भर्खरै :

फागुन २९ गतेबाट अन्तर नगर बुद्धिचाल प्रतियोगिता

भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तरनगर (फूटबल, कबड्डी, बक्सिङ, टेबुलटेनिस, कराँते र एथ्लेटिक्स) खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको छ । यस वर्ष सहिदहरूको स्मरणमा अन्तरनगर बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत ३ गतेसम्म हुने अन्तरनगर बुद्धिचाल प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गर्नुहुनेछ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विगतका वर्षहरूमा झैँ यो वर्ष हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न पत्रकारहरूले सक्रिय भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले समाज परिवर्तनको लागि खेलाडीहरू बढी जागरुक भएर सेवा गर्नुपर्नेमा जोड दिँदै भक्तपुर नपाले भक्तपुरको मौलिक खेललाई जीवन्त तुल्याउन स्थानीय पाठ्यक्रममा समावेश गरी नयाँ पुस्ताका विद्यार्थीमाझ पठनपाठन गराइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नपाले खेलकुद महोत्सवको रूपमा खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ र यसबाट खेलाडीहरू प्रोत्साहित भएका छन् ।”
पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाको आयोजनामा हुने अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष, वडा नं. २ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्यद्वय उकेश कवां र हरिप्रसाद बासुकलाले खेलकुदको विकासले खेलाडीहरूको व्यक्तित्व विकास हुने, खेलाडीहरूलाई उत्साहित गर्न प्रतियोगिताको खाँचो रहेको र भक्तपुर नपाले सबै खेलहरूलाई समानरूपमा प्राथमिकतामा राखी प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो ।
पत्रकार भेटघाटमा पत्रकारहरूले प्रतियोगिताबारे जिज्ञासा व्यक्त गर्नुभएको थियो ।
अन्तर नगर बुद्धिचाल प्रतियोगितामा २२ वटाभन्दा बढी नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन् भने अन्तरनगर विद्यालय खेलकुद प्रतियोगितामा १० वटा विधा १० वडा वडामा खेलाइने बन्दोबस्त भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *