भर्खरै :

नेकपाको फुटले कम्युनिस्ट आन्दोलनमा धक्का होइन, सुदृढीकरणमा मद्दत पुग्छ

“भित्ताको तस्बिर
देखाउँछ तिमीलाई कि
लुकाउँछ सबलाई ।”
कवि डा. सरोज धितालको ‘आँशु र उत्सव’ कविता सङ्ग्रहमा समाहित ‘तस्बिर’ कविताका पूर्ण अंश हुन् यी पङ्क्तिहरू । २०६१ सालमा लेखिएको तीन पङ्क्तिको कवितामा कवि धितालले एउटा कवितामात्र पूरा गरेका छैनन्, सिङ्गो एमाले उर्फ नेकपाको पूर्ण तस्बिर नै प्रतिविम्बित गरेका छन् ।
कविताले तस्बिरसँग सम्बन्धित एउटा घटनालाई सम्झना गराउँछ – पार्टी केन्द्रीय कार्यालयमा झुन्ड्याइएका तस्बिर संसारकै ‘शक्तिशाली’ साम्राज्यवादी अमेरिकाका राजदूत पुग्दा एमालेले एकाएक लुकाएको थियो । यही घटनाबाट नेपाली जनतालाई ठग्नको लागि एमालेले माक्र्सवाद र लेनिनवादको मुकुन्डो लगाएको रहेछ भन्ने तथ्य झन् उजागर भएको थियो । साम्राज्यवादी देशका दूतलाई रातो कार्पेट बिछ्याउन आफ्नै कार्यालयको माक्र्स र लेनिनको तस्बिरसमेत अँध्यारो कुनामा लुकाउँदो रहेछ भन्ने पुष्टि गरेको थियो । कम्युनिस्टको मूल प्रवाह भन्दै नेपाली जनतालाई झुक्याउँदै आएको एमाले अर्थात् आजको नेकपाले कम्युनिस्ट सिद्धान्त र आचरणमात्र त्यागेको होइन, साम्राज्यवादी र प्रतिक्रियावादीहरूको कृपा वा निगाह पाउन कम्युनिस्ट नेताहरूको तस्बिरसमेत मिल्काउँदो रहेछ भन्ने प्रमाणित गरेको थियो ।
‘इतिहास दोहोरिन्छ तर फरक ढङ्गले’ भनिन्छ । एमाले–माओवादीको नेकपाले फेरि पनि कवि धितालको ‘तस्बिर’ कवितालाई सम्झाउने गरी इतिहास दोहो¥याएको छ । माघ २२ गते गाडी चढेर ‘नेपाल बन्द’ अनुगमन गर्न हिँडेका प्रचण्डले एमसीसीविरुद्धको नारा लगाउन रोकेका थिए । प्रधानमन्त्री ओलीले अघिल्ला सरकारहरूको विरासतको रूपमा पाएको एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रक्रिया अगाडि बढाएपछि एमसीसीविरुद्ध स्वयम् नेकपाभित्रै ‘विवाद’ भइरहेको छ । कतिपय विद्वानहरूका अनुसार आज नेकपा फुटको सङ्घारमा पुग्नुको प्रमुख कारण एमसीसी हो । प्रचण्ड – नेपालले एमसीसी रोकेको र एमसीसी पास गराउन नै संसद् विघटन गरेको भन्नेहरूको पनि कमी छैन । तर, ‘प्रतिगमन’ विरोधी आन्दोलनकै बीचमा एमसीसी नारा रोकिनु ‘आन्दोलन विषयान्तर हुने’ सामान्य कारणले मात्र होइन भन्ने स्पष्ट छ । कवि धितालको ‘तस्बिर’ कविता जस्तै एउटालाई देखाउने अर्कोलाई लुकाउने फोहरी खेलकै सिलसिला हो ।
एमाले वा माओवादी वा नेकपाले ‘तस्बिर’ कविता प्रतिविम्बित हुने यी र यस्ता धेरै घटनाहरू बारम्बार दोहो¥याइरहेको छ । नेकपाको दोहोरो चरित्रले गर्दा एमाले–माओवादीको नेकपालाई कम्युनिस्ट भन्न मिल्दैन । यद्यपि, पद र लाभको लागि ‘कुकुर झगडा’ गरेर विदेशी हस्तक्षेप निम्त्याउने नेकपा फुटको सङ्घारमा पुग्दा कथित बुद्धिजीवीहरू कम्युनिस्ट पार्टी फुट्न लागेको भनी दुःखी बनेका छन् । झन्डै दुईतिहाइ बहुमत प्राप्त ‘कम्युनिस्ट सरकार’ बाट लाभ पाउने लोभमा झुमेका कथित बुद्धिजीवीहरू आक्रोशित छन् । तिनीहरू नेकपा फुट्दा अब फेरि बीसतीस वर्ष कम्युनिस्टहरूले सरकार बनाउन नसक्ने चिन्ता गरिरहेका छन् । नेकपाको विभाजनले कम्युनिस्ट आन्दोलनलाई पछाडि धकेलेको भन्दै विरहको गीत गाउँदै छन् । देश र जनताको हितलाई तिलाञ्जली दिएर विदेशी शक्ति एवम् विस्तारवादी र साम्राज्यवादीहरूको सुविधाजनक सरकार गठन गर्न पार्टी फुटाउनेहरूको पछि लागेर रुँदै हिँड्ने बुद्धिजीवीहरूलाई के भन्ने ? कर्मले कामदार जनतालाई मर्का पार्नेहरू पनि नाम कम्युनिस्ट राखेकै आधारमा कम्युनिस्ट एकताको लागि ‘प्रार्थना’ गर्दै हिँड्ने ‘विद्वान’ हरूलाई कसरी सम्झाउने ?
नेकपाका दुई घटकहरू एमाले र माओवादी दुवै कम्युनिस्ट सिद्धान्तबाट च्युत भएका नक्कली कम्युनिस्ट पार्टीहरू हुन् । एमालेका अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा विदेश भ्रमणको क्रममा मनमोहन अधिकारीले आफूहरू कम्युनिस्ट नभएको प्रस्ट पारेकै हुन् । एमालेका अध्यक्ष अधिकारीले नेपाली जनताको भोट पाउनमात्र व्यापारिक ट्रेडमार्कको रूपमा कम्युनिस्ट नाम र झन्डा बोकिरहेको भनी विदेशी पत्रिकामा अन्तर्वार्ता दिएकै हुन् । एमालेले पुँजीवादी संसदीय व्यवस्थाको सरकारमा गएर पँुजीपतिवर्गको हितमा कानुन बनाउने काममात्र गरेन, प्रतिगमन कालमा समेत आंशिक प्रतिगमन सच्चिएको भन्दै राजाको सरकारमा पनि गएकै हो । १० वर्षसम्म देशमा गृहयुद्ध चर्काउने माओवादी त एकपछि अर्को गरी उदाङ्गिदै छ । माओवादी भनेको भारतीय ‘ट्रोजन हर्स’ हो भन्ने विभिन्न स्रोत र पुस्तकहरूले पुष्टि गरिसकेको छ । माओको बदनाम गर्न मात्र तिनीहरूले माओवादी नाम राखेको स्पष्ट भइसकेको छ ।
यस्ता कम्युनिस्टविरोधी र संशोधनवादी पृष्ठभूमिका एमाले र माओवादीको एकता पद र लाभकै लागि मात्र भएको होइन भन्ने कुनै ठाउँ देखिँदैन । दुई नक्कली कम्युनिस्ट पार्टीको एकताबाट बनेको नेकपा पनि त नक्कली कम्युनिस्ट पार्टी बाहेक के बन्न सक्ला ? अनि, नक्कली कम्युनिस्ट पार्टी फुट्न लाग्यो भनी कम्युनिस्ट सिद्धान्तप्रति सद्भाव राख्ने बुद्धिजीवीहरू किन दुःखी हुनुपर्ने ? बरु यही बेला कम्युनिस्ट सिद्धान्तको कसीमा तिनीहरूलाई घोटीको कति पानीमा छ ? छुट्याएर वास्तविक कम्युनिस्ट सिद्धान्त र आचरणबारे व्यापक जनतालाई सचेत पार्नुपर्ने हो । माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराबाट विचलित नक्कली कम्युनिस्टहरूलाई उदाङ्गो पारेर नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढीकरण गर्न मद्दत पु¥याउनुपर्ने हो । एमाले–माओवादीवाला नेकपाको फुटलाई देखाएर कम्युनिस्ट आन्दोलनलाई धकेलियो भन्नु भ्रम छर्नुमात्र हुनेछ । बरु, नेकपाभित्रबाटै एकले अर्काको खोट बाहिर ल्याउँदा त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढीकरण गर्ने छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सिद्धान्तहीन एकताभन्दा फुट राम्रो’ भन्दै आउनुभएको छ । हिजो सिद्धान्तहीनरूपमा एकता गरेको एमाले र माओवादीको नेकपाले नेपाली कामदार जनताको हितमा सिन्को पनि भाँचेन । नेपाली कामदार जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन कुनै नौलो कार्यक्रम दिन सकेन । तिनीहरूको एकताले झन्डै दुईतिहाइको सरकार त बन्यो तर तिनीहरूको नीति तथा कार्यक्रम र क्रियाकलाप संसदीय अन्य पुँजीवादी पार्टीको भन्दा कुनै पनि मानेमा फरक थिएन । यसकारण पनि नेकपालाई नेमकिपाका अध्यक्ष बिजुक्छेँले ‘भाइ काङ्ग्रेस’ भन्दै आउनुभएको छ । नेकपाको सरकार आएपछि भ्रष्टाचारमा कुनै कमी आएको छैन । कामदार जनताको हितमा कुनै ऐन कानुन बनाएको छैन । लगानी बोर्डमार्फत देशको सबै प्राकृतिक स्रोत साधन विदेशीको हातमा सुम्पने काम रोकिएको छैन ।
नेपाली जनताको भन्दा विदेशीको हितमा काम गर्दागर्दै पनि नेकपाकै ओली सरकार ढाल्न नेकपाकै नेताहरू सक्रिय भए । हेर्दा यो नेकपाको आन्तरिक झगडा हो । तर, यो झगडा भारतीय शासकहरूको उक्साहटमा भएको भनी कसले बुझेको छैन र ? अझै संसद् विघटनपछि दर्ता भएको अविश्वासको प्रस्तावमा प्रस्तावित प्रधानमन्त्री प्रचण्डले भारतको लागि आरामदायक सरकार बनाउने दाबी गरेपछि बाँकी के रह्यो र ? यसरी दिनदहाडै हाकाहाकी विदेशीको दलाली गर्ने नेताहरू सच्चा कम्युनिस्ट हुन सक्छन् कि सक्दैनन् ? यस्ता नक्कली कम्युनिस्टहरूको फुट भए मात्रै एकले अर्काको पोलापोल गर्नेछन् । नेपाली जनताले राजनीतिकरूपमा सचेत र सतर्क हुने अवसर पाउनेछ । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई धक्का दिने होइन बरु सुदृढीकरणको बाटोमा लानेछ । नेपालमा सही कम्युनिस्ट पार्टीको खोजी हुनेछ । नेपाली जनताले सही कम्युनिस्ट सिद्धान्तको अध्ययन अनुसन्धान गर्नेछन् । नेपाली जनताको आलोचनात्मक चेतनास्तर उठ्नेछ । चिन्तन, विश्लेषण र बहसको पाटोलाई रोक्नको लागि नेकपाको एकताको कुरा गरेर लोलोपोतो गर्ने विद्वानहरूबाट के देश र जनताको भलो होला र ? नक्कली कम्युनिस्ट पार्टीलाई उदाङ्ग्याउनुभन्दा पनि ढाकछोप गर्न खोज्ने विद्वानहरूको बौद्धिकस्तरलाई लाभको लोभले ओझेलमा पारेको छ । ती विद्वानहरूलाई कवि डा. सरोज धितालले ‘आँशु र उत्सव’ कविता सङ्ग्रहको अर्को ‘छि ! कवितामा भनेका छन् –
“कुर्सीको मोह
त्यो जमराको रहर
पहेँलो बन्ने ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *