रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
नेपाली र भारतीय जनताको सम्बन्ध अति प्राचीन छ । प्रकृतिले यस सम्बन्धलाई अझ बलियो बनाइदिएको छ । दुवै देशका जनता एउटै नदीको पानी पिउँछन् र एउटै हिमालयको काखमा बस्छन् । नेपाली र भारतीय जनताको सामाजिक र सांस्कृतिक सम्बन्ध इतिहास जत्तिकै पुरानो छ । तर, यथार्थवादी दृष्टिकोणले दुई देशका जनताको माझको यो सम्बन्ध एकपक्षीय मात्रै हो । हरेक वस्तु र समस्याको दुवै पक्ष नै त्यसको सिङ्गो रूप हुन्छ । एकपक्षीय दृष्टिकोणले मात्रै समस्याको सही जानकारी र त्यसको ठीक समाधान हुँदैन । समस्याको राम्रो अध्ययन र त्यसको उचित समाधानको निम्ति दुवै पक्षलाई राम्रोसँग केलाउनु आवश्यक हुन्छ ।
नेपाल र भारतको बीचमा कहिलेकाहीँ देखापर्ने गरेका तीतापीराहरूबारे भारतका केही जिम्मेवार बुद्धिजीवी वर्ग, प्रचार साधन र नेपालविद्हरूले केही दोषपूर्ण र गलत दृष्टिकोणहरू प्रस्तुत गर्ने गरेका छन् । आत्मआलोचनाको कमी, विषयवस्तुलाई वस्तुगत र नकारात्मक रूपले नहेरी मनोगतरूपले मात्रै हेर्ने बानी, केही स्वार्थी तत्वहरूबाट प्रस्तुत अवास्तविक र कुटिल सल्लाह सूचनाको आधारमा नेपाल र नपाली जनताबारे लिने निर्णय, टुङ्गो र ठम्याइ नै ती दोषपूर्ण दृष्टिकोणका मुख्य आधारहरू हुन् । नेपाली र भारतीय जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी क्रान्तिकारी सम्बन्धलाई विकास गर्न त्यस गलत बुझाइबारे राम्रो जाँचबुझ र विश्लेषण गर्नु अति आवश्यक छ ।
नेपालका केही जिम्मेवार व्यक्तिहरूले नेपाल र भारतको बीचमा बाझिएका स्वार्थ वा समस्या छैनन् भनेर स्वीकार गरेका छन् । तर, तथ्य यसको ठीक उल्टो छ । तथ्यलाई लुकाउन खोज्नु झन् खतरनाक कुरो हो । चिप्लो घस्नु, चाप्लुसी गर्नु र खुसामद् गर्नु नै समस्याको उचित समाधानको उपाय हुँदैन, बरु त्यस्ता जालसाजीले समस्या झन् जेलिने सम्भावना छ । हरेक देशका भिन्ना–भिन्नै स्वार्थहरू हुन्छन् र देशहरूको बीचमा बाझिएका स्वार्थहरू पनि हुन्छन् । त्यस्तै नेपाल र भारतको बीचमा समान समस्याहरू हुनुको साथै भिन्ना–भिन्नै र बाझिएका स्वार्थहरू पनि छन् । साम्राज्यवाद र उपनिवेशवादको बाँकी बक्यौताहरूलाई निर्मूल गर्नु र त्यसले छोडेका गरिबी र पछाडिपनलाई नाघेर अगाडि बढेको सम्पन्न र न्यायमा आधारित शोषणविहीन समाज खडा गर्नु दुवै देशका समान समस्या हुन् । दुई देशको बीचमा व्यापारबारे मोलमोलाइ, तेस्रो देश र समुद्रपारका देशहरूसँग व्यापार गर्न विनारोकतोक बाटोको (पारवहन) सुविधा, गोर्खा भर्ती र यसबाट पाइने रकमहरू, सुरक्षाबारे आत्मनिर्भरता र स्वतन्त्रताबारे नेपाल र भारतका भिन्नाभिन्नै स्वार्थ छन् भने महेशपुर, जोगबनी र रङ्गेली इलाका, हरिपुर, बारा जिल्लाको टीआर नदीले बाटो फेर्दाको इलाका, सुस्ता–नरशाही, कोइलावास, मथुरा दाना, महाकाली नदीको पुल र नहर, महाकाली नदीले बनाएको चाँदनी टापु आदि सीमासम्बन्धी बाझिएका स्वार्थहरू हुन् । यसबाहेक दुई देशबीचमा आ–आफ्ना अलग–अलग परम्परा र राजनैतिक दृष्टिकोणहरू छन् ।
दुई देशको आकार र जनसङ्ख्यामा भिन्नता अनि त्यसको समस्या समाधानबारे पनि फरक–फरक दृष्टिकोण हुन्छन् । यस्ता थुप्रै बाझिएका र असमान स्वार्थ छँदा–छँदै पनि ‘बाझिएका स्वार्थ’ वा ‘समस्याहरू छैनन्’ भन्नु त ‘मोही माग्ने तर ढुङ्ग्रो लुकाउने’ जत्तिकै हो । यसलाई कूटनैतिक सफलताका बाधाहरूमात्रै भन्न सकिन्छ । समस्यालाई यथार्थरूपले राख्नु र निश्चल र इमानदारीपूर्वक समाधानको बाटो खोज्नु नै कूटनैतिक सफलता हुन्छ जसले दुवै देशका जनताको निम्ति लाभदायक र सन्तोषको कुरो हुनेछ ।
नेपालका जिम्मेवार व्यक्तिहरूले जस्तै भारतीय जिम्मेवार व्यक्तिहरूले पनि नेपाली र भारतीय जनताको सम्बन्धबारे केही गलत समझदारीहरू राखेका छन् । ती गलत समझदारीहरूले नै दुई देशका जनताको मैत्री सम्बन्धमा कुहिरोको काम ग¥यो । मित्र सम्झिएका कति व्यक्तिहरूले त्यस कुहिरोलाई पन्छाउनुको सट्टा अझ बाक्लो कुहिरो थप्ने समझदारी लिएका छन् । दुई देशका जनताको मित्रतालाई बलियो पार्न गलत समझदारीको त्यस कुहिरोलाई पन्छाउन आवश्यक छ । ती गलत समझदारीहरूलाई एक–एक गरेर केलाउनु नै दुई देशका जनताको सम्बन्धमा देखापरेको कुहिरोलाई पन्छाउने सबभन्दा उचित युक्ति र पाइला सावित हुनेछ । नेपाली जनता र भारतीय जनताको बीचमा देखापरेका गलत समझदारीहरू के–के हुन् त ?
(१) नेपाली जनताले भियतनाम, लाओस, कम्बोडिया, कोरिया र सम्पूर्ण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनता र संसारका सबै दलितपीडित देश र जनताको साम्राज्यवादी आक्रमण, हस्तक्षेप र थिचोमिचोको विरोधी सङ्घर्षलाई समर्थन गरेका थिए र गर्दै पनि छन् । नेपाली जनता साम्राज्यवाद, उपनिवेशवाद र दुई महाशक्तिको प्रभुत्ववादको विरोध गर्छन् । नेपाली जनताको यस साम्राज्यवाद र उपनिवेशवादविरोधी भावनालाई ‘चीनको उक्साइ’ र भड्काइ भन्ने गलत समझदारी लिइयो । (२) नेपालका विवेकशील र प्रगतिशील जनताले ठूलो राष्ट्र अहङ्कारवाद, विदेशी हसतक्षेप र थिचोमिचोको विरोधमा सङ्घर्ष गरे । त्यस सङ्घर्षलाई केही विदेशी र चिनियाँ कम्युनिस्टहरूको उक्साइएको भारतविरोधी गतिविधि भन्ने गलत समझदारी लिइयो । (३) भारतीय एकाधिकार पुँजीको थिचोमिचोको विरोधमा नेपाली जनताको देशको अखण्डता र सार्वभौमिकता जोगाउने सङ्घर्षको कारण नेपालका केही जाति वा जनसमुदायलाई भारतविरोधी र चीन समर्थकको रङ्ग लगाइयो, राजनैतिक सीमा र अरू विभिन्न समस्याहरूमा आपसी स्वार्थबारे उठ्ने मोलमोलाइ, खिचलो र तानातानीलाई दुई देशको बीचमा हुने स्वाभाविक समस्या नसम्झी भारतविरोधी गतिविधिमात्रै सम्झियो । त्यसलाई एक स्वाभाविक समस्या सम्झेर समाधानको बाटो नखोजी एकोहोरो ढङ्गले भारतविरोधी निहुँ र झगडा सम्झनु नै दुई देशका जनताको बीचमा देखापरेका गलत समझदारीहरूका मुख्य कारणहरू हुन् । आउनुस्, हामी ती गलत समझदारीहरूलाई एक–एक गरेर केलाऔँ ।
१. के नेपाली जनताको साम्राज्यवाद, उपनिवेशवाद र दुई महाशक्तिको प्रभुत्ववादविरोधी भावना र सङ्घर्ष चीनको उक्साइ हो त ? होइन, एकदमै होइन । नेपाली जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी आफ्नै परम्परा छ । भारतका विभिन्न राज्यहरूलाई बेलायती साम्राज्यवादले निलिरहेको बेला भीमसेन थापाको मुख्तियारीमा नेपालले बेलायती साम्राज्यवादलाई एसियाबाटै धपाउन भारत र चीनका राजा–महाराजाहरूलाई एक संयुक्त मोर्चामा सङ्गठित गर्न खोजेको थियो । भारतका केही राजाहरूले आफ्नो राज्य बचाउने र सहुलियत प्राप्त गर्ने सानो स्वार्थसिद्ध गर्न नेपालको चिट्ठी र आशयलाई बेलायती साम्राज्यवादीहरूलाई बताएर नेपाली र एसियालाई नै धोखा दिएका थिए । भारतका केही राजा–महाराजाहरूको आत्मसमर्पण र धोखेबाजीले गर्दा नेपाल बेलायती साम्राज्यवादीहरूको लुटपिट र आक्रमणको केन्द्र बन्यो । भारतीय राजा–महाराजा एवम् सामन्तहरूले बेलायती साम्राज्यवादीहरूको ‘फ्ट गर र राज्य गर’ भन्ने नीतिको उल्टो नीति लिन सकेनन् । साम्राज्यवादीहरूले भारत कब्जा गर्न भारतीय राजाहरूको बीचमा झगडा लगाए र राज्य हात पारे, एसियालाई कब्जा गर्न एसियाली क्षेत्रहरूमा झगडा लगाए । साम्राज्यवादीहरूको त्यस दुर्नीतिको विरोधमा एकता र संयुक्त मोर्चा गर्न नसक्नु रणनीतिक गल्ती थियो । (त्यस रणनीतिक गल्तीले गर्दा अत्याधुनिक हातहतियार र सुसङ्गठित सेनासहित अगाडि बढेको पुँजीवादी उत्पादन साधन, प्रणाली र श्रेष्ठकर रणनीतिले सुसज्जित साम्राज्यवादीहरूले एसियालाई आफ्नो मुट्ठीमा पार्न सफल भए ।) तैपनि नेपाली जनताले केही भारतीय राजा–महाराजाहरूको आत्मसमर्पण र बेलायती साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै रहेका थिए, सुगौली सन्धिले नेपाल एक पीडित, आक्रान्त र ‘अर्ध–उपनिवेश’ देशमा फेरियो । नेपालको पश्चिम भाग बेलायती साम्राज्यवादीले भारतमा मिलाइदियो, पूर्वमा दार्जिलिङ कब्जा गरेर तिब्बतको बाटो खोयो, भुटान र सिक्किमलाई पनि ‘अर्धउपनिवेश’ बनायो । बलभद्रजस्ता वीरहरू भारतीय राजाहरूसँग मिलेर बेलायती साम्राज्यवादको विरोधमा अन्तिम दमसम्म लडेर मरे, तर आत्मसमर्पण गरेनन्, न त साम्राज्यवादसँग सम्झौता नै गरे । भीमसेन थापा, माथवर सिँह, गगन सिँहजस्ता देशभक्तहरू आफ्नो जीउमा प्राण बाँकी भएसम्म साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै गए । नेपाली राष्ट्रको निम्ति यो मुटुको घाउ थियो । त्यस्तो राष्ट्रिय घाउ भएको नेपाली जनताले हिन्द–चीन, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको साम्राज्यवादविरोधी सङ्घर्षको समर्थन गर्नु आक्रान्त र पीडित देशका जनताको समान पीडाको अभिव्यक्ति हो । नेपाली जनताको त्यस साम्राज्यवादविरोधी राष्ट्रिय अभिव्यक्तिलाई ‘चीनको उक्साइ’ भन्नु नेपाली जनताको गौरवपूर्ण राष्ट्रिय भावना र साम्राज्यवादविरोधी परम्परालाई जानाजानै चोट पु¥याउने एक अशिष्टता थियो र नेपाली र चिनियाँ जनताको साम्राज्यवादविरोधी परम्परागत मैत्रीलाई धमिल्याउने एक दुःखलाग्दो दुष्प्रयास पनि थियो ।
२. के नेपालका विवकेशील र प्रगतिशील जनताको ठूलो राष्ट्र अहङ्कारवाद, हस्तक्षेप र थिचोमिचो र विरोधी देशभक्तिपूर्ण सङ्घर्ष ‘केही विदेशी र चिनियाँ कम्युनिस्टहरूको भारतविरोधी भड्काइ’ हो ?
ऐतिहासिकरूपले नै यो कुरो असत्य छ । बेलायती साम्राज्यवाद नै सबभन्दा पहिले नेपाली र भारतीय जनताको बीचमा झगडाको बीउ छर्ने प्रतिक्रियावादी शक्ति हो । सुगौली सन्धि र गोर्खा भर्ती नै नेपाली राष्ट्रको मुटुका किला हुन् । तर, बेलायती साम्राज्यवाद भारतबाट गइसक्दा पनि ‘स्वतन्त्र भारत’ का शासक वर्गले आफ्ना छिमेकी देशहरूमाथि बेलायती उपनिवेशवादी नीतिलाई नै लागू गर्दै गयो । २००७ सालको राणाविरोधी सङ्घर्षलाई भारतीय शासक वर्गले नै दिल्लीमा राणा र नेपाली काङ्ग्रेसका दक्षिणपन्थी नेताहरूको बीचमा सम्झौता गर्न बाध्य गराइएको थियो । त्यो सम्झौता नेपालको पुँजीवादी क्रान्तिलाई बीचमै टुङ्ग्याउने एक ‘धोखा’ थियो । त्यसैबेला नेपाली जनताले ‘दिल्ली सम्झौता’ को विरोधमा सङ्घर्ष गरेका थिए । क्रान्तिलाई विजयसम्म अघि बढाउन खोज्ने राणाविरोधी र शोषणविरोधी सङ्घर्षलाई नेपालभित्र भारतले आफ्नो सेना पठाएर दबाउन लगाइयो । भारतीय शासक वर्गको त्यो कदम एक अपराधपूर्ण हस्तक्षेप र थिचोमिचो थियो । त्यहीँबाट नेपाली राष्ट्रमा भारतीय थिचोमिचोविरोधी भावनाको जग बस्न सुरु भएको थियो । फेरि १९५० र त्यसपछिका नेपाल–भारत सन्धिहरूले नेपाललाई भारतीय एकाधिकार पुँजीको एक सुरक्षित बजार वा नयाँ अर्ध–उपनिवेश बनाउन खोजे । साम्राज्यवाद र उपनिवेशवादविरोधी नेपाली राष्ट्रमा यसरी भारतीय एकाधिकार पुँजीविरोधी भावनाको विकास भयो । यसलाई बेलायती साम्राज्यवादविरोधी भारतीय जनताको स्वतन्त्र हुने भावनासँग दाँज्न सकिन्थ्यो । त्यसबेला स्वतन्त्र भारत र मुक्त चीनको आपसी मित्रता एक उचाइमा पुगिसकेको थियो । त्यसको एउटा ज्वलन्त उदाहरण चिनियाँ जनताको जापानविरोधी लडाइँमा भारतीय जनताले चिनियाँ जनताको मद्दत गर्न एक उपचार दल पठाउनु थियो जुन उपचार दलमा डा.कोटनिस र डा. बसु पनि सदस्य थिए । साम्राज्यवादविरोधी त्यो एकता बढ्दै गएर १९५५ सम्ममा वाङडुङमा चीनका प्रधानमन्त्री चाउ एनलाई र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले अरू एसियाली र अफ्रिकी देशहरूसँग मिलेर ‘पञ्चशील’ को जग हाले । एसियाको आकाशमा ‘चीन–भारत–भाइ–भाइ’ को नारा गुजिँदै गइरहेको थियो । तर, ठीक त्यसैबेला त्यसको विपरीत नेपाली जनतामा भारतीय थिचोमिचो विरोधी भावना एक उचाइमा पुगिसकेको थियो । यसले थाहा हुन्छ कि नेपालमा भारतीय एकाधिकार पुँजीको विरोधी भावना विदेशी या चीनको भड्काइ थिएन, बरु नेपाली जनताको राष्ट्रिय जागरण र चेतनाको क्रमिक विकासको द्योतक थियो । भारत र चीनको सीमा विवाद त साम्राज्यवादीहरूको षड्यन्त्रले १९६०–१९६२ मा मात्रै सुरु भएको थियो । नेपाली जनताको देशभक्तिपूर्ण भावनालाई ‘चीनको भड्काइ’ भन्नु स्वयम् नेपाली जनताको राष्ट्रिय चरित्रलाई हेला गर्नु र हाँक दिनु थियो ।
३. नेपाली जनताको भारतीय एकाधिकार पुँजीको थिचोमिचोविरोधी देशको अखण्डता र सार्वभौमिकता जोगाउने सङ्घर्ष, राजनैतिक सीमाको खिचलो, आ–आफ्नो देशको स्वार्थलाई लिएर गरिने अनेक आर्थिक मोलमोलाइ र तानातानी तथा भावनाका प्रश्नहरू के नेपालका केही जाति र जनसमुदायको ‘भारतविरोधी’ र ‘चीन समर्थक’ प्रवृत्तिको कारण भएको हो ?
अहँ होइन, यो भारतीय पक्षले विषयवस्तुलाई नै नबुझ्नु हो अथवा तिनीहरू वास्तविकतालाई लुकाउन खोज्छन् । तिनीहरूको कुतर्कले गर्दा कहलेकाहीँ ‘चोरको खुट्टा काट्भन्दा खुट्टा उचाल्नु’ जत्तिकै हुन गएको छ । त्यस जातिवादी कुतर्कले पुरानो हिन्दू साम्राज्यवाद र बेलायती उपनिवेशवादी संस्कारको गन्धमात्रै प्रदर्शन ग¥यो । आउनुस्, त्यस भारतीय गलत ठम्याईबारे छलफल गरौँ । (क) आर्थिक, राजनीतिक र सीमासम्बन्धी मोलमोलाइ, तानातानी र खिचलोको कारण जाति र जाति विशेष हुनेगर्दैन । आर्थिक प्रश्न खालि दुई देशको बीचको मित्रता र मोलमोलाइको कुरो होइन, बरू यो त आफ्नै परिवार, दाजु–भाइ, गाउँ, इलाका र देशहरूकै बीचको मित्रता र झगडाको कारण बन्दै आएको छ । आर्थिक कारणले नै एउटै गाउँ र इलाकामा नहर, सडक, बिजुली, कल–कारखाना, सदरमुकाम आदि स्थापना गर्ने कुरामा विवाद उठ्छ । सिन्धु नदीबारे भारत र पाकिस्तानको विवाद, बङ्गलादेश र भारतको बीचमा उठेको फरक्का बाँधको कुरोलाई छोडौँ, गोदावरी, कृष्णा र कोबरी नदीको पानीबारे भारतीय इलाका र प्रान्तहरूमै आपसी तानातानी भएका थिए । एकात्मक सरकारको नमुना सम्झिएको बेलायतमा आज आर्थिक कारणले नै स्कटल्यान्ड र वेल्सको स्वायत्तताको प्रश्न उठ्न गयो । ती विवादहरूको कारण जातिवाद होइन, बरू आर्थिक कारण नै हो । (ख) व्यापकरूपले हेर्दा राजनीतिक मामिलाको भित्री कारण पनि सत्ता र आर्थिक हुने गर्छ – जसको चरम सीमा वर्गसङ्घर्षको रूपमा देखापर्छ, जाति र जाति विशेष होइन । राजनीतिक सत्ताकै निम्ति दाजु–भाइ, बाबु–छोरा, देवर–भाउजूबीचमा काटाकाट चल्छ, त्यसमा देश र जातिको प्रश्न आउँदैन । बेलायती र युरोपेली जाति गएर बसोबास र विकास गरेको अमेरिकामा जनताले राजनीतिक र आर्थिक अधिकारकै निमित बेलायती साम्राज्यवादको विरोधमा ‘स्वतन्त्रता सङ्ग्राम’ को झन्डा उठाएका थिए । बेलायती र फ्रान्सेली राज्यक्रान्तिहरू पनि राजनीतिक र आर्थिक कारण नै भएका थिए । अफ्रिकी जनताको आजको स्वतन्त्रता र मुक्तिको आन्दोलन पनि यसो हेर्दा ‘कुइरे’ जातिवादविरोधी सङ्घर्षजस्तो लाग्ला, तर अन्तिम विश्लेषण गर्दा त्यो पनि एक राजनीतिक र आर्थिक सङ्घर्ष हो । वास्तवमा त्यो सङ्घर्ष पश्चिमी साम्राज्यवादीहरूको मध्यपूर्व कब्जा गरिरहने ‘पेट्रोल राजनीति’ कै एक अङ्ग हो र प्यालेस्टाइनी जनताको सङ्घर्ष, आक्रमण र उनिवेशवादविरोधी मुक्ति सङ्घर्षको रूप हो । त्यस्तै नेपाली जनताको भारतीय एकाधिकार पुँजीविरोधी सङ्घर्ष जातिवादी होइन बरू उपनिवेशवादविरोधी सङ्घर्षकै एक रूप हो, जसको मुख्य कारण जाति विशेष होइन, आर्थिक र राजनीतिक हो । (ग) सीमासम्बन्धी खिचलोमा पनि जाति विशेष होइन बरू आर्थिक र राजनीतिक कारण नै हुने गर्छ । मानिसको जङ्गली युगमा समेत शिकारको निम्ति सीमाको झगडा चल्थ्यो । सभ्य भनिने यस पुँजीवादी समाजमा पनि घर–खेतको सानो किल्ला र जग्गाको सीमालाई लिएर दाजुभाइ र परिवारबीचमा सङ्घर्ष हुने गर्छ । त्यस्तै सीमाकै विषयलाई लिएर नगर र गाउँ, अञ्चल र सङ्घ राज्यका प्रान्त वा राज्यहरूमा समेत खिचलो र विवाद उठ्ने गर्छ । सीमा विवादको कारण पनि जाति र धर्म होइन, राजनीतिक र आर्थिक नै हुने गर्छ । त्यस्तै नेपाल र भारतको बीचको आर्थिक र व्यापारी लाभको मोलमोलाइ, भुपरिवेष्ठित देशले पाउनुपर्ने पारवहनको अबाध अधिकार, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको कुरो पनि जातीय नभई आर्थिक र राजनीतिक प्रश्न हो ।
बर्मा, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, सिक्किम, (अहिले भारतकै अङ्ग भइसकेको छ) चीन र नेपालसँग भारतको आर्थिक–राजनीतिक, सुरक्षा र सीमासम्बन्धी या अरू समस्याहरूको कारण प्रमुखरूपले जातीय नभई आर्थिक र राजनैतिक थियो र हो । भारतको विकास गर्दै गएको एकाधिकार पुँजीको थिचोमिचो छिमेकका सबै साना–ठूला देशले सहेरै आएका छन् । अहिले त्यो पुँजी हिन्द–महासागर, अरब सागर र भूमध्य सागर नाघेर प्रशान्त महासागरसम्म पुगेको छ । लेनिनले भन्नुभएजस्तै ‘पुँजीको नियति नै यस युगको साम्राज्यवादको मुख्य चरित्र हो ।’ नेपाल र भारतको बीचमा बरोबर भइरहने तीतो–पिरोको कारण नै यही हो ।
तर, भारतका नेपालविद् सम्झिएका केही विद्वान, जिम्मेवार व्यक्तिहरू र प्रचार साधनले नेपाल र भारतबीचको सम्बन्धलाई नमीठो पार्नमा नेवार वा अरू केही जाति र जनसमुदायलाई जिम्मेवार ठह¥याएका छन् । त्यो कुरो शतप्रतिशत असत्य छ । भारतका एक नेपालविद् सम्झिएका विद्वान, मिथिला विश्वविद्यालयका राजनीतिक विज्ञानका सहप्राध्यापक डा. शङ्करकुमार झाले २६ जनवरी १९७६ को ‘हिमेसिया’ भन्ने हिन्दी साप्ताहिकमा ‘भारत–नेपाल सम्बन्ध एक विश्लेषण–एक पर्यवेक्षक’ भन्ने लेखमा त्यही कुरो उल्लेख गर्नुभएको थियो । (त्यसबारे हेर्नुस्, यसै पुस्तकको खण्ड–१, दोस्रो पाठको ‘हिमेसिया’ र ‘मातृभूमि’ एउटै ड्याङका मुला ।’)
श्रीमन नारायण भारतका एक माथिल्ला राजनीतिक व्यक्ति मानिनुहुन्छ । सन् १९६५ देखि १९६७ सम्म उहाँले नेपालमा भारतीय राजदूतको रूपमा काम गर्नुभएको थियो । त्यस अवधिमा उहाँले नेपालका राजनेताहरूदेखि लिएर देशका सबै क्षेत्रका साना–ठूला व्यक्तिहरूसँग भेटघाट र मित्रता कायम गर्नुभयो, नेपाल र नेपाली जनताबारे पनि बढी जानकारी हासिल गर्नुभयो । सन् १९७१ मा उहाँले ‘भारत र नेपाल’ भन्ने एक पुस्तक प्रकाशित गर्नुभई आफ्नो जानकारीलाई सबैको अगाडि राखिदिनुभयो । दुई देशको सम्बन्धलाई बलियो पार्न नेपाल र नेपाली जनताको विषयमा जानकारी राख्ने उहाँको चाख प्रशंसा गर्नलायकको गुण हो, तर दुर्भाग्यवस उहाँको अध्ययन र जानकारीको सार नेपाली र भारतीय जनताको मित्रतालाई बलियो बनाउन योगदान हुनुको सट्टा त्यसलाई अझ धमिलो बनाइदिने एक नराम्रो प्रयासमात्रै साबित हुन गयो । तर, उहाँको त्यस पुस्तकले नेपाली जनतालाई एक मूल्यवान र बिर्सन नहुने नकारात्मक शिक्षा पनि छोडेको छ, त्यो हो – भारतको शासक वर्ग आफ्नो वर्गीय स्वार्थको निम्ति नेपाल र नेपाली जनतालाई बलिको बोका बनाउन हिच्किचाउँदैनन् । तिनीहरू दुई देशका जनताको मित्रताको महत्व त ग्राहक र व्यापारी, मजदुर र पुँजीपति, पराजित र स्वतन्त्र देश, उपनिवेश र उपनिवेशवादी देश, सानो र ठूलो राष्ट्र, पिछडिएको र विकसित, गरिब र सम्पन्न देशको बीचमा हुने भौतिक लाभ राख्ने देशको रूपमा मात्रै राख्ने गर्छन् । तिनीहरूले बयान गर्ने सांस्कृतिक र सामाजिक समानता र सम्बन्ध त ‘माछालाई बल्छीमा दिने गड्यौलामात्रै हो ।’ त्यो हिन्दू साम्राज्यवादकै संस्कारमात्रै हो । तर, भारतीय जनता महान जनता हुन् । संसारको मानव सभ्यताको विकास, नेपाली जनताको कला र संस्कृतिको उन्नतिमा भारतीय जनताको ठूलो योगदान छ, हामी त्यसलाई बिर्सन सक्दैनौँ । त्यस्तै भारतीय जनताको कला र संस्कृतिमा नेपाली कला र संस्कृतिको प्रभावलाई पनि अलग्ग गर्न सकिन्न । यो दोहोरो कुरा हो । यसकारण यो स्थायी पनि छ ।
Leave a Reply