भर्खरै :

सक्वको म राजदास – ६५

 
ख्रुश्चेभलाई डुबायो मकैबारीले
मकै ख्रुश्चेभलाई धेरै मन पथ्र्यो । मकै उत्पादनबाट नै सोभियत अर्थतन्त्र बलियो पार्दै सोभियत सङ्घलाई २० वर्षमा साम्यवादी राष्ट्र (कम्युनिस्ट स्टेट) घोषणा गर्ने सपना बोकेर सोभियत सङ्घका अति विवादित नेता निकिता ख्रुश्चेच हिँडेका थिए ।
सन् १९५३ मा सोभियत सङ्घका शक्तिशाली नेता जोशेफ स्तालिनको मृत्युपश्चात् निकिता ख्रुश्चेभले सोभियत सत्ता आफ्नो हातमा लिन सफल भएका थिए भने १० वर्ष उनले विश्व नै तरङ्गित हुने गरी राज्यसत्ता चलाए ।
अमेरिका, चीन, क्युबासँग ख्रुश्चेभको ठूलो राजनीतिक सम्बन्ध थियो भने भारतसँग पनि नजिक भएका थिए । सन् १९६० तिर भारत र चीनबीच तनाव श्रृजना हुँदा सुरुमा चीनको पक्षमा उभिएको सोभियत सङ्घ चीन–भारत युद्धमा तटस्थ मात्र बसेनन् बरु भारतकै पक्षमा उभियो र यसले गर्दा सोभियत सङ्घ र चीनबीच ठूलो कटुता उत्पन्न गरिदियो ।
सन् १९४५ मा सम्पन्न भएको द्वितीय विश्वयुद्धपछि सुरु भएको सोभियत सङ्घ र अमेरिकाबीचको शीतयुद्धले ख्रुश्चेभकै पालामा चरम उत्कर्ष रूप लिएको थियो । झन्डै आणविक अस्त्रसहितको तेस्रो विश्वयुद्ध हुनसक्ने खतरा उत्पन्न भएको थियो ।
ख्रुश्चेभकै पालामा मित्रराष्ट्र चीनसँग सिँचुआन प्रोभिन्समा सशस्त्र सङ्घर्षसमेत चलेको थियो । चीन र तिब्बतको सम्बन्धमा पनि सोभियत नेता ख्रुश्चेभ तिब्बतको पक्षमा उभिएर चीनको चित्त दुखाएका थिए ।सन् १८९४ मा उक्राईनाको एक किसान परिवारमा जन्मेका निकिता ख्रुश्चेभको देहान्त सन् १९७१ मा ७७ वर्षको उमेरमा मास्कोमा भएको थियो । केटाकेटीमा आफ्नो बुबाले कृषिकाम छोडेर खानीमा काम गर्न थालेपछि निकिता पनि मेकानिकल क्षेत्रमा काम गर्न गए । सानै उमेरमा विवाहित निकिताकी श्रीमतिको सन् १९२१ मा सोभियत सङ्घमा भएको अनिकालमा भोकमरीको चपेटामा परी मृत्यु भएको थियो । यसले गर्दा पनि निकिता ख्रुश्चेभको मनमा गहिरो चोट परेको हुनसक्छ । यसैकारण सोभियत सत्ता आफ्नो हातमा आएपछि सबभन्दा पहिले उनले सोभियत सङ्घमा कृषि क्षेत्र सुधार्न प्रयास गरेको, सोभियत सङ्घलाई अन्न उत्पादनमा अग्रस्थान दिलाउन चाहे । उनले सोभियत सङ्घमा खाद्यान्न उत्पादन गर्ने नीतिमा धेरै जोड दिए । आफू सोभियत सङ्घको शक्तिशाली पदमा पुगेपछि उनले घोषणा गरे कि सोभियत सङ्घलाई समाजवादबाट साम्यवादमा लैजान सिमेन्ट र स्टील मात्र भएर पुग्दैन प्रचुरमात्रामा खाद्यान्नको उत्पादन पनि हुनपर्छ । जसले गर्दा पशुपालनमा ठूलो सहयोग हुनेछ र देश आर्थिक उन्नतिका साथ साम्यवादको बाटोमा छिटो हिँड्ने छ । यसरी गएमा २० वर्षमै सोभियत सङ्घमा साम्यवाद स्थापना हुने छ । विशेष गरेर सोभियत सङ्घमा बृहत् रूपमा मकै उत्पादन गर्ने योजनाले नै गर्दा ख्रुश्चेभले आफ्नो सत्ता गुमाउन प¥यो । सन् १९६४ मा उनले अपनाएको मकै खेती फ्लप (असफल) भएर देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएपछि उनी सोभियत सत्ताबाट हटाइएका थिए । जीवनका अन्तिम वर्षहरू उनले मस्को नजिक एक दाच्छामा नजरबन्दीको रूपमा बिताएका थिए ।
सन् १९७० को प्रथम ५ वर्ष सोभियत सङ्घमा अध्ययन गरी बस्दा मैले एउटा डकुमेन्ट्री फिल्म हेरेको थिएँ । जहाँ निकिता ख्रुश्चेभ एक रमणीय स्थलमा एउटा राम्रो दाच्छा (घर) वरिपरि एक सुन्दर तलाउमा डुङ्गामा बसी माछा मारिरहेका थिए ।
अङ्ग्रेजीमा कटेज हाउस भनेजस्तै रुसमा ठूल–ठूला शहर बाहिर स–साना घडेरी रेस्ट हाउसजस्तै बनाइएका हुन्छन् । यस्ता घडेरीलाई रुसी भाषामा ‘दाच्छा’ भनिन्छ ।
निकिता ख्रुश्चेभलाई सन् १९६४ मा सत्ताच्युत गरेर यस्तै मस्कोनजिक एक सरकारी दाच्छामा नजरबन्द गरिएको थियो । सन् १९७१ मा ७७ वर्षको उमेरमा उनको मृत्यु त्यही भएको थियो ।
सन् १९७१ मा सोभियत उक्राईनाको खार्कोभ सहरमा म आफ्नो इन्जिनियरिङ्ग कोर्स पढ्दै थिएँ । त्यही वर्ष भएको उनको मृत्युबारे कुनै ठूलो प्रचारप्रसार भएको थिएन ।
निकिता ख्रुश्चेभको सत्तारोहणको मूलकारण एक कृषि क्षेत्रको विकासको योजना नै थियो भने यही कृषि क्षेत्रमा भएको ठूलो समस्याले गर्दा उनको सत्ता पतन भएको थियो ।
आफू सत्तामा आएलगत्तै सन् १९५४ मा सोभियत नेता ख्रुश्चेभले सोभियत सङ्घको बाँझो जमिनमा अन्न उब्जाउने अध्यादेश जारी गरे । जुन जमिनमा पहिले कहिल्यै पनि खेतीपाती गरिएको थिएन । यही योजना पछि गएर ख्रुश्चेभको लागि ठूलो घात हुन गयो । पहिले जोतिएको जमिनमा यान्त्रीकरण गर्दै अन्न बिउविजन र मलखाद प्रयोग गरेर उत्पादन र सङ्कलनमा जोड दिएको भए राम्रो हुने कुरा विज्ञहरूको थियो । विशाल सोभियत भूमिमा फैलिएको ‘भर्जीन ल्याण्ड’ मतलब बाँझो भूमि खनेर मकै खेती बढाइयो । तर, मौसमले साथ दिएन र पाकेको फसल समयमै सङ्कलन गर्ने क्षमता पनि नभएर धेरै नोक्सानी व्यहोर्नुप¥यो । ख्रुश्चेभले यद्यपि, बाली लगाएको एक दुई वर्ष राम्रो नतिजाले उत्साहित नगरेको पनि होइन ।
सन् १९६० को दशकमा सुरु–सुरुमा अन्न उत्पादनमा राम्रै नतिजा हासिल गरे पनि १९६३ मा सोभियत सङ्घले आफ्नो अन्न उत्पादनमा ठूलो क्षति व्यहोर्नुप¥यो । यसले देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न गरिदियो । जसले गर्दा सोभियत सङ्घमा सत्ता परिवर्तनको वातावरण श्रृजना भयो । सन् १९६४ मा सोभियत सङ्घमा निकिता ख्रुश्चेभले सत्ताबाट आफ्नो हात धुनु प¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *