“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
भक्तपुर, २९ पुस । “भक्तपुरलाई सफा–स्वच्छ सांस्कृतिक सहर बनाउने हामी सबैको साझा उद्देश्य हो । सहरलाई सफा–स्वच्छ बनाउन घर–घरबाट निस्कने कुहिने र नकुहिने फोहरलाई अलग अलग गरी पुनः प्रयोगमा पठाउनु आवश्यक छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको आठौँ नगरसभा उद्घाटन गर्दै बुधबार व्यक्त गर्नुभएको हो ।
“सांस्कृतिक सहरको लागि पुर्खाले सिर्जेको सम्पदा संरक्षण गरी जनताको शैक्षिक र बौद्धिकस्तर उठाउनु आवश्यक छ । भक्तपुरको हनुमन्ते र खासाङखुसुङ खोलालाई सफा राख्ने, यसका घाटका ढुङ्गाका खुड्किलाहरू मर्मत गर्ने र फोहर ढल मिसिन नदिने कामलाई अब विलम्ब गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।
सचिव सुवालले अगाडि भन्नुभयो, “जनताको सांस्कृतिकस्तर उठाउन भक्तपुर नगरपालिकाका कलेजहरूलाई ख्वप विश्वविद्यालयमा विकास गर्नु आवश्यक छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ख्वप विश्वविद्यालयको विधेयक संसद्मा प्रस्तुत गरी छलफल एवम् पारित गराउन चाहेनन् । यसले शिक्षामन्त्रीहरू शिक्षाविरोधी नै भएको पुष्टि ग¥यो ।”
ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न भक्तपुरकै जनताको सल्लाघारीस्थित १०८ रोपनी जग्गा हाल नेपाल ट्रष्टको जिम्मामा रहेको भक्तपुर नगरपालिकालाई उपलब्ध गराउनु आवश्यक भएको चर्चा गर्दै उहाँले बताउनुभयो, “ख्वप विश्वविद्यालयको विधेयक विश्वविद्यालय अनुदानको कार्यालयबाट अघि बढाउन भक्तपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको पनि सहयोग थियो ।”
सचिव सुवालले भन्नुभयो, “भक्तपुरको हस्तकलामा आधारित परम्परागत सीपलाई प्रवद्र्धन गर्न भक्तपुर साना उद्योग क्षेत्र ब्यासी, खौमा, दरबार क्षेत्र, इटाछेँलगायत पुराना मानव बस्तीसँग जोडेर विसं २०३६ सालमा स्थापना गरिएको हो । हाल यो क्षेत्रमा स्थापनाको उद्देश्यविपरीत ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने टेक्सटाइल, प्लास्टिक, रङरोगन, डाइङ्ग उद्योग सञ्चालन गरिएको हुँदा नेपाल सरकारको आ.व. २०७३÷७४ को बजेट प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्रलाई काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालयबाट सहयोग हुनु आवश्यक छ ।”
भक्तपुर साना उद्योग क्षेत्रबाट प्रदूषण फाल्ने उद्योग हटाउनुलाई गैरभक्तपुरवासीलाई पक्षपात गरिएको जस्ता झूटा तर्क राख्नु साम्प्रदायिक अभिव्यक्ति हो, उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुरमा खानेपानी स्रोतमाथि खेलबाड गरिएसँगै पानीको अभाव भइरहेको चर्चा गर्दै सचिव सुवालले सरकारले खानेपानीको स्रोतलाई संरक्षण गर्न जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेमकिपाले प्रतिनिधिसभा भङ्ग गरिएकोलाई स्वाभाविक र औचित्य भएको मत राखेको छ । प्रजातन्त्रवादीहरूले ताजा जनादेशलाई अस्वीकार गर्न मिल्दैन । निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर पनि हो ।”
बाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले जनताको सेवा जनतासँग रहेरै जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै जिम्मेवार जनप्रतिनिधिहरू जनताका असल कार्यकर्ताको रूपमा काम गर्नुपर्छ भन्नुभयो ।
जनप्रतिनिधिहरू जनताको कार्यकर्ता बनेर सुसंस्कृत समाज निर्माण गरी आमूल परिवर्तनको निम्ति सदैव तयार भइरहनुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुरलाई उदाहरणीय नगर बनाउन इमानदार कार्यकर्ता, इमानदार जनप्रतिनिधि र इमानदार कर्मचारीको खाँचो हुन्छ भन्नुभयो ।
पुँजीवाद र समाजको भेदबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “तल्लो वर्गका जनताको सेवा गर्न अझै सङ्घर्षको खाँचो छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगरसभाका सभापति सुनिल प्रजापतिले सङ्घ र प्रदेश सरकारहरूले विभिन्न बहानामा स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै स्थानीय तहको आवश्यकताअनुसार कर्मचारी राख्ने अधिकार स्थानीय तहलाई नै हुनुपर्नेमा जोड दिनुभयो ।
“जुनसुकै बहानामा स्थानीय तहमाथिको नियन्त्रण हस्तक्षेप नै हो, स्थानीय तहको पूर्ण स्वायत्तताको लागि निरन्तर लडिरहने छ”, उहाँले भन्नुभयो ।
जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रको आधारमा नगर र नगरवासीहरूको हितलाई केन्द्रबिन्दुमा राखेर काम गरिररहेको उहाँले बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको औँल्याउँदै भक्तपुरलाई सांस्कृतिक नगर, आत्मनिर्भर र सुपरिचित नगर बनाउने ध्येयले नपा लागिपरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बहुआयामिक विकासको निम्ति भनपा लागिपरेको चर्चा गर्दै भनपाको मितव्ययिता, पारदर्शिता र अनुशासनबारे अरू निकायले सिक्न लायक छ भन्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरसभाको आवश्यकताबारे चर्चा गर्नुभयो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो ।
Leave a Reply