भर्खरै :

कोभिड–१९ को खोप र अन्तर्राष्ट्रिय सम्बन्ध

कोरोना भाइरसको प्रतिरोधमा सरकारले सञ्चालन गरेको खोप अभियानअन्तर्गत खोप लगाएका केही मानिसमा स्वास्थ्य समस्या देखिन थालेपछि सर्वसाधारण सजग भएका छन् । झन्डै एक वर्षसम्म नेपालमात्र नभई संसारलाई नै हायलकायल बनाएको भाइरसलाई माथ पार्न सक्ने खोपको विकास भएको खबरले पनि संसारलाई उत्साहित बनाएको थियो । त्यसमाथि यतिबेला संसारका धेरै देशमा अग्रपङ्क्तिमा परिचालन हुने जनसमुदायलाई पहिलो चरणअन्तर्गत खोप लगाइएको खबरले संसारमा ठूलो आशा जगाएको छ । नेपालमा पनि गएको साताबाट देशैभरि कोभिड–१९ प्रतिरोध खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ मजदुर, तोकिएका कर्मचारीहरूलाई लगाउन थालिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामको बेलायती औषधि कम्पनीले आविष्कार गरी हाल भारतमा उत्पादन गरिएको खोप नेपालमा प्रयोग भइरहेको छ । खोप लगाएका स्वास्थ्यकर्मीहरूमा ज्वरो, बान्ता, रिँगटाजस्ता स्वास्थ्य समस्या देखिएपछि खोपले कतै बिगार पो गर्ने हो कि भनी सर्वसाधारण चिन्तित बनेका छन् ।
विज्ञहरूले खोप लगाउँदा व्यक्तिअनुसार कसै कसैमा यस्ता सामान्य स्वास्थ्य समस्या देखिन सक्ने बताएका छन् । त्यसकारण खोप र त्यसले पार्न सक्ने प्रभावबारे व्यापक जनमानसलाई बुझाउन नसके खोप आशा होइन, सन्त्रास बन्न बेर लाग्दैन । सरकारी निकायहरूले जनस्तरमा कोभिड–१९ प्रतिरोधी खोपले स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे जानकारी दिन जरूरी छ । पहिलो चरणअन्तर्गत खोप अभियानमा कतिपय चिकित्सकहरूसमेत खोप लगाउन डराएको भन्ने समाचारले सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा उत्पादित खोप कोभिड–१९ को निर्विकल्प खोप होइन । विभिन्न देशका औषधि कम्पनीहरूले पनि कोभिड–१९ प्रतिरोधी खोपको विकास गरेका छन् । भारतले दस लाख थान खोप अनुदान दिएपछि नेपालले अक्सफोर्ड–एस्ट्राजेनेका खोप पहिलो चरणमा प्रयोग गरेको हो । तर, सरकारले यही एकै थरी खोपकै मात्र भर पर्नसक्ने अवस्था छैन । कदाचित खोप लगाउने अधिकांश मानिसमा प्रतिकूल प्रभाव देखिए त्यसको सम्भावित विकल्पको प्रयोगप्रति सरकार सचेत बन्न जरूरी छ ।
खोपको लागि सरकारले मित्रराष्ट्र रूस र चीनसँग पनि सम्पर्क गरेको र कूटनीतिक प्रयासको थालनी भइरहेको समाचार सार्वजनिक भइसकेको छ । ती देशहरूले नेपालमा खोप सहायता गर्न तत्परता देखाएका छन् । कोभिड–१९ को खोपलाई लिएर अन्तर्राष्ट्रिय सम्बन्ध पनि प्रभावित हुने आजको परिप्रेक्ष्यमा नेपालले अन्य देशहरूसँग पनि खोपको लागि पहल थालनी गर्नुपर्छ । नेपाललाई कुनै पनि वस्तुको लागि कुनै देशको एकलौटी बजार बनाइनु जायज हुनसक्दैन । सन्तुलित कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको लागि पनि नेपाल सरकारले भारतसँग जस्तै चीन र रूससँग पनि खोप खरिद र सहयोगको लागि सम्पर्क गर्नु बुद्धिमानी हुनेछ । कोभिड–१९ को खोप मित्र राष्ट्रबाट नेपाल ल्याउन नेपालको स्वास्थ्य मन्त्रालत्न्दा परराष्ट्र मन्त्रालयले बढी जिम्मेवार हुन जरूरी छ । महामारी उत्कर्षमा पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभागमार्फत सहायताका क्रियाकलाप भएको हुनाले अब खोपको लागि पनि त्यो सूत्र प्रयोग गर्नु उपयुक्त हुनसक्छ ।
जसरी अन्तर्राष्ट्रिय सम्बन्धमा हरेक देशले आफ्नो राष्ट्रिय हितलाई नै सर्वोपरि महत्व दिने गर्छ, त्यसरी नै कोभिड–१९ को खोपको लागि पनि नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राखेर अन्तर्राष्ट्रिय व्यवहार गर्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *