शासक दल, नेता र विश्व दक्षिणपन्थी शक्ति
- असार २२, २०८३
असार २२ गते प्रकाशित ‘गोरखापत्र’ दैनिकमा ‘अमेरिकामा कम्युनिस्टलाई कुनै स्थान छैन : ट्रम्प’ शीर्षकमा समाचार प्रकाशित भयो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दा व्यक्त गरेको उक्त विचारले अमेरिकी शासक र शासनको स्वरूप उदाङ्गो पारेको छ । संसारको इतिहासमा ट्रम्पले भनेजस्तै साम्यवाद सधैँ हारेको इतिहास छैन । आज संरा अमेरिकामै पनि ट्रम्पको साम्राज्यवादी र तानाशाही कार्यशैलीको विरोधमा लाखौँ अमेरिकी जनताले देशका विभिन्न सहरमा विरोध प्रदर्शनहरू गरिरहेका छन्, ट्रम्प प्रशासनको विरोध गरिरहेका छन् । संरा अमेरिकाको युद्धपिपासु नीतिकै कारण आज विश्वका विभिन्न भागमा अशान्ति र युद्ध भइरहेको छ । ट्रम्प प्रशासनको उदेकलाग्दो ‘अमेरिका प्रथम’ नीतिले संरा अमेरिका विश्वमा एक्लिँदै गएको छ । आफ्नो साम्राज्यवादी नीति लागू गर्न लक्ष्य हासिल गर्न उसले संसारका सत्न्दा बढी देशमा आफ्नो सेना राखिरहेको छ, ती देशका नागरिकहरूलाई दुःख दिइरहेको छ र एक आपसमा युद्ध गराइरहेको छ । जसबाट ठुलो धनजनको क्षति भइरहेको छ । रुसलाई घेर्ने संरा अमेरिकी नीतिलाई सफल पार्न नाटो देशहरूको सहयोगमा युक्रेनले रुसमाथि गरेको हमला र इरान–अमेरिका–इजरायल युद्ध यसैका उदाहरण हुन् । संसारका न्यायप्रेमी र स्वतन्त्रता चाहने मानिसहरूलाई स्वतन्त्र रूपमा बाँच्नसम्म नदिने अमेरिकी नीति मानव कल्याणतिर नभई नरसंहारतर्फ उन्मुख छ । यसले संसारको कुनै पनि देश र जनताको भलो गर्दैन ।
समाज विकासको क्रममा पुँजीवादभन्दा समाजवाद एक युगले अगाडि बढेको व्यवस्था हो, समाजवादले मानिसहरूलाई शोषणबाट मुक्ति गरी समग्र मानव समाजको कल्याण गरेको इतिहास छ । कुनै साम्राज्यवादी हस्तक्षेप नभएमा स्वाभाविक रूपमा कुनै देशको समाजवाद साम्यवादतिर विकास हुन्छ । पूर्वसोभियत सङ्घ र पूर्वी युरोपीय मुलुकहरूमा समाजवादी व्यवस्थाको अस्थायी हार हुँदा त्यहाँ गरिबी, बेरोजगारी र महँगी असीमित रूपमा वृद्धि भयो । ती देशमा धनी र गरिबहरूबिचको खाडल तुलना नै गर्न नसकिने गरी फराकिलो भयो । सीमित व्यक्तिको हातमा राज्यको सम्पत्ति र स्रो साधनहरू थुप्रिन गएको छ । ती देशमा समाजवाद रक्षात्मक स्थितिमा भए पनि कामदार जनता समाजवादको निम्ति सङ्घर्ष गर्दै छन् ।
पुँजीवादी देशहरूले २/३ सय वर्ष लगाएर गरेको विकास (प्रगति) समाजवादी देश सोभियत रुसले ३०–४० वर्षभित्रै गरेर देखायो । त्यस्तै, चीनमा समाजवादी व्यवस्थाकै कारण आज संरा अमेरिकापछिको दोस्रो धनी मुलुक बनेको छ । विज्ञान र प्रविधिको विकासमा चीन अग्रपङ्क्तिमा पुगेको छ । चिनियाँ जनताले संसारका सारा देशका नागरिकहरूलाई सहयोग पु¥याइरहेको छ ।
पहिलो र दोस्रो विश्व युद्ध पुँजीवादी देशहरूको स्वार्थकै कारण भएको थियो । जसले सारा संसारलाई दुःख र कष्टको समुद्रमा डुबायो । अहिले तेस्रो विश्व युद्ध सुरु भयो भने परिणाम झन् भयङ्कर हुनेछ । स्वाभाविक रूपमा अमेरिकी घमण्डले संरा अमेरिकी साम्राज्यवाद पतन हुने निश्चित छ । अहिले संरा अमेरिका व्यापारिक क्षेत्रमा कमजोर हुँदै गएको छ । उसले आफ्ना मित्र देशहरू गुमाउँदै छ र व्यापार घट्दै गएको छ, आर्थिकरुपमा अमेरिका कमजोर हुँदै गएको छ । त्यसैले विज्ञान र प्रविधिको विकास गरी विश्वका सबै देशका नागरिकहरूको कल्याण हुने समाजवादी राज्य व्यवस्था स्थापना गर्नु आजको आवश्यकता हो ।
Leave a Reply