भर्खरै :

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने

सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि अन्य सामानमा पनि मूल्यवृद्धि हुन्छ, भइरहेको छ । छिनछिनको मूल्यवृद्धिले सामानको मूल्य अस्थिर हुन्छ । कुन सामानको मूल्य कति पर्छ भन्ने थाहा हुँदैन । यसले सामानमा मूल्यवृद्धि नभए पनि कति उद्योग, व्यवसायी र व्यापारीले मूल्य बढाएका हुन्छन् । सरकारले अलिअलि गरेर पटक–पटक किन मूल्यवृद्धि गरेको हो ? के अन्तर्राष्ट्रिय मान्यताअनुसार मूल्यवृद्धि भएको हो ?
मट्टीतेल, पेट्रोल, डिजेल र इन्धनमा एक हप्ता नहुँदै चार पाँच पटक मूल्यवृद्धि गरिसकेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी र उपभोक्ताहरूले माग गरिरहेको बेला नै सरकारले उल्टो मूल्यवृद्धि गरेको छ । सुनको मूल्यमा कहिले घटेको छ, कहिले बढेको छ । हरेक दिनझैँ मूल्य फरकफरक भइरहेको छ । तर, पेट्रोलियम पदार्थको मूल्य बढ्नेबाहेक घटेको देखिँदैन । पेट्रोलियम पदार्थको माग बढेको बढ्यै भएकोले मूल्यवृद्धि गरेको हो ? माग बढेको छ भने पेट्रोलियम पदार्थमा कसरी घाटा हुन्छ ?
एकैपटक मूल्यवृद्धि गर्दा जनताको व्यापक विरोध हुन्छ भनेर अलिअलि गरेर पटक–पटक मूल्यवृद्धि गर्ने काम के सरकारको कुचाल होइन ? के अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य कहिल्यै घटेको छैन । जति बिके पनि, जति उपभोक्ता बढे पनि यसको घाटा कसरी भयो ? उपभोक्ता बढे पनि यसको घाटा कसरी भयो ? मूल्य घटाउन पनि सङ्घर्षै गर्नुपर्ने ? घेराउ, धर्ना र तोडफोड भएपछि मात्रै मूल्य घटाउने ? सरकारले समयमै विचार गरेर मूल्यवृद्धि फिर्ता लिनु बुद्धिमानी हुनेछ ।
सरकारले मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ । मूल्यवृद्धिको निर्णय सरकारले फिर्ता लिनुपर्छ । जनतालाई राहत हुने काम सरकारले गर्न नसकेको बेला मूल्यवृद्धि गरेर किन आहत पु¥याएको हो ? महँगी नियन्त्रण गर्न पनि सरकारले मूल्यवृद्धि फिर्ता लिनुपर्छ । प्रम केपी ओलीको ध्यान सत्ता जोगाउने, सत्ता लम्ब्याउनेतर्फ मात्र होइन जनतालाई राहत दिनेतर्फ पनि ध्यान जानुपर्छ । वर्तमान सरकारको यसतर्फ शीघ्रातिशीघ्र ध्यान जाओस् । जनता नउठ्दै मूल्यवृद्धि फिर्ता लिइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *