भर्खरै :

चीनमा चरम गरिबी उन्मूलन

पेइचिङ, २५ फेब्रुअरी । छिमेकी देश चीन निरपेक्ष गरिबीबाट मुक्त देश बनेको छ । बिहीबार चीनको राजधानी पेइचिङमा आयोजित एक विशेष समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि चिनफिङले गरिबीविरुद्धको लडाइँमा ‘पूर्ण विजय’ को घोषणा गर्नुभएको हो ।
“संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएको देशमा निरपेक्ष गरिबी उन्मूलन भएको छ”, सिले घोषणा गर्नुभयो ।
सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापना भएको एक शताब्दी पुगेको अवसरमा सन् २०२१ मा चीनलाई निरपेक्ष गरिबीबाट मुक्त गरी मध्यम हिसाबले समृद्ध समाज बनाउने घोषणा गरेको थियो । बिहीबारको घोषणाले सो लक्ष्य प्राप्तिको महत्वपूर्ण आधारशिला तयार भएको छ ।
बितेका आठ वर्षमा चीनले ९ करोड ८९ लाख ९० हजार जनतालाई गरिबीको रेखाबाट उकास्न सफल भएको छ । चीनका ८३२ गरिब काउन्टी र १ लाख २८ हजार गरिब गाउँहरूलाई गरिबीको दलदलबाट सदाको लागि मुक्त गरेको छ ।
सन् १९७० को दसकमा चीनमा सुधार र खुलापनको नीति लागु भएयता ७७ करोड जनतालाई गरिबीको रेखामूनिबाट उकास्न चीन सरकार सफल भएको छ ।
चीनले संसारको गरिबी निवारणमा ७० प्रतिशतभन्दा बढी योगदान गर्न सफल भएको छ ।
सिले यो उपलब्धिलाई इतिहासमै चमत्कारको संज्ञा दिनुभएको छ ।
सन् २०१२ यता चीनले ११ लाख किलोमिटर ग्रामीण सडक निर्माण वा स्तरोन्नति गरेको छ । यसले चीनका ग्रामीण क्षेत्रमा ऊर्जा आपूर्ति गर्न र इन्टरनेट पहुँच विस्तार गर्न सहज भएको छ । चीनका ९८ प्रतिशतभन्दा बढी गाउँमा अहिले फोरजी इन्टरनेट सेवा पुगेको छ ।
त्यस्तै सन् २०१२ यता चीनमा २ करोड ५६ लाख ८० हजार मानिसका ७९ लाख घर पुनःनिर्माण गरेको छ । साथै ९६ लाखभन्दा बढी मानिसलाई गरिब क्षेत्रबाट नयाँ स्थानमा बसाई सारेको छ ।
तुलनात्मकरूपमा सानो सङ्ख्यामा रहेका २८ वटा अल्पसङ्ख्यक आदिबासी समूह पनि गरिबीको चक्रबाट मुक्त हुन सफल भएका छन् ।
राष्ट्रपति सिले गरिबी निवारणमा चीन उदाहरण बन्न सफल भएको र संसारको गरिबी निवारणमा चीनले ठूलो योगदान गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *