भर्खरै :

काम्पानेलाको घमाइलो सहर– ६

प्रमुख :अब मलाई पुजारीहरू, तिनीहरूको भोग चढाउने तरिका, धर्म र विश्वासबारे बताऊ ।
कप्तान : प्रधान पुजारी होह हुन्छन् र पापमोचन गर्नु सबै प्रमुख प्रशासकको कर्तव्य हुन्छ । यसरी समग्र राज्यले नै हामीले जस्तै गोप्य प्रायश्चितद्वारा प्रशासकसामु आफ्ना पापहरू बताउँछ । प्रशासकले उनीहरूको आत्मा शुद्ध पार्छ र जनताका निम्ति हानीकारक व्यक्तिहरूलाई शिक्षा दिन्छ । पवित्र प्रशासकहरूले आफ्ना पापकर्मबारे तीन प्रधानसामु प्रायश्चित गर्छन् । उनीहरू एकअर्कासँग आफ्ना ठूला र राज्यका लागि हानिकारक गल्तीबारे प्रायश्चित गर्छन् । तीन प्रधानहरूले भने होहसामु आफ्ना पापहरूको प्रायश्चित गर्छन् । होहले राज्यका लागि घातक र समयक्रममा सुध्रिने पापहरू छुट्याउँछन् । त्यसपछि उनले ईश्वरलाई भोग चढाउँछन् र प्रार्थना गर्छन् । यसअघि उनले ईश्वरका सामुन्ने सार्वजनिकरूपमा मण्डपमा बसेर जनताका सबै पापहरूको प्रायश्चित गर्छन् । त्यसबेला उनले सुधार्नुपर्ने गल्तीहरू बताउँछन् । तैपनि कुनै पनि कसुरदारको नाम लिइन्न । यसरी उनले जनतालाई कस्तो पापबारे चनाखो हुनुपर्छ भनी उपदेश दिन्छन् । त्यसपछि उनले ईश्वरसामु राज्यलाई माफ गर्न, उसको पापमोचन गर्न, राज्यलाई शिक्षित गर्न र रक्षा गर्न भोग चढाउँछन् । प्रत्येक वर्ष सबै उपराज्यहरूका प्रमुख पुजारीहरूले होहको उपस्थितिमा आआफ्ना पापहरूको प्रायश्चित गर्छन् । यसरी उनी आफ्ना प्रान्तहरूका गलत कार्यबारे अजान रहँदैनन् बरु उनले तिनलाई सम्पूर्ण मानवीय र पारलौकिक उपायले हटाइदिन्छन् ।
भोग चढाउने तरिका यस्तो हुन्छ – होहले कसले आफ्ना मित्रहरूको साटो ईश्वरसामु आफ्नो आहुति दिन चाहन्छ भनी जनतालाई प्रश्न गर्छन् । त्यसपछि उसलाई उत्सव र प्रार्थनाका साथ चौथो टेबलमा राखिन्छ । टेबललाई मन्दिरको सानो बुर्जाको बीचमा बाँधेका चारवटा दाम्लाले गजब तरिकाले झुन्ड्याइएको हुन्छ । यति गरेपछि दयावान ईश्वरसामु अधर्मीहरूबीचको पशुको नभई मानिसको भोग स्वीकार गर्न हारगुहार गरिन्छ । त्यसपछि होहले दाम्लो तान्न आदेश दिन्छन् र भोगलाई सानो बुर्जाको बीचसम्म पु¥याइन्छ । त्यहाँ उसले सबैभन्दा अत्यन्त विनित भावले आफूलाई समर्पित गर्छ । त्यहाँ पुजारीले खोपीबाट उसलाई खाना दिन्छन् । पुजारीहरू त्यही वरिपरि गुम्बजमा बस्ने गर्छन् । राज्य सम्पूर्ण पापबाट मुक्त नभएसम्म उसलाई एकदम न्यून आहार दिइन्छ । त्यहाँ बन्दना र उपवास गर्दै उसले स्वर्गका स्वामीसँग आफ्नो बलि स्वीकार्न रोईकराई गर्छ । २० वा ३० दिनपछि ईश्वरको क्रोध सेलाउँछ । भोग चढाइएको व्यक्ति पुजारी बन्छ । कहिलेकाहीँ यस्तो पुजारी अन्य पुजारीहरूको बाटो हुँदै बाहिर निस्किन्छ । त्यसपछि त्यस व्यक्तिलाई ठूलो सम्मान र करुणासाथ व्यवहार गरिन्छ किनभने उसले आफूलाई देशको खातिर बलिवेदीमा चढाएको हुन्छ । तर, ईश्वरलाई उसको मृत्यु चाहिँदैन ।
चौबीस वर्षको उमेर नाघेका पुजारीहरूले मन्दिरको शिखरबाट प्रार्थना गर्छन् । यस्तो उनीहरू मध्यरात, मध्यान्न, बिहान र साँझ गर्छन् । ईश्वरको उपस्थितिमा उनीहरूले दैनिक चारचोटि भजन गाउँछन् । नक्षत्रहरूको अवलोकन गर्नु, तिनको गति र मान्छेमाथि त्यसको प्रभावबारे ज्योतिष यन्त्रले विवरण राख्नु र त्यसको शक्ति पत्ता लगाउनु उनीहरूको काम हो । यसरी उनीहरूले पृथ्वीको कुन भागमा कतिबेला कस्तो परिवर्तन भयो र हुनेछ भनी थाहा पाउँछन् । अनि, उनीहरूले आफूले भनेझैँ भयो कि भएन भनी पत्ता लगाउन मान्छेहरू पठाउँछन् । उनीहरूले गलत र सही भविष्यवाणीको विवरण राख्छन् । त्यसले उनीहरूलाई सटिक भविष्यवाणी गर्न सक्षम बनाउँछ । पुजारीहरूले नै प्रजनन र अन्न रोप्ने, बाली काट्ने र उब्जनी भित्र्याउने समय किटान गर्छन् । उनीहरू नै ईश्वरका दूत र मध्यस्थकर्ता अनि ईश्वर र मान्छेबीचका पुल हुन् । यिनै पुजारीहरूबाट प्रायः होहको छनोट हुन्छ । उनीहरूले अत्यन्त ज्ञानगुनका सूत्रहरू लेख्छन् र विज्ञानको खोजीनीति गर्छन् । खानाको निम्ति बाहेक उनीहरू तल ओर्लिँदैनन् । यसकारण उनीहरूको मस्तिष्कको मूलतत्व तल पेट वा कलेजोमा झर्दैन । यदाकदा एक्लोपनाको व्यथा निको पार्नमात्र उनीहरू महिलासँग कुराकानी गर्छन् । निर्धारित दिनहरूमा होह उनीहरूकहाँ जान्छन् र पछिल्लोपल्ट राज्य र विश्वका समस्त राष्ट्रहरूको हितमा आफूले गरिरहेको चिन्तनबारे कुराकानी गर्छन् ।

मन्दिरनजिकै मण्डपमा सदा एकजना पुजारीले जनताको लागि प्रार्थना गरिरहेका हुन्छन् । हामीकहाँ चार घण्टामा मात्र पालो फेरिन्छ भने त्यहाँ घण्टैपिच्छे पुजारीको पालो फेरिन्छ । यस्तो खालको समर्पणलाई उनीहरू निरन्तर प्रार्थना भन्छन् । खाना खाएपछि उनीहरू ईश्वरलाई धन्यवाद चढाउँछन् । त्यसपछि उनीहरूले इसाई, यहुदी र गैरयहुदी नायकहरू गरी संसारका सम्पूर्ण राष्ट्रका नायकहरूको महिमा गाउँछन् । यसो गर्दा उनीहरू खुब रमाउँछन् । निःसन्देह कोही पनि अरूप्रति इष्र्या गर्दैनन् । उनीहरूले प्रेम, विवेक र सम्पूर्ण सदाचारहरूको भजन गाउँछन् । यसो गर्दा उनीहरूले सबै सदाचारका शासकहरूको मार्गनिर्देशनमा काम गर्छन् । प्रत्येकले आफूले माया गर्ने महिलालाई आफ्नो बनाउँछन् अनि मन्दिरको छानामुनि अदब र शानका साथ व्यायामका लागि नाच्छन् । महिलाहरूले आफ्नो लामो केशलाई घुमाएर शिरमाथि पोको पार्छन् । त्यसलाई बेर्ने बेला उनीहरूले एउटा लर्कन तल झार्छन् । जब कि पुरुषहरूको शिरमा एउटै लर्कन हुन्छ र बाँकी भाग मुडुलो हुन्छ । त्यसमाथि उनीहरूले सानो टोपी लगाउँछन् र अझ माथि टाउकोभन्दा अलि ठूलो र गोलो ह्याट लगाउँछन् । खेतमा उनीहरूले टोपी लगाउँछन् तर घरमा प्रत्येकले सेतो, रातो अथवा व्यवसाय वा पेशा सुहाउँदो रङको धार्मिक टोपी लगाउँछन् । प्रशासकहरूले भने अझ प्रभाव जमाउने किसिमको टोपी लगाउँछन् ।
सूर्यले आकाशका चार मुख्य बिन्दुमा अर्थात् कर्कट, तुला, मकर र मेष राशिमा पसेको बेला महान् चाडपर्वहरू मनाइन्छ । यी अवसरमा उनीहरूले हाँसखेल गर्छन् किनभने उनीहरू सुशिक्षित र प्रभावशाली छन् । प्रत्येक औँसी र पुर्णे उनीहरूले धुमधामसित मनाउँछन् । सहरको स्थापना दिवस, युद्धमा विजयी भएको दिवस वा यस्तै महान् उपलब्धि हासिल गरेको दिवस उनीहरूले प्रत्येक वर्ष मनाउँछन् । यस्तो उत्सवमा महिला स्वरमा गीतसङ्गीत चल्छ, बिगुल र नगराको धुन सुनिन्छ र बन्दुक पड्काएर सलामी दिइन्छ । कविहरू प्रसिद्ध नेता र विजेताहरूको महिमा गाउँछन् । तैपनि, कसैले विदेशी नायकलाई होच्याएर मान्छेलाई झुक्याउँछ भने उसलाई सजाय हुन्छ । बनावटी कुरा गर्ने व्यक्तिले कविको स्थान लिन सक्दैन । यस्तो खालको लिखतलाई उनीहरू तुच्छ ठान्छन् किनभने यसले सदाचारलाई असामान्य बनाउँछ र चाप्लुसी, महत्वाकाङ्क्षा वा लोभसँग डराउनाले प्रायः गलत व्यक्तिलाई सदाचारी देखाउँछ ।
कसैको सम्मान गर्न उसको जीवनकालमै मूर्ति ठडाइन्न । तर, कलाका नौला वा अत्यन्त उपयोगी रहस्यहरू पत्ता लगाउने व्यक्ति अथवा देशभित्र बसेर वा युद्धको मैदानमा गएर राज्यको महान् सेवा गर्ने व्यक्तिको नाम उसको जीवनकालमै नायकहरूको किताबमा लेखिन्छ । प्लेग नफैलोस् भनेर उनीहरूले मृत शरीरलाई गाड्दैनन् बरु जलाउँछन् । यसो गर्दा शरीर पवित्र र शक्तिशाली अग्निमा परिणत हुन्छ । सूर्यबाट निस्कने अग्नी सूर्यतिरै फर्किन्छ । यसकारण मूर्तिपूजाको कुनै सम्झना हुँदैन । तैपनि, त्यहाँ नायकहरूका मूर्ति र चित्रहरू हुन्छन् र आमा बन्न थालेका सुन्दर महिलाहरूले तिनलाई बारम्बार हेरिरहन्छन् । राज्यले विश्वका चार कुनाबाट प्रार्थना गर्ने प्रबन्ध मिलाउँछ । बिहान घाम झुल्किने र घाम अस्ताउने दिशा अनि दक्षिण र उत्तरको ठीकविपरीत क्रमशः पश्चिम, पूर्व, उत्तर र दक्षिण गरी चार दिशामा प्रार्थना हुन्छ । उनीहरूले एउटै प्रार्थना दोहो¥याइरहन्छन् । त्यसमा शरीर र मनको सुस्वास्थ्यको कामना हुन्छ अनि आफू र समग्र मानव जातिको सुखको चाहना हुन्छ । अन्तिममा उनीहरू भन्छन्, ‘ईश्वरको जो इच्छा ।’ सर्वसाधारणको ईश्वर बन्दना लामो हुन्छ र त्यो छिट्टै स्वर्ग पुग्छ । यसका लागि मण्डप गोलो हुन्छ र बीचमा चौकुना बनाएर विभाजित हुन्छ । यी मार्गबाट होह प्रवेश गर्छन् र स्वर्गतिर फर्केर चारथरी प्रार्थना दोहो¥याउँछन् । त्यसपछि चमत्कार देखिन्छ । पुजारीहरू बस्ने तला आरोन जातिको जस्तै सुन्दर र अर्थपूर्ण हुन्छ । त्यो प्रकृतिजस्तै हुन्छ र त्यसले कलाको सीमा उछिनेको हुन्छ ।
उनीहरूले नक्षत्र हेरेर नभई सूर्यको परिक्रमाअनुसार मौसम विभाजन गरेका छन् । उनीहरूले प्रतिवर्ष कसले कतिचोटि अरूलाई उछिन्यो भनी अवलोकन गर्छन् । उनीहरूले सूर्य झन् नजिकिएको अनि झन्झन् सानो र गोलो कक्ष बनाई प्रतिवर्ष (पृथ्वीका) भूमध्य रेखा र अक्ष रेखाहरूमा पुग्न झन् छोटो समय लिएको मान्छन् । उनीहरूले चन्द्रमालाई हेरेर महिना नाप्छन् भने सूर्यलाई हेरेर वर्ष नाप्छन् । उनीहरूले टोलेमी र कोपर्निकसको तारिफ गर्छन् । तर, एरिस्टार्कस र फिलोलसलाई त्यसभन्दा पनि उच्च स्थान दिन्छन् । उनीहरूले विश्वको संरचना बुझ्न ठूलो कष्ट उठाउँछन् र कुनै बेला यो नष्ट होला कि नहोला भनी थाहा पाउने जमर्को गर्छन् । सूर्य, चन्द्र र ताराहरूको सङ्केतबाट यशु क्राइस्टको सत्य सन्देश थाहा पाउन सकिन्छ भन्ने उनीहरूको विश्वास छ । यस्ता सङ्केतहरू हामीमध्ये धेरैलाई मूर्खतापूर्ण लाग्छ । त्यसैले उनीहरूले आफ्नो यौवन फर्काउने र मर्ने समय पर्खिन्छन् ।
यो संसार शून्यबाट बनेको होला, नष्ट भएको अर्को संसारको भग्नावशेषबाट बनेको होला अथवा कुनै भाँडभैलोबाट उत्पन्न भएको होला भन्ने कुरामा उनीहरू शङ्का गर्छन् । तैपनि यो जगत कुनै न कुनै तरिकाले बनेको हो भन्ने उनीहरूको धारणा छ र सनातन समयदेखि संसार अस्तित्वमा छ भन्ने कुरा उनीहरू मान्दैनन् । यसकारण, उनीहरूले अरस्तुमाथि विश्वास गर्दैनन् । अरस्तुलाई उनीहरू दार्शनिक नभई तर्कशास्त्री मात्र ठान्छन् । तुलनात्मक पद्धतिबाट उनीहरूले विश्व सनातन समयदेखि अस्तित्वमा छ भन्ने कुराको खण्डन गर्छन् । सूर्य र ताराहरूलाई उनीहरू ईश्वरका जीवित प्रतिनिधि वा बिम्ब ठान्छन् । मन्दिर र पवित्र मण्डपहरूलाई पनि उनीहरू त्यसरी नै हेर्छन् । तिनलाई उनीहरू सम्मान गर्छन्, पुज्दैनन् । उनीहरूले सूर्यलाई सबैभन्दा बढी मानमनितो गर्छन् तर सृष्टिमा भएका कुनै पनि वस्तुलाई पूज्य ठान्दैनन् । उनीहरूले ईश्वरको मात्र पूजा गर्छन् । उनीहरू तानाशाहजत्तिको शक्तिशाली बन्नु नपरून् र बदलाको भावनाले सुरु हुने दण्डको सिलसिलाले पिरव्यथा नजन्मिऊन् भनेर उनीहरूले ईश्वरको सेवा गर्छन् । उनीहरूले सूर्यको बिम्बलाई ईश्वर मान्छन् र त्यसलाई ईश्वरको सङ्केत, अनुहार र जीवित प्रतिमूर्ति भन्छन् । प्रकाश, ताप, जीवनलगायत सम्पूर्ण असल र खराब कुराहरू सूर्यबाट नै सृष्टि हुने उनीहरूको विचार छ । त्यसकारण उनीहरूले सूर्यको आकारको मण्डप बनाएका छन् । घाम र ताराहरूको उपस्थितिमा पुजारीहरूले देवताको आराधना गर्छन् मानौँ त्यो मण्डप ईश्वरकै मण्डप हो । ईश्वरको त्यो मन्दिर स्वर्गमै भएजस्तो गर्छन् । उनीहरूले असल देवदूतहरूको बन्दना गर्छन् । ताराहरूलाई ईश्वरका मध्यस्थकर्ता देवदूतहरूको घर मान्छन् । ईश्वरले आफ्नो सौन्दर्य ब्रह्माण्डमा र महिमा सूर्यमा अङ्कित गरेको उनीहरूको विचार छ । उनीहरूको विचारमा एउटै ब्रह्माण्ड छ र ग्रहहरू गतिवान छन् । ग्रहहरू घामको नजिक पुग्दा वा घाममा मिल्दा पुनः बन्छन् ।

उनीहरूले भौतिक जगतको विज्ञानका दुई सिद्धान्तमा जोड दिन्छन् । उनीहरू भन्छन्, सूर्य पिता हुन् र पृथ्वी माता हुन् । वायु ब्रह्माण्डको अशुद्ध भाग हो र आगो सूर्यबाट प्राप्त हुन्छ । समुद्र पृथ्वीको पसिना हो अथवा पृथ्वीमा जल्ने र पृथ्वीको पेटमा जम्मा हुने तरल हो । तर, समुद्र वायु र पृथ्वीबीचको एकताको गाँठो हो । जस्तो, रगत जीवजन्तुको आत्मा र मासुबीचको एकताको गाँठो हो । त्यसैले हामी तारा, सूर्य र पृथ्वीको परिवारको भाग होइनौँ बरु ईश्वरका (अंश) हौँ । किनभने, तिनीहरूको विस्तार भइरहन्छ र तिनीहरूका लेखी हामी भवितव्यले जन्मिन्छौँ र बाँच्छौँ । तर, हामी ईश्वरका औजार हौँ र ईश्वरका लेखी हामी पूर्वनिर्धारित विज्ञान र योजनाबाट कुनै उच्च लक्ष्यका निम्ति जन्मिन्छौँ । त्यसैले, हामी जन्म दिने पिताभन्दा पनि ईश्वरप्रति जिम्मेवार छौँ र सबथोक उनैबाट प्राप्त गर्छौँ । उनीहरूले आत्मा अमर छ भन्ने कुरामाथि प्रश्न गर्दैनन् । जीवित छँदा गरेको कामअनुसार मरेपछि आत्मा असल वा दुष्ट देवदूतसँग मिल्छ किनभने सबैले आफूजस्तै चीज खोज्छन् भन्ने उनीहरूको विश्वास छ । दण्ड र पुरस्कारको मामिलामा उनीहरू हामीभन्दा त्यति भिन्न छैनन् । हाम्रो संसारभन्दा बाहिर अरू संसार पनि छ कि भन्ने सन्देह उनीहरूमा छ, केही पनि छैन भन्ने दाबीलाई उनीहरू पागलपन ठान्छन् । शून्यताको विचार ईश्वरको अपरम्पार अस्तित्वसँग मिल्दैन । उनीहरूले दर्शनका दुई सिद्धान्त अघि सारेका छन् । परम सत्ता ईश्वर हो र शून्यता यस सत्ताको दोष हो । दुष्टता र पाप शून्य प्रवृत्तिबाट जन्मिन्छन् । पापको स्रोत दक्षता होइन, अभाव हो । उनीहरू भन्छन्, अभाव शक्ति, विवेक वा मनोबलको हुन्छ । मनोबलको अभावमा पाप हुन्छ भन्ने उनीहरूको विचार छ । असल कुराको बारेमा थाहा भएको र असल काम गर्ने शक्ति भएको व्यक्तिसँग मनोबल पनि हुन्छ, किनभने मनोबल त्यहीँबाट उत्पन्न हुन्छ । उनीहरूले ईश्वरलाई तीन रूपमा पूजा गर्छन् । ईश्वरलाई सर्वोच्च शक्ति भन्छन् । त्यसपछि सर्वोच्च विवेक आउँछ जुन ईश्वर नै हो । यी दुईबाट प्रेम पलाउँछ जुन शक्ति र विवेक दुवै हो । तर, उनीहरूले हाम्रो इसाई कानुनमा जस्तो व्यक्तिलाई नामले छुट्याउँदैनन् । यो कुरा उनीहरूलाई थाहा छैन । महान् धर्मशास्त्रीहरूले सिकाए र आशा गरेजस्तै यस धर्मका विसङ्गतिहरू हटाएपछि यो नै संसारको भावी स्वामिनी बन्नेछ । यसै सिलसिलामा स्पेनले नयाँ विश्व भेटायो किनभने सम्पूर्ण राष्ट्रहरू एउटै कानुनमुनि भेला हुनुपर्छ । नयाँ विश्व पत्ता लगाउने कोलम्बस नायकहरूका पनि नायक थिए । हामीले के गर्ने भन्ने हामीलाई थाहा छैन । हामी ईश्वरका औजार हौँ र उनलाई हामीले के गर्ने भन्ने थाहा छ । उनीहरूले सुन र धनसम्पत्तिको भोकले नयाँ भूभागहरू खोज्छन् । तर, ईश्वरले त्योभन्दा पनि उच्च काम गर्छन् । सूर्यले पृथ्वीलाई जलाउन खोज्छ, उसले मान्छे र वनस्पति पैदा गर्न चाहँदैन । तर, ईश्वरले अझ ठूला विषयवस्तुको रणभूमिमा बाटो देखाउँछन् । उनलाई कोटीकोटी सम्मान, उनको महिमा अपार ¤
प्रमुख : ओहो, हाम्रा ज्योतिषहरूले आउने युग र हाम्रो युगको बारेमा केके भनेका छन् भन्ने कुरा तिमीलाई थाहै होला । पछिल्लो १ सय वर्षको हाम्रो युगमा संसारको ४ हजार वर्षको इतिहासमा नभएका घटना भएका छन् रे ! छापाखाना र बारुदको आविष्कार, चुम्वकको प्रयोग ! शुक्र, मङ्गल, चन्द्रमा र वृश्चिक राशिबाट केके हुने हो ?
कप्तान : हो त ! समय आएपछि देवताले सबैथोक दिन्छन् । घमाइलो सहरका बासिन्दाहरूले जे पनि ज्योतिषीकरण गर्छन् ।
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *