लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
पूर्वमाओवादी नेता प्रचण्डको एक अन्तर्वार्ता पछिल्लोपल्ट युट्यूबमा चर्चामा रह्यो । ‘फायरसाइड’ नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले आफ्नो बचाउमा बेसरी पसिना बगाएका छन् । उनले आफ्ना गडफादर मोहनविक्रम सिंह र आदरणीय नेता नारायणमान बिजुक्छेँलाई गुम्बासामु घण्टी बजाउने पुजारी वा जड भनी आरोप लगाएका छन् । यही ‘अँध्यारो’ मा उनले आफ्नो ‘अगुवाइ’ मा भएका ‘गतिशील’ कार्यलाई लार्जर ड्यान लाइफको ‘चमकधमक’ प्रदान गरेका छन् ।
चिया पसल वा चौतारीहरूमा बसेर ‘राजनीतिक खेल’ बारे गफिने बुद्धिजीवीले प्रचण्डको करिश्माको प्रशस्ति गाउने बहाना फेरि एकचोटि हात पारेका छन् । तर, इतिहासले प्रशस्तिलाई ठाउँ दिनेछैन । प्रचण्डको इतिहास यहाँ सान्दर्भिक हुन आउँछ । हालै एक अखबारमा ‘जनयुद्ध’ नामक प्रचण्डको ‘गतिशीलता’ बारे यस्तो छापियो – “माओवादीको सशस्त्र विद्रोह नेपाली सेनासित मुठभेड हुनसक्ने सम्भावनालाई विचार गरेर योजनाबद्धरूपमा २०५२ सालदेखि सुरु गरिएको थियो । यो दक्षिण अमेरिकी देश पेरुको सशस्त्र विद्रोहबाट प्रेरित रहेको प्रचारित गरियो । तर, माओवादीको सशस्त्र युद्धको मूल योजनाबारे ‘रिभोल्युसनरी इन्टरनेसनल मुभमेन्ट’ (रिम) अमेरिकी गुप्तचर संस्था सीआईएले खडा गराएको सङ्गठन थियो । सन् १९८४ मा गठन भएको यस संस्थाको प्रमुख अमेरिकन कम्युनिस्ट पार्टीका महासचिव बब अबेकियन थिए । ६ सय जति सदस्य रहेको त्यो कथित कम्युनिस्ट पार्टी विश्वकै धनी पार्टीमध्ये पर्ने गथ्र्यो । माओवादी जनयुद्धको अर्को पाटो यस्तो थियो । साविक राप्ति भेरी एकीकृत ग्रामीण विकास परियोजना अमेरिकी सरकारले २०३२÷३३ देखि सुरु गरेर २०५१÷५२ सम्म सञ्चालन गरेको थियो । २०५२ सालको असोजमा अमेरिकीहरू योजना समाप्त भएको भनेर नेपालबाट फिर्ता हुँदै थियो । यता अमेरिकाबाट सञ्चालित ‘यूएस एआईडी’ को कर्मचारी रहिसकेका प्रचण्डको नेतृत्वमा माओवादीहरू २०५२ सालको माघ अन्तिम साता ४० बुँदे माग १५ दिनभित्र पूरा गर्नु भनेर ‘अल्टिमेटम’ दिएका थिए । तर, उनीहरूले आफैले दिएको त्यो म्यादलाई नपर्खेर साता दिनमै रोल्पालगायत विभिन्न ठाउँमा प्रहरी पोस्टमा आक्रमण गरेका थिए । सङ्क्षेपमा भन्नुपर्दा माओवादीलाई जन्म दिने अमेरिका थियो र यसलाई पोषित र हुर्काउने भारत थियो भन्ने तथ्य त सर्वविदित नै छ ।” (कान्तिपुर, पुस १८) यो निष्कर्ष काङ्ग्रेसी नेता चक्र बास्तोलाको अनुभवसँग मेल खाएको छ । द्वन्द्वकालमा भारतमा माओवादी नेताहरूको गतिविधिलाई नजिकबाट नियालेका बास्तोलाले भनेका थिए, “माओवादी नामको अन्डा कसले पा¥यो थाहा भएन, तर त्यसलाई कोरल्ने काम भारतले गरेको हो ।”
प्रचण्ड र उनको ‘अगुवाइ’ मा भएको ‘जनयुद्ध’ देखि उनले औँल्याएको गुम्बातिर फर्कौँ । के प्रचण्डका गुरु मोहनविक्रम सिंह र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ जडसूत्रवादी हुनुहुन्थ्यो वा हुनुहुन्छ ? नेपाली कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंहका दुईचार छवि छन् । एक, व्यक्तिगत लाञ्छनाका सूत्रधार । दुई, संविधानसभाका प्रस्तावक । तीन, चुनाव बहिष्कारका हिमायती । प्रचण्डले आफ्ना गुरुका अघिल्ला दुई छविलाई आत्मसात गरेकोमा शङ्का गर्नुपर्दैन । तेस्रो छवि सिँहको पार्टी साहित्यमा भट्याइने लेनिनवादको खिलाफमा छ । सिँहको यही नीतिले नै चौथो महाधिवेशनलाई गतिरोध र उकुसमुकुसको स्थितिमा पु¥याएको हुनुपर्छ । यस अर्थमा प्रचण्डले मोहनविक्रम सिँहलाई ‘जड’ भन्नु स्वाभाविक देखिन्छ । यद्यपि हाल सिँहको पार्टी सत्तामा पुगिसकेको छ र यही विषयलाई लिएर त्यस पार्टीमा ठूलो विवाद उत्पन्न भइसकेको छ ।
नेपाल मजदुर किसान पार्टीले पञ्चायतका काला रातहरूमा कामदार जनताको घरदैलोमा पुग्न लेनिनवादी सिद्धान्तको अभ्यास गर्दै चुनावको उपयोग ग¥यो । यसर्थ, नेमकिपा चौथो महाधिवेशनको विपरीत बलियो सैद्धान्तिक जगमा स्थापित लेनिनवादअनुरूप गतिमान पार्टी हो । नेमकिपाले बहुमत उत्पीडित जनतालाई राजनैतिक चेतनाले सुसज्जित गर्न भूमिसुधार, जनमतसङ्ग्रह र संसद्जस्ता राजनीतिक मञ्चहरूमा भिड्यो र भिड्दै आएको छ । नेमकिपाका नेता कार्यकर्ताले पञ्चायतकालीन यातनाहरू भोग्दै गर्दा प्रचण्ड र उनका गडफादरहरूले ‘बहिष्कारवाद’ को नाममा मुन्टो लुकाइरहेका थिए । ज्यान जोगाउने र जीविका चलाउने यही स्कुलिङबाट दीक्षित प्रचण्डलाई साम्राज्यवादी अमेरिकी संस्थाको दानापानी खानमा सिकसिको नलागेको हो । माओवादीका धेरै अगुवा नेता, कार्यकर्ता र बुद्धिजीवीको पृष्ठभूमि यस्तै छ ।
जङ्गलबाट निस्केर सत्तामा पुगेपछि प्रचण्डले आफ्नो ‘गतिशीलता’ को सतत परिचय दिँदै गए । पहिले त उनले नेपाली सेनाको सङ्ख्या घटाउनुपर्ने प्रस्ताव राखे जुन वर्षौँअघिदेखि विस्तारवादी भारतीय सेनाको सपना रहिआएको छ । उनले काङ्ग्रेस र एमालेसँग मिलेर नेपालकै सस्तो विद्युत् परियोजना मानिने माथिल्लो कर्णाली परियोजना भारतीय सरकारी कम्पनीलाई दिए । आफू प्रधानमन्त्री छँदा प्रचण्डले नेपालको परराष्ट्र नीतिलाई भारतको मातहत राख्ने सम्झौतामा हस्ताक्षर गरे । यदि आत्मा भन्ने जिनिस हुन्थ्यो भने त्यो सम्झौता हुँदाको दिन जवाहरलाल नेहरूको आत्मा हर्षले गदगद हुने थियो र नेहरूले प्रचण्डको दीर्घायुको कामना गर्ने थिए । यहाँ ‘जनयुद्ध’ ताका प्रचण्डले आफ्नो ‘अगुवाइ’ मा ‘विस्तारवादी’ भारत र ‘साम्राज्यवादी’ अमेरिकालाई सहयोगको बिन्तीसहितको ‘जाहेरीपत्र’ पठाएको प्रसङ्ग भुल्न सकिन्न ।
प्रचण्डले आफ्नो ‘अगुवाइ’ मा भएका उपलब्धि भनी देखाएका गणतन्त्र, सङ्घीयता, संविधान र समावेशीतातर्फ लागौँ । यी विषयमा २०५२ साल अगाडिको तुलनामा केही परिवर्तन आएकै हो । विकासवादी सिद्धान्तअनुसार पनि धेरथोर परिवर्तनलाई शासकहरूले नकार्न सक्दैनन् । प्रचण्डको ‘अगुवाइ’ मा आएको गणतन्त्र र सङ्घीयतालाई आज उनकै नेताकार्यकर्ताले भ्रष्टाचारको दलदलमा डुबाउँदै छन् । संविधान हिजो पनि थियो र समावेशीता आर्थिक सम्पन्नताका आधारमा धेरैथोरै हिजो पनि थियो । तर ‘नयाँ’ गणतन्त्र, सङ्घीयता, संविधान र समावेशीताले बहुसङ्ख्यक जनताको जीवनमा खासै हेरफेर आएको छैन । बरु आजभोलि जनजीवन झनै असुरक्षित भएको छ । गरिबी, बेरोजगारी र आर्थिक असमानता बढ्दो छ । स्वास्थ्य र शिक्षामा जनताको पहुँच घट्दो छ । तसर्थ प्रचण्डले जसलाई ‘उपलब्धि’ भनेका छन्, ती उपलब्धिको उपभोग भ्रष्ट ठेकेदार, तस्कर, दलाल, माफिया र अपराधीहरूको पोल्टोमा गएको छ । पुँजीवादको नाङ्गो लुटपाटको निरन्तरतालाई नै प्रचण्डले ‘उपलब्धि’ भनेको व्यवहारले देखाउँछ । आजका मितिमा भ्रष्ट ठेकेदार, तस्कर, दलाल, माफिया र अपराधीहरू नै प्रचण्डका ‘जनता’ हुन् । उनले भनेको ‘विकास’ मा यिनै ‘जनता’ को विकास वा खान्कीमा लुकेको छ । उनले भनेको ‘स्थिरता’ मा यही लुटपाटको स्थिरता वा गुन्डाराजको चाहना लुकेको छ । प्रचण्डको ‘अगुवाइ’ ले देशको शक्ति संरचना र वर्गीय स्थितिमा तात्विक अन्तर आएको छैन । शोषण झन्झन् नाङ्गो स्वरूपमा प्रकट हुँदै छ । यही नाङ्गो लुट नै प्रचण्डको ‘चमकधमक’ हो ।
प्रचण्डले ‘एकता, सङ्घर्ष र रूपान्तरण’ को आफ्नो ‘माक्र्सवादी’ दर्शनलाई लागू गर्न अमेरिका, भारत र देशका भ्रष्ट तप्कासँग ‘एकता र सङ्घर्ष’ गरे । नेपाललाई भारतको सुरक्षा छाताभित्र लग्ने प्रक्रिया सुरु गरेर देशको सार्वभौमिकता र अर्थतन्त्र ‘रूपान्तरण’ गरे । सिद्धान्तको ‘घण्टी नबजाउने’ प्रतिबद्धतामा प्रचण्डले धेरैलाई ‘उपयोग’ गरेको किस्सा सुनाउँदा उनका आउरेबाउरे र दासहरू नाक फुल्लाउने गर्छन् । तर, प्रचण्डको ‘गतिशीलता’ मा उनी खेलाडी नभई खेलका गोटी हुन् भन्ने पटकपटक सावित भएका छन् । अहिले टाईसुट लगाएर उनी सडकमा बसेका छन् । आफैले जन्म दिएको ‘गणतन्त्र र संविधानको सुरक्षा’ को लागि आफू सडकमा ओर्लेको कथन प्रचण्डको छ । उनको कथन आधा सत्य र आधा असत्य हो । सत्य किन हो भने, उनी विदेशी ‘प्रभु’ को प्रभुत्व र स्वदेशी ‘जनता’ को दानापानीको ‘सुरक्षा’ गर्न सडकमा ओर्लेका हुन् । असत्य किन हो भने, उनले ‘जाँदिन’ भने पनि उनलाई ‘गतिशील’ तुल्याउन उनीमाथि खोलाझैँ पैसा खनाउनेहरूले उनलाई मुन्ट्याउँदै सडकमा धकेल्नेछन् । अर्थात्, चाहेर पनि प्रचण्ड सडकमा नजान सक्दैनन् । दलाल पँुजीवाद धान्न कति गाह्रो छ, प्रचण्डलाई थाहा छ ¤
प्रचण्डको कालो अनुहार सचेत नेपालीहरूले धेरैचोटि देखी र पर्खिसकेका छन् । आफ्नो त्यही अनुहारमा पानी छम्किन प्रचण्डलाई आफ्नो ‘क्रान्तिकारीता’ छाँट्नु थियो । यसकारण उनले आफूलाई ‘जड’ नेताहरूभन्दा विपरीत ‘गतिशील’ देखाउन पसिना काढ्ने गरी प्रयास गरेका छन् । तर, बिर्सने रोग नलागेका नेपालीहरूले प्रचण्डको पछिल्लो अन्तर्वार्तामा कर्कश प्रलापभन्दा अर्थोक नसुन्ने निश्चित छ ।
Leave a Reply