भर्खरै :

भट्ट हत्याका दोषीलाई कारबाही गर्न महिला आयोगको माग

राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडाको नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यको तर्फबाट तत्काल अध्ययन अनुसन्धान सुरू भएको पाइएको बताइएको छ । अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ ।
आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता लागोस् भनेर आयोग क्रियाशील भएर लागेको बताउनुभयो । घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादुर थापासँग गम्भीर छलफल भएको उहाँले बताउनुभयो । घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उहाँको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश, पालिका र वडास्तरसम्म कसरी पुग्न सकिन्छ भनी छलफल भइरहेको छ ।”
आयोगकी सदस्य खतिवडाले आपूm घटनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र रात नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानुनको दायरामा आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । पीडितको बुबा भर्खरै बितेको र दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा विक्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिनसमेतको आयोगले सरकारसँग अपिल गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *