भर्खरै :

क्युवाविरुद्ध झूटा आरोप खारेज गर्ने बाइडेनको तयारी

वाशिङ्टन, १० मार्च । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले अघिल्लो ट्रम्प सरकारले समाजवादी देश क्युवामाथि थोपरेको ‘आतङ्कवादको प्रायोजक राज्य’ को उपमा हटाउने विषयमा पुनःविचार गर्ने भएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
“हामी अघिल्लो सरकारले गरेका नीतिगत निर्णयको सावधानीपूर्वक समीक्षाप्रति कटिबद्ध छौँ । क्युवालाई ‘आतङ्कवादको प्रायोजक राज्य’ मान्ने निर्णयमा पनि पुनःविचार गर्न तयार छौँ”, राष्ट्रपति कार्यालयका सञ्चार सचिव जेन साकीले दैनिक पत्रकार भेटघाटमा पत्रकारहरूलाई भने ।
तर, उनले ‘क्युवासम्बन्धी नीति परिवर्तन नै राष्ट्रपति बाइडेनको उच्च प्राथमिकता नहुने’ पनि स्पष्ट पारे ।
संरा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भवन छोड्नु नौ दिनअघि उनको सरकारले जनवरी ११ मा अमेरिकी अपराधी र कोलोम्बियाली विद्रोही नेताहरूलाई लुकाएको तथा भेनेजुयलाका समाजवादी राष्ट्रपति निकोलस माडुरोलाई सुरक्षा समर्थन गरेको आरोपमा संरा अमेरिकाको शत्रुको सूचीमा राख्ने निर्णय गरेको थियो ।
आलोचकहरूले ट्रम्पको सो निर्णय ‘निकै राजनीतिक’ भएको र प्रमाणको कुनै आधार नभएको बताउँदै आएका छन् । संरा अमेरिकी तल्लो सदनका असी जना सांसदहरूले गत मार्च ३ मा राष्ट्रपति बाइडेनलाई एउटा पत्र लेखी क्युवामाथिको ‘क्रुर’ नाकाबन्दी हटाउन र नयाँ सम्बन्ध विस्तार गर्न आग्रह गरेका थिए ।
संरा अमेरिकाले सबभन्दा पहिले सन् १९८२ मा क्युवालाई ‘आतङ्कवादको प्रायोजक राज्य’ को सूचीमा राखेको थियो । सन् २०१५ को मे महिनामा बाराक ओबामा सरकारले औपचारिकरूपमा क्युवालाई सो सूचीबाट हटाएको थियो । यसले शीतयुद्ध कालदेखिका शत्रुहरूबीच कूटनीतिक सम्बन्ध पुनःस्थापनामा अवरोध बनेको मुख्य तगारो पन्छाएको थियो ।
सन् २०१७ मा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछिअमेरिका र क्युवाबीचको सम्बन्ध नराम्ररी खस्केको थियो । ट्रम्प सरकारले क्युवाविरुद्धको नाकाबन्दी हटाउने प्रयासलाई उल्टाएका थिए । साथै उसले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोप्रति हवानाको समर्थन रोक्ने प्रयास गरेको थियो । माडुरोलाई वाशिङ्टनले पदच्युत बनाउने कोसिस गरेको थियो ।
क्युवाका साथै संरा अमेरिकी विदेश विभागले सिरिया, इरान र प्रजग कोरियालाई पनि आतङ्कवादलाई प्रायोजन गर्ने राज्यहरूको सूचीमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *