” (चित्तरञ्जन नेपालीको भूमिका)
कविले काव्य पङ्क्तिमार्फत् कतिबेला भीमसेनप्रति मकैबारी कुर्न बसेको किसानले रातको अँध्यारोमा पानी खान दिएको दृश्य प्रस्तुत गरी उनको लोकप्रियताको नापो देखाउन खोजेका छन् भने कतिबेला भीमले तत्क्षण भोग्नुपरेको त्यो कठिन समयबाट उनी विरक्त भई मृत्यु बोलाइरहेको शब्दचित्र उतारेका छन् ।
सरल भाषामा मिठासपूर्ण काव्य लेख्ने विशेषतायुक्त कवि सिद्धिचरणले काव्यमा लेखेका कति पङ्क्ति पाठकले सदैव याद गरिने सुक्तिहरू पनि छन् ।
जस्तै,
‘बिग्रे देश सबै जनाहरू तिमी बन्छौ यहाँ दानव
सप्रे देश सबै जनाहरू तिमी बन्छौ यहाँ मानव
बन्ने मानिस, या त दानव हुने, तिम्रो छ के सम्मत ?
यो नेपाल नबिग्रियोस् तर कहीं यै माग्छु भिक्षा म त ।
…….
चिन्ता खान्छ सजिवलाई जसरी आगो बली दाउरा
पाएमात्र चिता त खान्छ हसुरी निर्जीव खोजी बरा
चिन्तालाई तसर्थ भन्दछ चिता, पीडा बडो तत्सम
चिन्तालाई निकै मनुष्य जिउँदै हुन्छन् मरेकै सम ।
कविले २०४२ सालमा लेखिसिध्याएको खण्डकाव्यले आज पनि भीमसेनको पाशविक हत्याको कारुणिक चित्रणले पाठकलाई मन उद्वेलित बनाउँछ । कवि सिद्धिचरणको काव्य शिल्पप्रति कुतकुत नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *