भर्खरै :

‘ईश्वर’ कै अनन्त शासन !

“सबै कुरालाई ईश्वरको वरदान वा चमत्कार हो भनेर विश्वास गर्ने व्यक्तिले प्रमाण पेस गर्नुपर्छ । यो संसारमा जे जति पनि घटना परिघटना भएका छन् ती सबै भगवानको लीला हो भनेको सुन्ने र त्यसैलाई सत्य ठान्ने मान्छेहरू हामीभन्दा सोझा र अनभिज्ञ थिए ।”
प्रस्तुत पङ्क्ति विश्वप्रसिद्ध वैज्ञानिक चाल्र्स डार्विनले आफ्नो डायरीमा लेखेका थिए । फेब्रुअरी १२ अर्थात् माघ ३० गते शुक्रबार ‘डार्विन डे’ पर्छ । सोमबार साँझ डार्विनको जीवविकासको सिद्धान्तबारे यो आलेख तयार गर्दैगर्दा कतिपय नेपालीको घरघरमा स्वस्थानी व्रत कथा वाचन भइरहेको होला ! म आज आफू सानो छँदा मावली हजुरबाले माघ महिनाको साँझ ‘स्वस्थानी’ कथा वाचन गरेको सम्झँदै छु । लाग्छ, विज्ञानले मानव इतिहासमै लामो फड्को मारिसकेको अवस्थामा हामी कस्तो दर्शनबाट प्रेरित भइरहेका छौँ ? चार्वाक दर्शन, बुद्ध दर्शनजस्ता भौतिकवादी दर्शन त एसिया महादेशमै विकास भएका थिए तर हाम्रो समाज किन जहाँको तहीँ छ ? हाम्रो समाजका विश्वासहरू कस्ता छन् ? मानिसको दृष्टिकोण निर्माणमा धर्म र संस्कृतिको प्रभाव कति गहिरो छ ? यी प्रश्न सङ्गीन छन् ।
स्वस्थानी कथाको झ्याउलो
सुरुमा उही स्वस्थानी कथा ! मावली जाँदा बाजेले स्वस्थानी कथा हाल्दा मकलमा कोइला बालिरहेको हुन्थ्यो । त्यतिबेला चिसोमा आगो ताप्नु बाध्यता नै थियो । हामीलाई स्वस्थानी कथा लेखिएको ‘ठ्यासफू’ आफैमा गजबको जिनिस लाग्थ्यो, परस्परमा पत्रहरू जोडिएको अनौठो पुस्तक थियो त्यो ¤ यसलाई फरफरे पनि भनिँदो रहेछ ¤ उतिबेला स्वस्थानीको कथानकमा हाम्रो खासै चासो हुन्थेन, कथा वाचनपछि बाँडिने भुटेको भटमास, मकै र गहुँ भने स्वाद मानेर खाइन्थ्यो ¤ कथा कतिखेर सकिन्छ होला भन्ने आतुरी हुन्थ्यो हामीलाई । कहिलेकाहीँ कथा नसकिँदै निदाइन्थ्यो । छ्याला पुन्ही (पूर्णिमा) बाट सि पुन्ही (पूर्णिमा) सम्म एक महिना लामो कथा वाचनको काम आज पनि घरघरमा चालु छ ।
आज स्वस्थानी कथा पुनः श्रवण गर्दा अनौठो लाग्छ, हाँसो पनि लाग्छ । कथाको प्रथम अध्यायमा पृथ्वीको सृष्टिको कुरा गरिएको छ । महादेवका पुत्र कुमारले अगस्ती ऋषिको अनुरोधमा कथा सुरु गर्दछन् । कथामा ‘महामाया शक्तिस्वरूप स्वस्थानी देवी’ लाई मूल प्रकृति मानिएको छ । विश्व ब्रह्माण्ड दैवी शक्तिबाटै बनेको हो भन्ने प्रथम अध्यायको सार हो । त्यसानुसार संसारको सृष्टि हुनुअघि शून्य आकाशमात्र थियो । ‘प्रकृति देवी’ को इच्छाशक्तिबाट संसारमा सबभन्दा पहिले पानीको सृष्टि भयो, जताततै पानी नै पानी थियो । त्यसपछि ब्रह्मा, विष्णु र महेश्वर प्रकट भए । नारायण (विष्णु) को नाभीबाट कमलको फूल फुल्यो । फूलमा ब्रह्मा बसे । नारायणको कानबाट डरलाग्दा मधु र कैटभ नामका दुई दैत्य उत्पति भए । दैवीशक्तिबाटै उत्पत्ति भएकाले तिनीहरू आफ्नै इच्छाले मात्र मर्नसक्ने थिए । ती दैत्यले बस्ने ठाउँ कहीँ नपाएपछि कमलको फूलमा बसेका ब्रह्मालाई खसाल्ने प्रयास गरे । ब्रह्माले आफू जोगिन नारायणको प्रार्थना गरे । ब्रह्मालाई साथ दिन नारायणले ती दानवसँग युद्ध गरे तर हराउन सकेनन् । ती दानवको पराक्रमबाट नारायण खुसी भए र कुनै बरदान माग्न भने । दानवहरूले अभिमान गर्दै तिमी हामीसँग युद्धमा हारेका हौ, हामीले तिमीसँग वरदान माग्ने होइन, बरु हामी तिमीलाई वरदान दिन्छौँ भने । वरदान दिने भनेपछि नारायणले दानवलाई ‘सत्यवाचा’ गराए । चलाखीपूर्वक नारायणले दुवै दानव आफ्नो हातबाट मर्नुपर्ने वरदान मागे । सत्यवाचामा बाँधिएका दैत्यहरू आफ्नै अन्त्यको वरदान दिन विवश भए । लगत्तै नारायणले तिनहरूको टाउको काटे । दानवको विशाल शरीरको बोसो, मासु, हाड आदिबाट पृथ्वी बन्यो । संस्कृतमा पृथ्वीलाई मेदिनी भनिन्छ । मेदको अर्थ बोसो हुन्छ, दानवको बोसोबाट बनेको पृथ्वी भएकोले त्यसो भनिएको मानिन्छ । संसारको सृष्टिको व्याख्या यस्तो छ !

‘भौतिकवादी’ नेताहरू !
केही दिनअगाडि नेपालका प्रधानमन्त्री केपी ओलीले ‘विश्व शान्ति र राष्ट्रकल्याण’ को कामना गर्दै हिन्दुहरूको ‘आराध्यदेव’ पशुपतिनाथको मन्दिरमा विशेष पूजाअर्चना गरे, लाखबत्ती बाले, सुनको जलहरी बनाउन ३० करोड रुपियाँ पशुपतिनाथमा चढाए । कोरोना खोपको लागि दानको याचना गर्दै विश्वसँग भिक्षा मागिरहेको सरकारले सरकारी ढुकुटी खर्च गर्दा प्राथमिकता केलाई दिनुपर्छ भन्ने थाहा नभएको त पक्कै होइन होला ! फेरि, पशुपति विकास कोष आफैमा धनी संस्था हो । प्रधानमन्त्री हुँदा ‘ईश्वर’ को नाममा शपथ खान अस्वीकार गर्ने ओलीले त्यसो किन गरे भन्ने राजनीतिक विश्लेषण गर्दै गरौँला तर सरकार प्रमुखले नै मन्दिर धाउन थालेपछि धर्मान्धहरूको चुरीफुरी भने बढेको पाइन्छ । कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिरमा मंसिर मसान्ततिर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्षमापूजा’ गरेकी थिइन् । हिन्दु राजाहरूले पशुपतिनाथकै नाममा शासन गरे, अनवरत शासन टिकाउने प्रयास पनि गरे । धर्मनिरपेक्ष देशका राष्ट्रप्रमुखले शाहकालीन राजारानीकै शैलीमा मन्दिर चहार्नु स्वाभाविक एवम् औचित्यपूर्ण छैन । यसले अन्धविश्वासमात्र फैलाउँछ । ‘कम्युनिस्ट’ प्रधानमन्त्रीले यस्तो काम गर्न सुहाउँदैन ।
नेकपाका अर्का नेता प्रचण्डको ‘भौतिकवाद’ बारे एउटा प्रसङ्ग भनूँ ! केही समयअगाडि प्रचण्डले एउटा कार्यक्रममा ‘आजकल निदाउनुअघि सद्गुरुको प्रवचन सुन्ने गरेको’ बताएछन् । यो कुरा सुन्ने स्रोता गलल हाँसे । तत्कालै प्रचण्डले सद्गुरु पनि भौतिकवादी भएको प्रष्टोक्ति दिएछन् । तिनै सद्गुरु नामका व्यक्तिले महिलाले ‘मासिक धर्म’ बार्नुको औचित्य प्रमाणित गर्ने सिलसिलामा महिलाको मासिक स्रावले बाघजस्ता मांसहारी जनावरलाई आकर्षित गर्ने भएकोले छाउगोठमा बस्नुपर्ने भनेका रहेछन् । यस्तो छ सद्गुरुको भौतिकवादी पर्दा !

Bhaktapur, Kathmandu valley, Nepal


‘प्रथम कम्युनिस्ट प्रम’ मनमोहन अधिकारीले कालो बोका काटेर कार्यारम्भ गरेको विषय उतिबेला आलोचनाको विषय बनेको थियो । प्रचण्डले नै ‘भैँसी पूजा’ गरेको विषय पनि आलोच्य बन्यो । मनमोहन स्मृति अस्पताल लगायतका विभिन्न अस्पताल बनाउन पनि कम्युनिस्ट नामधारी पार्टीका नेता र कार्यकर्ताले ‘महायज्ञ’ गरेर पैसा जम्मा गरे । ‘भगवान’ को नाममा ठगी धन्दा गर्नेको नामावलीमा तिनीहरू पनि पर्छन् । सही कामको निम्ति नै किन नहोस्, गलत उपाय ठीक हुन्न । अगुवाहरूको यस्तो हाल छ भने पछुवालाई दोष लाउने कसरी ! आज पनि कर्म नै खोटो, पूर्वजन्मको पाप आदि जनविश्वास (अन्धविश्वास) ले गर्दा सम्पूर्ण समाज अफिमची बनेको छ । बोक्सी, भूतप्रेत, डङ्किनी आदि नाममा हुनेखाने वर्गको अत्याचार सहन विवश छन् गरिबवर्ग । शास्त्रको ठेली भट्याउँदै ‘भगवान’ को डर देखाएर कर्मशील मानिसलाई खोरन्डो बनाउन कसले रोक्नसक्छ ?
विस्मृत चार्वाक र बुद्ध दर्शन
ईश्वरवादीहरू सम्पूर्ण विश्व ब्रह्माण्ड तथा जीवको सृष्टिको कारक ईश्वरलाई मान्छन् । जसरी भाँडो बनाउन कुमाले चाहिन्छ, आमाबुबाको प्रजनन क्रियाबाट सन्तान जन्मिने भएपनि त्यो क्रियालाई सबल गराउनको लागि ईश्वर चाहिने उनीहरूको तर्क छ । उनीहरू शरीर नष्ट भएपनि आत्माले चोला बदलिरहन्छ भन्दछन् । उनीहरू आत्माले यस जुनीमा गरेको कर्मको फल अर्को जुनीमा उपभोग गर्दछ भन्ने दुष्प्रचार पनि गर्छन् । राम्रो काम गरे परलोकमा सुख पाइन्छ र नराम्रो काम गरे दण्ड भोग्नु पर्दछ भन्छन् । आजको शासित वर्गको दुःखको मूल कारण पूर्वजन्मको फल भनिदिएपछि शासन गर्न सजिलो हुने भयो । यसरी तल्लो वर्गमाथिको विभेद र अत्याचारलाई वैधता दिने काम धर्मले ग¥यो । देखिएको, भोगिएको कुरा यही हो ।
पूर्वीय भौतिकवादी चार्वाक दर्शन आएको कम्तीमा दुई हजार वर्ष भयो । तर, नेपाली समाज आज पनि ईश्वरवादीहरूको भुलभुलैयामै रुमल्लिरहेको छ । चार्वाक दर्शनले जुन कुरा आँखा, कान, नाक, छाला र जिभ्रोजस्ता ज्ञानेन्द्रीयद्वारा अनुभव गरिन्छ, त्यही सत्य हुन्छ भन्दछ । जहाँ धुवाँ हुन्छ, त्यहाँ आगो हुन्छ । त्यसैले धुवाँ देखेपछि आगोबारे अनुमान गर्न सकिन्छ । ईश्वरलाई कसैले देखेको (प्रमाण देखाउन सकेको) पनि छैन । यसरी ईश्वरको अस्तित्वलाई यस दर्शनले अस्वीकार गरेको छ । यस दर्शनले आत्मा भन्ने अलग्ग केही हुँदो हो त शरीर अवसान भएपछि आत्मा किन बाहिर प्रकट हुँदैन भनी प्रश्न गर्छ । चार्वाक दर्शनले आत्माको शरीरभन्दा छुट्टै अस्तित्व नहुने भएकोले पुनर्जन्म र पूर्वजन्म हुँदैन भन्दछ ।

डार्विनले ईश्वरले नै चराचर जगतको सृष्टि गरेको भन्ने मान्यताविपरीत प्रजातिहरूको उत्पत्ति प्राकृतिक छनोटको प्रकृयाबाट भएको हो भन्ने विचार ल्याए । उनले आजको मानिसको सृष्टि हुन करोडौँ वर्ष लागेको थियो भने । बाइबलमा लेखिएजस्तो ६ दिनमा ईश्वरले सम्पूर्ण संसारको सृष्टि गरेको भन्ने कुरालाई डार्विनले अस्वीकारमात्र गरेनन्, तथ्यहीन प्रमाणित गरिदिए । पृथ्वीको हरेक जीवलाई ईश्वरले छुट्टाछुट्टै सृष्टि गरेको, सबै भगवानका सन्तान हुन् जस्ता कुराको तर्कपूर्ण खण्डन जति नै गरेपनि विश्वकै सत्तासीन वर्गले ईश्वरको नाममा शासन गर्न नछोडेसम्म मौलिक परिवर्तन नहुँदो रहेछ भन्ने कुरा पनि सत्य हो । धर्मान्धहरूले डार्विनलाई थकाउने दुष्प्रयास गरेका थिए, डार्विनले हार स्वीकार गरेनन् ।

बुद्ध दर्शनले पनि सृष्टि परमात्माबाट भएको हो भन्ने कुराको खण्डन गर्दछ । ऋषिहरूले एउटै आत्माबाट अनेकौँ प्राणी र वस्तुको उद्भव भएको हो भने तर यस कुरालाई बुद्धले अस्वीकार गरे । कुनै एउटा वस्तु अर्को एउटै वस्तुबाट मात्र जन्मिँदैन बरु सामूहिक कारणबाट जन्मिन्छ भन्ने बुद्धको विचार थियो । यसले सृष्टिकर्ताको रूपमा लिइएको ईश्वरवादको खण्डन गर्दछ । बुद्धले हरेक घटनाको पछाडि कारण हुन्छ भन्ने बताए । उनले संसारमा दुःख छ, दुःखको कारण छ र दुःखबाट मुक्ति पनि पाउन सकिन्छ भन्ने सत्यको उजागर गरे । बुद्धले दुःखबाट छुटकारा दिलाउने बहानामा ब्राह्मण पुरोहितहरूले धर्मकर्म गर्न लगाउने कामको खण्डन गरेका छन् । उनले दुःख भन्ने कुरा कसैको पुर्पुरोमा लेखिएर आउने कुरा होइन, त्यो कुनै पूर्वजुनीको फल होइन भन्ने कुरा स्थापित गरे । उनले आत्माको अस्तित्वलाई ठाडै अस्वीकार गरेका छन् । बुद्धले मानिसले आफ्नो कर्मको फल यही जुनीमा नै भोग्दछ, अर्को जुनी कुर्नु पर्दैनसम्म भनेका छन् । उनले अहिले मानिसले जे बोल्छ, जे विचार गर्छ, जस्तो काम गर्छ त्यसमा नै मानिसको भविष्य निर्भर रहन्छ भनेका छन् । बुद्धले आफ्नो भाग्यको निर्माण मानिस आफैले गर्छ भन्ने बताए । भाग्यवादमा अल्मलिएको नेपाली समाजले बौद्ध दर्शनलाई अझै बुझ्न सकेको देखिन्न । यही हो विडम्बना !
चाल्र्स डार्विनको अपराजित यात्रा
चाल्र्स डार्विनलाई १९ औँ शताब्दीकै सबभन्दा महान् वैज्ञानिकको रूपमा लिइनुको मुख्य कारण उनले ईश्वरको अस्तित्व पूर्णतः निराधार भएको प्रमाणित गरेर देखाउनु हो । यसले तत्कालीन सत्ताको आस्था तथा विश्वासमाथि निर्मम प्रहार ग¥यो । करिब ३ दशकको निरन्तरको अध्ययन तथा अनुसन्धानको परिणामस्वरूप उनले संसारमा नयाँ जीवप्रजातिको उत्पत्ति कसरी हुन्छ भन्ने सिद्धान्त सप्रमाण प्रस्तुत गरे । सन् १८५९ मा प्रकाशित डार्विनको पुस्तक ‘प्राकृतिक छनोटबाट प्रजातिहरूको उत्पत्ति’ ले विश्व प्राज्ञिक तथा धार्मिक क्षेत्रमा ठूलो हलचल मच्चायो ।
डार्विनले विगल नामको जहाजमा बसेर संसारको यात्रा गरे, भेटिएजतिका जीवजनावर तथा वनस्पतिको सङ्कलन गरे, अनेक जीवावशेष (फसल्स) को अध्ययन गरे र एउटा युगान्तकारी निष्कर्ष निकाले – जीवको उत्पत्ति कुनै भगवानको कारण भएको होइन । जीवहरू सरल प्रकारका पुरानो प्रजातिमा आउने ससाना परिवर्तन थपिँदै गएर नयाँ विकसित प्रजातिमा रूपान्तरण भएको डार्विनले पुष्टि गरे । जीवहरूमा निरन्तर परिवर्तन हुन्छ र पुर्खामा आएको परिवर्तन सन्तानमा सर्दै जान्छ तर ती वातावरणअनुकूल विकास भएका जीवको अस्तित्व बाँकी रहन्छ । प्रकृतिअनुकूल विकास नभएका जीवको लोप हुन्छ । प्रकृति आफैले कुन जीवलाई राख्ने, कुनलाई लोप गर्ने भन्ने निर्णय गर्ने सिद्धान्त नै प्राकृतिक छनोटको सिद्धान्त हो । मानव प्रजाति पनि कुनै पुराना बाँदरजस्तै आकारप्रकारका जीवबाट परिवर्तन भई उत्पत्ति भएको हो भन्ने विचार नै डार्विनको निचोड थियो । आधुनिक मानव अर्थात् होमो सेपियन्स आउनुअगाडि विभिन्न प्रजातिका मानिस पृथ्वीमा रहेको प्रमाण जीवावशेषको अध्ययनबाट पुष्टि हुन्छ ।

डार्विनले ईश्वरले नै चराचर जगतको सृष्टि गरेको भन्ने मान्यताविपरीत प्रजातिहरूको उत्पत्ति प्राकृतिक छनोटको प्रकृयाबाट भएको हो भन्ने विचार ल्याए । उनले आजको मानिसको सृष्टि हुन करोडौँ वर्ष लागेको थियो भने । बाइबलमा लेखिएजस्तो ६ दिनमा ईश्वरले सम्पूर्ण संसारको सृष्टि गरेको भन्ने कुरालाई डार्विनले अस्वीकारमात्र गरेनन्, तथ्यहीन प्रमाणित गरिदिए । पृथ्वीको हरेक जीवलाई ईश्वरले छुट्टाछुट्टै सृष्टि गरेको, सबै भगवानका सन्तान हुन् जस्ता कुराको तर्कपूर्ण खण्डन जति नै गरेपनि विश्वकै सत्तासीन वर्गले ईश्वरको नाममा शासन गर्न नछोडेसम्म मौलिक परिवर्तन नहुँदो रहेछ भन्ने कुरा पनि सत्य हो । धर्मान्धहरूले डार्विनलाई थकाउने दुष्प्रयास गरेका थिए, डार्विनले हार स्वीकार गरेनन् । एक्काइसौँ शताब्दीका प्रगतिशील तथा क्रान्तिकारी मानवले किन हार खाने ? अन्धविश्वासको नाममा चल्ने कुनै पनि शासनको विरोध गर्दै वैज्ञानिक चिन्तनसहितको मानव समाज अगाडि बढ्छ । यो कुरा एसियादेखि अफ्रिकासम्म, युरोपदेखि अमेरिकी महादेसम्म, क्रिश्चियनदेखि इस्लामसम्म, हिन्दुदेखि बौद्धसम्म लागु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *