भर्खरै :

सपनामात्र भइदिए

सकिन्न बिर्सन
५१ फागुन १ गतेको दिन
अनेक मागहरू अघि सारी
देश र जनताका सवालहरू लिई
जनयुद्धको उद्घोष गर्दाको समय ।
शोषित पीडित निमुखाजनहरू
भविष्यको उज्ज्वल सपना बोकी
युवा, विद्यार्थी, बुढाबुढी
नाबालकै किन नहोस्
कापी, कलम, कुटो, कोदालो, हलो, गोठालो
घरजम परिवार त्यागी
बन्दुकको नालबाट सत्ता कब्जा गर्न
‘लालसेना’ बन्ने लहर चल्यो ।
लड्नु लडे अनेक युद्धहरू
आफ्नै दाजुभाइ
छरछिमेकी आफन्तबीच
सेना, प्रहरी, लालसेना भई
वर्ग दुश्मन एक आपसमा ठानी ।
पूर्व मेची, पश्चिम महाकाली
युद्धको कालो बादलले
जताततै भग्नावशेष
हारजीत जीवन मरणको
पर्वाह नगरी बलिदानी भावनाले
जनयुद्धको नाउँमा
जीवन उत्सर्ग गरियो ।
क्रान्तिकारी कमान्डरहरू
जनयुद्धको उद्देश्य पूरा नहुँदै
विदेशी बाउको अनुहार हेरी
एकाएक सामसुम भयो
कथित युद्धविराम
शान्ति सम्झौताको नाउँमा ।
अचानोको घाउ खुकुरीलाई के थाहा ?
चित्त दुखाउनु स्वाभाविकै थियो
युद्धवीर, सहिद परिवार, अपा·हरू,
कालकोठरीमा जीवन बिताएका बन्दीहरू
बचेखुचेका अयोग्य योद्धाहरूको
आशा एवम् भरोसा तुहिँदा,
तिनीहरूकै नाउँमा अर्बौँ भ्रष्टाचार हुँदा,
नेताहरू पुँजीवादी भासमा पर्दा,
मन्त्री, प्रधानमन्त्री कुर्सी मोहमा फस्दा
बाह्र–तेह्र हजारको बलिदान त
उसै खेर गयो ।
देश र जनताको लागि
कागलाई बेल पाक्यो हर्ष न विस्मात्
झन् देश विदेशी मालिकलाई सुम्पिँदा
नयाँ जनवादी क्रान्ति,
समाजवादी क्रान्तिको नारा
रातको सपनामात्र भयो ।
कथित माओवादी जनयुद्ध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *