भर्खरै :

अमर सहिदहरूको सङ्क्षिप्त परिचय

(आज फागुन ८ । तत्कालीन पञ्चायती निरङ्कुश शासन व्यवस्थाविरुद्ध २०४६ सालमा जनआन्दोलनको शङ्खघोष भएको दिन । तीस वर्ष लामो पञ्चायती निरङ्कुशले उकुसमुकुस भएका नेपाली जनताले प्रजातन्त्रको लागि निर्णायक सङ्घर्ष थालनी गरेको दिन । हरेक न्यायपूर्ण आन्दोलनमा जस्तै २०४६ सालको फागुन ८ को दिन पनि भक्तपुरमा पञ्चायती शासनविरुद्धको जनसङ्घर्ष सुरु भयो । २०४५ सालको भक्तपुर काण्डमा फसाइएका तत्कालीन नेमकिसंका अधिकांश नेता कार्यकर्ता या त जेलजीवन बिताइरहेका थिए अथवा भूमिगत जीवन बिताइरहेका थिए । जनताका आँखाका नानी सरहका नेता–कार्यकर्तालाई पञ्चायती व्यवस्थाले झूटा मुद्दामा फसाएर दुःख दिइरहेको जनतालाई थाहा थियो । पञ्चायती व्यवस्थाको अवसान नहुँदासम्म आफ्ना प्रिय नेता कार्यकर्ताको रिहाइ सम्भव नभएको निष्कर्षका साथ लामो समयदेखि कुण्ठित आक्रोशलाई अभिव्यक्ति गर्ने माध्यम बनेको थियो–फागुन ८ को जुलुस । तर, गोलीकै भरमा जनतालाई दबाउन सकिने मानसिकता बोकेका पञ्चहरूले जनताको आन्दोलन दबाउने दुष्प्रयास गरे । भक्तपुरमा आन्दोलनकारी दबाउन चलाएको गोली लागी दुई योद्धाले सहादत प्राप्त गर्नुका साथै सयौँ योद्धा घाइते भए । पञ्चायती व्यवस्था ढाल्न भएको आन्दोलनकै क्रममा भक्तपुरका अरू चार जना युवाहरूले पनि सहादत्त प्राप्त गरे । त्यो बलिदानकै कारण आन्दोलनको रापमा तीस वर्ष जरा गाडेर बसेको पञ्चायत ढल्यो । जनआन्दोलन सफल भयो । आफ्नो जीवन होमेका योद्धाहरूको सम्मानमा हरेक फागुन ८ लाई जनताले सहिद दिवसको रूपमा मनाउँदै आएका छन् ।
समय बदलियो । हिजो आन्दोलन दबाउन गोली चलाउन र जनतालाई दबाउन षड्यन्त्र गर्नेहरू आज सत्तासीन पार्टीभित्रै ओत लागेर आफ्नो पाप पखाल्ने प्रयास गरिरहेका छन् । हिजो पञ्चायतको पक्षपोषण गर्ने शक्ति नै आज शासक दलमा बसेर फेरि पनि परिवर्तनकामी जनतालाई दबाउन उद्यत्त छन् । उनीहरूका पार्टीका नाम फेरिए, तर जनता दबाउने हिजोको सामन्ती चिन्तनमा अझै परिवर्तन भएको छैन ।
सहिद दिवसको अवसरमा प्रस्तुत छ, पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा आफ्नो जीवन बलिदान गरी समाज र जनतालाई आदर्शको बाटो देखाउने अमर सहिदहरूको सङ्क्षिप्त जीवनी–सं)
सहिद कृष्णराम दुवाल
सहिद कृष्णराम दुवालको जन्म विसं २०२३ असार ७ गते गोल्मढी टोलको एक किसान परिवारमा भएको थियो । पिता स्व. पूर्णबहादुर र माता कृष्णमायाका कान्छा छोरा स्व. दुवालका दुई दाजु, एक भाइ र एक बहिनी छन् । उहाँको पिताको २०४७ असारमा निधन भएको थियो ।
स्व. दुवाल विवाहित हुनुहुन्थ्यो । उहाँको धर्मपत्नी मैयाँ दुवाल हुनुहुन्छ ।
घरको नाजुक अवस्थाको कारण ९–१० वर्षको उमेरमा अध्ययन सुरु गर्नुभएका स्व. दुवालले आफ्नो अध्ययन ४ कक्षाभन्दा माथि लानसक्नुभएन । अध्ययन गर्ने ठूलो अभिलाषा गरिबीको कारण छोड्नु परे पनि पछि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले सञ्चालन गरेको रात्री कक्षाहरूमा अध्ययन गर्नुभयो । यसरी उहाँ २०४० सालतिर नेक्राविसङ्घ भक्तपुर नगरको ८ वडा (हालको ५ वडा) को प्रारम्भिक सदस्य बन्नुभएको थियो ।
स्व. दुवाल छरछिमेकलाई कुनै समस्या आईपर्दा सहयोग गर्न अघि सर्ने गर्नुहुन्थ्यो । कुनै बिरामीलाई अस्पताल लैजान होस् या सभा, सम्मेलन हुँदा पानी पिलाउने अथवा छरछिमेक आफन्तलाई खेती काममा सहयोग गर्न उहाँ पछि नपर्ने स्वभावको हुनुहुन्थ्यो ।
२०४५ भदौ ५ गतेको भूकम्पमा उहाँको घर पनि भत्केको थियो । त्यसबेला उहाँ आफ्नो घरको सामान तह लागिहाल्यो भनेर बस्नुभएन, अन्य पीडितहरूलाई मद्दत गर्न पुग्नुभयो ।
तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका विभिन्न जनवर्गीय सङ्गठनहरूबाट आयोजना गरिने सभा जुलुसमा उहाँको उपस्थिति नियमितझैँ रहन्थ्यो । त्यस्तै चोटा बैठकहरू राख्न उहाँ सर्कुलर गर्न जाने गर्नुहुन्थ्यो ।
२०४६ फागुन ८ गते उहाँलाई खेतमा जाने आवश्यक काम थियो । खेतमा लैजानुपर्ने आवश्यक सामान खर्पनमा ठीक पारिरहँदा उहाँ जुलुस आएको खबर पाउनासाथ जुलुसमा भाग लिन जानुभयो । तर, त्यो खर्पन बोक्न उहाँ फर्कन पाउनुभएन । जनहत्यारा पञ्चायती सरकारले विषालु डमडम गोलीद्वारा साकोठानिर उहाँको निर्मम हत्या ग¥यो ।
फुर्सदको बेला क्यारेम खेल्न मनपराउनु हुने स्व. दुवाल परम्परागत नाचगानमा भाग लिने गर्नुहुन्थ्यो । देवीनाचमा उहाँ धेरै पटक नाच्नुभएको थियो । यसबाहेक उहाँ साथीभाइसँग देश विदेशका घटनाहरूबारे कुराकानी गर्न रुचाउनुहुन्थ्यो ।
देशमा जनआन्दोलनको तयारी हुनथाल्दा आफ्ना आमा र ससुराली (पनौती) मा प्रजातन्त्र आएपछि यो हुनेछ, त्यो हुनेछ भनी आफ्नै ढङ्गले प्रचार कार्यमा लाग्नुभएका स्व. दुवालले प्रजातन्त्र हाम्रो लागि छोडेर जानुभयो, उहाँले देख्न पाउनुभएन । तर, जनहत्याराहरूलाई कारबाही गर्नुको साटो संरक्षण र सम्मान दिइएबाट अमर सहिदले देखेको प्रजातन्त्रको सपना सायद यस्तो थिएन ।
सहिद राजकुमार सुवाल
सहिद राजकुमार सुवालको जन्म विसं २०२५ माघ १० गते भक्तपुरको ब्यासी टोलको एक किसान परिवारमा भएको थियो । पिता रत्नकुमार र माता राजमायाका जेठो छोरा स्व. सुवाल विवाहित हुनुहुन्थ्यो । उहाँले धर्मपत्नी र ८ महिनाकी छोरीलाई छोडेर जानुभएको थियो । उहाँका ५ बहिनी र एक भाइ छन् ।
स्व. सुवालले ७ वर्षको उमेरमा अर्थात् २०३२ सालमा आफ्नो प्राथमिक शिक्षा बासु निमाविबाट सुरु गर्नुभएको थियो । २०३९ माघ ५ देखि प्रभात माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा ग्रहण गरी २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । त्यही वर्ष उहाँले नवदुर्गा बहुमुखी क्याम्पसमा कानुन अध्ययनको निम्ति प्रवेश हुनुभयो र पछि २०४५ सालमा भक्तपुर बहुमुखी क्याम्पसमा प्रवेश भई मानविकी सङ्कायको प्रथम वर्षको परीक्षा पनि समाप्त गरिसक्नुभएको थियो । तर, परीक्षाफल सुन्न पाउनुभएन ।
विसं २०४२ सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा सक्रिय सदस्य रहनुभएका स्व. सुवाल विद्यार्थी गतिविधिमा र नेपाल मजदुर किसान सङ्गठनको आह्वानमा भएका विभिन्न कार्यक्रम र सङ्घर्षहरूमा निष्ठापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्थ्यो । पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ षड्यन्त्रअन्तर्गत गुण्डाराजको समयमा पनि उहाँ पार्टीको नीति निर्देशनअनुसार सङ्घर्षको गतिविधिमा निडरताका साथ लाग्नुभयो । राजनीतिक काम भएसम्म घरको काममा ध्यान नदिने उहाँको स्वभाव थियो । ठूलोलाई आदर र सानालाई माया गर्ने स्व. सुवाल मिलनसार हुनुहुन्थ्यो । सैद्धान्तिक वादविवादमा उहाँ अडान लिने प्रवृत्तिको हुनुहुन्थ्यो ।
जनआन्दोलनको तयारीमा सक्रियतापूर्वक लाग्नुभएका स्व. सुवालले शत्रुको अगाडि झुकेर होइन हाँक दिएर वीरगति प्राप्त गर्नुभएको थियो । फागुन ८ गतेको शान्तिपूर्ण एवम् निहत्था जुलुसमाथि टौमढीमा गोली वर्षाएपछि पीठ फर्काएर भाग्नुभएन, बरु छाती फर्काएर पञ्चायती शासकहरूलाई उहाँले चुनौती दिनुभएको थियो । बायाँ छातीमा गोली लागेका घाइते राजकुमारलाई बिहान १० बजेतिर भक्तपुर अस्पतालबाट वीर अस्पताल चलान गरिएको थियो । तर, साँझ साढे पाँच बजेतिर मात्र अपरेसन गरियो । समयमै उपचारको बन्दोबस्त भएको भए सायद उहाँ बच्नुहुन्थ्यो । राति २ बजेतिर उहाँले वीरगति प्राप्त गर्नुभयो । वीरगति प्राप्त गर्ने बेलामा उहाँको गोजीमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घसम्बन्धी कागजात र नेपाल मानव अधिकार सङ्गठनका साधारण सदस्यताको पाय्ड थियो ।
घाइते भई अस्पतालको खाटमा सुतिरहँदा पनि उहाँले आप्mना आफन्तलाई आफू फेरि जुलुसमा जानुपर्छ, त्यसैले छिटो उपचार गरी निको पारिदिन आग्रह गर्दै हुनुहुन्थ्यो । हो, अमर सहिद राजकुमारको आन्दोलनको सपना पूरा भएको छैन, त्यो आन्दोलनको जिम्मा आजका युवाहरूको काँधमा सरेको छ ।
सहिद हरिकृष्ण भुजू
सहिद हरिकृष्ण भुजूको जन्म भक्तपुरको वंशगोपाल टोलमा २०२७ फागुन २८ गते भएको थियो । पिता हरिभक्त भुजू र माता कृष्णमाया भुजूले आ–आफ्नो नामको अगाडिका शब्दहरू हरि र कृष्णको समासले नामकरण गरिएका हरिकृष्णका एक भाइ र एक बहिनी हुनुहुन्छ । हाल उहाँहरू ट्रलिबस पार्क, कटुञ्जेमा बस्नुहुन्छ । उहाँको प्राथमिक शिक्षा काभ्रेको दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयबाट सुरु भएको थियो । माध्यमिक शिक्षा उहाँले भक्तपुरको विद्यार्थी निकेतन माविमा हासिल गर्नुभयो र एसएलसी उत्तीर्ण गर्नुभयो ।
माध्यमिक शिक्षा उत्तीर्ण भएपछि उहाँ व्यापार पेशामा लाग्नुभयो । फागुन ८ गते वीरगति प्राप्त गर्नुभएको दिन उहाँको गोजीमा ७०–८० हजार रकम भएको कुरा उहाँका परिवारबाट थाहा भएको छ ।
राजनैतिकरूपले उहाँ नेपाली काङ्ग्रेसका समर्थक हुनुहुन्थ्यो ।
बगैँचा सफा गर्न निकै रुचाउनुहुने अविवाहित स्व. भुजू परिवारमा प्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई कुकुर पाल्नमा पनि सोख थियो । उहाँ भलिबल खेल्नुहुन्थ्यो । उहाँले विद्यार्थी जीवनमा विभिन्न प्रतियोगितामा भाग लिनुभएको थियो ।
फागुन ८ गते शान्तिपूर्ण जुलुसमाथि टौमढीमा वर्षाएको डमडम गोलीद्वारा उहाँले वीरगति प्राप्त गर्नुभएको थियो ।
सहिद निर्मलकुमार शाक्य
सहिद निर्मलकुमार शाक्यको जन्म २०२२ असार १५ गते भक्तपुरको बेखाल, क्वाठडौँ टोलमा भएको थियो । (त्यही घरमा सहिद पुष्परत्न शाक्यको पनि जन्म भएको थियो ।) पिता ज्योतिबज्र शाक्य र माता असलमाया शाक्यका एक्लो छोरो स्व. शाक्यका एक बहिनी हुनुहुन्छ । उहाँहरू भक्तपुर सुकुलढोकामा बस्नुहुन्छ ।
उहाँले श्री पद्म हाइस्कूलबाट माध्यमिक शिक्षा पूरा गर्नुभएपछि भक्तपुर क्याम्पसमा दोस्रो वर्षको परीक्षा दिइसक्नुभएको थियो ।
केही वर्षदेखि राजनैतिक विषयतर्फ बढी रुचि लिन थाल्नुभएका स्व. शाक्य साथीभाइले भनेको कुरामा हार्न नसक्ने स्वभावको हुनुहुन्थ्यो ।
जिम्नास्टिक खेलका राष्ट्रिय खेलाडी भई थुप्रै प्रमाणपत्रहरू प्राप्त गरिसक्नुभएका स्व. शाक्यलाई पन्छीमा विशेषगरी परेवा पाल्ने सोख थियो । उहाँले आफ्नो युवा मनलाई शब्दमा पोखेर केही गीतहरू पनि रचना गर्नुभएको थियो ।
काठमाडौँ उपत्यकामा हुने विविध सभा सम्मेलनमा बरोबर स्रोता बन्न पुग्ने स्व. शाक्यलाई जनआन्दोलनको बेला जुलुस आदिमा भाग नलिन पिताले सम्झाउने गरेको तर फागुन ८ गते बिहानको खाना खाएपछि उहाँ सुपारी किन्न जाने भनी हत्यारा पञ्चायती सरकारसँग सङ्घर्ष गरिरहेका जनतालाई साथ दिन पुग्नुभयो । त्यसदिन बिहानको शान्तिपूर्ण जुलुसमाथि पञ्चायती सरकारले डमडम गोली वर्षाएर आन्दोलनकारीहरूको निर्मम हत्या र घाइते बनाएपछि जनता र प्रहरी–सेनामाझ मुठभेड भइरहेको थियो । पञ्चायती व्यवस्थाप्रतिको आफ्नो आक्रोशलाई ढुङ्गा इँटामा समाहित गर्दै प्रशासनसँग सङ्घर्ष गर्दै रहँदा कायरतापूर्वक लुकेर हानेको गोलीबाट उहाँले खिछेँमा वीरगति प्राप्त गर्नुभयो ।
भारतको दिल्ली, कलकत्ता आदि सहरहरूको भ्रमण गर्नुभएका स्व. शाक्य अविवाहित हुनुहुन्थ्यो ।
सहिद महेश श्रेष्ठ
जनआन्दोलनको सुरुदेखि नै विभिन्न कार्यक्रममा भाग लिँदै आउनुभएका महेश श्रेष्ठलाई चैत २४ गते गोली लाग्यो । उहाँले उक्त दिन कीर्तिपुरबाट आएको विशाल जुलुसलाई नेतृत्व गरिरहनुभएको थियो । जुलुस रत्नपार्कतिर पस्नु थियो । तर, प्रहरीसँग रानीपोखरी र राष्ट्रिय नाचघरको बीच कमलाक्षीमा भिडन्त सुरु भयो । त्यही समयमा प्रहरीले गोली चलाए । त्यसमध्येको एउटा गोलीले महेश श्रेष्ठलाई लडायो ।
त्यसको एक महिना ६ दिनपछि वीर अस्पतालमा उपचार गर्दागर्दै उहाँले वीरगति प्राप्त गर्नुभयो । टाउकोको बायाँपट्टि लागेको गोलीको पीडा कष्टपूर्वक सहनु परेको थियो । उहाँले अस्पतालमा वीरगति प्राप्त गर्नुभएको थियो । २०२४ फागुन ५ गते भक्तपुर बोलाछेँमा जन्मनुभएका सहिद महेश श्रेष्ठको आमाको नाम गंगादेवी हो । उहाँको पिताको नाम वर्णगोपाल श्रेष्ठ हो । उहाँका दुई दाजुहरू हुनुहुन्छ ।
एसएलसीसम्मको अध्ययनपछि उहाँ एउटा साधारण इलेक्ट्रीसियनको रूपमा काम गर्दै रहनुभएको थियो । २०४६ मा रचना श्रेष्ठसँग उहाँको विवाह भएको थियो । महेश श्रेष्ठ २०४७ साल वैशाख ३० गते यस धर्तीबाट बिदा लिनुभयो ।
जनताले उहाँको अन्त्येष्टिमा श्रद्धाञ्जली अर्पण गरे । वैशाख ३० गते बेलुकी ५ बजेबाट सुरु भएको उक्त शवयात्रामा तत्कालीन अन्तरिम सरकारका गृहमन्त्रीलगायत विभिन्न राजनीतिक व्यक्तिको उपस्थिति रहेको थियो । यसरी एक वीर सहिद महेश श्रेष्ठले आफ्नो अमूल्य जीवन प्रजातन्त्रको बहालीको लागि अर्पण गर्नुभयो ।
सहिद पुष्परत्न शाक्य
सहिद पुष्परत्न शाक्यको जन्म २०१९ भदौ १ गते भक्तपुरको क्वाठडौँ बेखाल टोलमा भएको थियो । (त्यही घरमा सहिद निर्मलकुमार शाक्यको पनि जन्म भएको थियो ।) पिता मुक्तिरत्न शाक्य र माता न्हुछेमाया शाक्यका एक्लो छोरा स्व. पुष्परत्न विवाहित हुनुहुन्थ्यो । उहाँका धर्मपत्नी विजयलक्ष्मी शाक्य र छोरा पुजनरत्न शाक्य हुनुहुन्छ ।
उहाँले आफ्नो १० कक्षासम्मको शिक्षा भक्तपुरको श्री पद्म हाइस्कूलमा अध्ययन गर्नुभएको थियो । एसएलसीको परीक्षा दिँदै हुनुहुन्थ्यो ।
उहाँले आफ्नो जीविकोपार्जनको माध्यम सुनार पेशाबाट सुरु गर्नुभएको थियो । तर, पछि उहाँ सिलाइमा लाग्नुभयो र नयाँ नयाँ डिजाइनका ज्याकेटहरू तयार गर्नमा ध्यान दिनुभयो ।
नेपाल मजदुर किसान सङ्गठनसँग विधिवत आबद्ध नरहे पनि उहाँ सङ्गठनको क्रियाकलापमा सहानुभूति राख्नुहुन्थ्यो । स्व. शाक्यले स्थानीय पुस्तकालय स्थापनामा योगदान दिनुभएको थियो । पत्रपत्रिका र कथाकहानी पढ्न रुचाउनुहुने उहाँ आफू काम गर्ने काठमाडौँ नयाँ सडकस्थित न्यू ह्यूमेन फिट टेलरका सहकर्मीहरूसँग नेमकिसंसम्बन्धी बढी कुराकानी गर्ने गर्नुहुन्थ्यो ।
फुर्सदको बेला चेस खेल्न मनपराउनु हुने स्व. शाक्य साथीभाइबीच हाँसोठट्टा गर्नुहुन्थ्यो ।
जनआन्दोलन सुरु भएपछि पसलहरू बन्द गराउन, बत्ती निभाउन, आन्दोलनबारे चर्चा परिचर्चा चलाएर सघाउन र आन्दोलनसम्बन्धी पर्चाहरू घरका परिवारहरूलाई समेत पढेर सुनाउनुहुने स्व. शाक्य आफ्नी धर्मपत्नीलाई पाठपूजा गर्दा पञ्चायती व्यवस्थाको अन्त्यको पनि कामना गर्नुपर्छ भनी पञ्चायती शासनप्रतिको आफ्नो आक्रोश व्यक्त गर्नुहुन्थ्यो ।
काठमाडौँमा कफ्र्यु घोषणा भएपछि उहाँ घर फर्कन पाउनुभएन । चैत २६ गते राति निर्दलको अन्त्य भएको घोषणा हुनासाथ प्रफुल्लित भएर ‘बहुदल जिन्दावाद’ को नाराले पञ्चायती कालरात्रीलाई च्यात्न निस्कनुभएका स्व. शाक्यलाई दिउँल (भेडासिंह) मा शाही सेनाको गोली लाग्यो । यसरी बहुदल व्यवस्था पुनः बहालीपछि वीरगति प्राप्त गर्नेहरूमा स्व. शाक्य पनि अग्रणी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *