भर्खरै :

म किन कम्युनिस्ट हुँ ?

म कम्युनिस्ट हुँ
किनभने म साम्यवादभन्दा उत्तम संसारमा अर्को अब्बल अर्थव्यवस्था देख्दिनँ ।
म कम्युनिस्ट हुँ
किनभने मानिसका दुःख देखेर म आफै पनि दुःखी हुन्छु ।
म कम्युनिस्ट हुँ
किनभने न्यायपूर्ण समाजको आदर्शमा म दरिलो विश्वास गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने सबैलाई जे चाहिन्छ–पाउनुपर्छ, जे सक्छ–दिनुपर्छ ।
म कम्युनिस्ट हुँ
किनभने म ऐक्यबद्धतामा नै मानवीय खुसी हुनेमा म दरिलो आस्था राख्छु ।
म कम्युनिस्ट हुँ
किनभने म सबै मानिसलाई आवास, स्वास्थ्य, शिक्षा, चित्तबुझ्दो रोजगार र आरामको हक हुनुपर्नेमा विश्वास गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने म कुनै ईश्वरमाथि विश्वास गर्दिनँ ।
म कम्युनिस्ट हुँ
किनभने अझसम्म त्योभन्दा उत्तम अर्को विचार कसैले पहिल्याउन सकेको छैन ।
म कम्युनिस्ट हुँ
किनभने म मानिसमा विश्वास गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने एक दिन सिङ्को मानव जाति कम्युनिस्ट हुने आशा गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने संसारका सर्वोत्कृष्ट मानिसहरू कम्युनिस्ट थिए र छन् ।
म कम्युनिस्ट हुँ
किनभने म पाखण्डलाई घृणा गर्छु र सत्यलाई प्रेम गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने म आफू र अरूबीच कुनै अन्तर देख्दिनँ ।
म कम्युनिस्ट हुँ
किनभने म स्वतन्त्र बजारको विरोध गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने म आफ्नो सम्पूर्ण जीवन मानव जातिको भलाइको लागि लड्न चाहन्छु ।
म कम्युनिस्ट हुँ
किनभने एकताबद्ध जनतालाई कसैले जित्न सक्दैन ।
म कम्युनिस्ट हुँ
किनभने तिमी गल्ती गर्नसक्छौ तर एक जना पुँजीपति हुने हदसम्मको गल्ती गर्न सक्दैनौ ।
म कम्युनिस्ट हुँ
किनभने म जीवनलाई पे्रम गर्छु र जीवनको पक्षमा लड्छु ।
म कम्युनिस्ट हुँ
किनभने निकै थोरै मानिसहरूमात्र कम्युनिस्ट छन् ।
म कम्युनिस्ट हुँ
किनभने आफूलाई कम्युनिस्ट भन्ने नक्कली कम्युनिस्टहरू पनि छन् ।
म कम्युनिस्ट हुँ
किनभने साम्यवाद नभएकोले नै मानिसमाथि मानिसको शोषण कायम भएको हो ।
म कम्युनिस्ट हुँ
किनभने मेरो दिमाग र मेरो मन कम्युनिस्ट हुन् ।
म कम्युनिस्ट हुँ
किनभने म हरेक दिन आत्मालोचना गर्छु ।
म कम्युनिस्ट हुँ
किनभने जनताबीच सहकार्य नै उनीहरूबीच शान्तिको एउटैमात्र बाटो हो ।
म कम्युनिस्ट हुँ
किनभने मानव जातिको यति धेरै दुःखको लागि गैरकम्युनिस्टहरू दोषी छन् ।
म कम्युनिस्ट हुँ
किनभने म व्यक्तिगत शक्ति होइन, जनताको शक्ति चाहन्छु ।
म कम्युनिस्ट हुँ
किनभने अहिलेसम्म मलाई कसैले म कम्युनिस्ट होइन भनी चित्त बुझाउन सकेको छैन ।
नजिम हिक्मत टर्कीका कवि, नाटककार, पटकथाकार, निर्देशक र संस्मरण लेखक हुनुहुन्छ । कम्युनिस्ट भएकैले उहाँले पटक–पटक जेल र प्रवास जीवन भोग्नुप¥यो । उहाँ सुरु सुरुमा छन्दमा कविता लेख्नुहुन्थ्यो । तर, पछि गएर उहाँले पद्य कवितामा ख्याति प्राप्त गर्नुभयो । उहाँले लामो समय टर्कीको प्रतिक्रियावादी सरकारको विरोधमा सङ्घर्ष गर्नुभयो । उहाँका विभिन्न कृति ५० भन्दा बढी भाषामा प्रकाशित छन् ।
नेपाली अनुवाद :विनय

Leave a Reply

Your email address will not be published. Required fields are marked *