नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, १ असार । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम बिहीबारबाट सुरू भएको छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छें (रोहित) ले सदस्यता दर्ता शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेमकिपाका अध्यक्ष रोहितले समाजवादी देशमा स्वास्थ्य सेवा निःशुल्क हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले बीमा प्रभावकारी बनाउन सरकारी अस्पतालमा राम्रो उपचारको सुविधा हुनुपर्ने विचार राख्नुभयो । उहाँले सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रू. दुई हजार ५०० बीमा शुल्क भुक्तानी गरेपछि रू. ५० हजारसम्मको उपचार सेवा पाउनेछन् ।
पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रू .४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रू. १० हजार उपचार सेवा थपिने छ । पाँचजनासम्मको लागि रू. ५० हजार अनिवार्य गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कार्यकारी निर्देशक डा. गुणराज लोहनीका अनुसार सो कार्यक्रमको अधिकतम सीमा रू. एक लाख तोकिएको छ । सरकारले निःशुल्क तोकेका औषधि र उपचार सेवा भने यसमा समावेश नहुने उहाँले बताउनुभयो ।
स्वास्थ्य बीमा गर्नेहरूले हाललाई भक्तपुरका ६ वटा स्वास्थ्य संस्थाबाट सेवा पाउन सक्नेछन् । जसमा भक्तपुर अस्पताल, भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुर थिमी नपाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल रहेका छन् ।
त्यस्तै चाँगुनारायण नपास्थित चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नपास्थित दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बीमा गरेकाहरुले उपचार सेवा पाउनेछन् ।
आर्थिक वर्ष २०७२/७३ मा कैलाली, बागलुङ र इलामबाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रम बिहीबारबाट भक्तपुरमा पनि सञ्चालनमा आएको हो । बिहीबारबाट चितवन, जुम्ला र तनहुँमा पनि सो कार्यक्रम सुरू भएको हो । असारमा जाजरकोट, मकवानपुर र गोरखामा कार्यक्रम सुरू हुँदैछ । हालसम्म ८४ हजारभन्दा बढीले बीमा गरेका छन् भने करिब २५ प्रतिशतले सेवा लिइसकेका छन् ।
Leave a Reply