भर्खरै :

नेकपाभित्र माक्र्सवाद र लेनिनवादबारे बहस आवश्यक

नेकपाका नेताहरूले आफ्नो पक्षको नेकपालाई राम्रो ठान्न एकले अर्कालाई प्रतिगामी, गणतन्त्रविरोधी, लोकतन्त्रविरोधी भनी आरोप प्रत्यारोपमात्र नगरी निर्वाचनमा पत्तासाफ गर्ने, शून्यमा झार्ने चेतावनी दिइरहेका छन् । निर्वाचन हुने हो या होइन अदालतको निर्णय पर्खेर बसेका ती नेताहरूको मूल मुद्दा एकले अर्काेलाई उडाउने र निर्वाचनमा हराउने रहेको छ । आफूलाई देशको शक्तिशाली कम्युनिस्ट पार्टी मान्ने नेकपाका नेताहरू माक्र्सवाद र लेनिनवादबारे बहस गर्दैनन्, जनतालाई सचेत र सङ्गठित बनाउन सैद्धान्तिक र राजनीतिक चेतना दिँदैनन् । निर्वाचनमा हराउने र जित्ने बखान गरेर कम्युनिस्टको सिद्धान्त र विचारको प्रचार गर्दैनन्, दर्शनको कुरा गर्दैनन् ।
उनीहरू कम्युनिस्टको उद्देश्य सत्तामा जानु या सरकारको नेतृत्व गर्नु सम्झन्छन् । पुँजीवादी सरकारको नेतृत्व गरेरै देशमा कम्युनिस्टहरूको शासन चलाउने वाचा गर्छन् । देशमा आमूल परिवर्तन गर्न या साँच्चै बहुमत जनताको प्रतिनिधित्व गर्ने सरकार ल्याउन अब कुनै सङ्घर्ष गर्न नपर्ने बताउँछन् । मानौँ, अहिले नै देशमा साँच्चै कम्युनिस्टहरूको शासन छ । नेकपाको नेतृत्वमा सरकार रहे पनि कम्युनिस्ट सिद्धान्त, विचार र दर्शनअनुसारको शासन छैन । कम्युनिस्टको सिद्धान्त र विचार प्रचार पनि नगर्ने, त्यसअनुसार राजनीति नगर्ने नेकपाले वास्तवमा पुँजीवादी वर्गको पक्षमा राजनीति गरिरहेकोमा शङ्का छैन ।
विभाजित नेकपाका नेताहरू एकले अर्काेलाई कम्युनिस्ट होइन भन्छन् । उनीहरू एकले अर्काेलाई कम्युनिस्ट ठान्दैनन् । प्रचण्ड–नेपाल पक्षधर नेकपाका नेताहरू ओली पक्षधर नेताहरूमा कम्युनिस्टको कुनै गुण नभएको ठोकुवा गर्छन् भने ओली पक्षधर नेताहरू पनि प्रचण्ड–नेपाल पक्षधर नेताहरू कम्युनिस्टविरोधी ठान्छन्, कम्युनिस्ट आन्दोलन भड्काउने कम्युनिस्ट भँडुवा ठान्छन् । एकले अर्कालाई कम्युनिस्टविरोधी देख्ने नेकपाका नेताहरू उनीहरूकै विश्लेषणमा पनि कम्युनिस्ट होइनन् ।
एकले अर्काेलाई गाली गरेर, आरोप प्रत्यारोप गरेर के नेकपाका नेताहरू सच्चा हुन्छन्, कम्युनिस्ट हुन्छन् ? गाली गलौज गरेपछि अघाउने, मन सन्तोष पार्ने ती नेताहरू केटाकेटी शैलीमा हिलोछ्याप्न भ्याएका छन् । उनीहरूले सैद्धान्तिक र राजनीतिक बहस गर्नुपर्ने हो । सिद्धान्त र विचारको कुरा छोडेर हिलो छ्यापाछ्याप गरेर ती नेताहरूले आफ्नो राजनीतिक व्यक्तित्वको वजन घटाएका छन्, आफ्नो इज्जत, प्रतिष्ठा र मानमा धक्का पु¥याउने काम गरेका छन् । एकले अर्कालाई विरोधको लागि विरोध गरेर कुनै दल र दलका नेताहरू सद्दे हुँदैनन्, सच्चा, असल, इमानदार, देशभक्त र कम्युनिस्ट हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *