कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
८ दैनिक वा साप्ताहिक समाचार पत्र र सामयिक पत्र–पत्रिकामा जिम्मेवारी लिएर समाचार, टिप्पणी, लेख वा नियमित कुनै कोलम लेख्नेलाई पत्रकार मान्ने प्रचलन छ । त्यसमा सम्पादक वा संवाददाता पनि हुन्छन् । कुनै नयाँ घटना वा विषयवस्तुबारे पाठकलाई बताउने, साहित्यका विविध विधा, प्रश्नउत्तर, हास्यव्यङ्ग्य र राशीफलसमेत दिएर पाठकलाई आल्हादित गर्ने काम पत्रकारितामा भएको देखिन्छ । पाठकलाई प्रगतिउन्मुख विषय पस्कने जिम्मेवारी पत्रकारको हो । प्रतिगामी र जनविरोधी विचार फैलाउने, झूट र साम्प्रदायिकता भड्काउने पत्रकारितालाई पीत पत्रकारिताको कोटीमा राखिन्छ ।
सामन्तवादी समाजमा सरकारी टोलीले राजा महाराजा वा शासक वर्गको आफ्नो उर्दी, फैसला वा निर्णय सुनाउन ‘नायखिंबाजा’ बजाएर चोक तथा चौबाटोमा प्रचार गरिन्थ्यो । विकासको क्रममा ‘गोरखापत्र’ र ‘गजेट’ जस्ता सरकारी मुखपत्र निस्किन थाल्यो । सामन्ती सरकारविरोधी पुँजीपति एवम् व्यापारीहरूले पनि आ–आफ्नो पत्रपत्रिका लुकीछिपी सञ्चालनमा ल्याए ।
सन् १८४० तिर अमेरिकामा विलियम लायड गैरिसनले ‘मुक्तिदाता’ नामको समाचारपत्र प्रकाशित गरे । उनी दास प्रथाका विरोधी थिए । फ्रान्सेली क्रान्तिमा मारातले ‘जनताको साथी’ भन्ने समाचारपत्र प्रकाशित गरे ।
कार्ल माक्र्सले जर्मनीमा ‘राइन समाचार’ र ‘नयाँ राइन समाचार’ नामका पत्रिका प्रकाशित गरेर परिवर्तनवादी बुद्धिजीवी एवम् जनतामा वैचारिक क्षेत्रमा नयाँपन ल्याए । जारकालीन रूसमा लेनिन र स्तालिनले गुप्तरूपले ‘फिलिङ्गो’ र ‘सत्य’ पत्रिका प्रकाशित गरे । चीनमा माओ त्सेतुङ्गले ‘कम्युनिस्ट’ पत्रिकामार्फत आमूल परिवर्तनको दिशाबोध गराए ।
पत्रकारले आफ्ना पाठकहरूमा नयाँ नयाँ राम्रा र नराम्रा घटनाबारे विश्लेषण गर्दै समाजलाई अगाडि बढाउन उत्साह प्रदान गर्नु आवश्यक छ । आस्थाको पत्रकारिकता र पत्रकारको धर्म र अर्थ त्यही हो ।
८ भूमिगत कालमा लिथो वा गेल्नरबाट एकसय प्रतिदेखि दुई–तीन सय प्रति पत्रिका छापिन्थ्यो । पत्रिकाका अक्षर ठूलठूला हुन्थे । ‘विद्यार्थी आवाज’ र ‘लालझन्डा’ यसका उदाहरण हुन् । भारत प्रवासमा प्रेसबाटै पत्रिका छाप्दा खर्च अलि कम पथ्र्याे । पत्रिका भारतबाट हुलाकमार्फत नेपाल पठाइन्थ्यो । भूमिगतकाल र प्रवासमा पनि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको मुक्ति, स्वतन्त्रता र साम्राज्यवादविरोधी सङ्घर्षका समाचार तथा विचारलाई प्राथमिकता दिइन्थ्यो, देशको मजदुर–किसान सङ्घर्ष र शोषणको विरोधका गतिविधिलाई बढी प्रचार गर्ने र उत्साह बढाउनेमा ध्यान दिइन्थ्यो ।
प्रवासमा केही भारतीय लेखक, कवि र कलाकारहरूलाई साथ लिएर हिन्दी भाषामै ‘आधार’, ‘समाचार संसद्’, ‘धु्रवतारा’ र ‘नेपाल तराई’ पत्रिकाहरू प्रकाशित भए । तर, भारतीय प्रहरीको दबाबको कारण केही अङ्क निस्किएपछि बन्द हुन्थे । बरू, साहित्यिक पत्रिका ‘जनताको साहित्य’ ६ अङ्क सम्म र ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक प्रकाशन गर्ने काम भयो ।
भूमिगतकालमै हामीले ‘रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ लगायतका पुस्तकहरू प्रकाशित ग¥यौँ । तर, गुप्तरूपमा काम गर्ने भएकोले प्रकाशनमा भन्दा वितरणको निम्ति बढी पैसा खर्च हुन्थ्यो । पुस्तक नेपाल ल्याउने क्रममा विराटनगर, नेपालगञ्ज, जनकपुर, वीरगञ्ज आदि ठाउँमा साथीहरू प्रहरीबाट पक्राउमा परेका थिए । उतिबेला साथीहरूको सङ्ख्या समस्या कम भए पनि उनीहरू उत्साहित थिए ।
८ हामी आस्थाको पत्रकारिता पनि गथ्र्यौँ । त्यो निश्चित उद्देश्यको निम्ति थियो । काम गर्दा पत्रकारहरूले दुःख पाए । आफ्नै पैसा राखेर पत्रिका निकालिन्थ्यो । निरन्तर प्रहरीको निगरानी हुन्थ्यो । पक्राउको खतरा उत्तिकै हुन्थ्यो ।
व्यावसायिक पत्रकारितामा प्रकाशन वा पुँजीपतिको इच्छा र आदेशअनुसार काम गर्नुपर्ने हुन्छ । लेखन वा समाचार सम्प्रेषणमा सम्पादक, संवाददाता र लेखकहरूको भावनाभन्दा प्रकाशकको उद्देश्यलाई प्राथमिकता दिइन्छ ।
अहिले नेपालमा विदेशी पुँजीको प्रभावमा व्यावसायिक पत्रकारिता बन्दीको रूपमा छ । विदेशी पुँजी विस्तारको निम्ति व्यापारिक प्रचारमाध्यमको रूपमा रहेका ठूल–ठूला समाचारपत्रले आफ्नो ‘धर्म’ निर्वाह गरेका छन् भने ती माध्ययमा काम गर्ने पत्रकारहरू कारखानाका मजदुरहरूजस्तै शोषित–पीडित छन्, तिनीहरू निकालामा पर्ने गरेका छन् । यस अर्थमा व्यावसायिक पत्रकारिता ‘स्वतन्त्र’ पत्रकारिता होइन भन्ने प्रस्ट छ ।
आस्थाको पत्रकारिताको निम्ति किसान, मजदुर, युवा–विद्यार्थी, कामदार महिला र तल्लो वर्गका लेखक, कवि, कलाकारहरूसँग छलफल गरी काम गर्नु फलदायी हुन्छ ।
८ पत्रिका क्रान्तिको सन्देश लिएर कारखाना, खेत, खलिहान, विद्यालय र विश्वविद्यालयमा पुग्छ, हरेक चिया पसल र किसानको घर–घरमा नपुगी पत्रिकाले क्रान्तिलाई सहयोग गर्नसक्दैन र पत्रिका नपढी किसान जनता क्रान्तिकारी भावनाले प्रेरित हुनेछैन ।
क्रान्ति र आस्था बोकेका पत्रिकाको समाचार हेरिसकेपछि फालिँदैन बरू त्यसका लेख–रचनाहरूबारे बरोबर अन्तरक्रिया गरिन्छ । यस्ता छलफलबाट किसानहरू शिक्षित हुन्छन् । अनिमात्रै पत्रिका समाजमा आमूल परिवर्तनको वाहक हुन्छ ।
८ शोषक वर्गका मानिसहरूले पत्रिका वितरकहरूलाई हातमा लिई ‘श्रमिक’ र ‘मजदुर’ तौलेर बेच्न लगाउँदा त्यस्ता वितरकहरू कारबाहीमा परेका छन् । फकाएर वा पैसा बढी दिएर वितरकहरूलाई अरू काममा लगाएका छन् ।
यसकारण ‘श्रमिक’ र ‘मजदुर’ का वितरकहरूको बारम्बार कक्षा सञ्चालन गर्ने र वर्ग शत्रुविरूद्ध सङ्घर्षको भावना जगाउनु आवश्यक छ ।
स–साना बैठक, अन्तरक्रिया, जनसभाको आयोजना गरी र पत्रपत्रिकामा चिठी र लेखहरू लेखेर जनतालाई शिक्षित गर्दै लानु आवश्यक सम्झन्छु । साथीहरूले त्यसो गरिरहनुभएको छ । तर, हाम्रा पत्रिकामा भाषिक समस्या यथावत छ । हामीले सम्बन्धित भाषालाई न्याय दिनु आवश्यक छ । ‘श्रमिक’ र ‘मजदुर’ तथा हाम्रा प्रकाशनहरूको भाषा सरल हुनु नै उत्तम हो ।
Leave a Reply