भर्खरै :

भारतीय विस्तारवादविरुद्ध सङ्घर्षको विकल्प छैन

भक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भारतीय विस्तारवादविरुद्धको सङ्घर्षको विकल्प नभएको बताउनुभएको छ ।
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ एकाइको आयोजनामा बुधबार भएको कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भारतको उपनिवेश हुने कि सङ्घर्ष गर्ने भन्नेबारे सोच्ने बेला आएको धारणा राख्नुभयो । उहाँले नेपालमा को प्रधानमन्त्री बनाउने भन्नेबारे भारतमा गृहकार्य भएको भन्दै भारतले दक्षिण एसियाका विभिन्न देशको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरिरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भारतका प्रम मोदीले आफ्नो सपथग्रहणमा दक्षिणपूर्वी एसियाका राष्ट्रप्रमुखहरूलाई निम्ता गरी यहाँका साना मुलुकमा आफ्नै हैकम लाद्ने सङ्केत गरेको स्मरण गर्दै भारतको ७२ औँ गणतन्त्र दिवसमा बङ्गलादेशको सैनिक टुकडी सामेल हुनु बङ्गलादेश भारतकै अधीनमा रहेको सन्देश दिन खोजेको धारणा राख्नुभयो ।
स्मरणीय छ, पूर्वी पाकिस्तानमा भारतीय सैन्य हस्तक्षेप भएको थियो । नेमकिपाले विदेशको कुरामात्र गर्छ भन्ने दुष्प्रचार भइरहेको तर्फ इङ्गित गर्दै अध्यक्ष बिजुक्छेँले कम्युनिस्ट अन्तर्राष्ट्रवादअनुसार विभिन्न देशका न्यायोचित आन्दोलनको समर्थन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अरूलाई अन्याय पर्दा बोल्नु एक कम्युनिस्टको कर्तव्य भएको उल्लेख गर्दै अन्य देशका आन्दोलनको समर्थन नगरे हामीलाई पर्दा सहयोग कसैको नमिल्ने विचार राख्नुभयो ।
नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले भारतीय एकाधिकार पुँजी तथा बहुराष्ट्रिय कम्पनीहरूको कारण नेपालको राष्ट्रिय उद्योग विकास नभएको भन्दै पुँजीवादविरुद्धको सङ्घर्षलाई तीव्र पार्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले पुँजीवादकै कारण विश्वमा आणविक युद्धको सम्भावना रहेको भन्दै जलवायु परिवर्तनको कारक पनि पुँजीवादी विश्व व्यवस्था भएको तर्क राख्नुभयो । उहाँले पुँजीवादकै कारण शोषण, भ्रष्टाचार, कालोबजार बढेको उल्लेख गर्दै समाजवादी गणतन्त्रतर्फ अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष सुजन माक, उपाध्यक्ष सुनिल दुवाल, सचिव डा. राजुभाइ त्यात, सदस्य शोभा प्रजापतिलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *