भर्खरै :

शान्तिपूर्ण तरिकाबाट समाजवादी क्रान्ति असम्भव

कम्युनिस्टहरू समाजवादी क्रान्तिको निम्ति लड्छन्, लडिरहने छन् । समाजवादी क्रान्ति शान्तिपूर्ण तरिकाबाट सम्भव छैन । सत्तामा रहँदा समाजवादी क्रान्ति आवश्यक नहुने र सत्ता बाहिर रहँदा आवश्यक हुने भन्ने कुरा होइन । ‘जनयुद्ध’ छोडेका गृहमन्त्री रामबहादुर थापाले ‘जनयुद्ध’ दिवसको अवसरमा नेकपा सरकारमा रहेको हुँदा सशस्त्र अभ्यास आवश्यक नभएको विचार व्यक्त गरे । गृहमन्त्री थापाले समाजवादी क्रान्ति शान्तिपूर्ण तरिकाबाट हुने बताए । शान्तिपूर्ण ढङ्गबाट हुने समाजवादी क्रान्ति कस्तो क्रान्ति हो ?
समाजवादी क्रान्ति भनेको कुनै दलको शासक हेरफेर गर्नुमात्र होइन । समाजवादी क्रान्ति परिवर्तनको सूचक पनि हो । कामदार वर्गको नेतृत्वमा कामदार वर्गको निम्ति शासन चलाउनु हो । कुनै दलको सरकार हेरफेर हुँदैमा क्रान्ति हुने होइन, क्रान्ति भएको मानिँदैन । नेकपाले क्रान्तिको बाटो छोडिसकेको छ । कुनै आन्दोलन नै आवश्यक नठाने नेकपाका नेता र मन्त्रीहरूले समाजवादी क्रान्तिको कुरा खोकेर झूटको खेती नगर्नु बुद्धिमानी हुनेछ ।
माओवादी नेताहरूले ‘जनयुद्ध’ गरेर नेपाली जनतालाई धोका दिए, विश्वासघात गरे । देश, काल र परिस्थिति तयार नहुँदै भएको ‘जनयुद्ध’ असफल भएको थियो । सरकारसामु झुकेर आत्मसमर्पण गरिएको थियो । ‘जनयुद्ध’ छोडेर शान्तिपूर्ण बाटोमा आएको थियो । सरकारसामु झुकेर माओवादीहरूले ‘जनयुद्ध’ मात्र छोडेको होइन क्रान्तिकारी बाटो नै छोडे । क्रान्तिकारी बाटो छोडेका गृहमन्त्री थापाले समाजवादी क्रान्तिको आवश्यकता किन देख्नु ?
‘जनयुद्ध’ छोडे पनि माओवादीहरूले समाजवादी बाटो छोड्नु हुँदैनथ्यो । तिनै माओवादीहरू एमालेसँग मिलेपछि खुसी भए । कम्युनिस्ट आन्दोलनमा ठूलो टेवा पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका थिए । नेकपाबाट तिनै पूर्वमाओवादीहरू छोडेपछि प्रम ओलीले ‘जनयुद्ध’ को विरोध गरे । ‘जनयुद्ध’ को नेतृत्व गर्ने एक नायक नेकपाकै एक नेता हुन् । तिनै नायक गृहमन्त्री हुन् । गृहमन्त्री थापाले आन्दोलनकारीहरूलाई पशुलाई झैँ चिडियाखानामा थुन्ने चेतावनी दिएका थिए ।
गृहमन्त्री थापा समाजवादी क्रान्तिविरोधी नेता हुन् । उनी पुँजीवादी नेता हुन् । उनी मन्त्री पद जोगाउन ओली पक्षधर नेकपामा उभेका छन् । पद पाएपछि सिद्धान्त र विचार भुल्ने नेताहरूले आम जनताको हित हेर्दैनन्, हित खोज्दैनन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै नेकपाको अन्तिम लक्ष्य बनेको छ । माक्र्सवाद र लेनिनवादको विचार झुन्ड्याएर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेर कम्युनिस्टको कद घटाउने काम नेकपाले गरिरहेको छ । यो कम्युनिस्टविरोधी गतिविधि हो, कम्युनिस्टविरोधी चरित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *