भर्खरै :

नेमकिपा काठमाडौँको छैटौँ जिल्ला सम्मेलन सुरु नयाँ पुस्ता सैद्धान्तिकरूपले निखारिनुपर्नेमा जोड

नेमकिपा काठमाडौँको छैटौँ जिल्ला सम्मेलन समुद्घाटन नयाँ पुस्ता सैद्धान्तिकरूपले निखारिनुपर्नेमा जोड
काठमाडौँ, २३ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँको छैटौँ जिल्ला सम्मेलनको स्थानीय नयाँ बजारमा शुक्रबार समुद्घाटन भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट पानसमा दीप प्रज्ज्वलन गरी सुरू भएको उक्त समारोहमा उहाँले नयाँ पुस्तालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा पार्टी नीति, कार्यक्रम र गतिविधिबारे व्यापक छलफल गरी समीक्षा गरी भएका कमीकमजोरीहरू आगामी दिनमा सुधारेर अघि बढ्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, “आगामी नयाँ नेतृत्व घर छोडेर पार्टी विस्तारमा लाग्न सक्ने, पुँजीवादीहरूको करोडौँ खर्चविरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्नसक्ने हुनुपर्छ ।”
नयाँ पुस्ता बेलायती क्रान्ति, फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता सङ्ग्राम र पेरिस कम्युनको शिक्षाबाट प्रशिक्षित भई अन्तिम घडीसम्म पनि पुँजीवादी व्यवस्थाविरूद्ध सङ्घर्ष गर्नसक्ने हुनुपर्छ भन्दै अध्यक्ष बिजुक्छेँले प्रस्ट पार्नुभयो, “नक्कली कम्युनिस्टहरूमात्र आफ्नो ठाउँ फेर्छन्, विचार फेर्छन्, विचार र अडान छोड्नेहरू कम्युनिस्ट हुँदैनन्, वर्ग शत्रुसमक्ष कम्युनिस्टहरू कहिल्यै झुक्दैनन् ।”
सङ्घर्षलाई जीवनपद्धति बनाउनुपर्ने र आफ्नो विचारबाट अरूलाई प्रभावित गर्न सक्नुपर्छ भन्दै उहाँले मजदुर–किसानहरू आफ्नो श्रममा बाँच्छन् तर सामन्त र पुँजीपतिहरू अरूको श्रम शोषण गरेर बाँच्छन् र नयाँ पुस्तालाई कुलतमा फसाएर, विदेशमा पठाएर राजनीतिक चेतनाबाट टाढा राखी शोषणविरूद्ध हुनसक्ने क्रान्तिलाई पछाडि धकेल्ने काम भइरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले युवा जनशक्ति विदेश पठाउँदा गरिबको सम्पत्ति अनेक तरिकाबाट पुँजीपतिहरूले हडपिरहेका छन्, यसतर्फ सचेत हुनुपर्छ भन्नुभयो । जग्गा बेचेर वैदेशिक रोजगारीमा जाने गल्ती भएको औँल्याउँदै उहाँले जग्गा बेच्ने, वैवाहिक सम्बन्ध जोड्ने जस्ता कामहरूसमेत पार्टीभित्र सरसल्लाह गर्ने परिपाटी बसालेको भए गल्ती कम हुने थियो भन्नुभयो ।
अहिले सरकार विदेशी पुँजीका दलालहरूबाट सञ्चालित रहेको प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले आन्दोलनको नाममा गाडी जलाउने, टायर बाल्नेजस्ता काम गर्दा विदेशी पुँजीपतिहरू खुसी हुन्छन्, नेमकिपा यस्ता गतिविधिको पक्षमा कहिल्यै नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शासकहरू नै विदेशी पुँजीको दलाली भागमा लोभिएका धेरै उदाहरणहरू देखिएको हुँदा नयाँ पुस्ता त्यस्ता विदेशी पुँजीका दलालविरूद्ध उभिन सक्ने गरी तयार गर्नुपर्छ । वर्गसङ्घर्षको भावनालाई जगैदेखि नयाँ पुस्तालाई उठाउनुपर्छ ।”
रूसी कम्युनिस्ट आन्दोलनमा त्राटस्की र बुखारिनजस्तै नेपालमा पनि प्रचण्ड र बाबुरामहरू देखिएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भारतको अनुकूलतामा सरकार गठन गर्ने प्रचण्डको विचार र ठूलो देश भारतसँग सानो देश नेपालले निहुँ खोज्न नहुने जस्ता विचार व्यक्त गर्ने भट्टराईहरू भारतीय विस्तारवादका गुप्तचर त हैनन् ?, यस्ताले अन्ततः देशै भारतमा विलय गर्न पनि बेर छैन, नेपाली जनता सचेत हुन आवश्यक भएको बताउनुभयो ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीसित संसद् विघटन गर्नसक्ने विशेष अधिकार हुने दोहो¥याउँदै सर्वोच्च अदालतले कानुनी दृष्टिले संसद् पुनःस्थापना गरे पनि राजनीतिक दृष्टिले संसद् विघटन गरी नयाँ जनादेशमा जानु बढी प्रजातान्त्रिक भएको र वर्तमान संविधानमा आफ्नो पार्टीले ७२ बुँदामा असहमति जनाएको विचार पनि राख्नुभयो ।
“भारतीय गुप्तचर विभागका प्रमुख र प्रधानमन्त्रीबीच के के विषयमा कुरा भए त्यो बाहिर नल्याउनुको अर्थ उनकै सल्लाहमा संसद् पुनःस्थापना भएको त होइन भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । संसद् पुनःस्थापनाको सडक आन्दोलनमा एमसीसीको विरूद्ध नारा उठ्दा प्रचण्डले रोकेको तर नारा नरोकिएपछि प्रचण्ड सडकै छोडेर जानुको अर्थ प्रचण्ड एमसीसीको पक्षमा रहेको प्रस्टिन्छ । अमेरिका, भारत एक सूत्रमा रहेको वर्तमान अवस्था नेपालको लागि चुनौतीपूर्ण छ”, अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
समारोहमा पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले जनतालाई राजनीतिक चेतना दिनु आँखा दिनु जति हुने धारणा राख्दै अग्रजहरूले विगत ५–६ दशकदेखि गर्दै आएको प्रयासलाई साकार पार्न हामी नयाँ पुस्ता अथकरूपले लाग्ने बताउनुभयो ।
३० वर्ष निर्दलीय पञ्चायती व्यवस्थापछि ३० वर्षको पुँजीवादी व्यवस्थाले देशलाई आमूल परिवर्तन गर्न नसकेको चर्चा गर्दै उहाँले अबको नयाँ विकल्प समाजवादी व्यवस्थामात्र रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी पुँजीवादी व्यवस्थाका कर्तुतहरू उदाङ्ग्याउँदै जानेछौँ ।”
पार्टी ठूलो हुँदै देशमा राजनीतिक स्थायित्व नहुने कुरा अहिले छताछुल्ल भइरहेको बताउँदै उहाँले पुँजीवादी व्यवस्थाविरूद्ध नयाँ पुस्ता जगाउन आफूहरू लागिरहेको प्रस्ट पार्नुभयो ।
नेपाली राजनीतिमा नेमकिपा नभए समाजवादी गणतन्त्रको पक्षमा वकालत गर्ने कोही नहुने, साम्राज्यवादका गोटीहरूले मात्र स्तालिनको विरोध गर्ने, माओ त्सेतुङ विचारको शिक्षा प्रचार गर्ने नेमकिपामात्र रहेको उहाँले दाबी गर्नुभयो ।
बाग्मती प्रदेश सभासद् सृजना सैँजुले अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको महत्वमाथि प्रकाश पार्दै वर्गीय मुक्तिविना महिला मुक्तिको अर्थ नहुने विचार राख्नुभयो । उहाँले महिलावादी आन्दोलनलाई समाजवादी आन्दोलनसँगै जोड्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजू, नेमकिपा ललितपुरका अध्यक्ष टीकाराम महर्जन र नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले पनि शुभकामना मन्तव्य दिनुभएको उक्त कार्यक्रमको सुरूमा अन्तर्राष्ट्रिय गान बजाइएको थियो ।
कार्यक्रममा आयोजक समितिका नरमान महर्जनले स्वागत र श्यामकुमार महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सम्मेलन सोमबारसम्म जारी रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *