भर्खरै :

सहिदहरूप्रति श्रद्धाञ्जली

जहानियाँ राणाशासनको विरोधमा विद्रोहमा उत्रेका चार जना सहिदहरूलगायत इतिहासमा नेपाल र नेपाली जनताको हितको लागि जीवन बलिदान गर्ने योद्धाहरूको सम्झना गर्ने दिन हो – माघ १६ । नेपालको इतिहासमा विसं १९९७ साललाई राणाविरोधी सङ्घर्षको बलिदानी अध्यायको रूपमा मात्र होइन, बरू नेपाली जनतामा राजनीतिक चेतनाको उज्यालो पुगेको एउटा ऐतिहासिक कालखण्डको रूपमा लिन सकिन्छ । विसं १९९७ सालअघि राजनीतिक गतिविधि दरबार र दरबार वरपरका भारदारहरूमा मात्र सीमित थियो । व्यापक नेपाली जनतालाई ‘राजनीति’ भनेको ‘मल बोक्नेलाई दरबारको चिन्ता’ मात्र थियो । राजनीतिबारे व्यापक जनतालाई चासो राख्न निषेधमात्र थिएन, त्यसको मूल्य सात पुस्तासम्म बेहोर्नुपर्ने अवस्था थियो ।
एक सय चार वर्षसम्म चलेको जहानियाँ राणा शासनले राजनीतिलाई केही राणा साहेबहरूको पेवा बनायो । नेपालको सरहदबाहिरको संसार कसरी अघि बढिरहेको छ भन्ने विषयमा नेपाली जनता बेखबर थिए । शिक्षाको प्रचारलाई ‘आफ्नो खुट्टामा बञ्चरो’ ठान्ने राणा शासकहरूले शिक्षाको किरण दरबारसम्म मात्र पु¥याएका थिए । दरबारकै परिसरभित्र पनि शिक्षा सबैको लागि प्राप्य र आवश्यक चिज थिएन । तर, मानिसको उत्सुक र प्रगतिशील चरित्रको कारण राणा शासनले जतिसुकै अग्लो पर्खाल बनाएर चेतना रोक्न खोजे पनि प्रत्येक कापकापबाट ज्ञानको किरणले नेपाली समाजलाई स्पर्श गरिरह्यो । त्यही चेतनाले नेपाली युवाहरूलाई राणाको विरोध गर्ने हिम्मत दियो । नेपाली जनताले नियति मानेको तत्कालीन परिस्थिति नियति नभई राणाले थोपरेको अत्याचार भएको निष्कर्षमा नेपाली युवाहरूलाई त्यही चेतनाले दिलायो । फलतः तत्कालीन विश्वमा जताततै फैलिएको स्वतन्त्रताको आवाज नेपाली युवाहरूले पनि उठाए ।
सत्तालाई आफ्नो पेवा ठानेका राणा शासकहरूले युवाहरूको त्यो विद्रोही आवाजलाई सहजतापूर्वक लिन सम्भव थिएन । नेपाल प्रज्ञा परिषद्मा सङ्गठित युवाहरूले राणा शासकहरूसँग नागरिक अधिकारको माग गरे । अत्याचारी राणाशासनले नागरिक अधिकार दिनुको अर्थ मुलाले आफ्नो खाल्डो आफै खन्नु हुने थियो । त्यसकारण प्रजा परिषद्मा सङ्गठित युवाहरूमध्ये चार जनालाई प्राण हरणको सजाय भयो भने अरू धेरैलाई आजीवन काराबास, सम्पत्ति हरण, टाउकोमा चार पाटा मोड्ने, जात पतन आदि सजायहरू दिइयो । गौरवको कुरा, राणाजीलाई घोडाबाट खसाल्न तम्सेका नेपाली युवाहरूले जीवन आहुति दिनुपर्दा कति पनि विस्मात्को अनुभव गरेनन् । बरू, अत्याचारी शासनको तख्ता पल्टाउन युवा क्रान्तिकारीहरूले नेपाली माटोमा आफ्नो जीवन अर्पण गरे । तिनै युवाहरूको अदम्य साहस र बलिदानको जगमा नेपालमा प्रजातान्त्रिक आन्दोलन २००७ सालमा सफल भयो । २००७ सालमा राणाशासनको अन्त्य भयो । २००७ सालको त्यो घटना नेपालको इतिहासमा नवीन चेतनाको अङ्कुरण भएको एउटा प्रस्थानबिन्दु सावित भयो ।
२००७ सालको राजनीतिक परिवर्तनले व्यापक कामदार जनताको जीवनमा ठूलो परिवर्तन गर्न सम्भव थिएन किनभने त्यो श्रमिक वर्गको नेतृत्वमा भएको क्रान्ति थिएन । देशभक्त र पुँजीवादी प्रजातन्त्रका पक्षधरहरूले अगुवाइ गरेको क्रान्ति थियो । त्यो क्रान्तिमा भारतीय शासक वर्गको प्रभावबारे विवाद गर्न सकिँंदैन । तथापि, त्यो क्रान्तिले विजारोपण गरेको चेतनाले नेपालमा अरू प्रगतिशील परिवर्तनको आधार निर्माण ग¥यो । आजको राजनीतिक व्यवस्था कदापि पनि व्यापक नेपाली जनताको कल्याण गर्ने व्यवस्था होइन । तर, सामन्तवादको कुही गन्धीमा कैद राजनीतिलाई जनताकै हातसम्म पु¥याउन सक्नु आफैमा प्रगतिशील फड्को हो । त्यो फड्को आधारशिला भने विसं १९९७ सालमा जीवन बलिदान दिएका सहिदहरूले नै बसाएका थिए । ती सहिदहरूको स्मरणबिना नेपालको आजको उचाइ सम्भव कदापि छैन । अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *