नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यवहारमा फुटे पनि कानुनतः फुटेको छैन । दलको नाउँ नेकपा नै भए पनि अहिले आफ्नो दल चिनाउन एक पक्षले ओली पक्ष (नेकपा) र अर्काे पक्षले दाहाल–नेपाल (नेकपा) पक्ष राखेको छ । दुवै पक्षले आफ्नो दलको नाउँ नेकपा र चुनाव चिह्न सूर्य नै दाबी गरिरहेका छन् । निर्वाचन आयोगले त्यसको टुङ्गो लगाएको छैन । आयोगले सत्य तथ्य या प्रमाणको आधारमा दुईमध्ये एक पक्षलाई नेकपाको मान्यता दिनेछ र त्यसबेला मान्यता नपाएको एक पक्षले दलको नयाँ नाउँ राख्नुपर्ने हुन्छ । अनि दलको मान्यता पाउन त्यहीअनुसार निर्वाचन आयोगमा अर्काे पत्राचार गर्नुपर्ने हुन्छ ।
नेकपाका केही नेताहरू अहिले पनि एक हुनुपर्ने तर्क राख्छन् । तर, हालको स्थिति हेर्दा नेकपा विभाजित भइसकेको छ, फुटेको घोषणामात्र गर्न बाँकी छ । विभाजित भएर अलग अलग केन्द्रीय समिति र जनवर्गीय सङ्गठनहरूको भेला भइरहेको छ । एकले अर्काेलाई विरोध गरिरहेको छ, नेताहरूको चरित्रबारे उदाङ्ग्याउने काम भइरहेको छ । लोकतन्त्रविरोधी, गणतन्त्रविरोधी, संविधानविरोधी आरोप लागिसकेको स्थितिमा अब कसैले चाहेर पनि नेकपा एक हुने देखिँदैन । यदि एक भए त्यो जति नमज्जाको अरू के हुनसक्छ ? नेकपाका नेताहरू फुटेको अपजस नलिने पक्षमा छन् । कसैले पार्टी फुटेको घोषणा गरे ‘पार्टी फुटुवा’ को दोष पाउला भन्ने डरले मात्रै पार्टी फुटेको घोषणा नगरेको राजनीतिक विश्लेषकहरूको विश्लेषण गलत नहोला ।
निर्वाचन आयोगले कुनै एक दललाई दलको मान्यता दिएपछि अर्काे दलले आफ्नो दलको नाउँ नफेरि सुखै छैन । आयोगले त्यो मुद्दाको टुङ्गो नलाग्दै अर्काे दलको नाउँ फेर्न पनि मिल्दैन । दल फुटिसकेको कुरा दुवै दलका शीर्ष नेताहरूलाई थाहा नभएको होइन । दुवै पक्षले पुरानै दलको मान्यता पाउने आशा गर्नु पनि अस्वाभाविक होइन । मान्यता पाउने दलले संस्थापन पक्षको दाबी गर्ने हक हुन्छ । तर, विभाजित दलमा दलको अध्यक्ष र महासचिव भएको आधारमा निर्वाचन आयोगले मान्यता पाउँछ भन्ने कुरा होइन । त्यो सर्त कुनै दलले दलको विधानमै उल्लेख गरिराखेको छ भन्ने कुरा अर्कै हो । पदको आधारमा कुनै दलले मान्यता पाउने होइन । त्यसो त प्रचण्ड–नेपाल पक्षधर नेकपामा पनि अध्यक्ष र प्रवक्ता छन् ।
आखिर नेकपा फुटेकै हो । पार्टी फुटेकोमा सबै दोष ओलीको काँधमा छोडेर अर्का अध्यक्ष पुष्पकमल दाहाल पन्छिन पाउँदैन । दुवै पक्षधर नेकपाले एकले अर्काेलाई अध्यक्षमाथि कारबाही गरिसकेको छ या अध्यक्ष हटाइसकेको छ । अध्यक्षलाई समेत कारबाही गरिएको स्थितिमा अब पार्टी एक हुने स्थिति देखिँदैन । निर्वाचन आयोगले कुनै दललाई वैधानिक मान्यता दिएपछि अर्काे दलले नयाँ दल नखोली हुँदैन । पार्टी एक ढिक्का छ भन्ने कुरा व्यवहारतः सही होइन । निर्वाचन आयोगले मुद्दाको टुङ्गो लगाउन बाँकी रहेकोले मात्र एउटै पार्टीजस्तो भएको हो, वास्तवमा नेकपा दुई पार्टी भइसकेको छ ।
Leave a Reply