भर्खरै :

कृषिमा विदेशी लगानी भित्याउन दिनु देश हितविपरीत

अछाम, २६ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ अछाम जिल्ला समितिको आयोजनामा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खुला कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं पूर्वसभासद् डिल्लीप्रसाद काफ्लेले नारीहरूको सम्मान हुने देशले समुन्नति हासिल गर्ने धारणा राख्दै सभ्य समाज निर्माणको लागि नारी र पुरुषबीच सम्मान अवसर प्रदान गरिनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा कृषिमा विदेशी लगानी भित्याउँदै छ, ठूलो माछाले सानो माछालाई खाएजस्तै कृषिमा नवउदारवादले स्थानीय उत्पादन र स्थानीय व्यवसायीलाई समाप्त पार्छ ।”
राजनीतिक दल वर्गीय दृष्टिकोणसहित जनताबीच जानुपर्छ । ३ प्रतिशतको मतसीमाले विचारलाई कुण्ठित पार्ने काम गर्छ, उहाँले भन्नुभयो ।
नेमकिपा गरीब श्रमजीवी जनताको पार्टी भएको चर्चा गर्दै केन्द्रीय सदस्य काफ्लेले समाजवाद र साम्यवाद स्थापना गर्नु पार्टीको लक्ष्य भएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य जग्यबहादुर शाहीले समाजवादी राज्य व्यवस्था स्थापना नभएसम्म महिलाहरूको हक, अधिकार स्थापित नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शासक दलका नेताहरूले नेपाली जनताको गाँस, बास र कपास अनि रोजगारीको विषयमा आवाज उठाएका छैनन्, बरू पालैपालो सरकार चलाउने र आ–आफ्नो स्वार्थ पूरा गर्नमात्र तल्लीन छन् ।”
नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य अनुराधा थापामगरले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्मा नेमकिपाले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ भनी आवाज उठाउँदा शासक दलहरूले विरोध गरे । तर, आज वर्षमा दुई हजारभन्दा बढी महिला र बालिकाहरूको निर्ममतापूर्वक बलात्कार गरिएको घटना सार्वजनिक भइरहेको छ ।”
महिलाहरूलाई श्रमशक्तिको रूपमा विकास गर्न स–साना बालबालिकाहरूलाई स्याहार गर्न सरकारको तर्फबाट शिशु स्याहार तथा बाल विकास केन्द्र खोलिनुपर्ने आवश्यकताबारे केन्द्रीय अध्यक्ष थापामगरले औँल्याउनुभयो ।
उहाँले स्पष्ट पार्नुभयो, “सडक निर्माणमात्र विकास होइन, समाजलाई शिक्षित, स्वस्थ र आत्मनिर्भर बनाउनु विकास हो ।”
विदेशी शक्तिको दलाली गर्नेहरू नेपाली जनताको मित्र हुन नसक्ने धारणा राख्दै उहाँले भन्नुभयो, “रेमिट्यान्सको भरमा देश विकास हुन्छ भन्नु भ्रममात्र हो । पुँजीवादी सरकारको गलत क्रियाकलापविरुद्ध एकजुट भई सङ्घर्ष गर्ला र आफ्नो सत्ता गुम्ला भन्ने डरले शासकहरूले युवाहरूलाई वैदेशिक रोजगारको नाममा दास बनाइरहेका छन् ।”
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले वैदेशिक रोजगारीको नाममा युवाहरूलाई आधुनिक दास बनाइरहेको हुँदा सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सुन्तली शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैया सुवाल, नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाही, जयप्रसाद तिमिल्सिना, जुना साँवद, डम्बरबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *