भर्खरै :

विश्वयुद्धका पत्राचारहरू–३

(अघिल्लो अङ्कमा हामीले बेलायती प्रम विन्सटन चर्चिल र रूसी मार्शल स्तालिनबीच आदानप्रदान भएका चारवटा पत्रहरूको अध्ययन ग¥यौँ । ती पत्रमा स्तालिनले जर्मन सेना लेनिनग्रादको मुखमै आएको र उसको ध्यान मोड्न पश्चिममा दोस्रो मोर्चा खोल्नुपर्ने राय दिनुभएको छ । तर, बेलायती साम्राज्य रक्षात्मक स्थितिमा पुगेको स्पष्ट हुन्छ । पश्चिमी मोर्चा खोल्न नसक्ने कुरा चर्चिलले स्तालिनलाई बताउँछन् । बेलायतले समुद्रको रक्षा गरी आफ्नो मूल भूमि जोगाउने नीति लिन्छ । साथै, उसले रूसलाई उत्तर आर्केन्जेल र दक्षिण इरानको बाटो भएर सहयोग गर्ने योजना बनाउँछ । अघिका पत्रबाट चर्चिल हतारिने व्यक्ति भएको छनक समेत पाइन्छ । उनले १९४१ को हिउँदमै सोभियत सेना जर्मनहरूमाथि हावी हुने अनुमान गर्छन् । अमेरिका जापानविरुद्ध गएमा आफूले अमेरिकाको साथ लिने उद्घोष गर्छन् । जब कि अमेरिकाले युरोपेली देशहरूलाई हतियार बेचेर बस्ने नीति लिएको हुन्छ । उसको लेन्ड–लीज कानुन यसकै सङ्केत थियो । अमेरिकी राष्ट्रपति रुजवेल्टका निजी दूत ह्यारी होप्किन्स मस्कोबाट फर्केपछि रुजवेल्ट र चर्चिलबीच १९४१, अगस्ट ९–१२ मा एटलान्टिक बैठक हुन्छ । बैठकमा हिटलरी आक्रमणको प्रमुख तारो बन्दै गएको सोभियत सङ्घलाई सैन्य सामग्रीले सघाउने निर्णय हुन्छ । सो बैठकले मस्कोमा त्रिपक्षीय बैठक बस्नुपर्ने सुझाव समेत दिन्छ ।)
पत्र नं. १२
१३ सेप्टेम्बर १९४१ मा प्रेषित
चर्चिललाई स्तालिनको निजी सन्देश
मैले पछिल्लो सन्देशमा दोस्रो मोर्चा खोल्नुलाई हाम्रो साझा उद्देश्यको प्रवद्र्धन गर्ने उपायको रूपमा सोभियत सरकारको दृष्टिकोण अघि सारेको थिएँ । त्यसको जवाफमा दोस्रो मोर्चा खोल्न असम्भव भएको यहाँले दोहो¥याउनुभयो । यसमा म त्यसो नगर्दा हाम्रा साझा शत्रुको हात माथि पर्नेछ भनी दोहो¥याउन मात्र सक्छु ।
बेलायत सरकार सोभियत सङ्घले जितोस् भन्ने चाहन्छ र त्यस उद्देश्यलाई पूरा गर्न जुक्ति खोजिरहेको छ । यसमा मलाई शङ्का छैन । यतिबेला बेलायत सरकारले पश्चिममा दोस्रो मोर्चा खोल्न अव्यावहारिक देख्छ भने साझा शत्रुविरुद्ध सोभियत सङ्घलाई सक्रिय सैन्य सहयोग दिन अन्य उपाय खोज्न सकिएला । बेलायतले आर्केन्जेलमा २५–३० डिभिजन सेना आरामले ओराल्नसक्ने देख्छु । अथवा, अघिल्लो युद्ध (प्रथम विश्वयुद्ध) मा फ्रान्सले गरेजस्तै सोभियत भूमि सोभियत सेनासँग सहकार्य गर्न बेलायतले इरानको बाटो हुँदै सोभियत सङ्घको दक्षिणी क्षेत्रमा ल्याउन पनि सक्छ । त्यो ठूलो सहयोग हुनेछ । मेरो विचारमा यस्तो खालको सहयोग हिटलरी आक्रमणका विरुद्ध कडा प्रतिकार हुनसक्छ ।
आल्मुनियम, विमान र ट्याङ्कहरूको मासिक बेलायती सहयोगको प्रतिबद्धताका निम्ति धन्यवाद स्वीकार्नुहोस् !
बेलायत सरकारले यस सहयोगलाई विमान, आल्मुनियम र ट्याङ्कको किनबेच भन्दा पनि मित्रवत सहकार्यको रूपमा लिएकोमा म हर्षित छु ।
मलाई आशा छ, बेलायत सरकारले यसमा चित्त बुझाउन पाउनेछैन र सोभियत सरकारलाई आफ्ना मित्रको गुन कसरी आत्मसात् गर्ने भन्ने थाहा छ ।
बेलायती राजदूत क्रिप्सले मोलोटोभलाई १९४१ सेप्टेम्बर १२ मा लेखेको स्मृतिपत्रबारे केही कुरा राखौँ ¤ स्मृतिपत्रमा उल्लेख छ, “सोभियत सरकार शत्रुको हातमा नपरोस् भनेर लेनिनग्रादस्थित आफ्ना पानीजहाजहरू नष्ट गर्न बाध्य भयो भने युद्धपछि बेलायत सरकारबाट नष्ट गरिएका जहाजहरूको क्षतिपूर्ति पाउने सोभियत सरकारको दाबीलाई बेलायत सरकारले मान्यता दिनेछ ।”
लेनिनग्रादका सोभियत जहाजहरूको नोक्सानी हुँदा सोभियत सङ्घलाई क्षतिपूर्ति दिने बेलायत सरकारको तदारुकताबारे सोभियत सरकार सचेत छ र त्यसको प्रशंसा गर्छ । आवश्यक परेमा सोभियत जनताले लेनिनग्रादका जहाजहरू नष्ट गर्नेछन् भन्नेमा कुनै शङ्का छैन । तर, त्यस विनाशको जिम्मेवारी बेलायतले होइन जर्मनीले लिनेछ । यसकारण मेरो विचारमा युद्धपछि यस नोक्सानीको मूल्य चुकाउनुपर्नेछ ।
पत्र नं. १३
१९ सेप्टेम्बर १९४१ मा प्राप्त (रूसमा)
स्तालिनलाई चर्चिलको निजी सन्देश
सन्देशको लागि धेरै धन्यवाद ¤ ह्यारीमेन मिसन आइपुगेको छ र लर्ड बीभरब्रुक र उनका साथीहरूसँग मिलेर दिनभरि काम गरिरहेको छ । यसको उद्देश्य समग्र स्रोतसाधनको अध्ययन गर्नु हो । यसले गर्दा मासिक आपूर्ति कार्यक्रमका लागि उपलब्ध सबै मार्गबारे थाहा हुनेछ । र, तपाईँको हतियार उद्योगमा भइरहेको क्षतिलाई सुधार्न सक्दो सघाउ पुग्नेछ । राष्ट्रपति रुजवेल्टको विचारमा प्रथम योजनाले जूनको अन्त्यसम्मको अवधि समेट्नुपर्छ । तर, हामी तपाईँसँग युद्धको अन्त्यसम्मै सँगै रहनेछौँ । यो महिनाको २५ मा मस्कोमा सम्मेलन सुरु हुनेछ भन्ने विश्वास छ । तर, सबैजना सुरक्षितरूपमा जम्मा नभएसम्म यसको प्रचार हुनुहुँदैन । सहभागीहरूको बाटो र यात्राका उपायबारे पछि सूचना दिइनेछ ।
२) पर्सियाली खाडी र क्यास्पियन सागरसम्म रेलमार्गका साथै मोटरबाटोले पनि जोड्ने कार्यलाई मैले ठूलो महत्व दिएको छु । यसमा हामीले अमेरिकी ऊर्जा र सङ्गठनलाई लगाउने आस गरेका छौँ । लर्ड बीभरब्रुकले यसको आपूर्ति र ढुवानीको प्रबन्धबारे बताउनेछन् । उनी ह्यारीमेनसँग नजिकिएका छन् ।
३) तपाईँसँग सैन्य सहकार्य गर्नसक्ने सबै सम्भावित स्थानहरूबारे हाम्रो सैन्य स्टाफले जाँचबुझ गरेको छ । उत्तर र दक्षिणका दुई छेउमा राम्रो सम्भावना देखिन्छ । हामीले नर्वेमा सफलतापूर्वक काम गर्न सक्यौँ भने स्वीडेनलाई अत्यन्त प्रभावित हुनेछ । तर, यसबेला हामीसँग यो योजनाका निम्ति सेना र जहाज छैनन् । दक्षिणमा सबैभन्दा ठूलो उपहार टर्की हो । टर्कीलाई हात लिन सकेमा अर्को शक्तिशाली सेना उपलब्ध हुनेछ । टर्की हामीतिर आउन चाहन्छ तर डराउँछ । यो निराधार छैन । उल्लेख्य बेलायती सेना र प्राविधिक सरसाधनको आपूर्तिले उनीहरूमाथि निर्णायक प्रभाव पार्न सक्छ । टर्कीमा प्राविधिक सामग्रीको अभाव छ । तपाईँसँग मिलेर हामीले साझा शत्रुविरुद्ध अधिकतम शक्ति जम्मा गर्न अन्य उपयोगी सहयोगबारे अध्ययन गर्नेछौँ ।
४) रूसी पानीजहाजको क्षतिलाई परिपूर्ति गर्ने प्रथम स्रोत जर्मनी हुनुपर्नेमा म सहमत छु । विजयपछि जर्मन र इटालीका पानीजहाज (हाम्रो) नियन्त्रणमा आउनेछन् । र, हाम्रो विचारमा यी जहाज रूसी पानीजहाजहरूको क्षतिको पूर्ति गर्न एकदम उपयुक्त हुनेछन् ।
पत्र नं. १४
जोसेफ स्तालिनलाई चर्चिलको पत्र
मेरा प्रिय प्रधानमन्त्री स्तालिन,
बेलायती र अमेरिकी मिसिनहरू यहाँबाट हिँड्दै छन् र यो पत्र तपाईँलाई लर्ड बीभरब्रुकले दिनेछन् । लर्ड बीभरब्रुकलाई मन्त्रीपरिषद्को पूर्ण विश्वास प्राप्त छ । उनी मेरा एक पुराना र अति नै आत्मीय मित्रमध्येका एक हुन् । उनले ह्यारीमेनसँग नजिकको सम्बन्ध बनाएका छन् । ह्यारीमेन प्रसिद्ध अमेरिकी अधिकारी हुन् र उनी साझा उद्देश्य प्राप्तिमा पूर्णतः समर्पित छन् । बेलायत र अमेरिकाबीच भएको सरसल्लाहअनुरूप उनीहरूले तपाईँसामु कुरा राख्नेछन् ।
राष्ट्रपति रुजवेल्टले हाम्रा प्रस्तावहरूले पहिले त आउँदो ९ महिनामा (१९४१ अक्टोबरदेखि १९४२ जूनसम्म) हामीले यहाँलाई पठाउने मासिक आपूर्तिको विषयमा कुरा राख्ने निर्णय गर्नुभएको छ । तपाईँलाई हामीले महिनामहिनामा पठाउने सामग्रीको विषयमा जानकारी पाउने अधिकार छ । यसले गर्दा तपार्इँले आफ्नो जगेडा सामग्रीमा नियन्त्रण प्राप्त गर्नुहुनेछ ।
अमेरिकी प्रस्ताव अझै पनि १९४२ को जूनभन्दा पर गएको छैन । तर, त्यसपछि दुवै देशले अझ ठूलो सहयोग गर्नेछन् भन्नेमा मलाई शङ्का छैन । नाजी आक्रमणले गर्दा तपाईँको हतियार उद्योगमा भएको क्षतिको पूर्ति गर्न हामीले सक्दो गर्नेछौँ भन्नेमा यहाँ विश्वस्त हुन सक्नुहुन्छ । लर्ड बीभरब्रुकले यस विषयमा बताउनुहुनेछ ।
तपाईँले थाहा पाउनुहुनेछ, १९४२ को जूनसम्म पठाइने आपूर्ति पूर्णतः बेलायती उत्पादन वा हामीले अमेरिकाबाट किनेका उत्पादन हुन् अथवा अमेरिकाले लेन्ड–लीज विधेयक अन्तर्गत प्रदान गरेका हुन् । (यो कानुन अमेरिकी काङ्ग्रेसले १९४१ मार्च ११ मा पारित गरेको थियो । यस कानुनले अमेरिकी सरकारलाई आफ्नो सुरक्षाका निम्ति अन्य देशलाई सैन्य सामग्रीहरू लीजमा वा ऋणमा दिने अधिकार प्रदान गर्छ । यस कानुनअनुसार अमेरिकाको रक्षालाई राष्ट्रपतिले परिभाषित गर्न सक्छन् ।) अमेरिकाले हामीलाई निर्यात गर्न मिल्ने अतिरिक्त उत्पादन दिन प्रतिबद्ध रहेको देखिन्छ । त्यसबेलासम्म थप आपूर्तिको बन्दोबस्त गर्न सजिलो छैन । मलाई विश्वास छ, अमेरिकाले उत्पादनमा तीव्रता ल्याउनेछ र १९४३ सम्म अमेरिकाको विशाल उद्योग युद्ध गतिमा चल्नेछ । हाम्रो तर्फबाट हामीले आफ्नो भावी उत्पादनबाट अझ बढी योगदान मात्र गर्नेछैनौँ बरु हाम्रा साझा आवश्यकताहरू परिपूर्ति गर्न हाम्रा जनतालाई उत्साहित गर्नेछौँ । तैपनि हाम्रो सेना र त्यसको योजनाबद्ध आपूर्ति सम्भवतः तपाईँ वा जर्मनीको भन्दा पाँचौ वा छैँटौ भाग मात्र होला । हाम्रो पहिलो कर्तव्य र आवश्यकता भनेको समुद्रहरू खुला राख्नु हो । र, हाम्रो दोस्रो कर्तव्य भनेको वायुसेनामा निर्णायक वर्चस्व हासिल गर्नु हो । बेलायती टापुहरूमा छरिएका ४ करोड ४० लाख जनशक्ति यसभित्र पर्छ । सेना र हतियार उद्योगमा हामी विशाल महादेशीय सैन्य शक्तिहरूसँग कहिल्यै दाँजिन सक्दैनौँ । तैपनि तपाईँलाई सघाउन हामीले सक्दो गर्नेछौँ ।
जनरल इसमे सैन्य चीफको स्टाफ समितिमा मेरा निजी प्रतिनिधि हुन् । उनी हाम्रो सैन्य नीतिको सम्पूर्ण पक्षसँग परिचित छन् । उनी तपाईँका कमान्डरहरूसँग व्यावहारिक सहकार्यका लागि कुनै पनि योजनाहरूको अध्ययन गर्न अधिकारप्राप्त छन् ।
हामीले शत्रुको हातमा रहेको लिबियाको पश्चिमी सैन्य क्षेत्र साफ गर्न सक्यौँ भने हामीसित हवाई र थल दुवैमा उल्लेख्य शक्ति हुनेछ । यसबाट रूसी मोर्चाको दक्षिणी क्षेत्रमा सहकार्य गर्न सकिनेछ ।
जर्मनीले आफ्नो सेनालाई अघि बढ्न बाटो माग्दा टर्कीलाई अवरोध हाल्ने तुल्याउन सकियो भने सबैभन्दा द्रुत र प्रभावकारी सहयोग आउन सक्ने देखिन्छ । उसले हाम्रो पक्षमा लागेर युद्धमा प्रवेश गरे झन् राम्रो हुनेछ । मलाई विश्वास छ, तपाईँले यस कुरालाई महत्व दिनुहुनेछ ।
म पनि यहाँले जस्तै जापानी अतिक्रमणका विरुद्ध आफ्नो मातृभूमिको रक्षा गर्ने चिनियाँ जनताप्रति सहानुभूति राख्छु । निश्चय नै हामी आफ्ना शत्रुहरूको सूचीमा जापानलाई थप्न चाहँदैनौँ । तर, म र राष्ट्रपति रुजवेल्टबीच भएको सम्मेलनबाट थाहा भएअनुसार अमेरिका जापान सरकारप्रति अझ नरम दृष्टिकोण राख्छ । मैले सरकारको तर्फबाट हतारमा घोषणा गरेँ – अमेरिका जापानविरुद्ध युद्धमा होमिन्छ भने बेलायत अमेरिकाको पक्षमा लाग्नेछ । मेरो विचारमा हामी तीनैवटा देशले सकेसम्म चीनलाई सघाउनुपर्छ र जापान युद्धमा सहभागी हुन उत्तेजित नहुँदासम्म यस्तो गर्नुपर्छ ।
हाम्रा जनतासामु सङ्घर्ष र पीडाको लामो अवधि छ भन्नेमा शङ्का छैन । तर, मलाई विश्वास छ अमेरिका उत्सुकतापूर्वक युद्धमा होमिनेछ । त्यसो भए तापनि हामीले विजयको निम्ति दुःख खेप्नैपर्ने हुन्छ भन्नेमा मलाई शङ्का छैन ।
युद्ध चल्दै जाँदा बेलायती साम्राज्य, सोभियत सङ्घ, अमेरिका र चीनका असङ्ख्य जनता आततायीहरूविरुद्ध मोर्चाबद्ध भई लम्केका हुनेछन् । यी चार देशले मानव जातिको दुईतिहाइ जनसङ्ख्या समेट्छन् । र, उनीहरू हिँड्ने बाटोले नै विजयसम्म पु¥याउनेछ भन्नेमा म ढुक्क छु ।
रूसी सेनाको सफलता र नाजी तानाशाहीको ध्वंसको हार्दिक कामना गर्छु ¤
विश्वास गर्नुहोस्, यहाँको विश्वसनीय मित्र,
विन्सटन चर्चिल
२१ सेप्टेम्बर १९४१ ।
पत्र नं. १५
स्तालिनलाई चर्चिलको निजी सन्देश
पर्सिया (इरान) सँग गठबन्धन बनाउन र पर्सियास्थित तपाईँको सेनासँग आत्मीय र प्रभावकारी काम गर्ने बन्दोबस्त मिलाउन म अत्यन्त उत्सुक छु । पर्सियामा आदिवासीहरूबीच गम्भीर अराजकताका सङ्केत देखिन्छन् । र, पर्सियाली सरकार छिन्नभिन्न हुनसक्छ । यो अव्यवस्था फैलियो भने ती जनतालाई तह लगाउन हाम्रा डिभिजनहरू खेर फाल्नुपर्नेछ । यसले सडक र रेल सञ्जालबाट हुने हाम्रो आवतजावत र आपूर्तिमा धक्का पुग्नेछ । जब कि हामी तपाईँसम्म मालसामान पु¥याउन यी मार्गलाई सकेसम्म साफ राख्न चाहन्छौँ । युद्ध भइरहँदा पर्सियालीहरूलाई चुप राख्नु नै हाम्रो ध्येय हुनुपर्छ । यस दिशामा यहाँको निर्णायक सङ्केतले त्यो सानो मैदानमा हाम्रा पहिल्यै चालिएका कदमलाई थप गति दिनेछ ।
पत्र नं. १६
चर्चिललाई स्तालिनको पत्र
मेरा प्रिय प्रधानमन्त्री चर्चिल,
मस्कोमा बेलायती र अमेरिकी मिसनहरू आउनु र त्यसमा पनि लर्ड बीभरब्रुक र ह्यारीमेनजीले तिनको नेतृत्व गर्नुले राम्रो असर परेको छ । लर्ड बीभरब्रुकको सन्दर्भमा उहाँले मस्को त्रिपक्षीय सम्मेलनमा छलफल भएका सबैभन्दा टड्कारा समस्याहरूको समझदारीमा पुग्न र सम्भवतः समाधानलाई तीव्र तुल्याउन एवम् तिनलाई फलदायी बनाउन धेरै गर्नुभयो । (रूस, बेलायत र अमेरिकाबीच यो सम्मेलन मस्कोमा १९४१ को अक्टोबर २९ मा सम्पन्न भएको थियो । यस सम्मेलनमा युद्ध सामग्रीहरूको आपसी आपूर्तिको विषयमा छलफल भएको थियो ।) ह्यारीमेनजीले पनि त्यसै गर्नुभयो भन्न सकिन्छ । म यस्ता अधिकारप्राप्त प्रतिनिधिलाई मस्को पठाएकोमा तपाईँ र रुजवेल्टजीलाई सोभियत सरकारको तर्फदेखि हार्दिक धन्यवाद पठाउँछु ¤
मोर्चामा र कतिपय उद्योगधन्दा खाली गर्नुपर्दाको असहज परिस्थितिमा हाम्रो सैन्य आपूर्ति व्यवस्थाका आवश्यकताहरू सम्मेलनमा तय भएको भन्दा पनि बढी भएको म स्वीकार गर्छु । यद्यपि, लन्डन र वासिङटनका अन्तिम समझदारीमा पुग्न र निक्र्योल गर्न धेरै विषयहरू थाती राखिएका छन् । तैपनि, मस्को सम्मेलनले केही महत्वपूर्ण कार्यहरू सम्पन्न ग¥यो । बेलायत र अमेरिकी सरकारले आपूर्तिको मासिक कोटा बढाउन सक्दो गर्नेछन् भन्नेमा म आशावादी छु । साथै, तत्काल योजना अनुसारका आपूर्तिहरू पैठारी गर्न तीव्रता दिनेछन् भन्ने मैले आशा लिएको छु किनभने हिटलरी सेनाले हिउँद यामभन्दा ठीक अघि सोभियत सङ्घमाथि दबाब बढाउन सकेसम्मको बल लगाउनेछन् ।
टर्की र चीनका सम्बन्धमा म तपाईँका विचारमा सहमत छु । बेलायत सरकारले यसबेला दुवै दिशामा उपयुक्त गतिविधि गर्ने मैले आशा लिएको छु । किनभने, खासगरी यतिबेला सोभियत सङ्घका अवसरहरू स्वाभाविकरूपमा सीमित बनेको कुराले अहम् महत्व राख्छ ।
यसबेला युरोपको मुटुमा जरा गाडेर बसेका हिटलरका झूटा डाँकुहरू विरुद्ध हाम्रो साझा सङ्घर्षको दृष्टिबाट हेर्दा मलाई के विश्वास छ भने कठिन हुँदाहुँदै पनि हाम्रा स्वतन्त्रताप्रेमी जनताको पक्षमा हामीले हिटलरलाई धुलो चटाउनेछौँ ।
यहाँको विश्वासी,
स्तालिन
३ अक्टोबर १९४१
पत्र नं. १७
स्तालिनलाई चर्चिलको निजी सन्देश
मस्कोमा भएको त्रिपक्षीय सम्मेलनको सफलताबारे लर्ड बीभरब्रुकबाट थाहा पाउँदा म हर्षित छु । जति छिटो, उति राम्रो । दश दिन छोड्दै हामीले जहाजी बेडा आदानप्रदान गरिरहने सोचिरहेका छौँ । निम्न सहयोगहरू बाटामा छन् र अक्टोबर १२ मा ती अर्केन्जेल पुग्नेछन् ः २० भारी ट्याङ्कहरू, १ सय ९३ लडाकु विमान (अक्टोबरअघिको कोटाका) । निम्न सामग्री अक्टोबर १२ मा यहाँबाट हिँड्नेछन् र अक्टोबर २९ मा त्यहाँ पुग्नेछन् ः १ सय ४० भारी ट्याङ्क, १ सय हुरिकेन विमान, २ सय ब्रेन बन्दुक र हतियारहरू । निम्न सामग्री अक्टोबर २२ मा हिँड्नेछन् ः २ सय लडाकु विमान, १ सय २० भारी ट्याङ्कहरू । माथिको तथ्याङ्कले अक्टोबरको कोटाका विमान र २ सय ८० ट्याङ्क नोभेम्बर ६ सम्म रूस पुग्नेछन् भन्ने देखाउँछ । बन्दुकधारी ट्याङ्क, ट्याङ्क ध्वस्त पार्ने राइफलहरू र २ पाउन्डर ट्याङ्क नामक बन्दुकहरू अक्टोबरमा आइपुग्नेछन् । २० वटा ट्याङ्कलाई पर्सियाको बाटो हुँदै पठाइएको छ भने १५ वटा ट्याङ्क क्यानडाबाट भ्लादिभोस्तोक हुँदै पानीजहाजमार्फत पठाइनेछ । यसरी जहाजबाट पठाइने ट्याङ्कको जम्मा सङ्ख्या ३ सय १५ पुग्छ र हामीसँग १९ वटा ट्याङ्कको कमी छ । नोभेम्बरमा यो कमी पूर्ति गरिनेछ । माथिको कार्यक्रममा अमेरिकी सामग्री छैनन् ।
यी नियमित जहाजी बेडा आवतजावत गरिरहँदा हामीले आर्केन्जेलले आपूर्तिको प्रमुख हिस्सा ओगटोस् भन्ने चाहिरहेका छौँ। मैले यी सामग्री हातैमा पुगेका छन् भन्ने विश्वास लिएको छु ।
६ अक्टोबर १९४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *