भर्खरै :

नेपाल–भारत सीमामा सुरक्षा गस्ती बढाऊ

छिमेकी देश भारतले नेपालको भूमि मिच्ने काम अहिले पनि छोडेको छैन । भारतीय पक्षले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेको विरोधमा सल्केको नेपालीको स्वर सेलाएको छैन । नेपाली भूमि मिचेको सन्दर्भमा नेपाल सरकार वार्ता गर्न तयारी भइरहेको स्थितिमा भारतीय पक्षले फेरि नेपाली भूमि मिच्ने असफल प्रयास गरेको छ । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्याेदय नगरपालिकाको हिलोभञ्ज्याङमा आइतबार राति पिलर गाडेको जानकारी प्रकाशमा आएको छ । नेपाली भूमिमा गाडेको सो पिलर स्थानीय जनताले हटाएका छन् ।
भारतीय पक्षले पछिल्लो चरणमा ल्याउन खोजेको यो अर्काे सीमा विवाद हो । भारतीय पक्षले यसअघि पनि यसरी नै एकतर्फी ढङ्गले भारतको भूमिमा रहेको पिलर नेपाली भूमिमा गाडेको थियो । पछि त्यही पिलरको आधारमा स्थानीय नेपालीलाई उठिबास गरेको स्थानीय जनताको गुनासो बरोबर सञ्चारमाध्यममा आएकै हो । त्यसबेला स्थानीय जनताले नेपालीको भूमि नेपालकै कायम हुनुपर्ने मागसहित सरकारको पटक–पटक ध्यानाकर्षण गरेका थिए । स्थानीय जनताले उक्त पिलर गाड्न नरोकेका भए सो पिलर गाडेको ठाउँलाई सीमा स्तम्भ मानेर नेपाली भूमि मिच्न सक्थ्यो ।
नेपाली भूमि मिच्ने कार्यको विरोधमा लागेका स्थानीय जनताको उत्साहित काममा स्थानीय नेपाली प्रशासनले साथ दिनुपर्छ र दुई पक्षको छलफल या परामर्शबिना पिलर गाड्ने भारतीय पक्षको विरोध गर्नुपर्छ । यसरी भारतीय पक्षले नेपाली भूमि मिचेर आफ्नो प्रभाव बढाउने काम गरेको कारण नेपाल मजदुर किसान पार्टीले भारतलाई भारतीय विस्तारवाद भन्दै आएको हो । भारतीय सीमा सुरक्षा बल नेपाली भूमि मिच्न किन सक्रिय भइरहेको हो ? भारत सरकारको निर्देशनबिना के भारतीय सीमा सुरक्षाकर्मीले नेपाली भूमि मिच्लान् ?
यसैबीच भारतीय पक्षले दार्चुलाको महाकाली नगरपालिकास्थित भौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर अनियमितरूपमा तटबन्ध निर्माण गरिरहेको छ । नेपाल–भारत सीमामा दुई देशको सहमतिबिना कुनै पनि बाँध तथा तटबन्ध बनाउन नपाउने मान्यताको उल्लङ्घन गरेर तटबन्ध बनाएर भारतीय पक्षले अर्काे अनियमितता गरेको छ । उक्त तटबन्ध नबनाउन नेपालको सरोकारवाला निकायले रोक्न पत्राचार गरे पनि भारतले निर्माण कार्यलाई चालू राखेको छ । नेपाल सरकार आन्तरिक द्वन्द्वमा फसिरहेको बेला भारतले नेपाली भूमि मिच्ने काममा निरन्तरता दिइरहेको छ । भारतीय यो हस्तक्षेप या भूमि मिच्ने कामको विरोध गर्नुपर्छ र मिचिएका सबै नेपाली भूमि फिर्ता लिन सरकार, राजनीतिक दल, नागरिक समाज र स्थानीय जनता एकजुट हुनुपर्छ ।
भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरिरहेको हुँदा नेपाल सरकार र स्थानीय प्रशासन सचेत हुनुपर्छ । नेपाली भूमि जोगाउन नेपाल सरकारले नेपाल–भारत सीमामा नेपाली सुरक्षाकर्मीहरू खटाउनुपर्छ । नेपाल–भारत सीमा क्षेत्रमै नेपाली सुरक्षाकर्मीहरूले गस्ती बनाइनुपर्छ । त्यसो नभएसम्म फेरि अन्य क्षेत्रमा नेपाली भूमि मिच्न भारतीय पक्ष पछि पर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *