भर्खरै :

सारा नेपाली जनता होसियार होऔँ !

देशमा संसद् विघटन र नयाँ निर्वाचनको घोषणा भयो तर सर्वाेच्च अदालतको फैसलाबाट संसद्को पुनः स्थापना भयो । नेकपालाई अदालतले नै टुक्र्यायो । त्यसपछि, शासक राजनैतिक दलहरू सिद्धान्त, विचार र नीतिबारे छलफल गर्नुभन्दा सरकारले बनाउने पार्टीगत हितको प्राथमिकतामा ध्यान दिएको खबरपत्रिकाहरूबाट प्रस्ट हुन्छ । प्रधानमन्त्री कुन दलले पाउने, कुन दल र नेतालाई बहिष्कार गर्ने जस्ता विषयमा तिनीहरूको छलफल केन्द्रित हुँदै छ । ‘एक धार्नी चाकु खाएर पनि स्वाद थाहा नपाउने’ पार्टी, नेता र कार्यकर्ताहरूलाई सरकार भनेको ‘बाँदरलाई जटावाल नरिवल’ भएको छ ।
जब बाँदरले जटावाल नरिवल भेट्टाउँछ, दाँतले टोक्छ, चिथोर्छ, हल्लाउँछ फेरि टोक्छ, चिथोर्छ, हल्लाउँछ र फाल्छ । फेरि, भित्र झोल पदार्थको आवाज सुन्छ, टोक्छ, चिथोर्छ र फाल्छ । बाँदरले आफ्नै टाउकोमा नरिवलले हान्छ, टाउको रगताम्य हुन्छ । अन्ततः, नरिवल फालेर बाँदर भाग्छ । नेपालका शासक दलहरू एक्ला–एक्लै, मिलेर वा समझदारी गरी एवम् संयुक्त भई निर्वाचनमा जान्छन्, जनतामा बोक्रे कुरा पस्कन्छन्, सामान, पर्चा बाँड्छन् अनि निर्वाचन नियमावली र आचारसंहिता कुल्चेर चुनाव जित्छन् र सरकार बनाउँछन् ।
उद्योग–वाणिज्य सङ्घ, ठेकेदार (निर्माण) व्यवसायी सङ्घ, घर–जग्गा कारोबारी तथा देशी र विदेशी अनेक रङ्गका एजेन्टहरूको सल्लाहमा नयाँ सरकारले नीति निर्माण गर्छ, विधेयक संसद्मा प्रस्तुत गर्छ, औपचारिकरूपले विधेयक पारित गर्छ । त्यस्ता ऐन–कानुनबाट देश र जनताको हित होइन बरु जनतालाई नै चुस्ने वर्गको हित हुने काम गर्छ । बुद्धिजीवीहरू भन्ने गर्छन्, “के गर्ने हामीले गरेर हुन्न ¤ सबै राजनैतिक दल र सरकारहरू उस्तै छन् ।” तर, ती बुद्धिजीवीहरू नै हरेक शासक दल र मन्त्रीहरूका सल्लाहकार, वकिल र विशेषज्ञ हुन्छन् । तलब खाने सल्लाहकारहरू पनि आ–आफ्नो दोष स्वीकार गर्दैनन् ।
खुलेर प्रस्तुत नहुने तर जात, धर्म र क्षेत्रको आधारमा दलहरूको पक्ष लिई मत दिएका बुद्धिजीवीहरू भने ‘हामी तटस्थ’ र ‘गुप्त मतदान कसलाई दोष दिऊँ’ भनी साखुल्ले हुन्छन् । तर, निरक्षर र गरिब मतदाताहरू भन्ने गर्छन्– “हामीले खाममा पैसा पायौँ, मासु र माछाको पोको पायौँ, ग्यास चुलो र ग्यास सिलिन्डर पायौँ, चामल र चिउराका बोराहरू पायौँ, कुर्ता र सुरुवाल, चोलो र फरिया पायौँ” ।
केही चलाख भइटोपलेका युवाहरूले नोकरीको आश्वासन, ठेकेदारी र कामको आश्वासन पाए । कतिपयले काम पनि पाए । धेरैजना आफ्नै घरखेत बन्धकी राखेर वा बेचेर विदेश गए । सारमा, ती सबैले देश डुबाउने काम गरे, जानेर वा नजानेर ।
सरकार बनाउने दौडधुपमा एक नेताले भने, “के गर्ने यहाँ भारतले नभनी केही हुन्न ¤ संसद् पुनः स्थापना हुनु, पार्टीहरू फुट्नु, काङ्ग्रेस, प्रचण्ड नेकपा, मधेसवादी दल आदिको छलफल तथा निर्णय अन्तमा भारतकै गोटीको चालमा हुन्छ ।”
दोष कहाँ छ ? ब्रिटिश–भारतसँग नेपाल कसरी हा¥यो बुझ्नु आवश्यक छ । आफ्नै देशका विश्वासघाती, महत्वाकाङ्क्षी शासकहरूले ब्रिटिशहरूलाई आफ्नो देशको गुप्त कुरा बताए । जसरी भारतका राजा–महाराजा र विश्वासघातीहरूले अङ्ग्रेज उपनिवेशवादीहरूलाई देशको गुप्त कुरा बताएका थिए । उनीहरूलाई आपसमा लडाएर २०० वर्षसम्म अङ्गे्रजहरूले शासन गरे, भारतका राजा महाराजाहरू अङ्ग्रेजका दास बने ।
देश हार्नुमा मूलतः राजा–महाराजा, प्रधानमन्त्री र मन्त्रीहरू दोषी भए पनि सेना, प्रहरी, गुप्तचर विभाग, प्रशासन यन्त्र (मन्त्रालयका मुख्यमुख्य कर्मचारीदेखि प्रमुख जिल्ला अधिकारी) सम्म जिम्मेवार हुन्छन्– व्यक्तिगतरूपले वा संस्थागतरूपले । आज पुनः देश हार्ने सम्भावना छ । सारा नेपाली जनता होसियार होऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *