भर्खरै :

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने तयारी

 
तिलौराकोट, २५ माघ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने अभियान सुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो । प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा जतिसक्दो छिटो सूचीकृत गर्न स्थानीय सरकारको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिँहले बताउनुभयो ।
नेपाल सरकारको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले पुरातत्वको दृष्टिकोणले तिलौराकोट अत्यन्तै महत्वपूर्ण ठाउँ रहेको बताउनुभयो । उहाँले तिलौरोकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफलको हुने बताउँदै स्थानीय बासिन्दा र स्थानीय सरकारले सहयोग गरेमा छिट्टै तिलौराकोट विश्व सम्पदा सूचीमा सूिचकृत गराउन सफल हुने पनि बताउनुभयो ।
नेपाल सरकार पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा प्रमुख डा. सुरेश श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचिकृत गर्नुपूर्व संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने अनिवार्य प्रावधानअनुसार काम अगाडि बढाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नुपर्छ भन्ने सबैको चाहना हो । स्थानीय बासिन्दा र स्थानीय सरकारको विशेष सहयोग तथा प्रतिबद्धता आवश्यक हुन्छ । यसैले हामी यो छलफलको प्रारम्भमा छौँ ।”
डा. श्रेष्ठले स्थानीय बासिन्दा र स्थानीय सरकारको हरेक किसिमको सहभागितासहित संरक्षित स्मारक क्षेत्र घोषणा भएलगत्तै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत कार्य अगाडि बढ्ने बताउनुभयो । लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य राजेश ज्ञवालीले लुम्बिनी विकास कोषले कपिलवस्तु केन्द्रित कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले नेपाल सरकारको चालु वर्षको बजेटको नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने छ भनी उल्लेख भएसँगै लुम्बिनी विकास कोषले छलफललाई अगाडि बढाएको बताउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटको संवद्र्धन र संरक्षणका लागि लुम्बिनी विकास कोषले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । सदस्य सचिव शाक्यले भन्नुभयो, “लुम्बिनी विकास कोषको अबको मुख्य ध्यान र कार्यक्रम नै कपिलवस्तु केन्द्रित हुन्छ । हामी तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै अन्य क्षेत्रको संरक्षण र प्रवद्र्धनमा जोड दिन्छौँ ।”
विश्व सम्पदा र तिलौराकोट
विश्वमा अहिलेसम्म एक हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचिकृत भएको पुरात्व विभाग विश्व सम्पदा शाखाका प्रमुख डा. श्रेष्ठले बताउनुभयो । नेपालले १९७२ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो । त्यसयता काठमाडौँ उपत्यकाका ८ स्थान र लुम्बिनी गरेर जम्मा नौ स्थानमात्रै विश्व सम्पदा सूचीमा सूचिकृत छन् ।
तिलौराकोटलाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात् कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना पुरातत्व विभागले बनाएको छ । सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न युनेस्कोमा पहलको सुरुआत गरिएको तर २४ वर्षपछि ठोसरूपमा कदम चालिएको छ ।
सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानका लागि कपिलवस्तु दरबार त्याग गर्नुभएको थियो । पाँचौँ शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फासियान र सातौँ शताब्दीमा हवेयन साङ्गले तिलौराकोटको भ्रमण गरेका थिए भने सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन गरेपश्चात् यसको महत्व अझै बढेर गएको हो । तिलौराकोटमा प्रसिद्ध पुरातत्वविद् देवला मित्र, तारानन्द मिश्र, बालकृष्ण रिजाल र रविन कनिङ्गघमले पनि उत्खनन गर्नुभएको छ ।
लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बेलायतको दुराम विश्वविद्यालयको पुरातत्व विभागको पूर्वप्रमुख रविन कनिङ्गघमको नेतृत्वमा पुरातत्वविद्हरूको टोलीले तिलौराकोटमा अहिले पनि उत्खनन् गरिरहेको बताउनुभयो । उहाँका अनुसार सन् २०१३ देखि अहिलेसम्म उत्खनन गरिरहेका यस वर्ष कोभिड महामारीका कारण उक्त टोली आउन सकेको छैन । तथापि, आगामी मार्चदेखि पुनः उत्खननको कार्य हुने गरी काम गरेको उक्त टोलीको नेता पुरातत्वविद् कनिङ्गघमले पुरातात्विक दृष्टिकोणले तिलौराकोट विश्वकै महत्वपूर्ण स्थल भएको बताइरहेको उप्रेतीको भनाइ छ । उत्खननबाट तिलौराकोटमा सङ्ग्रहालय, पश्चिमी र पूर्वीद्वार, केन्द्रीय संरचना परिसर, मध्तगको पोखरी, किल्ला, जोडी स्तूप, विहार र प्राचीन औद्योगिक क्षेत्र र प्राचीन सहरको प्रमाण भेटिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *