भर्खरै :

सिद्धान्तमा खेलबाड

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ भन्नुहुन्छ, “सिद्धान्तमा खेलबाड गर्नु हिमालयमा चिप्लेटीसरह खेल्नु हो ।” एक समय मिलेर नेकपा बनेका एमाले र माओवादीबीचको हिजोआजको अवस्था हेर्दा यो भनाइ निकै जचेको छ । सत्ता प्राप्तिको लागि सिद्धान्त छोड्ने, मोलमोलाइ र लेनदेन गर्ने ती पार्टीका नेता–कार्यकर्ताहरू सिद्धान्त र विचारधाराको लागि होइन, पार्टी कार्यालय, मेच–टेबुल, व्यानर र नामको लागि झगडिएका छन् । सुदूरपश्चिममा बुधबार दुई पक्षका दुई नेताका कार्यकर्ताहरूबीच कार्यालय कब्जा गर्न कुटाकुट भयो । यो आसन्न घटनाको पूर्वाभ्यासमात्र हो । आगामी दिनमा दुई पक्षबीच यस्ता भौतिक झैझगडा बढ्दै जानेछ । जे रोप्यो, त्यही फल्ने प्राकृतिक नियम हो । दुवै पक्षका नेताहरूले हिजो जे रोपेका थिए, आज त्यसैको फल भोगिरहेका छन् । सत्ता प्राप्ति र शक्ति आर्जनको लागि उनीहरूले कार्यकर्तालाई पाखुरा र तिघ्रा बलियो बनाउने तालिम दिए । पार्टीलाई होइन, नेतालाई कति चन्दा दिन्छ भन्ने मापनको आधारमा पार्टी सदस्यता दिइयो । उनीहरूले पार्टीको नाम र दस्तावेजमा माक्र्सवाद–लेनिनवाद उल्लेख गर्ने कर्मकाण्ड कहिल्यै छोडेनन् । तर, कार्यकर्ता पङ्क्तिलाई माक्र्सवाद–लेनिनवाद र संसारको क्रान्तिकारी सङ्घर्षबारे शिक्षित बनाउने ‘झिंझोलाग्दो काम’ मा कहिल्यै लागेनन् । रोचक कुरा त यदाकदा उनीहरूले आयोजना गर्ने वैचारिक प्रशिक्षण पनि कुनै विदेशी संस्थाको सहायता लिनमात्र गरियो । वैचारिक प्रशिक्षण दिन भनी खोलिएको ‘माक्र्सवादी विद्यालय’ पनि सहायता रकम आउने बाटो रोकिएपछि अहिले बन्द छ । माक्र्सवादी विद्यालयबाट ‘प्रशिक्षण लिएर’ स्वदेश फर्केका विभिन्न देशका प्रतिनिधिहरू हिजोआज नेकपाको झगडालाई कसरी बुझिरहेका होलान् ? उनीहरूले प्रश्न गर्दा हुन्, “यो झगडामा माक्र्सवाद र लेनिनवाद कहाँ छ ? नवउदारवादी अर्थतन्त्रको प्रतिरोधको कुरा कहाँ छ ? वर्गसङ्घर्ष र साम्राज्यवादको प्रतिरोधको कुरा कहाँ गयो ? पुँजीवादले निम्त्याएको जलवायु परिवर्तन, महामारी, विभेद र असमानताविरूद्ध सङ्घर्षको बहस कहाँ गयो ?” खासमा यो झगडाले नेपाली जनताजस्तै संसारका धेरै कम्युनिस्टहरूलाई पनि नेपालका शासक दलको वास्तविक चरित्रबारे स्पष्ट बनाएको हुुनुपर्छ । ‘अन्तर्राष्ट्रिय गान’ गाउँदैमा, मुट्ठी कसेर लालसलाम गर्दैमा, रातो टिसर्ट लगाउँदैमा र कोठाभरि तस्वीरको लर्को लगाउँदैमा कोही कम्युनिस्ट वा क्रान्तिकारी हुने होइन । मूल विषय वैचारिक सङ्घर्ष, जनताको सेवा र जनविरोधी शक्तिको प्रतिरोधमा खरो उत्रनु हो । कसैले यो विषयलाई त्याग्छ र जस्तोसुकै चरित्रको सत्ताको लागि मरिहत्ते गर्छ भने त्यो दलजस्तै रङले पोतिएर हिँडे पनि क्रान्तिकारी वा कम्युनिस्ट हुनसक्दैन । कार्यालय र व्यानर कब्जा गर्दै हिँडेका कार्यकर्ताहरूबीच माक्र्सवाद–लेनिनवादको नेपाली परिस्थितिअनुकूल कार्यान्वयन, साम्राज्यवाद र विस्तारवादी शक्तिको प्रतिरोध, समाजवादउन्मुख बन्दोबस्तको विषयमा किन केही बहस भएन ? भौतिक वस्तुलाई नै झगडाको कारण बनाउने केटाकेटीपना किन ? नेताहरूले यस्तो प्रवृत्तिलाई किन प्रोत्साहन दिइरहेको छ ? विषवृक्षबाट फलेको विषलाई निषेध गर्नुको सट्टा अमृत मान्ने गल्ती किन भइरहेको छ ? यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई कहाँ पु¥याउने हो ? इतिहासमा संशोधनवादी नेताहरूले विषपान गरेको गल्ती आज नेपाली नेताहरूले किन दोहो¥याइरहेका छन् ? सत्ता र सिद्धान्तको तुलोमा सिद्धान्तको भार कम हुँदा हरेक देशमा हुने दुर्घटना यस्तो खराब हुने गर्छ । ‘सिद्धान्त जीवनको लागि हो’ भन्दै जीवनका तुच्छ स्वार्थ प्राप्तिको निम्ति सिद्धान्तलाई त्याग्नेहरू आज देशलाई अर्को दुर्घटनातिर धके
लिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *