मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
- जेष्ठ १, २०८३
सम्पदा र संस्कृति संरक्षणमा उदाहरणीय कार्य गर्दै आएको भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धि सिङ्गो देशकै लागि अनुकरणीय बनेको छ । देशभरका स्थानीय तहमध्ये अलग परिचय बनाएको भक्तपुर नपाले खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ । खेलकुदको विकासको लागि भक्तपुरले हरेक वर्ष अन्तरनगर राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । यो वर्ष राष्ट्रव्यापी अन्तर नगर बुद्धिचाल प्रतियोगिताको शनिबार उद्घाटन भएको छ । त्यस्तै विभिन्न खेलका भक्तपुर नगरव्यापी विद्यालयस्तरीय प्रतियोगिता पनि भइरहेका छन् । यसले विशेषतः खेलाडी र खेलप्रेमीहरूलाई सक्रिय र उत्साहित बनाएको छ ।
जुन देशका नागरिक शारीरिक र मानसिक हिसाबले स्वस्थ हुन्छन्, त्यो देश कहिल्यै पनि असुरक्षित हुनसक्दैन । नागरिकको शारीरिक र मानसिक विकासको निम्ति खेलकुदका गतिविधि अपरिहार्य हुन्छ । खेलकुद कुनै प्रतिस्पर्धाको प्रयोजनको लागि मात्र खेलिने गरिंदैन । खेलकुदको प्रत्यक्ष सम्बन्ध खेलाडीको शारीरिक र मानसिक विकाससँग हुने गर्दछ । खेलकुदले सामाजिक सद्भाव र भाइचारा अभिवृद्धिको निम्ति अहम् भूमिका खेल्ने गर्छ । परोक्षरूपमा खेलकुदले देशभक्ति भावना र सार्वभौमिकता रक्षाको लागि योगदान गरिरहेको हुन्छ । त्यसकारण खेलकुदलाई प्राचीनकालदेखि नै सामाजिक जीवनको अभिन्न हिस्सा मानिँदै आएको छ । विश्वमै खेलकुदले बृहत् स्थान पाउँदै आएको छ ।
भक्तपुर नगरपालिकाले खेलाडीको मात्र नभई नगरवासीको शारीरिक विकासलाई ध्यानमा राखी नगरका विभिन्न खुला क्षेत्रमा शारीरिक व्यायामका सामग्री राखिदिएको छ । कोभिड–१९ महामारीका कारण ती व्यायामशालाहरू हाल केही बन्द छन् त केही अव्यवस्थित छन् । कतिपय स्थानमा व्यायाम सामग्रीहरू बिग्रेका छन् भने कतिपय स्थानमा खिया परेका छन् । व्यायामशालाको यस्तो अवस्थाका कारण व्यायामप्रति नगरवासीको उत्साह पनि घटेको देखिन्छ । जुन उत्साह र प्रचारबाजीका साथ व्यायामशाला सञ्चालनमा आएका थिए, आज त्यो उत्साहमा तेल सकिँदै गएको अनुभव गरिएको छ । नगरपालिकाले जुन उत्साह र सदाशयताका साथ ती व्यायामशालाको थालनी गरेको हो, त्यसलाई पुनःजीवन दिनुपर्ने अवस्था छ ।
खेलकुदको विकासको निम्ति नगरपालिकाले नियमित तालिम सञ्चालन गर्दै आएको छ । त्यस्ता तालिमकै जगमा भक्तपुरले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिन सकेको छ । भक्तपुरले जन्माएका ती खेलाडीहरू आज देशकै इज्जत बनेका छन् । यसकारणले पनि भक्तपुर नपालाई अन्य नपाभन्दा पृथक बनाएको छ । विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले खेल क्षेत्रमा सम्भावनाका नयाँ ढोकाहरू खोल्न मद्दत गर्नेछ । आज नपाले आयोजना गरेका खेलकुद प्रतियोगिता भविष्यमा उत्तम खेलाडीको विकासको लागि जग बन्ने छ ।
कोभिड–१९ को कारण विश्वभर पर्यटन क्षेत्रले ठूलो धक्का अनुभव गरिरहेको छ । भक्तपुर नपाको आयस्रोतमध्ये महत्वपूर्ण स्थानमा रहेको पर्यटन क्षेत्रबाट नपालाई हुने आम्दानी पनि घटेको छ । आम्दानीको कटौतीसँगै खर्चको परिधि साँघुरो बन्नु स्वाभाविक हो । तथापि, भक्तपुर नपाले खेलकुद क्षेत्रलाई भने लगानीमा कुनै कटौती नगरी खेलकुद प्रतियोगिता आयोजना गर्नु कदरयोग्य छ । खेल मैदानमा खेल खेलिरहेका उत्साही खेलाडीलाई उत्साह भर्न साथ दिइरहेका दर्शकहरूका जाँगरले एकमुष्ठ भक्तपुरको हजार माइलको लामो यात्राअघिको पाइलाको कदर गरिरहेको अनुभव हुन्छ । आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी नागरिक जीवनलाई अझ जीवन्त र अनुशासित बनाउन टेवा पु¥याउने आशा गरौँ ।
Leave a Reply