भर्खरै :

चीनविरूद्धको युद्ध – २

२) संरा अमेरिकी पुँजी र चीनबीचको – मोलमोलाइ (बाँकी अंश)
यो पाद टिप्पणीमात्र होइन । चीनको विगत ५० वर्षको भूरणनीतिक कदमहरू बुझ्नका लागि आवश्यक तत्कालीन स्थितिको चित्रण पनि हो र चीनको उत्पादक शक्तिको विकासको इतिहास पनि हो । मलाई यहाँ उत्पादक शक्तिहरूको महत्व स्पष्ट पार्ने सिद्धान्तबारे छोटोमा चर्चा गर्ने अनुमति दिनुहोस् !
माक्र्स र एँगेल्सको ऐतिहासिक भौतिकवाद र राजनीतिक अर्थशास्त्रको एक मूल अवधारणा – उत्पादक शक्तिहरू र त्यसले कसरी मानवीय श्रमलाई श्रमका साधनहरू (औजारहरू, यन्त्रहरू र पूर्वाधार आदि) सित एकीकृत गर्छ भन्ने हो । सजिलो हिसाबले समाजको उत्पादकत्वका रूपमा हेर्न सकिने उत्पादक शक्तिलाई एउटा निश्चित बिन्दुसम्म बढाउन सकिन्छ जहाँ उत्पादक शक्ति र समाजको उत्पादनको चरणको द्वन्द्व हुन्छ । पुँजीवादभन्दा पहिलेको सामन्ती उत्पादनको चरणमा उत्पादक शक्तिहरू अत्यन्त न्यून तहमा थिए र ती छरिएर रहेका एवम् अधिकांश व्यक्तिगत प्रकृतिको उत्पादनमा संलग्न थिए । त्यतिखेरको उत्पादन मूलतः आफ्नै उपभोगको निमित्त मात्र थियो, व्यापारिक उत्पादन त त्यतिबेला गर्भमै थियो । पुँजीवादमा मानव श्रम र उत्पादनका साधनहरू एकीकृत गरी सामाजिक औद्योगिक प्रतिष्ठानमा परिणत हुन सक्ने गरी उत्पादक शक्तिलाई उन्मुक्ति दिइयो र उत्पादनमा वैज्ञानिक तरिकाहरू भित्याइयो । जब सामाजिक र सहकारी प्रकृतिका पुँजीवादी औद्योगिक एवम् व्यापारिक प्रतिष्ठानहरूको नियन्त्रण निजी पुँजीपतिहरूले गर्न थाले र उनीहरूले त्यहाँ काम गर्ने मजदुरहरूको श्रमबाट र उत्पादित वस्तुको बिक्रीबाट अत्यधिक अतिरिक्त मूल्य निकाल्न थाले । मतभेद र द्वन्द्व देखाप¥यो । सामूहिक श्रमबाट उत्पादित वस्तु निजी पुँजीपतिहरूले आफ्नो नाफाको लागि कब्जा गर्न थाले । जब हरेक पुँजीपतिहरूले आफ्नो फाइदाको लागि उत्पादक शक्तिहरूको अधिक विकास गर्न थाले पुँजीपतिहरूमाझको पुँजीवादी प्रतिस्पर्धाले सिर्जना गरेको अराजकताले थप द्वन्द्व निम्तियो र त्यसले विभिन्न प्रकारका आर्थिक समस्याहरू देखाप¥यो ।
आर्थिक सङ्कटले पुँजीवादलाई एकाधिपत्य (मनोपली) तर्फ धकेल्छ जहाँ केही पुँजीपतिहरूद्वारा झन् ठूल्ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूको नियन्त्रण गरिन्छ, कार्टेल र उद्योगहरूको नियन्त्रण उनीहरूको हातमा जान्छ । जब यस्ता सङ्कटहरू झन् गहिरिँदै जान्छ र पटकपटक आउन थाल्छ, तिनले पुँजीपतिहरूको अनावश्यक भूमिकालाई उदाङ्गो पार्छन् र साँचो सामाजिक एवम् सहकारी प्रकृतिको उत्पादक शक्तिको आवश्यकता उजागर हुन थाल्छ । पुँजीपतिहरू आफैले लागु गरेको अत्याधुनिक तहको एकाधिकार पुँजीवादले उनीहरूलाई नै सिध्याउन थाल्छ अनि उनीहरूको माझमा जन्मेको प्रतिस्पर्धा उत्पादक शक्तिको विकासका लागि तगारो बन्न थाल्छ । यस्तो स्थिति मजदुर वर्गले नेतृत्व गरेको सर्वहारा राज्य स्थापना र उत्पादनका साधनहरूको नियन्त्रण एवम् उत्पादनको मालिक आफै बन्नका लागि निकै अनुकूल बन्न पुग्छ ।
फ्रेडरिक एँगेल्सले आफ्नो प्रख्यात कृति ‘समाजवाद ः काल्पनिक र वैज्ञानिक’ मा उत्पादक शक्तिहरूको विकास र पुँजीवादको भूमिकाबारे विस्तृत चर्चा गनुभएको छ । तर, इतिहासले के सिद्ध गरेको छ भने उत्पादक शक्तिहरूको विकासको यो प्रक्रिया त्यति सिधासादा छैन । पुँजीवादले आफूलाई आफूविरुद्धका सम्भाव्य क्रान्तिहरू तुहाउन सक्षम प्रमाणित गरेको छ र साम्राज्यवादको युगले पुँजीवादले विश्वका पिछडिएका तथा उत्पादक शक्तिको विकास न्यून श्रेणीमा रहेका देशहरूमाथि नियन्त्रण गरेर आफूसामु रहेका आर्थिक सङ्कटलाई पछाडि धकेल्न सक्छ भनी देखाएको छ । त्यस्ता पिछडिएका तथा उत्पादक शक्तिको विकास न्यून श्रेणीमा रहेका देशहरू जति नै स्वतन्त्र भएको घोषणा गर्दा पनि व्यवहारमा स्वतन्त्र हुनसक्दैनन् । सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना हुँदाताका चीनले पनि आफूलाई त्यस्तै अवस्थामा रहेको पायो । यसलाई अध्यक्ष माओ त्सेतुङले आफ्नो निर्णायक कृति ‘नौलो जनवादबारे’ मा निकै प्रस्टसँग भन्नुभएको छ – चीनको क्रान्तिले सर्वप्रथम त अर्धसामन्ती र अर्धउपनिवेशिक देशको रूपमा रहेको चीनको लामो इतिहासलाई अन्त्य गर्ने लक्ष्य लिएको छ र साम्राज्यवादलाई परास्त गर्ने मूल लक्ष्य लिएको छ । वास्तवमा त्यसैको लागि माओ त्सेतुङले सबै क्रान्तिकारी वर्गहरू र सामन्ती र उपनिवेशिक उत्पीडनको विरुद्ध लडेका राष्ट्रिय पुँजीपतिहरूलाई समेत समेट्ने नौलो जनवादको सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । माओले आफ्नो अर्को कृति ‘जनताको प्रजातान्त्रिक अधिनायकवादबारे’ मा जनतामाझको एकताबारे थप व्याख्या गर्नुभएको छ ।
जनता भनेका के हुन् ? चीनको आजको अवस्थामा जनता भनेका कामदार वर्ग, खेतमा काम गर्ने किसान, सहरी निम्न पुँजीपतिहरू र राष्ट्रिय पुँजीपतिहरू हुन् । यी वर्गका जनतालाई कामदार वर्ग र चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्व गरेका छन्, आफ्नै राज्य निर्माण गर्न र आफ्नै सरकार निर्वाचित गर्न एकताबद्ध भएका छन् । उनीहरूले आफ्नो अधिनायकवादी शक्तिको प्रयोग साम्राज्यवादका पिछलग्गूहरू, जमिनदार वर्ग र कर्मचारी पुँजीपति वर्ग एवम् ती वर्गको प्रतिनिधित्व गर्ने कोमिन्ताङ प्रतिक्रियावादीहरूमाथि तथा तिनीहरूका सहयोगीहरूमाथि गर्छन् ।
(माओ त्सेतुङ : जनताको प्रजातान्त्रिक अधिनायकवादबारे)
यही कुरा जन गणतन्त्र चीनको झन्डा स्वयम्ले पनि त्यसलाई सङ्केत गर्ने गरेको छ । झन्डामा रहेका साना चार वटा ताराहरूले चीनको क्रान्तिको पक्षमा रहेका चार वर्ग र ठूलो एउटा ताराले चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्छ । साना चारवटै ताराहरू चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्ने ठूलो तारातर्फ फर्केका छन् र त्यसको नेतृत्वकारी भूमिकालाई दर्शाएको छ । यही नै चीनको जनताको प्रजातान्त्रिक अधिनायकवादको प्रकृति हो । कतिपय पश्चिमा कम्युनिस्टहरूका लागि यो आश्चर्यको पनि विषय हुन सक्छ अध्यक्ष माओले पनि तेङ स्याओफिङले जस्तै जनगणतन्त्र चीनको स्थापना हुँदा पिछडिएको अवस्थामा रहेको अर्थतन्त्रलाई विकास गर्न राष्ट्रिय पुँजीपति वर्गसित एकता कायम गर्नुपर्ने तर देशमा चिकपाको नेतृत्वकारी भूमिका रहनुपर्नेमा जोड दिनुभएको थियो ।
माओ त्सेतुङले जस्तै तेङ स्याओफिङ विचारधाराले पनि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वकारी भूमिकालाई निरन्तरता दिँदै उत्पादक शक्तिहरूको विकासलाई समाजवादी निर्माणको मूल लक्ष्यको रूपमा लिएको छ । तेङ स्याओफिङले माओ त्सेतुङको नयाँ जनवादबारेको विचारलाई सामान्यरूपमा विस्तार गर्नुभयो र त्यसलाई बजारमा आधारित सुधारमा कार्यान्वयन गरी ठोस बनाउनुभयो र देशको पछिल्लो उत्पादक शक्तिलाई बलियो बनाउनुभयो । त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राज्य र राजकीय औद्योगिक एवम् व्यापारिक प्रतिष्ठानहरूको नेतृत्वकारी भूमिकामा अडिग रहनुभयो । तेङ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको लक्ष्य भनेको सीमित, मिहिन ढङ्गले निगरानी गरिएको पुँजीवादको माध्यमले उत्पादक शक्तिहरूको विकास गर्नु थियो र अर्थतन्त्रको उपल्लो तहमा राज्यको स्वामित्व एवम् नियन्त्रण निरन्तर कायम राख्नु थियो । सायद अचम्म लाग्न सक्छ, यो विचारको सुरुआत तेङ्ग स्याओफिङबाट भएको होइन बरु सन् १९४० मै माओ त्सेतुङले – नौलो जनवादबारे मा उल्लेख गर्नुभएको थियो ः
यदि चीनमा नौलो जनवादसहितको गाणतन्त्र स्थापना भएमा त्यो आफ्नो राजनीतिक प्रणालीमा मात्र होइन आफ्नो अर्थतन्त्रमा पनि नौलो जनवादी हुनैपर्छ । त्यस गणतन्त्रले ठूला बैङ्कहरू, ठूला औद्योगिक र व्यापारिक प्रतिष्ठानहरू आफ्नो स्वामित्वमा राख्नेछ । बैङ्क, रेल्वे, हवाइ सेवाजस्ता ठूला प्रतिष्ठानहरू चिनियाँहरूको स्वामित्वमा भएका होऊन् वा विदेशी स्वामित्वमा भएका होऊन् एकाधिकारको चरित्र बोकेका त्यस्ता प्रतिष्ठानहरू निजी व्यवस्थापनका लागि निकै ठूला छन् र तिनलाई सञ्चालन गर्ने तथा नियमन गर्ने कार्य राज्यले गर्नेछ ताकि निजी पुँजीले जनताको जनजीवनमा प्रभूत्व कायम गर्न नसकोस् ः यो नै पुँजीमाथि नियमनको मुख्य सिद्धान्त हो । …. सर्वहारा वर्गको नेतृत्वमा स्थापना हुने नौलो जनवादी गणतन्त्रमा राजकीय प्रतिष्ठानहरू समाजवादी चरित्रका हुनेछन् र तिनीहरूलाई सिङ्गो राष्ट्रिय अर्थतन्त्रका निम्ति नेतृत्वकारी शक्तिको रूपमा स्थापित गरिनेछन् । तर, गणतन्त्रले न त पुँजीवादी निजी सम्पत्ति खोस्नेछ न जनताको जनजीवनमा प्रभूत्व कायम नगर्ने त्यस्ता पुँजीवादी उत्पादनको विकासमा प्रतिबन्ध नै लगाउनेछ, किन कि चीनको अर्थतन्त्र अझै धेरै पिछडिएको छ ।
अहिलेको अवस्थामा चीनका राष्ट्रिय पुँजीपतिहरूको ठूलो महत्व छ । सबैभन्दा खतरनाक शत्रुका रूपमा साम्राज्यवाद हाम्रो अगाडि उभिरहेको छ । चीनका आधुनिक उद्योगहरूले अझै पनि देशको राष्ट्रिय अर्थतन्त्रका निकै सानो अनुपातको योगदानमात्र पु¥याउन सकेको छ । कुनै भरपर्दो तथ्याङ्क त उपलब्ध छैन तर यो अनुमानित हो । केही निश्चित तथ्याङ्कले देखाउँछ कि जापानविरोधी प्रतिरोध युद्धभन्दा अगाडिसम्म चीनका आधुनिक उद्योगहरूको मूल्य देशको अर्थतन्त्रको करिब १० प्रतिशतमात्र हुनआउँछ । साम्राज्यवादी अतिक्रमणको प्रतिकार गर्न र चीनको मेरुदण्डको रूपमा रहेको अर्थतन्त्रलाई माथि उठाउन चीनले सहरी र ग्रामीण क्षेत्रका सबै पुँजीहरूलाई उपयोग गर्नुपर्छ, जबसम्म ती हाम्रो देशका लागि फाइदाजनक र राष्ट्रिय अर्थतन्त्र एवम् जनताको जनजीवनका लागि हानिकारक हुँदैनन्, हामीले राष्ट्रिय पुँजीपति वर्गलाई पनि हाम्रो साझा सङ्घर्षमा एकीकृत गर्नुपर्छ । हाम्रो नीति भनेको पुँजीलाई नियमित गर्नु हो, त्यसलाई ध्वस्त गर्ने होइन । तर, राष्ट्रिय पुँजीपतिहरू हाम्रो नेता बन्न सक्दैनन्, न राज्य शक्तिमा तिनीहरूको मुख्य भूमिका नै हुनेछ । …
समाजवादलाई वितरणको चरणको रूपमा मात्र परिभाषित गरिँदैन बरु समाजवादको अर्थ मजदुर वर्गले नेतृत्व गरेको राज्यको भूमिका र सामाजिक आवश्यकतालाई सबभन्दा माथि राख्नु र समाजवादी मूल्यमातहत सञ्चालन हुनु पनि हो । जबसम्म पछिल्ला बन्दोवस्त रहिरहन्छन् अर्धखुला अर्थतन्त्रको विकास र निजी पुँजीवादको माध्यमले उत्पादक शक्तिको विकास भई देशको समग्र भौतिक विकासलाई बलियो बनाउनलाई नै टेवा पुग्दछ । यहाँ यो कुरा सम्झन महत्वपूर्ण छ कि चीनले समाजवादका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयासमात्र गरिरहेको छैन बरु विद्यमान पुँजीवादी शत्रुहरूको प्रतिस्पर्धी दबाबलाई सामना गर्नका लागि शक्ति पनि आर्जन गरिरहेको छ ।
‘यथार्थवादी बनौँ भविष्यतर्फ हेरौँ’ शीर्षकको आफ्नो सन् १९६३ को भाषणमा तेङ स्याओफिङले स्पष्ट भन्नुभएको छ ः हाम्रो उद्देश्य कसरी पूरा गर्ने ? हामी हाम्रो देशलाई हाम्रो चालिस वर्षको कठिन परिश्रमद्वारा विश्वका विकसित देशहरूको दाँजोमा पु¥याउन चाहन्छौँ । त्यसको अर्थ हामी हाम्रो देशलाई विश्वका मुख्य औद्योगिक शक्तिहरूमध्ये एक बनाउन चाहन्छौँ तर सबैलाई उछिन्नेछौँ भन्ने होइन । हामी निश्चित पनि छैनौँ कि हामीले अरू सबैलाई उछिन्न सक्छौँ या सक्दैनौँ किनभने हाम्रो आर्थिक जग अरू देशको भन्दा भिन्न छ र तिनीहरू पनि अगाडि बढिरहेका छन् । निश्चय नै चीनलाई विश्वका मुख्य शक्तिमध्ये एक बन्नका लागि अनिवार्य रूपमा चालिस वर्षको परिश्रम लाग्नेछ ।
ठूलो जनसङख्या भएको ठूलो देश चीनले अत्यन्तै निम्न आर्थिक आधारबाट सुरु गरेर आजको विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको तरिका उत्पादकत्वको विभिन्न श्रेणीका अरू देशमा उस्तै गरी लागु हुनसक्दैन । बरु चीनले प्रयोग गरेको – तथ्यबाट सत्य खोज्ने वैज्ञानिक दृष्टिकोणलाई अनुसरण गर्न सकिन्छ । यो नै चिनियाँ विशेषताको समाजवादको महत्व हो । यो चीनको अवस्थाअनुसार माक्र्सवादको व्यावहारिक प्रयोग हो । चीनको क्रान्तिको इतिहासभरि हामी माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूको यस्ता व्यावहारिक प्रयोगका कैयौँ उदाहरणहरू हामी पाउने गर्छौँ । राष्ट्रिय पुँजीपतिहरूलाई गर्ने व्यवहार पनि त्यस्तै व्यावहारिक प्रयोग हो । तेङ स्याओफिङले सन् १९६५ को ‘परिपक्व र लड्नमा सिपालु पार्टी निर्माण गरौँ’ शीर्षकको भाषणमा क्रान्तिका क्रममा वामपन्थी र दक्षिणपन्थी दुवैखाले गल्तीबाट जोगिनु र प्रतिरोध गर्नुको ऐतिहासिक महत्वबारे स्पष्ट पार्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको उक्तिका अनुच्छेदहरू किन पनि उल्लेख गर्न जरुरी लाग्यो भने पहिले कोमिन्ताङ प्रतिक्रियावादीहरू र पछि साम्राज्यवादीहरूको घेराबन्दी एवम् नाकाबन्दीबाट क्रान्तिलाई जोगाउन देशका पुँजीवादी उद्योग र व्यापारहरूको रक्षाको आवश्यकता बुझ्ने प्रतिभा चिनियाँ कम्युनिस्ट पार्टीमा अगाडिदेखि नै थियो भनी प्रस्ट हुन सक्छौँ । अहिले अमेरिकी साम्राज्यवादले घेराबन्दी गरिरहेको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव र रणनीतिक सोचाइ कतिको महत्वपूर्ण छ भनी हामी कल्पना गर्न सक्छौँ । अहिले हामी चिनियाँ कम्युनिस्ट पार्टीले अपनाएको तरिका र त्यसले समाजवादी बजार अर्थतन्त्र निर्माण गर्नुको अभिष्ट पूरै बुझ्न सक्छौँ । तेङ स्याओफिङ विचारधाराको आधारशिला पनि प्राथमिक चरणको समाजवादको अवधारणा नै हो । त्यस विचारधाराअनुसार चीन सन् १९५६ मा समाजवादको प्राथमिक चरणमा प्रवेश गरेको र अहिले २१ औँ शताब्दीको आधाआधीसम्म पनि त्यही चरणमा रहेर समाजवादको माध्यमिक चरणमा प्रवेश गर्नेछ । त्यसका लागि चीनको पिछडिएको उत्पादक शक्तिलाई आधुनिकीकरण गरेर समाजवादी आधुनिकीकरणलाई प्राप्त गर्नुपर्छ । विश्वमा आफ्नो स्थान र कमजोरीबारे चीनको यो विनम्र र यथार्थवादी पूर्वानुमान विश्वका विकसित पुँजीवादी देशहरूको तुलनामा निकै भिन्न छ र यसले पुँजीवादी विश्वविरुद्ध समाजवादी विकासको चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोण निकै प्रस्ट पार्दछ । चीनको समाजवादी आधुनिकीकरणको मार्गबाट समाजवादमा पुग्ने मार्ग निकै जटिल छ तर वर्तमान विश्व स्थितिलाई बुझेपछि त्यस मार्गको महत्व बुझ्न कठिन पनि छैन ।
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *