भर्खरै :

प्राध्यापक माणिकलाल श्रेष्ठको जीवन परिचय–२

राजनीतिक र सार्वजनिक गतिविधि
माणिकलाल श्रेष्ठ साहित्यिक राजनीतिक व्यक्तित्व पनि हुनुहुन्थ्यो । मानिसहरू उहाँलाई ‘स्वतन्त्र वामपन्थी बुद्धिजीवी’ र ‘माक्र्सवादी वरिष्ठ चिन्तक’ भन्छन् । उहाँ कुनै कम्युनिस्ट पार्टीमा आबद्ध हुनुहुन्थेन । तथापि, कम्युनिस्ट आन्दोलनमा आबद्ध हुनुभएकोले उहाँलाई त्यसो भनिएको हुनुपर्छ ।
नेपालको प्रसिद्ध अङ्ग्रेजी पत्रिका ‘स्पटलाइट’ मा माणिकलाल श्रेष्ठको परिचयमा लेखिएको छ, “प्राध्यापक श्रेष्ठ कुनै एउटा पार्टीमा सरिक हुनुभएको नदेखिए पनि नेपालको कम्युनिस्ट आन्दोलनमा स्थापनाकालदेखि नै संलग्न हुँदै आउनुभएको छ ।” (मार्च २०–२६, सन् १९९८)
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना विसं २००६ सालमा भयो । त्यसभन्दा अघि विसं २००३ सालमा एसएलसी उत्तीर्ण गरी त्रिचन्द्र कलेजमा प्रवेश गरेसँगै उहाँ सार्वजनिक गतिविधिमा सामेल हुनुभयो । राणा प्रधानमन्त्री पद्म शमशेरको शासनकालमा नेपालमा सुरु भएको शिक्षा प्रचार अभियानमा उहाँले भाग लिनुभएको थियो । त्यत्तिबेला उहाँ प्रत्यक्षरूपमा राजनीतिक गतिविधिमा सरिक हुनुभएन । तर, त्यत्तिबेलाका राजनीतिक कार्यकर्ताहरूले राजनीतिक गतिविधिलाई टेवा दिन सञ्चालन गरेका विभिन्न शैक्षिक र सामाजिक आन्दोलनमा भने उहाँ सङ्लग्न हुनुभयो । काठमाडौंमा प्रेमबहादुर कंसाकारको पहलमा सुरु भएको स्वयम्सेवक आन्दोलन, पुस्तकालय आन्दोलन आदि गतिविधिमा माणिकलाल श्रेष्ठ संलग्न हुनुभयो ।
विसं २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । उहाँसँग मतभेद भएपछि गंगालाल श्रेष्ठको नेतृत्वमा लाल कम्युनिस्ट पार्टी स्थापना भयो । त्यो समूहको माणिकलाल श्रेष्ठसँग सम्पर्क भयो । लाल कम्युनिस्ट पार्टीले नियमितरूपमा प्रकाशन गर्ने गरेको भूमिगत पत्रिकामा माणिकलाल संलग्न हुनुभएको उहाँका समकालीनहरू बताउनुहुन्छ । यद्यपि, उहाँ सो पार्टीमा सदस्य हुनुभएको भनी कहीँ उल्लेख भने छैन । विसं २००७ सालको परिवर्तनपछि प्रेमबहादुर कंसाकारको नेतृत्वमा ‘नेपाल जनवादी प्रजातन्त्र सङ्घ’ स्थापना भयो । त्यो सङ्गठनले ‘राँको’ नामको मुखपत्र प्रकाशन गथ्र्यो । त्यो पत्रिका प्रकाशनको जिम्मेवारी माणिकलाल श्रेष्ठको थियो । यद्यपि, त्यो पत्रिकाको प्रकाशक र सम्पादकमध्ये कुनैमा पनि उहाँको नाम उल्लेख छैन । यद्यपि, पत्रिकाका हरेक अङ्कमा उहाँको एउटा न एउटा लेख समावेश छन् ।
विसं २००७ सालमा राणाशासनको अन्तिम समयमा राणाविरोधी विद्यार्थी आन्दोलन गरेको ‘नेपाल छात्र सङ्घ’ को एक जना संस्थापक सदस्य र प्रथम कार्यसमिति सदस्य हुनुहुन्थ्यो–माणिकलाल श्रेष्ठ । सो सङ्घ स्थापना भएको केही समयपछि २००७ सालको राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तनपछि नेपाल छात्र सङ्घले प्रत्यक्षतः नेपाली काङ्ग्रेसको नियन्त्रणमा काम गर्न थालेपछि उहाँले त्यसबाट बिदा लिनुभयो । तिनताक वामपन्थी विचारका अधिकांश विद्यार्थीहरू नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनमा सामेल भए । तर, फेडेरेसन पनि एउटा राजनीतिक पार्टीको प्रत्यक्ष मातहातमा काम गर्न थालेपछि त्यसमा पनि उहाँले काम गर्नुभएन । विद्यार्थी सङ्गठन र जनवर्गीय सङ्गठनलाई प्रत्यक्षतः कुनै राजनीतिक पार्टीको आङ्गिक सङ्गठन बनाउन नहुने मतका उहाँ पक्षपाती हुनुहुन्थ्यो ।

माणिकलाल श्रेष्ठ


विसं २०१३ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा उहाँ लाल कम्युनिस्ट पार्टीका प्रतिनिधिको रूपमा सहभागी बन्नुभयो । उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्थ्यो । सो अधिवेशनपछि उहाँले लाल कम्युनिस्ट पार्टीलाई नेपाल कम्युनिस्ट पार्टीमा विलय गर्नुपर्ने प्रस्ताव गर्नुभयो । तर, उहाँको सो प्रस्ताव अस्वीकृत भएपछि लाल कम्युनिस्ट पार्टीमा काम गर्न छोड्नुभयो । यसप्रकार विसं २०१३ सालपछि उहाँ कुनै पनि पार्टीमा औपचारिकरूपमा संलग्न हुनुभएन ।
उहाँ कम्युनिस्ट विचारधाराका समर्थक भए पनि विसं २०१४ सालमा भएको काठमाडौँ नगरपालिकाको निर्वाचनमा तत्कालीन कानपा वडा नं ९ बाट कम्युनिस्ट पार्टीका उम्मेदवार शम्भुराम श्रेष्ठको विरोधमा उम्मेदवार बन्नुभयो । त्यत्तिबेलाको व्यवस्थाअनुसार सबै वडाबाट एक एक जना प्रतिनिधि छनोट गर्ने र सबै वडा प्रतिनिधिहरूले मेयर छानिन्थ्यो । शम्भुराम श्रेष्ठलाई काठमाडौँको मेयर बनाउन उहाँलाई वडा नं ९ बाट प्रतिनिधिको उम्मेदवार बनाइएको थियो ।
त्यो परिस्थितिमा नेपालजस्तो विभिन्न भाषा बोलिने जातिका जनता बस्ने देशमा सबै भाषालाई समान स्थान र अधिकार दिन तत्काल जुन जुन नगरपालिकामा जुन भाषा बोल्ने जनताको बहुमत छ, त्यही भाषालाई सो नगरपालिकाको म्युनिसिपल (नगर) भाषा अर्थात् नगरपालिकाको आधिकारिक भाषाको स्थान दिइनुपर्ने भनी माणिकलाल श्रेष्ठले विचार राख्नुभयो । उहाँकै भनाइअनुसार यो विचार कम्युनिस्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठले आफूभन्दा अघि बोल्नुभएको थियो । भक्तपुर र पाटनको नगरपालिका निर्वाचनमा चुनाव प्रचारको क्रममा पुष्पलालले सो भनाइ राख्नुभएको थियो । तर, कुन्नि किन हो पाटनको नगरपालिका निर्वाचनको निम्ति जारी भएको घोषणापत्रमा यो कुरा उल्लेख भएन । कम्युनिस्ट पार्टीका उम्मेदवारहरूलाई यो नारा दिन माणिकलालले गर्नुभएको आग्रह सकारिएन । माणिकलाल र उहाँका मित्र ईश्वरानन्द श्रेष्ठाचार्य (नेपालभाषाका नाटककार) ले यही नारा अघि सारेर चुनावमा भाग लिनुभयो । ईश्वरानन्द चुनावमा पराजित हुनुभयो । तर, माणिकलाल भने शम्भुराम श्रेष्ठलाई पराजित गरी नगरपालिका बोर्ड सदस्य बन्नुभयो । बोर्डमा उहाँले नगरपालिकाको औपचारिक भाषाको रूपमा नेपालभाषालाई मान्यता दिइनुपर्ने प्रस्ताव एक्लैले प्रस्तुत गर्नुभयो । यो विषयमा लामो समयसम्म बहस र सङ्घर्ष चल्यो । बोर्ड सदस्यहरूलाई लगातार आग्रह गरियो । काठमाडौँमा यो प्रस्तावको पक्षमा जनप्रवाह नै उठ्ने अवस्था बन्यो । अन्ततः विसं २०१५ सालको वैशाखमा काठमाडौँ नगरपालिकाको बोर्ड बैठकले उहाँको सो प्रस्ताव पारित गरियो ।
विसं २०१७ सालको पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको सरकार बर्खास्त गरे । निर्वाचित संसद् भङ्ग भयो । राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो । निर्दलीय पञ्चायती व्यवस्था लागु गरियो । राजाको सो कदमको समर्थनमा नआउने विशिष्ट व्यक्तिहरूलाई सरकारले पक्राउ ग¥यो । त्यसक्रममा माणिकलाल श्रेष्ठ पनि पक्राउ पर्नुभयो । सार्वजनिक सुरक्षा कानुनअन्तर्गत उहाँलाई एक वर्ष श्रीमहल दरबारमा थुनियो । अनि दुई वर्ष नख्खु जेलमा थुनियो । जेल जीवनका तीन वर्ष उहाँले केही विशिष्ट बन्दीलाई थुनिएको श्रीनिवास र पछि त्यो भवन खाली गर्न नख्खुमा सरुवा गरे पछि त्यहीं सँगै बिताउनुभयो ।
तीन वर्षको जेल जीवनबाट बाहिरिएपछि कम्युनिस्ट आन्दोलनसँग नजिक सम्बन्ध भए पनि विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीमध्ये कुनैमा पनि प्रवेश नगर्ने निधो गर्नुभयो । विशेषतः मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र माणिकलाल श्रेष्ठबीच यस्तो सहमति भयो । कुनै समूहमा नगई कम्युनिस्ट एकताको निम्ति उहाँहरूले प्रयास गर्नुभयो । पछि सहाना प्रधानसँग मिलेर मनमोहन अधिकारीले पार्टी खोल्नुभयो । विसं २०४७ सालमा बहुदलीय संसदीय व्यवस्था पुनःस्थापनापछि उहाँले तत्कालीन नेकपा (माले) सँग मिलेर एमालेको नेतृत्व गर्नुभयो । शम्भुराम श्रेष्ठले २०४७ सालपछि नेपाली कम्युनिस्ट लिग गठन गर्नुभयो । माणिकलाल श्रेष्ठमात्र कुनै पनि दलमा नगई आफ्नो अडान नत्यागी स्वतन्त्र वामपन्थीको रूपमा रहनुभयो ।
२०३६–३७ सालमा शम्भुराम श्रेष्ठसँग मिलेर माणिकलालले जनमतसङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा पञ्चायतको विरोधमा अविरल प्रचार अभियानमा संलग्न हुनुभयो । प्रचार अभियानको क्रममा उहाँले बहुदलीय व्यवस्थाअनुसार राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकाउनुपर्ने तर जनतालाई पुँजीवादी संसदीय व्यवस्था नभई जनताको जनवादी व्यवस्था चाहिने कुराको प्रचारलाई जोड दिनुभयो । २०४६ सालमा गणेशमान सिंहले पञ्चायती व्यवस्था ढाल्ने गर्नुभएको आह्वानलाई माणिकलाल श्रेष्ठले समर्थन गर्नुभयो । तर, संसदीय व्यवस्थाको स्थापनाको मागप्रति असहमति राख्दै कम्युनिस्ट समूहहरूको मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलनमा सरिक हुनुभयो ।
बहुदलीय व्यवस्था स्थापनापछि पनि उहाँ कुनै पार्टीमा सरिक हुुनुभएन । तर, विभिन्न समयमा कम्युनिस्ट समूहहरूका आन्दोलनमा सरिक हुनुभयो । महाकाली सन्धिको विरोधमा ‘महाकाली सन्धि प्रतिरोध समिति’ को सदस्यको रूपमा उहाँ सक्रिय हुनुभयो । उहाँले साम्राज्यवादविरोधी राष्ट्रिय मञ्च, नेपाल स्थापना गरी स्थापनाकालदेखि नै अध्यक्ष हुनुहुन्थ्यो ।
पत्रकारितामा माणिकलाल
माणिकलाल श्रेष्ठ नेपालको पत्रकारिताको इतिहासमा बिर्सनै नसकिने नाम हो । विसं २०१३ सालदेखि २०१६ सालसम्म उहाँ नेपाल पत्रकार सङ्घको महासचिव भई काम गर्नुभयो । २०१४ सालमा ऐतिहासिक प्रेस कमिसन (सो कमिसनले नेपालको पत्रकारिता विकासको निम्ति प्रथम ऐतिहासिक प्रतिवेदन तयार गरेको थियो) मा पत्रकारहरूको प्रतिनिधित्व गर्ने निर्वाचित सदस्य हुनुहुन्थ्यो । राजा महेन्द्रको प्रत्यक्ष शासनकाल(२०१४ साल) मा राजाले गठन गरेको सो प्रेस कमिसनका पाँच जना सदस्य र त्यत्तिबेलाका दुई पत्रकार सङ्घ (नेपाल जर्नालिस्ट एसोसिएसन र नेपाल युनियन अफ जर्नालिस्ट) दुवैबाट एक एक जना सदस्य राखिएकोमा एउटा सङ्गठनको तर्फबाट निर्वाचित आयोगको सदस्य बन्नुभयो । प्रेस कानुनमा के कस्ता सुधार गरी कस्तो खालको प्रेस कानुन बनाउनुपर्छ, पत्रकारहरूको लागि कस्तो खालको आचारसंहिता बनाइनुपर्छ भन्ने विषयमा तयार गरिएको मस्यौदामा उहाँको महत्वपूर्ण योगदान रह्यो । स्वस्थ पत्रकारिताको विकासको लागि प्रेस कानुनमार्फत पत्रकारहरूलाई राज्यले नियन्त्रण गर्ने होइन, बरु पत्रकारहरूले स्वेच्छाले पालना गर्ने आचारसंहिताको माध्यमबाट आत्मसंयमित भई अनुशासित पत्रकारिता स्थापना गर्नुपर्छ भन्ने उहाँको विचार प्रेस कमिसनमा पारित भयो ।
नेपालभाषाको पत्रकारिता जगतमा उहाँले २०१३ देखि २०१५ सम्म दुई वर्ष नेपालभाषा पत्रिकाको सहसम्पादक भई काम गर्नुभयो । २००७–००८ सालतिर आफ्नो नाम उल्लेख नगरी विभिन्न राजनीतिक दलको पत्रिकामा सामेल हुनुभयो । विभिन्न साहित्यिक पत्रिकाहरूमा सल्लाहकारको रूपमा उहाँको नाम उल्लेख भएको पाइन्छ । विसं २०१८ सालमा प्रकाशित नेपालभाषाको प्रगतिशील पत्रिका ‘व्याहाँचुलि’ मा उहाँ प्रधानसम्पादक हुनुहुन्थ्यो । तर, विप्लव पुस्तकालयले प्रकाशन गरेको सो पत्रिकाको प्रकाशन अवधिभर उहाँले जेलमा हुनुभएकोले उहाँ त्यसको प्रत्यक्ष सम्पादनमा सामेल हुनुभएको थिएन । उहाँ त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागको जर्नल ‘नेपालभाषा’ को सम्पादक मण्डलको सदस्य हुुनुहुन्थ्यो ।
शिक्षण र शैक्षिक क्षेत्रमा योगदान
विद्यार्थी छँदादेखि नै पेशागतरूपमा नभई शैक्षिक आन्दोलनमा सहभागी बन्ने क्रममा विसं २००३ सालबाट २००९ सालसम्म विभिन्न विद्यालयमा माणिकलाल श्रेष्ठले शिक्षण गर्नुभयो । त्यही सिलसिलामा उहाँ विसं २००३ देखि २००७ सालसम्म नेपाल आदर्श विद्यालयमा शिक्षक हुनुभयो । विसं २००७ सालको परिवर्तनपछि पनि उहाँले विभिन्न विद्यालयमा पढाउनुभयो । ‘अन्नपूर्ण कला मन्दिर’ नामको एउटा विद्यालयमा प्रधानाध्यापक बन्नुभयो । विसं २००९ सालमा उहाँ एमए पढ्न कलकत्ता जानुभएपछि त्यो विद्यालय पनि बन्द भयो । कलकत्ताबाट एमए र एलएलबी उत्तीर्ण गरेपछि विसं २०१३ (सन् १९५७) मा स्वदेश फर्किनुभयो । नेपाल फर्केलगत्तै उहाँ शिक्षणमै लाग्नुभयो । त्यत्तिबेला भने उहाँले शिक्षणलाई पेशा नै बनाउनुभयो । सन् १९५७ को सुरुदेखि सन् १९६० को अन्तसम्म झन्डै चार वर्ष उहाँ पब्लिक साइन्स कलेज (हाल अमृत साइन्स क्याम्पस) मा अङ्ग्रेजी विषयको शिक्षक र अङ्ग्रेजी विभागका प्रमुख भएर काम गर्नुभयो । त्यही समयमा पद्मोदय हाइस्कूलमा अङ्ग्रेजी शिक्षकहरू ईश्वरराज अर्याल र कृष्णबहादुर मानन्धर शिक्षण तालिमको लागि बेलायत जानुभएकोले उहाँहरूको अनुपस्थितिमा विद्यालयका माथिल्ला कक्षामा अङ्ग्रेजी विषय माणिकलाल र प्राध्यापक सूर्यबहादुर शाक्यले पढाउनुभयो । विसं २०१३–१४ को शैक्षिक सत्रको मध्यसम्म विद्यालयको कक्षा दसमा अङ्ग्रेजी विषय पढाउनुभयो । कलेजमा प्राध्यापक स्तरका दुवै जना शिक्षकहरूले विद्यालयमा अङ्ग्रेजी भाषा पढाउनु त्यो विद्यालयको इतिहासमा कहिल्यै नबिर्सने घटना भयो । त्यो सालका विद्यार्थीहरूले विसं २०१४ सालमा एसएलसी परीक्षा दिँदा अङ्ग्रेजी विषयमा प्रथम र एलएलसी परीक्षामा बोर्ड फस्ट निकाल्न सफल भयो । पहिलो श्रेणीमा उत्तीर्ण हुने र बोर्डमा आउने विद्यार्थीहरूको सङ्ख्या पद्मोदय स्कूलकै इतिहासमा सबभन्दा बढी भएको थियो ।
२०१७ सालको काण्डमा जेल परेपछि उहाँको शैक्षिक गतिविधि औपचारिकरूपमा रोकियो । जेलबाट रिहा भएपछि ८–९ वर्ष घरमै अङ्ग्रेजी र कानुन विषय पढाउनुभयो । जेलमा बिताउनुभएको तीन वर्ष पनि उहाँले राजबन्दी र अन्य कैदीहरूलाई पढाउनुभयो । आफ्नो मूल विषय अङ्ग्रेजीमात्र नभई उहाँले कसैलाई अङ्ग्रेजी, कसैलाई कानुन, कसैलाई इतिहास, कसैलाई गणित, कसैलाई अर्थशास्त्र पनि पढाउनुभयो । जेलभित्र पढ्ने कुनै पुस्तक उपलब्ध थिएन । तथापि, उहाँले त्यहाँ पढाउनुभएका विद्यार्थीहरूमध्ये एक जनाले जेलबाटै परीक्षा दिएर अर्थशास्त्रमा एमए उत्तीर्ण गर्नुभयो भने अर्को एकजना व्यक्ति जेलबाट रिहा भएर अङ्ग्रेजी विषयमा परीक्षा दिएर एमए उत्तीर्ण गर्नुभएको बताइन्छ ।
पछि त्रिभुवन विश्वविद्यालयमा एमए (नेपालभाषा) पढ्ने व्यवस्था हुनेबित्तिकै नेपालभाषामा एमएका विद्यार्थीले पढ्ने पश्चिमी समालोचना र पाश्चात्य साहित्यको परिचय विषय पढाउन उहाँलाई २०३७ सालमा विश्वविद्यालयमा आमन्त्रण ग¥यो । विसं २०३७ बाट उहाँले धेरै वर्ष त्रिवि नेपालभाषा केन्द्रीय विभागअन्तर्गत एमए कक्षामा अध्यापन गर्नुभयो ।
उहाँले विद्यार्थीहरूले विविध विषयमा स्नातकोत्तर र विद्यावारिधिको लागि अनुसन्धान कार्यमा आफूले सक्ने पथप्रदर्शन र सहयोग गर्नुभयो । धेरै स्वदेशी र विदेशी विद्वानहरूले विभिन्न शोधग्रन्थमा उहाँले गर्नुभएको सहयोगको लागि आभार व्यक्त गरिएको छ ।
अनुवादक माणिकलाल
माणिकलाल श्रेष्ठले सन् १९५९ मा अङ्ग्रेजी साहित्यमा एमए उत्तीर्ण गर्नुभएपछि मात्र नभई त्योभन्दा धेरै अघिदेखि नै उहाँका मित्रहरूबीच अङ्ग्रेजी भाषाका ज्ञाताको रूपमा परिचित हुनुहुन्थ्यो । नेपालभाषाका लेखक र काठमाडौँका राजनीतिक कार्यकर्ताहरूबीच उहाँ अङ्ग्रेजी साहित्यका विद्वान्का रूपमा परिचित हुनुहुन्थ्यो । त्यही भएर अङ्ग्रेजीबाट नेपालभाषा र नेपाली भाषा अथवा नेपाली भाषा वा नेपालभाषाको अङ्ग्रेजी भाषामा राम्रो र स्तरीय अनुवादको लागि धेरैले उहाँलाई सम्झने गर्थे । अनि उहाँसँग सहायता माग्ने गर्थे । उहाँले साहित्यिक रचनाको मात्र अनुवाद गर्नुभएन, इतिहास, विज्ञान र राजनीतिक विषयको पनि अनुवाद गर्नुभयो । विसं २००७ सालको परिवर्तनपछि खुला राजनीतिक गतिविधिको समयमा उहाँले चिनेजानेका राजनीतिक नेताहरूका वक्तव्य, भाषण आदि विदेशी सञ्चारमाध्यमलाई दिन अङ्ग्रेजी भाषामा अनुवाद गर्नुहुन्थ्यो । ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको केही समयपछि उहाँ कलकत्ताबाट उच्च शिक्षा अध्ययन गरेर फर्किनुभयो । त्यसपछि धेरै वर्षसम्म उहाँले नेपालभाषा पत्रिकाको लागि आउने अङ्ग्रेजी भाषाका समाचार र अङ्ग्रेजी भाषा र नेपाली भाषामा आउने समाचार र वक्तव्य नेपालभाषामा अनुवाद गर्नुभयो । त्यस्तै नेपाल–चीन–मैत्री सङ्घ, नेपाल–चीन सांस्कृतिक परिषद् र नेपाल कोरिया–मैत्री सङ्घमा काम गर्ने सिलसिलामा चिनियाँ र कोरियाली राजनीतिक नेताहरूका कृति पनि नेपाली भाषामा अनुवाद गर्नुभयो । उहाँले त्यसक्रममा अनुवाद गर्नुभएका कृतिहरूको सङ्ख्या झन्डै दुई सय छन् । नेपाल–कोरिया–मैत्री सङ्घअन्तर्गत किम इल सङका कृतिहरूको सम्पादन र प्रकाशन समितिका अध्यक्षका रूपमा प्रकाशमा आए पनि अनुवादकको रूपमा उहाँको नाम सार्वजनिक भएको देखिँदैन ।
माणिकलाल श्रेष्ठको नाम अनुवादकको रूपमा घोषितरूपमा प्रकाशमा आएको पहिलो कृति ‘प्रसिद्ध जापानी न्हु बाखँ’ नामको दुई खण्डमा प्रकाशित नेपालभाषामा अनुदित कृति हो । जापानी साहित्यमा निकै प्रसिद्ध २२ वटा कथा सङ्कलन गरी अङ्ग्रेजी भाषाबाट नेपालभाषामा उहाँले अनुवाद गर्नुभयो ।
उहाँका यी सबै अनुवाद कृतिहरू अध्ययन गर्दा प्राध्यापक माणिकलाल श्रेष्ठ अनुवाद कलामा पनि पारङ्गत रहनुभएको प्रस्ट हुन्छ ।
‘समालोचक माणिकलाल व समालोचना साहित्य’ पुस्तकबाट नेपालभाषामा नेपाली भाषामा अनुदित
नेपाली अनुवादः सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *