नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(अघिल्लो अङ्कमा हामीले बेलायती प्रम विन्सटन चर्चिल र रूसी मार्सल स्तालिनबीच आदानप्रदान भएका ६ वटा पत्रहरूको अध्ययन ग¥यौँ । ती पत्रमा मुख्यतया तीन विषयको चर्चा भएको थियो । एक, युद्धको क्रममा रूसी जहाजहरूको क्षति भएमा आफूले क्षतिपूर्ति दिने चर्चिलको प्रस्तावलाई स्तालिनले अस्वीकार गर्नुभएको थियो । दुई, चर्चिलले सोभियत सङ्घलाई सघाउन लिबिया कब्जा गर्ने र इरानलाई आपूर्ति मार्ग बनाउने कुरामा जोड दिए । यसको कारण के थियो भने चर्चिलले पश्चिमबाट जर्मनीमाथि आक्रमण गरेर दोस्रो मोर्चा खोल्ने कुराले बेलायतको मूल भूमि सङ्कटमा पर्ने देखेका थिए । तेस्रो, रुसलाई सैन्य सामग्री आपूर्ति गर्न बेलायत, अमेरिका र सोभियत सङ्घका प्रतिनिधिहरूबीच मस्कोमा त्रिपक्षीय सम्मेलन भएको विषयमा पनि यसअघिका पत्रहरूले जानकारी दिन्छन् । स्तालिनको पत्रले सो सम्मेलन सफल भएको देखाउँछ । पत्राचारको यस अङ्कसम्म आइपुग्दा बेलायत रक्षात्मकरूपमा बस्न चाहेको, अमेरिका हतियार व्यापारमा लागेको र सोभियत सङ्घ हिटलरको सेनाविरुद्ध मैदानमा जुझिरहेको देखिन्छ ।)
पत्र नं. १८
स्तालिनलाई चर्चिलको निजी सन्देश
अक्टोबर ३ को तपाईँको पत्रका लागि धन्यवाद !
मैले बारम्बार आर्केन्जेलमा आपूर्ति पठाउने कार्य तीव्र पार्न निर्देशन दिएको छु । यसबारे मैले यहाँलाई अक्टोबर ६ को आफ्नो टेलिग्राममा लेखेको थिएँ । ३ हजार ट्रकको तपाईँको माग तत्काल हाम्रो सैन्य जगेडाबाट पूर्ति गरिनेछ । तर, यो आपूर्तिले ट्याङ्क र विमानहरूको आपूर्ति रोकिनु हुँदैन । हामीले ह्यारीमेनजीसँग अमेरिकाको दीर्घकालीन कार्यक्रम तर्जुमा गर्न अनुरोध गरेका छौँ ।
पर्सियाको विषयमा के छ भने त्यहाँ हाम्रो स्वार्थ भनेको ः पहिलो, पूर्वी भेगमा घुसपैठ गरेको जर्मनीलाई तगारो हाल्नु हो र दोस्रो, क्यास्पियन तटसम्म आपूर्ति पैठारीको मार्ग बनाउनु हो । तपाईँले ५ वा ६ वटा रुसी डिभिजनहरूलाई युद्ध मोर्चामा लैजान त्यहाँबाट निकाल्न चाहनुभयो भने हामीले त्यहाँको आपूर्ति मार्ग व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी लिनेछौँ । मैले बेलायतको तर्फबाट आश्वस्त पार्छु, हामीले युद्धको क्रममा वा युद्धपछि रुसको कुनै पनि अधिकार मिचेर त्यहाँबाट कुनै फाइदा लिनेछैनौँ । जसरी पनि बढ्दो आन्तरिक अव्यवस्था पन्छाउन त्रिपक्षीय सन्धि तत्काल गर्नुपर्छ । अन्यथा, आपूर्ति मार्ग रोकिने खतरा आइलाग्न सक्छ । अक्टोबर १६ मा तिफलिसमा जनरल वेभल पुग्नेछन् । र, यहाँले चाहनुभएका जुनसुकै समस्या समाधानका लागि यहाँका जनरलहरूसँग कुनै पनि विषयमा छलफल गर्नेछन् । (सोभियत सङ्घ, बेलायत र इरानबीच १९४२, जनवरी २९ मा त्रिपक्षीय सन्धि भयो । सन्धिअनुसार सोभियत सङ्घ र बेलायतले इरानको भूअखण्डता, सार्वभौमिकता र राजनीतिक स्वाधीनतालाई सम्मान गर्ने र जर्मन एवम् अन्य देशको आक्रमणबाट इरानलाई जोगाउने भए । उनीहरूले इरानलाई आर्थिक सहायता दिने भए । इरानले मित्र शक्तिसँग सहकार्य गर्ने भयो । तीनवटै देशले चौथो पक्षसँग उक्त सन्धिसँग बाझिने अन्य सन्धि नगर्ने भए । यस सन्धिले इरानलाई हिटलरविरोधी खेमामा राख्यो ।)
तपाईँको भव्य र पराक्रमी सङ्घर्षलाई हामीले कसरी महसुस गरिरहेका छौँ भनी बताउन हामीसँग शब्द छैन । हाम्रा गतिविधिले यसको प्रमाण दिने हामीले आशा लिएका छौँ ।
१२ अक्टोबर १९४१
पत्र नं. १९
७ नोभेम्बर १९४१ मा प्राप्त (रुसमा)
स्तालिनलाई चर्चिलको निजी सन्देश
कुराको छिनोफानो गर्न र भविष्यको योजना बनाउन मैले जनरल वेभललाई तपाईँसँग भेट्न मस्को, कुइबिशेभ वा तिफलिस, यहाँलाई पायक पर्ने ठाउँमा पठाउन तयार छु । उनी भारत, पर्सिया र इराकका कमान्डर – इन – चीफ हुन् । यसबाहेक, सुदूर पूर्वका निम्ति तोकिएका नयाँ कमान्डर जनरल पागेट पनि जनरल वेभलसँगै आउनेछन् । जनरल पागेट यहाँको विषय हेर्ने व्यक्ति हुन् र हाम्रो हाइ कमान्डबारे पछिल्लो जानकारी उनीसँगै हुनेछ । यी दुवै अफिसरलाई हामी कुन अडान लिने, के सम्भव छ र कुन कुरा विवेकसम्मत होला भन्ने विषयमा ठीकठीक भन्न सक्नेछन् । उनीहरू लगभग १५ दिनमा तपाईँकहाँ पुग्नेछन् । के तपाईँ उनीहरूसँग भेट्न चाहनुहुन्छ ?
सेप्टेम्बर ६ को मेरो सन्देशमा हामीले फिनल्यान्डमाथि आक्रमण गर्दै छौँ भनी बताएका थियौँ । तैपनि के यतिबेला बेलायतले फिनल्यान्ड, हङ्गेरी र रोमानियामाथि युद्धको उद्घोष गर्नु मनासिब होला भन्ने तपाईँलाई लाग्छ ? यो खालि औपचारिकतामात्र हो किनभने उनीहरूका विरुद्ध हामीले पहिलेदेखि नै कडा नाकाबन्दी लगाएका छौँ । मेरो विचार भने यसको विपरीत छ किनभने पहिले त, अमेरिकामा फिनल्यान्डका धेरै साथीहरू छन् र यस तथ्यलाई ध्यान दिनु बुद्धिमानी नै हुन्छ । दोस्रो, रोमानिया र हङ्गेरीमा हाम्रा धेरै साथीहरू छन् । उनीहरूलाई हिटलरले हराएको छ र उनीहरूलाई मोहराको रूपमा प्रयोग गरेको छ । तर, पासा पल्टियो भने उनीहरू सजिलै हाम्रो पक्षमा आउनेछन् । बेलायती युद्ध उद्घोषले उनीहरूलाई एक ढिक्का बनाउनेछ र हिटलरलाई हामीविरुद्ध क्रियाशील विशाल युरोपेली गठबन्धनको नाइके देखाउनेछ । यसको पछाडि कृपया हामीले कुनै सद्भाव प्राप्त गर्न खोजेको रूपमा नबुझिदिनुहोला ¤ त्यसो भएमा हामीले उक्त कदममाथि शङ्का गर्नुपर्ने हुनसक्छ । अस्ट्रेलियाबाहेक हाम्रा सबै संरक्षित राज्यहरू यसमा अनिच्छुक छन् । तथापि, तपाईँलाई यो वास्तविक सहयोग हो भन्ने लाग्छ भने मैले यसलाई फेरि मन्त्रीपरिषद्मा लैजानेछु ।
आर्केन्जेलमा हामीले थुपारेका सामग्रीहरू लगत्तै लिइएको होला भन्ने मैले विश्वास लिएको छु । थोरै आपूर्ति पर्सियाबाट अहिले सुरु हुँदै छ । हामीले दुवैतिरबाट आपूर्ति बढाउन सक्दो गर्नेछौँ । ट्याङ्क र विमानहरू लिएर जाने हाम्रा प्राविधिकहरूबाट यी हतियारहरू राम्रो स्थितिमा तपाईँका मान्छेहरूका हातमा परून् भनी सुनिश्चित गर्नुहोला ¤ हाल कुइबिशेभको हाम्रो मिसन यी सबै मामिलाभन्दा अलगथलग छ । उनीहरू सघाउन मात्र चाहन्छन् । यी हतियारहरू जोखिम उठाएर पठाइँदै छ र उनीहरूले राम्रो मौका पाऊन् भन्नेमा हाम्रो चासो छ । तपाईँका तर्फबाट आदेशको खाँचो देखिन्छ ।
तपाईँले जस्तै मैले पनि हाम्रा तत्कालीन सैन्य योजनाबारे धेरै कुरा खोल्न सक्दिनँ । तर, हामीले हात बाँधेर बस्नेछैनौँ भन्ने निश्चित छ ।
जापानलाई चुप लगाउन हामीले हाम्रो पछिल्लो युद्धपोत ‘प्रिन्स अफ वेल्स’ पठाउँदै छौँ । यसले हिन्द महासागरमा जापानी जहाजहरूलाई समात्न र नष्ट गर्न सक्छ । हामीले एउटा शक्तिशाली लडाकु टोली समेत बनाउँदै छौँ । मैले राष्ट्रपति रुजवेल्टलाई जापानमाथि दबाब बढाउन र उनीहरूलाई तर्साउन भनिरहेको छु । यसले गर्दा भ्लादिभोस्तोक मार्ग बन्द रहनेछैन ।
म प्रशंसामा शब्दहरू खेर फाल्न चाहन्नँ किनभने यहाँले लर्ड बीभरब्रुक र ह्यारीमेनजीबाट तपाईँको लडाइँको बारेमा हामी के महसुस गर्छौँ भन्नेबारे पहिल्यै थाहा पाइसक्नुभएको छ । हाम्रो अथक आडभरोसामाथि पूर्ण विश्वास गर्नुहोला ¤ मेरो पत्रको विषयमा तपाईँको सीधा प्रतिक्रिया पाएँ भने खुसी हुनेछु ।
पत्र नं. २०
८ नोभेम्बर १९४१ मा प्रेषित
चर्चिललाई स्तालिनको निजी सन्देश
तपाईँको पत्र नोभेम्बर ७ मा मकहाँ पुग्यो ।
हामी स्पष्ट हुनुपर्छ भन्ने तपाईँको कुरामा म सहमत छु । यसबेला सोभियत सङ्घ र बेलायतबीचको सम्बन्धमा यो खट्किरहेको छ । अस्पष्टताका दुई कारण छन् । एक, हामी दुई देशबीच युद्धको उद्देश्य र युद्धपछिको शान्ति प्रक्रियाको योजनाबारे स्पष्ट समझदारी छैन । दुई, सोभियत सङ्घ र बेलायतबीच हिटलरविरुद्ध युरोपमा आपसी सैन्य सहयोगसम्बन्धी कुनै सन्धि भएको छैन । यी दुई मुख्य विषयमा एउटा समझदारीमा नपुगेसम्म अङ्ग्रेज–सोभियत सम्बन्धमा स्पष्टता आउनेछैन, अझ खुलेर भन्ने हो भने हामीबीच परस्पर विश्वास पनि हुनेछैन । सोभियत सङ्घलाई सैन्य आपूर्ति दिने सम्झौताको ठूलो महत्व छ । तर, त्यसले मात्र समस्या किनार लगाउँदैन । त्यसले हाम्रा दुई देशहरूबीचको सम्बन्धलाई सगोलमा समेट्दैन ।
जनरल वेभल र जनरल पागेटको बारेमा तपाईँले आफ्नो पत्रमा उल्लेख गर्नुभएको छ । उहाँहरू मस्को आउनुभएमा मैले उहाँहरूसँग भेट्न चाहनु र माथिका बुँदाबारे कुरा राख्नु स्वाभाविक छ । तथापि, दुई जनरलहरूको मिसनलाई सूचना र तपसिलका विषयहरूको जाँचबुझमा मात्र सीमित गर्ने हो भने उहाँहरूलाई आफ्नो कामबाट बाहिर राख्न वा यस्तो प्रकृतिको कुराकानीमा व्यस्त हुन मैले आफ्नो समय निकाल्ने भन्ने हुन सक्दैन ।
२. फिनल्यान्ड, हङ्गेरी र रोमानियामा बेलायतले युद्धको घोषणा गर्ने कुरा मलाई लाग्छ असह्य हो । सोभियत सरकारले यस विषयलाई बेलायत सरकारसामु गोप्य कूटनीतिक माध्यमबाट राख्यो । त्यसपछि सोभियत सङ्घले अपेक्षा नगरेको घटना भयो । बेलायत सरकारसँग सोभियत सरकारको अनुरोधबाट सुरु भएर अमेरिकी सरकारसँगको सम्बन्धबारे सञ्चारमाध्यममा मैत्रीपूर्ण र शत्रुतापूर्ण दुवै टीकाटिप्पणी आइरहेका छन् । सबैको चासो यसैमा छ । तैपनि बेलायत सरकारले हाम्रो प्रस्तावमा नकारात्मक धारणा सार्वजनिक गरेको छ । यसको कारण के हो ? के यसको उद्देश्य सोभियत सङ्घ र बेलायतबीच असमझदारी छ भनी देखाउनु हो ?
३. बेलायतबाट आर्केन्जेल पठाइएका हरेक हातहतियार समयमै यथास्थान आइपुगेको विषयमा ढुक्क हुनुहोला ¤ इरानबाट आउने सामग्रीको हकमा पनि ढुक्क बन्नुहोला ¤ सानै विषय भए पनि मैले भन्नैपर्छ ट्याङ्क, बन्दुक र विमानहरू राम्ररी प्याक गरिएका छैनन् । बन्दुकका विभिन्न भागहरू अलगअलग जहाजमा आइरहेका छन् । विमानहरू पनि बिग्रेको स्थितिमा आइरहेका छन् ।
पत्र नं. २१
२२ नोभेम्बर १९४१ मा प्राप्त
स्तालिनलाई चर्चिलको निजी सन्देश
यहाँको पत्रका लागि धन्यवाद ¤ युद्धको प्रारम्भमा मैले राष्ट्रपति रुजवेल्टसँग निजी पत्राचार गर्न सुरु गरेँ । यसले गर्दा हामीबीच बलियो समझदारी बनेको छ, जसले कामहरू द्रुत गतिमा भए । मेरो एउटै आकाङ्क्षा भनेको मित्रता र विश्वासको समान आधारमा यहाँसँग काम गर्नु हो ।
फिनल्यान्डको विषयमा ः मैले सेप्टेम्बर ५ मा पठाउने बेला मन्त्रीपरिषद्लाई फिनल्यान्डमाथि आक्रमण गर्ने विषयमा घोत्लिन सल्लाह दिएको थिएँ । सूचनाहरू प्राप्त गरेपछि फिनल्यान्डलाई लडाइँ रोक्न बाध्य पारियो र उनीहरूलाई रोकेर घर फर्काउन सकियो भने रुस र हाम्रो साझा उद्देश्यको निम्ति सहायक बनाउन सकिनेछ भन्ने विचार आयो । उनीहरूमाथि औपचारिक युद्धको घोषणा गरेर ध्रुव शक्तिहरूसहितको दोषी ताँतीमा राख्यौँ र अन्तिमसम्म युद्ध लड्न बाध्य पा¥यौँ भने त्यसो हुनेछैन । तथापि, उनीहरू अर्को १५ दिनसम्ममा रोकिएनन् र तपाईँले उनीहरूमाथि युद्धको घोषणा गर्नुपर्छ भन्नुहुन्छ भने हामीले त्यसै गर्नेछौँ । कुरा प्रकाशमा ल्याउने विषय गलत छ भन्ने तपाईँको विचारमा सहमत छु । निश्चय नै हामी त्यसमा दोषी थिएनौँ ।
लिबियामा हाम्रो आक्रमणले हामीले आशा गरेझैँ जर्मन र इटालियाली सेनाहरूलाई नष्ट ग¥यो भने युद्धको विषयमा अझ स्वतन्त्र ढङ्गले बृहत् अध्ययन गर्न सम्भव हुनेछ । अहिलेसम्म हाम्रो सरकारले त्यस्तो छुट पाएको छैन । यस उद्देश्यका निम्ति छिट्टै हामीले परराष्ट्र सचिव इडनलाई तपाईँसँग भेट्न भूमध्यसागर हुँदै मस्को वा अन्य स्थानमा पठाउन इच्छुक छौँ । उनलाई तपाईँ चिन्नुहुन्छ । उनीसँगै उच्च सैन्य र अन्य विज्ञहरू हुनेछन् र युद्धका सबै पक्षबारे छलफल गर्न उनी सक्षम हुनेछन् । ककेससमा सेना पठाउने मात्र होइन दक्षिणमा सेनाको लडाइँको घेरा पनि यस छलफलभित्र पर्न सक्छ । हाम्रो जहाजी स्रोतसाधन वा सञ्चार सञ्जालले धेरै मान्छेलाई काममा लगाउन बाधा दिन्छन् । तैपनि तपाईँले सेना र पर्सियाको आपूर्तिबीच छनोट गर्नुपर्नेछ ।
तपाईँ युद्धपछिको शान्तिको व्यवस्थापनबारे छलफल गर्न इच्छुक हुनुहुन्छ भन्ने मैले ख्याल राखेको छु । हाम्रो चाहना भनेको युद्धमा हाम्रो बलबुताले भ्याएसम्म अन्तिमसम्म तपाईँसँग मिलेर तथा निरन्तर तपाईँको सरसल्लाह लिएर लड्ने हो । युद्ध जितिन्छ भन्नेमा मलाई विश्वास छ र विजयपछि सोभियत सङ्घ, बेलायत र अमेरिका तीन प्रधान मित्र एवम् नाजीवादलाई हराउने पक्षको रूपमा विजयको टेबलमा भेट्नेछन् । स्वाभाविकरूपमा पहिलो उद्देश्य भनेको जर्मनी र खासगरी प्रसियालाई तेस्रो युद्ध सुरु गर्नबाट रोक्नु हुनेछ । रुस कम्युनिस्ट राज्य हो तर बेलायत र अमेरिका होइनन् । यस तथ्यले हाम्रो परस्पर सुरक्षा र न्यायोचित स्वार्थहरूको निम्ति राम्रो योजना बनाउन बाधा दिनेछैन । परराष्ट्र सचिवले यी समग्र विषयमा तपाईँसँग छलफल गर्नेछन् । मस्को र लेनिनग्रादको तपाईँको प्रतिकार र सम्पूर्ण रुसी सीमामा आक्रमणकारीहरूविरुद्धको सानदार प्रतिरोधले नाजी शासनको भित्री संरचनामाथि ठूलो चोट पु¥याउन सक्छ । तर, हामीले यस्तो भाग्यमा भर पर्नुहुँदैन बरु सक्दो शक्ति र मुख्य ध्यान दिइरहनुपर्छ ।
पत्र नं. २२
२३ नोभेम्बर १९४१ मा प्रेषित
चर्चिललाई स्तालिनको निजी सन्देश
तपाईँको सन्देशको लागि धन्यवाद !
यहाँले आफ्नो सन्देशमा दर्शाउनुभएको आकाङ्क्षालाई म हार्दिक स्वागत गर्छु । यहाँले सहकार्य र विश्वासका आधारमा निजी पत्राचारमार्फत सँगै काम गर्न चाहनुभएको छ । यसले हाम्रो साझा उद्देश्यको सफलतामा योगदान दिनेछ भन्ने मेरो आशा छ ।
फिनल्यान्डको हकमा कम्तीमा यसबेला उसले सैन्य अपरेसनहरू बन्द गरोस् र ऊ युद्धबाट पछि हटोस् भन्नेबाहेक सोभियत सङ्घको अर्को सुझाव छैन । तपाईँले भनेको छोटो समयमा फिनल्यान्डले त्यसो गरेन भने फिनल्यान्डविरुद्ध बेलायती युद्ध उद्घोष गर्नु जायज र आवश्यक होला ! अन्यथा हिटलर र उसको उत्सुक मित्रमन्डलीका विरुद्ध हामी एकजुट छैनौँ भन्ने छाप पर्न सक्छ । यसले गर्दा हिटलरी आक्रमणमा सहायकहरूले झन् सुरक्षितरूपले आफ्ना कुकार्य गर्न सक्छन् । हङ्गेरी र रोमानियाको हकमा हामीले पर्खिनुपर्ला । (डिसेम्बर ६, १९४१ मा बेलायतले फिनल्यान्ड, हङ्गेरी र रोमानियामाथि युद्धको उद्घोष ग¥यो ।)
तपाईँका विदेश सचिव इडनजीलाई छिट्टै सोभियत सङ्घ पठाउने तपाईँको प्रस्तावलाई म समर्थन गर्छु । मोर्चामा सोभियत र बेलायती सेनाले संयुक्त अपरेसन गर्ने र कामलाई तीव्र पार्ने सम्झौतासम्बन्धी छलफल र सहमति गर्नु अति महत्वपूर्ण हुनेछ । युद्धपछिको शान्ति व्यवस्थापनबारे छलफल गर्नु र योजना बुन्नुको उद्देश्य भनेकै जर्मनी वा प्रसियालाई फेरि शान्ति भङ्ग गर्ने र विभिन्न राष्ट्रलाई रगतको आहालमा डुबाउने कार्यबाट रोक्नु नै हो ।
सोभियत सङ्घ र बेलायत एवम् अमेरिकाको राजनीतिक व्यवस्थामा भएका फरकले हाम्रो परस्पर सुरक्षा र न्यायोचित स्वार्थसम्बन्धी आधारभूत समस्याहरूको समाधानमा हलो अड्काउनुहुँदैन भन्नेमा म पनि सहमत छु । यस विषयमा कुनै नभनिएका कुरा वा शङ्काहरू छन् भने पनि तिनलाई इडनजीसँगको वार्तालापबाट हटाइनेछ ।
लिबियामाथिको बेलायती आक्रमणको सुरुआती सफलताको निम्ति मेरो बधाई स्वीकार्नुहोला !
सोभियत सैनिकहरू अझै पनि हिटलरको सेनाविरुद्ध कडा सङ्घर्षमा छन् । तैपनि, विविध जटिलताबीच हाम्रा सैनिकहरूको प्रतिकार बढ्दै छ र यसरी नै अघि बढ्नेछ । शत्रुलाई ध्वस्त पार्ने हाम्रो सङ्कल्प अटल छ ।
Leave a Reply