भर्खरै :

कुखुरामा रानीखेत रोगको महामारी

रानीखेत विषाणु (भाइरस) बाट लाग्ने अति नै डरलाग्दो सङ्क्रामक रोग हो । यो रोग विश्वभरि फैलिएको छ । रानीखेत रोगले विशेषगरी कुखुरा र टर्की चराहरूलाई असर गर्छ भने अन्य पन्छी जातलाई पनि असर गर्छ । जस्तै ः परेवा, हाँस, ढुकुर आदि । सामान्यतया घरपालुवादेखि जङ्गली पन्छीमा र अन्तरमहादेशीय बसाइसराइ गर्ने सम्पूर्ण पन्छी जातमा पनि अनुसन्धानको क्रममा यो रोग भेटिएको पाइन्छ । कुन प्रकारको भाइरसले आक्रमण ग¥यो त्यसमा भरपर्ने कुरा हो । सामान्यतया कडा खालको भाइरस भनेको Lentogenic strain को हुने गर्छ, जसले सतप्रतिशत मृत्युदर हुने गर्छ भने अर्को Mesogenic / Lentogenic strain को भाइरसले त्यति धेरै मृत्युदर बढाउँदैन तर उत्पादनको हिसाबले निकै नै ¥हास ल्याउने गर्छ ।
इतिहास
यस रोगको इतिहास केलाउने हो भने, पहिलोपटक सन् १९२६ मा इङ्गल्यान्डको न्यू क्यासटल शहरमा देखापरेको थियो । पहिलोपटक देखिएको शहरको नामबाट यस रोगको नाम न्यू क्यासटल रहन गयो । त्यहीँ साल फेरि उस्तै प्रकृतिको रोग कोरियामा पनि देखाप¥यो । इङ्गल्यान्डको उत्तरी भेगको न्यू क्यासटल सहरमा यस रोग नौ महिनासम्म महामारीको रूपमा फैलिएको थियो र त्यसपछि आफै हराएर गयो, तर सात वर्षपछि पुनः महामारीको रूपमा देखापरेको थियो । यस रोग Fowl Pest को नामले महामारीको रूपमा कोरियामा फैलिएको थियो । सन् १९२८ मा भारतमा उत्तराखण्डको रानीखेत भन्ने ठाउँमा पहिलोपटक सोही भाइरस देखाप¥यो र उक्त रोगलाई रानीखेत नामकरण ग¥यो । फिलिपाइन्समा पनि सोही सालमा देखापरेका थियो ।
पहिलो सङ्क्रमणदेखि १० वर्षको अन्तरालमा विश्वका विभिन्न देशहरू जस्तै जापान, पूर्वी अफ्रिका, अष्ट्रेलिया हुँदै दोस्रो विश्वयुद्धसम्ममा सबै महादेशका देशहरूमा यो रोग फैलिसकेको थियो । सन् १९२६ देखि १९४८ सम्म सबै देशहरूमा देखाप¥यो भने सबभन्दा ढिलो देखापरेका देश अर्जेन्टिना हो, जहाँ सन् १९६१ पछिमात्र यो रोग देखापरेको थियो ।
नेपालमा योरोग भित्रिएको एकीन तथ्याङ्क नभए पनि रोगविरुद्धको खोप (भ्याक्सिन) भने सन् १९६८ देखि उत्पादन गरेको थियो । यस रोगले विगत लामो इतिहासदेखि नै नेपालमा पनि सानो–ठूलो गरी कुखुरामा महामारीरूपमा फैलिरहेको थियो भने विगत ३–४ वर्षदेखि निरन्तररूपमा प्रत्येक वर्षको माघदेखि ज्येष्ठ महिनासम्म महामारी फैलिरहेको देखिन्छ । हालसम्मै पनि काठमाडौँ उपत्यकालगायत इलाम, चितवन, नुवाकोटलगायत जिल्लाहरूमा यो रोगको महामारी फैलिरहेको छ ।
रोगको प्रकृति र कुखुरामा सङ्क्रमण
यो रोग अति नै सङ्क्रामक रोग हो तर सबै कुखुरामा एकै प्रकृतिको र एकैनासको असर र लक्षणहरू नदेखाउन सक्छ । कुखुरामा यस रोगको सङ्क्रमण र मृत्युदरमा धेरै तत्वहरूले प्रभाव पारेको हुन्छ, जस्तै कुन प्रकृतिको भाइरसले सङ्क्रमण ग¥यो, कुखुरामा पहिले खोप लगाएको छ वा छैन सामान्यतया रानीखेत खोपको प्रकारमा R2B / IB-ND खोप, (जुन सुइको माध्यमबाट दिइन्छ) उक्त खोपहरूलगायत कुखुरामा रानीखेत रोगको महामारीले ज्यादै न्यूनमात्र असर गरेको देखिन्छ । कुखुराको शारीरिक स्वस्थता, रोग प्रतिरोधात्मक शक्तिको अवस्था, कति भाइरसको सङ्ख्यामा आक्रमण गरेको छ, एकपटक शरीरमा भाइरस प्रवेशपश्चात् कति सङ्ख्यामा नयाँ भाइरस उत्पादन गर्छ र उक्त नयाँ भाइरसलाई शरीरले कति सङ्ख्यासम्म धान्न सक्छ, आदि कारक तत्वमा भरपर्ने गर्दछ । माथि उल्लेख भएअनुसार Lentogenic Mesogenic jf Velogenic, कुन प्रकृतिको भाइरसले सङ्क्रमण ग¥यो, यसले पनि मृत्युदरमा ठूलो प्रभाव पारेको हुन्छ ।
रोगको सङ्क्रमण
खोरभित्र एकबाट अर्कोमा रोग सङ्क्रमणको प्रमुख माध्यम भनेको हावाको माध्यम नै हो, यसबाहेक कुखुराले घ्यार घ्यार गर्दा निस्किने, सिङ्गान, ¥याल, आँसु, सुली र एक आपसमा नजिकको सम्पर्कबाट पनि सर्ने गर्छ । भाइरस शरीरमा प्रवेशपश्चात् २–३ दिनभित्र सम्पूर्ण अङ्गमा प्रवेश गर्छ, विशेष गरी श्वासनलीमा भाइरसले ज्यादा सङ्ख्या वृद्धि गर्छ । श्वासप्रश्वासमा अवरोध सृजना गरी मृत्युदर बढाउने गर्दछ । भाइरसको लागि उपयुक्त वातावरण सृजना भएको खण्डमा ३–४ दिनसम्ममा खोर नै खाली हुनेगरी सतप्रतिशत पन्छीको मृत्यु हुने गर्दछ ।
सङ्क्रमणको मुख्य कारण भनेको मानिसको लसपसबाट नै हुने गर्छ । कुखुराको सुली, भुत्ला, कुखुरा बोक्ने गाडी, क्रेट, भाँडाकुडा आदिबाट पनि सङ्क्रमण हुने गर्दछ । अन्डाबाट चल्लामा पनि सङ्क्रमण हुने हुँदा ह्याचरी (चल्ला कोरल्ने कारखाना) बाट पनि सङ्क्रमण भएको हुन सक्दछ ।
कहिलेकाहीँ खोप खुवाएको कुखुरामा पनि रोगको सङ्क्रमण भएको पाइन्छ, यसो हुनुको मुख्य कारण भनेको खोपको उचित तवरबाट ढुवानी र भण्डारण नभएको भन्ने बुझिन्छ । कहिलेकाहीँ यो पनि सम्भावना छ कि एउटा भाइरसविरुद्धको खोप प्रयोग ग¥यो भने रोगको सङ्क्रमण अर्को प्रकृतिको भाइरसले पनि हुने गर्छ ।
सङ्क्रमणबाट मृत्यु भएका कुखुराहरू उचित तवरबाट व्यवस्थापन नगर्दा पनि सङ्क्रमण फैलनलाई मद्दत पुगेको छ । सामान्यतया मृत्यु भएको कुखुराहरूलाई खाल्टो खनेर पुर्नुपर्ने हो, तर किसानहरूले यसो गर्नुको सट्टा बोरामा राखेर खोलातिर अथवा फोहोर फाल्ने ठाउँमा फाल्ने गर्दछ, जुन गलत हो । यसले गर्दा अरू पन्छीहरूलाई सर्नुका साथै उक्त पन्छीको माध्यमबाट नै कुखुरा फार्ममा रोग सङ्क्रमण हुने ज्यादै सम्भावना रहन्छ । यस्तो गर्दा छिट्टै नै महामारीको रूपमा फैलन्छ ।
लक्षण तथा मृत्युदर
जसरी सङ्क्रमण एकै प्रकृति र एकैनासको हुँदैन त्यसरी नै लक्षण र मृत्युदर पनि एकै खालको हुँदैन । सङ्क्रामक भाइरस तीन प्रकृतिको भएकोले मृत्युदर र लक्षणमा एकरूपता नभएको हो । कडा प्रकृतिको भाइरस (Velogenic) ले सङ्क्रमण भएको खण्डमा बिनालक्षण नै पनि मृत्यु हुने गर्छ । तर धेरैले श्वासप्रश्वास प्रक्रिया असामान्यरूपमा देखाउँछ । यो नै पहिलो लक्षण हो । सुरुमा दिसा (सुली) सेतो, पहँेलो वा रातो (कुनैले) छेर्ने गर्छ र लगत्तै हरियो पानीजस्तो छेर्ने गर्छ, यो पनि अर्को प्रमुख लक्षण हो । रोग सङ्क्रमणको सुरुको अवस्थामा अत्यधिक ज्वरो आउने गर्छ । नशामा पनि सङ्क्रमण हुने भएकोले कुनैमा शरीरको मासु फरफराउने, पखेता तत्राउने, घाँटी बङ्ग्याउने आदि लक्षण देखाउने गर्छ । यस्तो अवस्थामा मृत्युदर १०० प्रतिशतसम्म पुग्ने गर्दछ । यस अवस्थाको भाइरस तुरुन्त अन्यत्र पनि फैलिने गर्छ र महामारीको रूप लिने गर्छ ।
दानापानी नखाने, झोक्र्याउने, अन्डाको उत्पादन बन्द हुने, पखेता, खुट्टा तथा घाँटीमा पक्षघात हुने, छेर्ने र अन्तमा मृत्यु हुने सामान्य लक्षणहरू नै हुन् । मृत्युदर भने कडा प्रकृतिको भाइरसबाहेकमा ५० प्रतिशतको हाराहारीमा हुने गर्छ । रोगबाट बाँच्न सफल भएका कुखुराहरूमा पनि दीर्घकालीन असरहरू देखापर्ने हुनाले अन्डा उत्पादनमा लामो समयसम्म असर पार्ने गर्छ ।
रोकथाम तथा नियन्त्रण
रोकथाम र नियन्त्रणको प्रमुख उपाय भनेको नै खोेप तालिकाअनुसार नियमित खोप लगाउनु नै हो । भाइरसको कुनै औषधि हुँदैन, अतः तालिकाअनुसार नियमित खोप नै औषधिको रूपमा रोकथाम गर्ने हो । बजारमा तीन प्रकारका खोपहरू सहज उपलब्ध छन् – एफ वान, आर टु बी र एनडी (Killed) । हालको महामारीमा (लेखकको अनुभवअनुसार) एफ वान वा बी वान मात्र खोप दिइएका कुखुराहरूमा पनि सङ्क्रमण देखिएको छ भने आर टु बी खोप दिइएका कुखुरामा अत्यन्त न्यूनमात्रामा सङ्क्रमण देखिएको छ, ND Killedखोपसमेत दिइएको कुखुरामा भने सङ्क्रमण नभएको देखिन्छ । R2B / ND Killed खोपहरू सुईको माध्यमबाट दिइन्छ भने F1 वा B1 खोप पानीमा घोलेर दिइन्छ । सुईको माध्यमबाट दिइएका खोपहरू शरीरमा दीर्घकालीनरूपमा रोग प्रतिरोधात्मक शक्ति रहिरहन्छ । सुईबाट दिइएका खोपहरूले १०–१४ दिनभित्रमा रोग प्रतिरोधात्मक शक्ति उत्पन्न गरी ६ महिना वा सो भन्दा बढी समयसम्म रहन्छ । F1 वा B1   खोप भने खोपाएको ५–७ दिनमा रोगप्रतिरोधात्मक शक्ति उत्पन्न दुई हप्तादेखि दुई महिनासम्म शरीरमा रहने गर्छ । फेरि दोहो¥याई खोपाउनुपर्ने हुन्छ । तर बिरामी अवस्थामा खोप लगाउनु हुँदैन ।
मृत्यु भएका कुखुराहरू (महामारी भएको वा नभएको) जहिले पनि सुरक्षितरूपमा खाल्टो खनेर पुर्नुपर्छ । यो नै महामारी फैलिनबाट बचाउने सबैभन्दा भरपर्दो माध्यम हो । हरेक पोल्ट्री फार्मले वातावरण प्रदूषण नहुने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ भनी पालना गर्नुपर्ने निर्देशिका पालना नगरेको देखिन्छ । फर्मको आफ्नै खाल्टो (Disposal Pit) हुनुपर्ने हुन्छ तर कसैले पनि बनाएको हुँदैन बरु ठीकविपरीत खेलामा लुकिछिपी फाल्ने गरेको पाइन्छ । हालको महामारीमा पनि धेरै किसानहरूले लुकिछिपी विभिन्न खोलाहरूमा बोराका बोरा मरेका कुखुराहरू फालेको देखिन्छ । यस्तो कार्यले वातावरणलाई समेत दुर्गन्धित बनाउनुका साथै रोग÷महामारी फैलाउनसमेत धेरै मद्दत पुगेको छ ।
‘जनस्वास्थ्यमा भाइरसले गर्ने असर’
पन्छीहरूमा ज्यादै नै प्राणघातक रोग भए पनि मानिसलाई भने यस रोगले ठूलो प्रभाव पार्ने क्षमता राख्दैन, तर सम्भावना भने नभएको हैन । मानिसमा यस प्रकारको रोगले सङ्क्रमण भएको खण्डमा आँखा चिलाउने, पोल्ने र आँसु आइरहने हुन सक्छ तर यो एक–दुई दिनपछि आफै ठीक भएर जाने गर्छ । समान्यतया यस भाइरसले मानिसमा सङ्क्रमण गर्न सक्ने क्षमता नभएपनि प्रत्यक्ष रूपमा कुखुरासँग वा फर्ममा काम गर्ने, खोप लगाउने, भाइरसको सम्पर्कमा काम गर्ने तथा कुखुरा चिरेर हेर्न व्यक्तिलाई सङ्क्रमण हुने सम्भावना रहन्छ ।
रानीखेत भाइरसलाई निर्मूलन
सन् १९४२ र १९५७ मा गरेको अनुसन्धान प्रतिवेदनअनुसार भाइरसलाई तापको माध्यमबाट निम्न तालिकाअनुसार निर्मूलन गर्न सकिन्छ
ताप निर्मूलन सयम
१००० सेल्सियस एक मिनेट
५६० सेल्सियस ५–६ मिनेट
३७० सेल्सियस एक घन्टा – एक दिन
२००–८० सेल्सियस एक महिनादेखि एक वर्ष
बजारमा उपलब्ध हुने सामान्य रसायन÷औषधिले पनि यस रोग/भाइरसलाई निर्मूल गर्न सकिन्छ । जस्तै – पोटासियम परम्यागिनेट १ : ५०० भाग पानीमा घोलेर छर्किने, फर्मालिन ३ प्रतिशत पानीमा घोल बनाएर पनि छर्किन सकिन्छ र विषाक्त ग्यास उत्पादन गरेर पनि (Fumigation) तरिकाबाट पनि निर्मूल गर्न सकिन्छ ।

डा. विमल घेमोसू (लेखक पशु चिकित्सक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *