भर्खरै :

अशिष्ट भाषणबाजी

पछिल्लो समय नेकपाका नेताहरूबाट आफ्ना भाषणमा प्रयुक्त शब्द र उपमाको सञ्चारमाध्यममा निकै चर्चा छ । नेताहरूले प्रयोग गरेका कतिपय शब्द र कटाक्ष त गाली गलौजभन्दा तल्लो स्तरका छन् । हालै प्रधानमन्त्री केपी ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी दिएको अभिव्यक्तिबाट कानुन व्यवसायीहरूले असहज अनुभव गरेका छन् । ओलीले भण्डारीलाई लक्षित गरी दिएको अभिव्यक्ति अपमानजनक भएको भन्दै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरूले संयुक्त वक्तव्यसमेत जारी गरे । भण्डारीले प्रधानमन्त्रीको भनाइलाई न्यायालयको अपमानको संज्ञा दिनुभएको छ । वकिल आफै पनि न्यायालयको हिस्सा भएकोले वकिलको अपमान न्यायालयकै अपमान भएको उहाँको भनाइ हो ।
भाषणमा मनपरी शब्द प्रयोगमा नेकपाकै दाहाल–नेपाल खेमा पनि कम छैन । उनीहरूले पनि भाषणमा अनेक अशिष्ट र अपमानजनक शब्दहरूको प्रयोग गरेका छन् । जनसभाहरूमा नेताहरूले प्रयोग गर्ने त्यस्ता शब्द सुनेर सभामा सहभागी स्रोता र कार्यकर्ताले केही क्षण रमाएर ताली बजाउलान् । तर, त्यसले राजनीतिक संस्कार र संस्कृतिको विकासमा दीर्घकालीन क्षयीकरण गर्ने पक्का छ । राजनीतिक नेताले अर्को निर्वाचनको लागि सोच्छ, राजनेताले अर्को युगको लागि सोच्छ भन्ने भनाइ छ । नेकपाका नेताहरूका अभिव्यक्ति सुन्दा उनीहरू अर्को निर्वाचनसम्मको लागि मात्र विचार गर्नसक्ने नेतामात्र ठहरिए । उनीहरू अर्को युगको बारेमा सोच्न सक्ने राजनेता बन्न नसकेको प्रस्ट हुन्छ । नेकपाका नेताहरूले आज सस्तो लोकप्रियताको लोभमा आँखा चिम्लेर राजनीतिक शिष्टता नाघेको घटनालाई समयान्तर नयाँ पुस्ताले पनि अनुकरण गर्नसक्छन् । अनि, राजनीति क्रमशः गालीगलौज र अशिष्ट कटाक्षमै रूमलिनेछ । यसको कुप्रभाव भने अन्ततः देशले नै भोग्नुपर्नेछ ।
राजनीतिमा वैचारिक विमति अस्वाभाविक कुरा होइन । मानिस चिन्तनशील प्राणी हो । त्यसमाथि राजनीतिक कार्यकर्ताहरू समाजकै सबभन्दा सचेत तप्काभित्र पर्ने भएकाले उनीहरूबीच विचारमा भिन्नता हुनु स्वाभाविक हो । तर, त्यो राजनीति नै सुसंस्कृत राजनीति हो जसले भिन्न मतलाई शिष्ट र शालिनताका साथ राख्न सक्छ । फरक विचारको लागि अशिष्टतापूर्वक मनपरी गाली गलौजमा उत्रनु सभ्य र सुसंस्कृत राजनीति कदापि हुनसक्दैन । आफ्नो मतलाई तर्क र तथ्यका आधारमा प्रस्तुत गर्नु नै राजनीतिक संस्कार हुनुपर्छ । व्यक्तिगत गालीगलौज र फरक मतप्रति असहिष्णुता लोकतान्त्रिक संस्कार कदापि हुनसक्दैन ।
नेपालकै वरिष्ठ अधिवक्ताहरूमध्ये पनि ज्येष्ठ कृष्णप्रसाद भण्डारी नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा लामो योगदान गर्नुभएका मुर्धन्य व्यक्ति हुनुहुन्छ । उहाँले संसद् विघटनको सन्दर्भमा प्रधानमन्त्रीको कदमको विपक्षमा आफ्नो मत राख्नु उहाँको अधिकार हो । वरिष्ठ अधिवक्ता हुनुको नाताले सो विषयमा उहाँले अदालतमा आफ्नो पक्षमा बहस गर्नु उहाँको पेशागत धर्म हो । उहाँको मत प्रधानमन्त्रीसँग नमिल्न सक्छ । तर, त्यही कारणले प्रधानमन्त्रीले सार्वजनिकरूपमा अपमानपूर्वक बोल्नु लोकतान्त्रिक संस्कार होइन ।
यसबीच दुई खेमाका नेताहरूबीच कतिपय आपत्तिजक शब्द र उपमासमेत प्रयोग भएका छन् । त्यस्ता शब्दको प्रयोगले आज देशले सामना गरिरहेको राजनीतिक सड्ढट र अन्योलको कदापि हल दिन सक्दैन । नेकपाका नेताहरूबीचको झगडा पँधेरामा हुने झगडाजस्तो सिद्धान्तहीन झगडा भएको बुझाइलाई उनीहरूका अशिष्ट भाषणबाजीले पुष्टि गरिरहेको छ । नेताहरूले अर्को चुनावको लागि मात्र होइन, अर्को युगको लागि समेत चिन्तन गर्ने दूरदर्शिता देखाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *