भर्खरै :

संशोधनवाद कम्युनिस्ट आन्दोलनभित्रको पुँजीवादी विचार

नेपालको कम्युनिस्ट आन्दोलनले यतिबेला एउटा गम्भीर सड्ढट सामना गरिरहेको छ । कम्युनिस्ट आन्दोलनका दुई विशृङ्खलित धारबीचको ‘एकता’ बाट बनेको कथित नेकपाबाट विभाजित दुवै खेमाबीचको झैझगडाले कम्युनिस्ट आन्दोलनको बदनाम भइरहेको छ । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवादी खेमाको प्रतिनिधित्व गरिरहेका यी दुवै खेमाले आफ्नो नाममा ‘कम्युनिस्ट’ राख्न नछोड्दा नेपाली जनता यतिबेला ‘कम्युनिस्ट’ शब्द र आन्दोलनप्रति भ्रममा परेका छन् । यी दुवै खेमाले कम्युनिस्ट आन्दोलनभित्र विकृति र पतनोन्मुख प्रवृत्तिको प्रतिनिधित्व गर्ने सत्य जनतासमक्ष पु¥याउने दायित्व वास्तविक कम्युनिस्टहरूको काँधमा छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवादी झारले यतिबेला विकराल रूप धारण गरे पनि झार पलाउन थालेको भने आज होइन । स्थापना भएको केही वर्षपछि नै रुसी संशोधनवादको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलनमा फैलिएको थियो । तत्कालीन महासचिव केशरजङ रायमाझी नेतृत्वको समूहले रुसी संशोधनवादको प्रतिनिधित्व गरेको थियो । भारतीय कम्युनिस्ट आन्दोलनभित्रको अराजकतावादी र वामपन्थी अवसरवादी धारको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलनमा पनि प्रत्यक्ष परेको देखियो । २०२० को दशकमा भएको झापाली विद्रोहदेखि माओवादी सशस्त्र विद्रोहलाई पनि भारतीय कम्युनिस्ट आन्दोलनभित्र मौलाएको खोटो विचारकै प्रभाव मान्नुपर्छ । कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी र वामपन्थी अवसरवादका यी दुई खोटा शिविर आज एकै ठाउँमा मिलेर एउटा ‘बलियो संशोधनवादी मोर्चा’ बनेको छ । आजको नेकपा कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवादी धार हो ।
कम्युनिस्ट र क्रान्तिकारी जनसङ्घर्षको लागि पुँजीवाद जति घातक हुन्छ, संशोधनवाद त्योभन्दा बढी विषालु हुने गर्छ । पुँजीवादले आफ्नो वर्गीय स्वरुप र चरित्र प्रस्टरूपमा देखाएको हुन्छ । त्यसकारण जनतालाई पुँजीवाद र पुँजीपति चिन्न धेरै मिहिनेत गरिरहनु पर्दैन । प्रस्टै चिनिने शत्रु भएकोले पुँजीवादविरुद्ध सङ्घर्ष गर्न जनतामा कुनै भ्रम हुँदैन । तर, संशोधनवाद कम्युनिस्ट आन्दोलनभित्र लुकेको पुँजीवाद हो । बाहिरबाट हेर्दा संशोधनवादीहरू कम्युनिस्टजस्ता देखिन्छन् । तर, उनीहरूको चिन्तन र कार्यक्रम पुँजीवादी हुन्छ । त्यसकारण राजनीतिक र सैद्धान्तिक सङ्घर्षको नागबेली बाटोबारे जानकारी नभएका जनता संशोधनवादीहरूको बाहिरी आवरण र नाम देखेर उनीहरू नै ‘कम्युनिस्ट’ भएको भ्रममा रहन्छन् । कम्युनिस्टको मुखुण्डो भिरेका संशोधनवादीहरूका पुँजीवादी विचारलाई चिन्न जनतालाई समय लाग्छ । उनीहरू नै कम्युनिस्ट हुन् र उनीहरूले बोलेका कुरा नै माक्र्सवाद–लेनिनवाद हो भन्ने गलत बुझाइको कारण क्रान्ति पछाडि धकेलिने गर्छ । यसबाट अन्ततः पुँजीपति वर्गलाई नै सेवा पु¥याएको हुन्छ । मुखले क्रान्तिको कुरा गरे पनि व्यवहारमा उनीहरूले शोषणमूलक पुँजीवादकै सेवा गरिरहेका हुन्छन् ।
संशोधनवादी विचारधारालाई परास्त नगर्दासम्म कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन । अर्को शब्दमा संशोधनवादीहरूले श्रमिक जनताको पक्षमा हुने क्रान्तिलाई गतिहीन यथास्थितिको कारागारमा बन्दी बनाएका हुन्छन् । संशोधनवादीहरूको यस्तो चरित्रलाई बुझेर लेनिनले रुसमा क्रान्तिलाई अघि बढाउन संशोधनवादसँग अथक सङ्घर्ष गर्नुभयो । संशोधनवादविरुद्ध लेनिनको सङ्घर्षले नै रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्भव भएको थियो । तत्कालीन युरोपेली कम्युनिस्ट आन्दोलनमा बलियो धारको रूपमा अघि बढेको संशोधनवादसामु लेनिनले सङ्घर्षको नीति नलिनुभएको भए उहाँ पनि संशोधनवादी भासमै फस्ने थिए र क्रान्तिको सपना निरर्थक हुने थियो ।
नेपालको आजको सन्दर्भमा नेकपा संशोधनवादी दल हो । चुनावी नतिजा र सङ्ख्या गन्तीको आधारमा यी दुवै खेमा ‘ठूला’ देखिए पनि सैद्धान्तिक र नीतिगतरूपमा उनीहरू संशोधनवादीहरू हुन् । दोस्रो अन्तर्राष्ट्रियमा संशोधनवादविरुद्ध लेनिनले सङ्घर्ष गर्नुहुँदा उहाँ सङ्ख्यामा बलियो हुनुहुन्नथ्यो । तर, लेनिनको संशोधनवादविरुद्धको सङ्घर्षले कम्युनिस्ट आन्दोलन अघि बढ्न सम्भव भयो । नेकपाको संशोधनवादी नीतिविरुद्धको सङ्घर्ष नै यतिबेलाको नेपालका कम्युनिस्टहरूको दायित्व हो ।
नेपाल मजदुर किसान पार्टीले आज आफ्नो ४७ औँ स्थापना दिवस मनाइरहेको छ । देशभर विभिन्न रचनात्मक, राजनीतिक र प्रशिक्षणात्मक गतिविधिका साथ स्थापना दिवस मनाउँदै गर्दा व्यापक जनतालाई नेकपाको वास्तविक चरित्रबारे जनतालाई सजग र सचेत बनाउन जरुरी छ । नेकपाको संशोधनवादीलाई परास्त नगर्दासम्म नेपालको कम्युनिस्ट आन्दोलनले सही र क्रान्तिको बाटो समात्न सक्दैन । संशोधनवादीहरूले समाजवादको नारा लगाउँदै समाजवादका आधारलाई नै भत्काउने गर्छन् । आज नेकपाका नेताहरू पनि कम्युनिस्ट र समाजवादको कुरा फलाक्दै समाजवाद र कम्युनिस्ट आन्दोलनलाई नै विफल बनाउन खोजिरहेका छन् । नेमकिपा स्थापना दिवसको अवसरमा कम्युनिस्ट आन्दोलनभित्रको पुँजीवादी विचारविरुद्ध सङ्घर्ष अघि बढाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *