भर्खरै :

इतिहासको जगेर्ना

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका ऐतिहासिक सैनिक किल्ला र गढीहरूको संरक्षणमा चासो व्यक्त भयो । इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाले प्रयोग गरेका धेरै किल्ला र गढीहरू उचित संरक्षण नहुँदा कतिपय जीर्ण त केही लोपोन्मुख अवस्थामा छन् । केही गढीको संरक्षणको नाममा गलत तरिकाले जीर्णोद्धार र पुनःनिर्माण हुँदा तिनको ऐतिहासिकता नै नष्ट भएका छन् । कतिपय गढीको ऐतिहासिकतालाई मेटेर पार्क वा भ्यु टावरहरू बनाइएका छन् । ती गढीमा पुग्ने सर्वसाधारणलाई त्यो ठाउँको ऐतिहासिकताबारे जानकारी गराउने कुनै सामग्री नहुँदा इतिहास क्रमशः मेटिंदै जाने सम्भावना छ ।
आज सैनिक विज्ञान र युद्धकलाले निकै फड्को मारिसकेको छ । इतिहासमा शत्रुसँग लड्न नेपाली सेनाले प्रयोग गरेका सैनिक किल्ला र गढी उस्तै रूपमा आज उपयोगी नहोलान् । यद्यपि, ऐतिहासिक महत्व बोकेका ती किल्ला र गढीको संरक्षण नहुनु इतिहास मेट्दै जानु हो । इतिहास नभएको समाजले भविष्यमा उभिने आधार पाउँदैन । इतिहासको बुझाइमा मतान्तर र बहस हुनु स्वाभाविक हो । यो शिलशिला लगातार चालु रहनुपर्छ । तर, इतिहास दर्शाउने भौतिक वस्तु र सम्पदाको संरक्षणमा कुनै मतान्तर हुनुहुन्न । इतिहासलाई जित्नेको घोडा मान्ने र जित्नेले हिजोका भौतिक वस्तुहरूमाथि हमला गर्ने सोच आधुनिक युगको लागि असुहाउँदो कुरा हो ।
इतिहासका ती प्रमाणहरूलाई आजको युगअनुसार जनताको लागि उपयोगी बनाउनु सबैको लागि हितकारी हुनसक्छ । किल्ला र गढीहरू उचाइमा हुन्छन् । ती स्थानहरू हिजो सैनिक हिसाबले उपयोगी भए पनि आज तिनलाई ऐतिहासिक पर्यटकीय स्थलको रूपमा विकास गर्नु हितकर हुने देखिन्छ । पुरानो युगले नयाँ युगको सेवा गर्नुपर्छ भनिन्छ । हिजोका ती ऐतिहासिक स्थलहरूलाई आजको युगअनुसार पर्यटकीय केन्द्रहरू बनाउन जरुरी छ ।
किल्ला र गढीहरूको संरक्षण, मर्मतसम्भार, जीर्णोद्धार र पुनःनिर्माणको जिम्मेवारी नेपाल सरकारअन्तर्गत पुरातत्व विभागको हो । तर, पुरातत्व विभागले ती ऐतिहासिक सम्पदाको उचित संरक्षण गर्न पर्याप्त ध्यान दिन सकेको छैन । कहीँ कतै तिनको संरक्षण गरिएको भए पनि तिनको ऐतिहासिक महत्वलाई भने ओझेलमा पारिएको छ । किल्ला र गढीको सरकारी स्तरमा अझै पनि गहन अध्ययन हुन सकेको छैन । कति किल्लाहरूको स्थानीय तहबाटै संरक्षण भइरहेको छ । तर, उचित मार्गनिर्देशन र जानकारीको अभावले किल्ला र गढीको सही तरिकाबाट संरक्षण भएको छैन । हिजोको ऐतिहासिकतालाई छाया पार्ने गरी जीर्णोद्धार र मर्मतसम्भार गरिँदा इतिहासका तथ्य मेटिँदै गएका छन् ।
किल्ला र गढी संरक्षणको लागि नेपाली सेनाले हालै ‘एकीकरण मार्ग’ नामको परियोजना घोषणा गरेको छ । सो परियोजनाअन्तर्गत ती इतिहासका थलोहरूको संरक्षण गरिने बताइएको छ । यसले इतिहासको रक्षा गर्न केही गुनिलो प्रयास हुने अपेक्षा गरौँ ।
सुगौली सन्धिपछि भारतमा परेका कतिपय नेपाली किल्लाहरूको नाम नै परिवर्तन गरिएको छ । ती किल्लाहरूका पुराना नामको संरक्षणको नेपालले पहल गर्न जरुरी छ । मौलिक नाम मेटिँदा धेरै ठाउँका इतिहास मेटिएका छन् । त्यसकारण इतिहास बोकेका ठाउँका नामहरूको संरक्षणमा पनि अग्रसर हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *