भर्खरै :

पेट्रोलियम पदार्थको मूल्यवृद्धि महँगी बढाउने कारण नबनोस्

नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको थयो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४, डिजेल ९७, मट्टीतेल ९७ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । नेपाल आयल निगमले पटक – पटक गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको छ । निगमले यसमा स्वचालित मूल्य प्रणालीको दुहाइ दिने गरेको छ । अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्यवृद्धि भएकोले निगमले पनि मूल्यवृद्धि गर्नु परेको कारण पनि दिने गरिन्छ । तर, नेपाली जनताले बुझ्न नसकेको कुरा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा भने नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको अनुभूति नेपाली जनताले गर्न पाएका छैनन् ।
निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको केही दिनपछि नै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको घोषणा गरिसकेको छ । हवाई इन्धनमा २ रुपैयाँ मूल्यवृद्धि हुँदा हवाईभाडा ९० रुपैयाँले बढाइएको छ । अब केही दिनपछि नै सार्वजनिक यातायातको भाडा बढाउने निर्णय यातायात व्यवसायीको तर्फबाट भएमा आश्चर्य हुनेछैन । हुन त नेपालमा सार्वजनिक यातायातको भाडा पहिले नै महँगो नभएको होइन । यातायात वा ढुवानी भाडा बढेको बहाना बनाएर व्यापारीले उपभोग्य वस्तुहरूको मूल्य अझै नबढाउलान् भन्न सकिन्न । पेट्रोलियम पदार्थको मूल्यवृद्धि महँगी बढाउने कारण नबनोस् । सरकारले यसमा ध्यान दिनैपर्छ । नेपालमा बिक्री भइरहेको पेट्रोलियम पदार्थको मूल्यमा सरकारले लगाएको राजस्व निकै बढी छ । सरकारले राजस्वको दर कम गरेर पनि इन्धनको मूल्यलाई स्थिर राख्नुपर्छ । इन्धनको मूल्य स्थिर भएमा त्यसैको बहानामा अधिकरूपमा बढ्ने महँगी बढ्न नदिइकन नियन्त्रणमा राख्न सकिने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *