भर्खरै :

प्राध्यापक माणिकलाल श्रेष्ठको जीवन परिचय–३

समालोचनामा माणिकलाल
विसं २००८ सालमा रेवतिरमणानन्द वैद्यको आग्रहमा नेपालभाषामा लेख्ने प्रयासपछि माणिकलाल श्रेष्ठको साहित्यिक जीवनमा विसं २०१० मा अर्को महत्वपूर्ण घटना भयो । तिनताक उहाँ कलकत्तामा अध्ययनरत हुनुहुन्थ्यो । त्यही बेला भिक्षु सुदर्शन (श्रामणेर सुदर्शन) ‘धर्मोदय’ पत्रिका प्रकाशन गर्ने हेतु लिएर कलकत्तामा पुग्नुभयो । ‘धर्मोदय’ पत्रिकामा पुस्तक परिचय प्रकाशन गर्न प्रेमबहादुर कंसाकारले आफ्नो नेपालभाषाको कथासङ्ग्रह ‘ती बाखं पुच’ पठाउनुभएको रहेछ । सो पुस्तकको अध्ययन गरी पुस्तक परिचय लेख्न भिक्षु सुदर्शनले माणिकलाललाई अनुरोध गर्नुभयो । उहाँले सो कथासङ्ग्रहको अद्योपान्त पढी सो पुस्तकको परिचयमात्र नभई विस्तृत विश्लेषणसहित लेख्नुभएको लेख समालोचना नै बन्न पुग्यो । समालोचनात्मक लेखको रूपमा त्यो पत्रिकामा प्रकाशित भयो । त्यही लेखले नेपालभाषाको साहित्यिक क्षेत्रमा माणिकलाल श्रेष्ठ एक जना समालोचकको रूपमा परिचित हुनुभयो । ‘धर्मोदय’ मा प्रकाशित माणिकलाल श्रेष्ठको पहिलो समालोचनात्मक लेख त्यहीँ हो ।
‘ती बाखँ पुच’ को समालोचना लेखेर नेपालभाषाको साहित्यिक समालोचनामा कलकत्तामा रहँदै प्रवेश गरे पनि त्यहाँबाट एमए (अङ्ग्रेजी साहित्य) र एलएलबी उत्तीर्ण गरेर नेपाल फर्केर अरू धेरै समालोचनात्मक लेखहरू लेख्नुभयो । त्यही बेला च्वसापासाले हरेक वर्ष नेपालभाषामा प्रकाशित भएका सर्वोत्कृष्ट कृतिलाई दिइने श्रेष्ठ पुरस्कारको लागि उपयुक्त कृतिको छनोट गर्ने परीक्षक अथवा निर्णायक बोर्डमा उहाँ नियुक्त हुनुभयो । त्यसपछि उहाँले नेपालभाषाका कृतिहरूको अध्ययन गरी परख गर्नुपर्ने अवस्था बन्यो । च्वसापासाको नियमअनुसार श्रेष्ठ सिरपाको निम्ति कृतिको मूल्याङ्कन गर्दा कुनै एउटा पुस्तकलाई उत्कृष्ट घोषणा गरेरमात्र पुग्दैनथ्यो । बरू प्रतियोगितामा सामेल कृतिहरूको अद्योपान्त अध्ययन गरी त्यसको विवेचनासमेत लेख्नुपर्ने प्रावधान थियो । त्यही कारण माणिकलालले नेपालभाषाका विभिन्न प्रतिष्ठित लेखकहरूका प्रसिद्ध कृतिको समालोचना लेखेर च्वसापासामा दिनुपथ्र्यो । यो पनि उहाँकै शब्दमा आफ्नै अग्रसरतामा भन्दा पनि अरूको आग्रह र परिस्थितिको अनिवार्यताअनुसार उहाँ समालोचना लेख्ने समालोचक बन्नुभयो । जे जस्तो भए पनि सन् १९५७ देखि आजसम्म (विसं २०१७ सालको काण्डपछि तीन वर्षको जेल बसाइबाहेक) समालोचनात्मक लेख लेख्ने उहाँको कलम लगातार अघि बढिरह्यो । अधिकांश नेपालभाषाका लेखकहरूका कृति प्रकाशित हुँदा उहाँको समालोचनात्मक लेखलाई भूमिकाको रूपमा समावेश गरी प्रकाशित गर्ने अथवा कृति प्रकाशित भइसकेपछि कृतिको समालोचना लेखाएर प्रकाशित गर्ने गरिएको पाइन्छ । त्यस्ता लेखहरूमध्ये ‘पासुका व्बने धुंका’ शीर्षकको लेख विशेष उल्लेखनीय छ । ईश्वरानन्दले आधुनिक समस्यामूलक नाटकको प्रवाह अर्थात् इब्सनवादी प्रवाहअनुसार लेखिएको ‘पासुका’ एकाङ्कीसङ्ग्रहको दोस्रो संस्करणको भूमिकामा माणिकलालले सो कृतिमाथि गर्नुभएको समालोचनात्मक लेख समावेश छ । ‘पासुका’ को भूमिकाको रूपमा लेख्नुभएको सो लेखमा माणिकलाल श्रेष्ठले ईश्वरानन्दको एकाङ्कीसङ्ग्रह ‘पासुका’ को समालोचनामात्र नभई नाटक के हो, विश्व साहित्यमा परम्परागत नाटक र इब्सनवादी आधुनिक नाटकबीच के कस्तो भिन्नता छ, आधुनिक नाटकको मूल विषय अर्थात् समस्यालाई कसरी प्रस्तुत गर्छ आदि प्रश्नको विस्तृत विवेचना गर्नुभएको छ । त्यतिमात्र होइन, त्यो लेखमा माणिकलालले समालोचकका जिम्मेवारीको विषयमा पनि आफ्नो धारणा राख्नुभएको छ । माधवलाल कर्माचार्यको ‘साहित्यय् आलोचकया स्थान’ (नेपालभाषा) शीर्षकको लेखमा जस्तै माणिकलाल श्रेष्ठले पनि ‘पासुका ब्वने धुँका’ शीर्षकको लेख समालोचकको स्थान, भूमिका, महत्व र कर्तव्यबारे स्पष्ट व्याख्या गरिएको लेख हो । लेखमा उहाँले लेख्नुभएको छ, “यी यी कुरा पुगेन भन्न समालोचक उपदेशक होइन । यस्तै हो भनी कुरा टुङ्ग्याउन समालोचक न्यायाधीश होइन । वास्तविक न्यायाधीश लेखक हो । बरू, समालोचक भनेको त लेखक र पाठकबीचका सम्पर्कमात्र हुनसक्छन् । समालोचक एक जना विशेषज्ञ हुन्, लेखकलाई राम्ररी चिन्न मद्दत गर्ने ।” यो धारणा पश्चिमा समालोचनाको इन्डकटिभ धाराबाट प्रेरित देखिन्छ । समालोचनामा यो धारणा माधवलाल कर्माचार्यसँग नजिक छ ।
धेरै फुटकर समालोचनात्मक लेख, विशेषतः पुस्तकमा भूमिका लेख्नुभएका समालोचक माणिकलाल श्रेष्ठको पुस्तकाकारमा प्रकाशित पहिलो समालोचनात्मक कृति नेपाल संवत् १०८८ मा प्रकाशित ‘समालोचनाया सिद्धान्त’ (नेपालभाषा) हो । यो कृति नेपालभाषा साहित्यको समालोचना क्षेत्रको एउटा उल्लेखनीय कृति बनेको छ । कृतिमा पाश्चात्य साहित्यका विभिन्न समालोचकका सिद्धान्त, संस्कृति साहित्यमा काव्य शास्त्रका मूल सारांश र नेपालभाषामा समालोचनाको छोटकरी इतिहास लेखिएको छ । पुस्तकमा तुलनात्मकरूपमा पाश्चात्य समालोचनाको इतिहास अलि विस्तृतरूपमा र संस्कृत काव्यशास्त्र र नेपालभाषामा समालोचकको सङ्क्षिप्त रूपमा लेखिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहमा नेपालभाषाको कक्षा सञ्चालन गर्ने तयारी भइरहेको समयमा एमएको सम्भावित पाठ्यक्रमको लागि उपयुक्त बनाउने विचारबाट प्रेरित भई सो पुस्तक लेखिएको देखिन्छ ।

समयान्तरमा भयो पनि त्यस्तै । समालोचक माणिकलाल श्रेष्ठले बताउनुभएअनुसार च्वसापासाको बाइसौँ वार्षिकोत्सवको उपलक्ष्यमा बाइसौँ पुस्तक प्रकाशित गर्ने योजनाअनुसार समालोचनाको इतिहास अर्थात् साहित्यसम्बन्धी विभिन्न साहित्यको विवेचना समावेश गरी पुस्तक लेख्न प्रेमबहादुर कंसाकारले लेखकलाई आग्रह गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका अधिकारीहरूसमक्ष एमए तहमा नेपालभाषा पढाउने व्यवस्थाको माग भइरहेको थियो । त्यसको निम्ति त्रिविले साढे एक महिनापछि हुने विषय समितिको बैठकमा प्रस्तुत गर्न सकिने गरी पुस्तक प्रकाशन गर्न आग्रह ग¥यो । त्यसपछि कवि चित्तधर हृदय र प्रेमबहादुर कंसाकारले लेखक माणिकलाल श्रेष्ठलाई तीन–चार साताभित्र पुस्तक लेख्न आग्रह गर्नुभयो । उहाँले यो चुनौतीपूर्ण कामको जिम्मा लिनुभयो । पुस्तक लेखिसकेपछि च्वसापासाले प्रकाशन गर्ने कंसाकारले घोषणा गर्नुभयो । तर, माणिकलालले लेख्छु भनेर नलेख्ने हो कि, फुर्सद नहुँदा सिधिएन भन्ने पो हो कि भनी पिर मानेर चित्तधर हृदय पुस्तकको काम नसकाउँदासम्म दिनदिनै हरेक बिहान लेखकको घरमा धर्ना दिन आउने कुरा माणिकलालले स्मरण गर्नुभयो । बिहान सखारै कवि चित्तधर माणिकलालको घर पुग्नुहुन्थ्यो र लेख्न लगाएर बाहिर निस्कनुहुन्थ्यो । दिउँसो खाना खाइसके पनि लेख्न लगाएरमात्र बाहिर जाने गर्नुभयो । एवंरीतले लेखकले तीन साताभित्र अर्थात् २२–२३ दिनमा सो पुस्तक लेख्न सिध्याउनुभयो । लेखनको काम समापन भएलगत्तै च्वसापासाका प्रेमबहादुर कंसाकार, नेपालभाषा परिषद्का चित्तधर र विशेषतः ईश्वरानन्द, कमलप्रकाश मल्ल अनि मुद्रक र कम्पोजिटरहरूको लगातारको सहयोगले पुस्तक प्रकाशित भयो । पुस्तकको अलग अलग पाठ लेखिभ्याए लगत्तै कम्पोजिटरले कम्पोज गरी छाप्ने काम पनि भएकोले साढे एक महिनाभित्रै पुस्तक प्रकाशनको कार्य सम्पन्न भयो ।
तर, समालोचनाको इतिहासमा यस्तो कृति बिरलैमात्र होला । तीन साताको समयसीमा, पुस्तकालय धाएर कुनै सन्दर्भ पुस्तकको अध्ययन नगरी कोठामा बसी आफूसँग भएका केही पुस्तक र साथीहरूले ल्याइदिएका केही पुस्तक (चित्तधर र प्रेमबहादुरसँग भएको र ईश्वरानन्दले खोजेर ल्याउनुभएका केही पुस्तक) मात्र पढेर त्यो कृति तयार गरिएको थियो । यसरी हतारमा तयार गरिएको पुस्तक भएकोले त्यसमा केही त्रुटि भएको र पूर्ण हुन नसकेको लेखक स्वयम्ले स्वीकार्नुभएको छ । यद्यपि, त्यो पुस्तक आवश्यकताले जन्माएको कृति थियो ।
जे जस्तो भए पनि त्यो पुस्तक प्रकाशन भयो । समालोचकको रूपमा माणिकलालको उचाइ अझ उक्लियो । नेपालभाषामा मात्र होइन, अङ्ग्रेजी र नेपाली भाषामा पनि उहाँका धेरै लेख प्रकाशित छन् । विशेषतः सैद्धान्तिक, समसामयिक, राजनीतिक अनि इतिहासका विषयमा उहाँका अनगिन्ती लेखहरू प्रकाशित छन् । त्यसबाहेक उहाँले विभिन्न विषयमा (खासगरी राजनीतिक र साहित्यिक विषयका) राष्ट्रिय गोष्ठी, सेमिनार र क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नुभएका कार्यपत्र र टिप्पणीपत्र पनि सयौँ छन् । अनेक स्थानमा भएका गोष्ठी र सेमिनारमा भाग लिई प्रस्तुत गर्नुभएका कार्यपत्र पनि अनगिन्ती छन् । उहाँले हरेक साताजस्तै यस्ता लेख र कार्यपत्र लेख्नुभएको देखिन्छ ।
प्राध्यापक माणिकलाल सहभागी हुनुभएका विभिन्न महत्वपूर्ण गोष्ठीहरू :
क) सन् १९८१ मा क्युवाको राजधानी हवानामा तेस्रो विश्वका अर्थशास्त्रीहरूको दोस्रो विश्व सम्मेलनमा नेपालको प्रतिनिधि ।
ख) सन् १९८१ मा अल्जेरियाको राजधानी अल्जायर्समा पूर्वी एसियाको शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी विश्व सम्मेलनमा नेपालको तर्फबाट सहभागी ।
ग) सन् १९८४ मा पोर्चुगलको राजधानी लिस्वनमा कोरियाली प्रायःद्वीपमा शान्तिसम्बन्धी विश्व सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेता ।
घ) सन् १९८६ मा अस्ट्रियाको राजधानी भियनामा विश्व स्वाधीनता र शान्तिसम्बन्धी विश्वका राजनीतिज्ञहरूको विश्व सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता ।
ङ) सन् १९८७ मा पाकिस्तानको कराचीमा राष्ट्रिय शिक्षाको विकास विषयक एसिया र मध्यपूर्व सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता ।
च) सन् १९८७ र १९९० मा कोरियाली समाजशास्त्र सङ्घ (प्राध्यापक सङ्घ) को आमन्त्रणमा शैक्षिक आदानप्रदान कार्यक्रमअन्तर्गत प्योङयाङ भ्रमणमा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधिमण्डलका नेता ।
छ) सन् १९९३ मा श्रीलङ्काको राजधानी कोलोम्बोमा भएको एसिया र प्रशान्त महासागर क्षेत्रका देशहरूका न्यायाधीश र कानुनविद्हरूको सम्मेलनमा नेपालको तर्फबाट सहभागी ।
ज) सन् १९९५ मा भारतको कलकत्तामा सम्पन्न साम्राज्यवादविरोधी विश्व सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता ।
यसप्रकार नेपालभाषा र विभिन्न भाषामा उहाँले धेरै फुटकर लेख लेख्नुभयो । त्यसबाहेक कोही पनि लेखकले आफ्नो पुस्तकमा भूमिका लेखिमागे अथवा कुनै साहित्यिक वा अन्य पत्रिकाको लागि लेख माग्दा उहाँले लेखी सहयोग गर्नुहुन्थ्यो । त्यसकारण उहाँले प्रायशः आफूले विषय छनोट गरेर लेख्नुभन्दा अरूले दिएको विषयमा लेख लेख्नुहुन्थ्यो । कसै कसैले उहाँलाई भूमिका लेख्ने लेखक पनि भन्ने गरेका छन् । तर, एक जना प्रतिष्ठित समालोचक भएर पनि उहाँको नाममा एउटामात्र समालोचना कृति प्रकाशित हुनु भने दुःखद कुरा हो । उहाँको ‘समालोचनाया सिद्धान्त’ कृतिबाहेक ‘नेपालया भाषानीति गुजोगु जुइमाः’ (कस्तो हुनुपर्छ नेपालको भाषानीति ?) विषयमा उहाँले पद्मरत्न तुलाधरको भाषासम्बन्धी धारणाको आलोचना गर्नुभएको छ । नेपाली भाषा राष्ट्रभाषा होइन, माध्यम भाषा वा सम्पर्क भाषामात्र हुनुपर्छ भन्ने तुलाधारको विचारको आलोचना गर्दै माणिकलालले बहुभाषाभाषी देशमा सबै भाषाभाषी, जातिका जनतालाई समान अधिकार दिइनुपर्ने, सबै भाषालाई समान स्थान दिइनुपर्ने, कुनै एउटा भाषा राष्ट्रभाषा, अर्को माध्यम भाषा, सम्पर्क भाषा हुनुहुन्न भन्ने विचार राख्नुभयो । आफ्ना यिनै विचारलाई सङ्कलन गरी पुस्तक नै प्रकाशित भयो । पुस्तकाकारमा प्रकाशित उहाँको अर्को कृति हो–‘तिब्बत चीनको अभिन्न अङ्ग हो’ (सन् १९५० मा प्रकाशित) त्यस्तै ‘Historical Development Of Juche Cause’ (सन् १९८१) र ‘Brilliant Inheritance of Juche Casue’ (१९९८) अङ्ग्रेजी भाषामा प्रकाशित छन् ।
‘समालोचक माणिकलाल व समालोचना साहित्य’ पुस्तकबाट नेपालभाषामा नेपाली भाषामा अनुदित
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *