भर्खरै :

सकियो दसदिने पुस्तक प्रदर्शनी

काठमाडौँ, २५ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा आयोजित १० दिने पुस्तक प्रदर्शनी आइतबार एक कार्यक्रमबीच सम्पन्न भएको छ । माघ १६ गते उपत्यकाको दक्षिणकाली न.पा.बाट सुरू भएको प्रदर्शनी शंखरापुर न.पा. को वडा नं. ७ मा पुगेर टुङ्गिएको हो ।
समापन कार्यक्रममा बाग्मती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईँले भन्नुभयो, “शासकहरू सत्ताको लुछाचुँडीमा लागिरहेको बेला हामीले गाउँगाउँमा राजनीतिक चेतना दिएर स्थापना दिवस मनाइरहेका छौँ ।” उहाँले हेटौँडा, चितवन र बुटवलमा पनि पार्टी स्थापना दिवसको अवसरमा पुस्तक प्रदर्शनी भइरहेको जनाउँदै पार्टीले तराईको पीडाबारे स्थानीय जनतासँगै छलफल गरिरहेको बताउनुभयो ।
नेमकिपा स्थापना हुनुको कारण र यसले नेपालको इतिहासमा खेलेका भूमिकाहरूको चर्चा गर्दै पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले भन्नुभयो, “नेपालका संशोधनवादी र अराजकतावादी पार्टीहरूले भारतीय विस्तारवादको विरोध गर्नसक्दैनन् ।”
कार्यक्रममा साँखुका समाजसेवी राजदास श्रेष्ठले ज्ञानको भन्डार बोकेर आफ्नो गाउँमा आएकोमा पार्टीलाई धन्यवाद दिनुभयो । उहाँले कम्युनिस्टको नाम राखेर कम्युनिस्टकै बदनाम गरेकोमा नेकपाको आलोचना गर्नुभयो र नेकपा कम्युनिस्ट पार्टी नभएको स्पष्ट पार्नुभयो ।
सामाजिक अभियन्ता प्रकाशमान श्रेष्ठले साँखुको ऐतिहासिकताबारे सविस्तार विवेचना गर्नुभयो । फेरिफेरि पनि पुस्तक प्रदर्शनीहरू गरेमा आफूले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । स्थानीय पत्रिका ‘लावण्य सन्देश’ का सम्पादक पवनलाल श्रेष्ठले पुस्तक प्रदर्शनीलाई पाठकहरूका लागि अवसर भनी टिप्पणी गर्नुभयो ।
कार्यक्रमको बिसर्जन गर्दै नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले पुस्तक प्रदर्शनीको औचित्यताबारे उल्लेख गर्दै भन्नुभयो, “दिमागमा आन्दोलनको शक्ति र भावना छैन भने परिवर्तन हुनेछैन ।” उहाँले १० दिनसम्म पुस्तक प्रदर्शनीमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने युवा, विद्यार्थी र स्थानीय व्यक्तित्व र सहभागीहरूलाई धन्यवाद दिनुभयो । दक्षिणकाली, कीर्तिपुरलगायत काठमाडौँका ११ वटै नगरपालिकामा आयोजित पुस्तक प्रदर्शनीमा पाठकहरूको उत्साहप्रद सहभागिता भएकोमा कार्यक्रमका सञ्चालक राजवीर डंगोलले खुसी व्यक्त गर्नुभयो ।
दाहाल–नेपाल नेकपाको बन्दका कारण माघ २२ गते बुढानीलकण्ठ न.पा.मा तय भएको कार्यक्रम भने हुन नसकेको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *