भर्खरै :

भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ

खुला सिमानाकै कारण नेपालको अर्बाैँ रुपैयाँको ढुङ्गा, गिट्टी, बालुवा दैनिकजसो भारतमा तस्कर भइरहेको छ । पहाडी भूभागबाट बग्ने नदीको बहावले ढुङ्गा, गिट्टी, बालुवा बगाएर नेपालको तराईको समथर भूभागमा पु¥याउँछ ।
पर्साको ओरिया खोलामा बालुवा उत्खनन् गरी भारत लैजाने क्रममा गत शुक्रबार सशस्त्र प्रहरीको गस्ती टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्याक्टर बाटोमा फसेको बेला भारतको सिक्टा र भङ्गाहा गाउँबाट आएका तस्करहरूले सशस्त्र प्रहरीलाई घरेलु हतियारले आक्रमण गरी घाइते बनाए । गम्भीर दुई सशस्त्र प्रहरीको काठमाडौँमा उपचार भइरहेको छ ।
गम्भीर घाइते प्रहरी जवान आयुष राय यादवको देब्रे कानमा गम्भीर चोट लागेको छ । त्यस्तै अर्का घाइते महेश यादवको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ ।
सीमा जोडिएका सबै जिल्लामा भारतीय तस्करहरूले नेपालको प्राकृतिक स्रोतसाधन दोहन गर्दै आएका छन् । ढुङ्गा, गिट्टी, बालुवाका साथै काठसमेत तस्करी हुँदा नेपालको खर्बाैँ रुपैयाँ राजस्व गुमेको छ । यसलाई रोक्न स्थानीयले प्रयास गर्दै आएका छन् तर सरकारले आवश्यक पहल नगर्दा तस्करी रोकिएको छैन ।
सीमा सुरक्षाका लागि सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाअघि बिनारोकतोक नेपालबाट ढुङ्गा, गिट्टी, बालुवा तस्कर भइरहेको थियो । सशस्त्र प्रहरीले निगरानी बढाएपछि पटक – पटक तस्करहरूसँग झडप भइरहेको छ । हिजो ‘हरियो वन नेपालको धन’ भन्ने भनाइ थियो, आज ‘नेपालको प्राकृतिक स्रोत–साधन तस्करको धन’ भइरहेको छ ।
नेपाल–भारत १८८० किलोमिटर खुला सीमाकै कारण एक देशका अपराधी अर्काे देशमा लुक्ने गरेका छन् । कानुनले बन्देज गरेको व्यापार लुकीछुपी हुने गरेको छ । गैरकानुनी तवरले औषधीजन्य नक्कली सामग्रीहरूको व्यापार पनि बढेको छ । बिनारोकतोक नक्कली औषधी नेपाल भित्रिँदा नेपालीहरूको स्वास्थ्यमा हानी भएको छ । भारतीय नक्कली सामान नेपाली बजारमा भित्रिँदा नेपाली व्यापारीहरूको व्यापारमा पनि हानी भएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नक्कली सीमास्तम्भ बनाई नेपाली भूमिमा अतिक्रमण गरिरहेको छ । नेपाली भूमिा पसेर नेपाली जनतालाई दुःख दिइरहेको छ । एसएसबीले नेपालको सम्पत्तिमाथि हस्तक्षेप गरिरहेको छ ।
अतः औद्योगिक सुरक्षाका नाममा सहर बजारमा रहेका सशस्त्र प्रहरीलाई सिमानामा खटाउनु आवश्यक छ । तमाम समस्याको समाधान भनेको नेपाल–भारत खुला सीमा बन्द गर्नु हो, बेलैमा सरकारको ध्यान जाओस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *