भर्खरै :

नेपालको तराईलाई ‘मदिरा हव’ को रूपमा विकास गर्नु गलत

विराटनगर–१६ मा ‘मदिरा व्यवस्थापन अभियान’ नामक संस्थाले विसं २०६८ सालदेखि जनताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी मदिराको विकृति र विसङ्गतिबाट महिला, बालबालिका र युवालाई बचाउनुपर्ने उद्देश्यले समुदायमा सचेतना कार्यक्रम सञ्चालन र मदिरा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
मित्र देश भारतको विहारको राज्य सरकारले मदिरा निषेध गरेसँगै नेपालको तराईमा मदिरा व्यवसाय बढ्दै गरेको तर्फ इङ्गित गर्दै सरकारले तराईलाई ‘मदिरा हव’ र ‘मदिरा पर्यटन’ को रूपमा विकास गरी राजस्व असुल गर्नेतर्फ लाग्नु गलत छ ।
संस्थाले शिक्षा मन्त्रालयले सुर्ती, लागूपदार्थ तथा मदिराको असर र प्रभावबारे विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने, सुर्ती, गुट्खा र मदिरा स्वास्थ्यको लागि हानिकारक भएको कुरा आमसञ्चारमा नियमित प्रसारण गर्नुका साथै सिनेमा हलमा समेत देखाउनुपर्ने, मन्दिर, गुम्बा, मस्जिद, विद्यालय, अस्पताल र सार्वजनिक स्थलको ५०० मिटर बाहिरमात्र मदिरा व्यवसाय सञ्चालन गर्नुपर्ने, मदिरा उद्योगलाई प्रोत्साहन नगरी क्रमशः घटाउँदै लानुपर्ने, नगरपालिकाको एउटा वडामा बढीमा ५ र गाविसमा एउटामात्र मदिरा पसल खोल्न पाउने, सरकारले मदिराबाट राजस्व वृद्धिको लक्ष्यमात्र राख्न नहुनेलगायत मदिरा सेवनबाट हुने दुर्घटना, भ्रष्टाचार, नागरिकको स्वास्थ्य तथा सुरक्षामा सरकारी खर्च बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मदिरा व्यवस्थापन अभियानले मदिराको हानिकारक उपयोगले विश्वमा बर्सेनि ३३ लाख अर्थात् विश्वको ०.६ प्रतिशत व्यक्तिको ज्यान जाने गरेको उल्लेख गर्दै मित्र देश भारतमा प्रति १०० जनामा १ जनाले र नेपालमा प्रति १० जनामा १ जनाले रक्सी खाने तथ्याङ्क रहेको हुँदा मदिरा नियन्त्रणमा सबैको ध्यान जानुपर्ने आग्रह गर्दै अपिल प्रकाशन गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सात वर्षअघि गरेको अनुसन्धानले नेपालमा १४ देखि ६० वर्ष उमेरका २९ प्रतिशतले मदिरा पान गर्दछन् भने बोल्न सक्ने अवस्थाको बालकलाई समेत रक्सी र चुरोट बेच्ने देश नेपाल रहेको अभियानको अपिलमा उल्लेख गरिएको छ ।
संस्थाकै दबाबका कारण विराटनगर महानगरपालिकाले ‘मदिरा बिक्री वितरण तथा कार्यविधि नियमन २०७६’ लागू गरी सुरुमा सार्वजनिक स्थलको २०० मिटर नजिक मदिरा बिक्री वितरण गर्न नपाउने नियम पास गरे पनि पछि व्यवसायीहरूको दबाबमा १०० मिटरमात्रै कायम गरेको ‘मदिरा व्यवस्थापन अभियान’ का अध्यक्ष फणिराज नेपालको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *