भर्खरै :

के बुखारिन र त्रोत्स्कीहरू नेपालमा देखिँदै छन् ?

सोभियत सङ्घ संसारको सबभन्दा ठूलो क्षेत्रफल भएको प्राकृतिक सम्पदाको देश थियो । त्यो विज्ञान र प्रविधिको विकासमा एक अब्बल देशमध्ये थियो, सैनिक हिसाबले सबभन्दा शक्तिशाली देश थियो । तर, त्यस्तो समृद्ध शक्तिशाली देश आज किन तुलनात्मकरूपले तल झ¥यो ?
त्यसको उत्तर हो – साम्राज्यवादी र विस्तारवादी देशहरूबाट सञ्चालित बुखारिन र त्रोत्स्कीजस्ता महत्वाकाङ्क्षी नेताहरू र नीतिहरूका कारण पछि पछि समाजवादी देशलाई पुँजीवादमा पुनः स्थापना गर्न साम्राज्यवादीहरूसँग भित्रभित्र मिलेर षड्यन्त्र भए । खुश्चेभ र अन्य विश्वासघाती र सिद्धान्तच्यूत नेताहरूले किरोभजस्ता पछिल्ला पुस्ताका सम्भावित नेताहरूलाई हत्या गरे र स्तालिनलाई समेत विषालु सुई दिएर हत्या गरे ।
गोर्भाचोभसम्म पुग्दा कम्युनिस्ट पार्टीलाई भङ्ग गरियो, समाजवादलाई उल्ट्याइयो र सोभियत सङ्घलाई १५ टुक्रामा विभाजित गरियो । त्यो कसरी सम्भव भयो ? टर्कीमा एक पत्रकारको प्रश्नको उत्तरमा गोर्भाचोभले भने, “मेरो जीवनको उद्देश्य नै त्यही थियो ।” अर्थात् कम्युनिस्ट पार्टी र समाजवादलाई पुँजीवादमा पतन गराउन र सोभियत सङ्घलाई धुजा धुजा गर्न उनी कम्युनिस्ट बनेका थिए ।
त्यसैको प्रकाशमा नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरौँ । नेपालमा समाजवादको अर्थात् ‘प्रजातान्त्रिक समाजवाद’ को वकालत गर्ने वीपी कोइराला तथा नेपाली काङ्ग्रेस थिए । तर, नेकाले पटकपटक सरकारको नेतृत्व गर्दा पनि समाजवादको बाटोमा लाग्ने काममा सिन्को पनि भाँच्ने काम गरेन । त्यसको ठीक उल्टो नेकाका सरकारहरूले नेपाललाई मित्रराष्ट्रहरूले दिएका उद्योगधन्दा र सेवाहरूलाई आफ्नो देश र जनताको हितमा विकास गर्नु र हित गर्नुभन्दा निजीकरण गर्दै विदेशीको हातमा सुम्पने काम गरे । ‘प्रजातान्त्रिक समाजवाद’ को अर्थ निर्वाचनबाटै वा शान्तिपूर्ण ढङ्गले नै आर्थिक समानता, पूर्ण रोजगारी प्रदान गर्न र देशलाई उन्नत समाजमा बदल्न प्रगतिशील कर प्रणालीको उपयोगबाट समाजवाद स्थापना गर्नु हो ।
तर नेपाली काङ्ग्रेसकै सरकारले विदेशको भनाइमा लागेर देशको औद्योगिक र कृषि अर्थतन्त्र ध्वस्त पार्न ७० लाख नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने ढोका खोलेको प्रस्ट छ । तर, नेका तथा नेकांका सरकारहरूले वीपी कोइरालाको ‘समाजवाद हाम्रो टाढाको लक्ष्य हो’ भन्ने भनाइलाई कहिल्यै फिर्ता लिएको वा आलोचना गरेको देखिन्छन् ।
त्यस्तै, ‘नेपाल कम्युनिस्ट पार्टी’ भनिने ‘एमाओवादी, चौथो महाधिवशेन (जनमोर्चा), एमाले आदि कम्युनिस्ट पार्टीहरू’ को जात्रा भर्खर नेपाली जनताले देखे– भोगेको कुरा हो ।
नेकपा (प्रचण्ड) र जनता समाजवादी पार्टी (बाबुराम भट्टराई) नेपाली जनताको निम्ति नयाँ नाम होइनन् । बाबुरामले त्रोत्स्कीको समर्थनमा वकालत गरिरहेका छन् । त्रोत्स्की र बुखारिनले जर्मनी र अन्य साम्राज्यवादीहरूसँग मिलेर आफ्नै देश सोभियत सङ्घमाथि आक्रमण गराई देश टुक्र्याएर विदेशको हातमा सुम्पने षड्यन्त्र गरेका थिए । विदेशलाई देशको भाग सुम्पेर क्रान्ति र समाजवाद स्थापना गर्ने, लेनिन र स्तालिनलाई पक्राउ गरी हत्या गर्ने र क्रान्तिलाई बिसर्जन गर्ने षड्यन्त्र गरेका थिए । आज प्रचण्ड र बाबुराम कुन देशको इसारामा सत्तामा किन फेरि आउन खोज्दै छन्, घोत्लिनुपर्ने विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *