भर्खरै :

नगरव्यापी व्याडमिन्टन सुरु

भक्तपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा शनिबार सङ्गम युवा खेलकुद समूहको आयोजनामा भक्तपुर नगरव्यापी खुला पुरुष जोडी व्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले किसान आन्दोलनको जगमा उठेको नेमकिपाले विगत ४७ वर्षदेखि देश र जनताको लागि नेपालको राजनीतिमा प्रकाशस्तम्भको रूपमा काम गर्दै आएको बताउनुभयो । उहाँले नेमकिपाले सदैव कामदार जनताको हक हितको निम्ति सडक र सदनमा सङ्घर्ष गर्दै आएको प्रस्ट्याउनुभयो ।
शासक दलका राजनैतिक खेलाडीहरूको अकर्मण्यताले देशले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले देशको अस्मिता रक्षाका लागि युवाहरू सधैँ तयार हुनुपर्ने बताउनुभयो ।
व्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले हरेक नागरिकले हरेक दिन खेल खेल्नुपर्नेमा जोड दिनुभयो । व्याडमिन्टन खेल विकासको लागि भक्तपुर नगरमै इनडोर ब्याडमिन्टन मैदान तयार भइरहेको उहाँले बताउनुभयो ।
सङ्गम साकोसका अध्यक्ष कृष्णगोपाल छुस्याकीले खेल हार जितको मात्र नभई खेलाडीलाई अनुशासित र आपसी मित्रता प्रगाढ बनाउने भएकोले यसलाई निरन्तरता दिनुपर्छ भन्नुभयो ।
कार्यक्रम माघ १७ देखि २४ गते सम्म हुनेछ । नकआउट चरणमा खेलाइएको खेलमा आज भक्तपुर योङ्ग सर्कलविरुद्ध सङ्गम युवा खेलकुद समूह र १ वडा खेलकुद समूहविरुद्ध एबीसी व्याडमिन्टन क्लवले जित हासिल गरेका छन् ।
सङ्गम युवा खेलकुद समूहका अध्यक्ष राधेश्याम ख्याजूको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा समूहका सचिव श्रीभक्त सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *